site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
फूल खवास
Sarbottam CementSarbottam Cement

शिव उप्रेती


दरबारले सम्झेको दिन आज फूल खवास खुसी छे । सबेरै नुहाइधुवाइ सकीवरी नरम तौलियाले शरीर पुछपाछ पारी । कपालमा चोख्यान राखी, आगोपानी छोई । अरू चोखोनितो गरिसकेर झिसमिसेमै दरबार उक्लिई ।

बेलाबेला यसरी नै दरबारले सम्झिँदा ऊ फुरुङ्ङ हुन्छे । आज पनि त्यस्तै भयो । अघिल्लो साँझमा मात्र खबर आयो, ‘भोलि बिहान सबेरै दरबार आउनू’ भनेर । त्यही तोडमा फटाफट दरबारको सिँढी चढी । सयवटा सिँडी चढेको उसलाई पत्तै भएन ।

Prabhu Bank
Agni Group
NIC Asia

हनुमान भञ्ज्याङ पुगेपछि एकपटक भित्तातिर हेरी । सधैँ देखिइरहने नरहरिनाथ योगीकृत शिलालेखहरूले उसको ध्यान खासै खिचेन । बरु सोची, ‘यी अक्षरैअक्षर लेखेको ढुंगाको खाँबोलाई मान्छेहरू किन कोल्टीकोल्टी हेर्छन् ?’

उसलाई दरबार पुग्ने हुटहुटी थियो, त्यसैले उसको १५ वर्षे कोमल पाइताला लगालग अघि लम्कियो ।

Global Ime bank

गोरखकाली र गोरखनाथको दर्शन गर्न यति सखारै कोही आइपुगेका थिएनन् । सर्जाम बेच्न बाटोको कुनातिर चकटी ओछ्याएर बस्नेहरू पनि आइसकेका थिएनन् । डोकोमा तामाको गाग्री बोकेर चारधारेतिर आउनेहरू फाट्टफुट्ट भेटिए पनि ऊ कसैसित नबोली दरबारको सिँढी चढी, चढिरही ।

मनमा अनेक छाल छचल्किरहेका थिए । चौघेरा दरबार पुगेपछि हिमालतिर नजर पुग्यो । मनसुनले बिदा लिएको भर्खर दुई दिन मात्र भएको थियो । त्यसैले मौसम कञ्चन थियो । आकाश स्निग्ध, सफा निलो । सिरानचोक, श्रीनाथकोट, अजीरकोट, बारपाकको पहाडे शृंखला पनि आकाशभन्दा गाढा निलो र सफा । त्यसभन्दा माथि बुद्ध, हिमचुली, पिक ट्वान्टी नाइन, अन्नपूर्णको एउटा चुली, लमतन्न माछापुच्छ्रे« हेर्दै हिँडी ।

टाउकोलाई अझै दायाँ मर्काएर हेरी, धार्चेडाँडा, सुलीकोट, दिदीबहिनी डाँडा, बेँसीमा जरेबर, झोलुंगे, भुसुण्डी, छेपेटार फाँटलाई दायाँ र बायाँ पार्दै फन्फनी घुमेको नागबेली दरौँदी । फाँट हरियो रङ छोड्दै, धान रङमा रगिंदै थियो । काँस फुलेर बगर सेताम्मै ।

फेरि आपूmतिर सम्झिई । दरबारले सम्झिएकामा भाग्यमानी ठानी । मनमा घमन्ड उम्रियो, ‘हामीलाई नसम्झेर दरबारलाई सुक्ख छ र !’ मनमनै बात गर्दा उसले आफूलाई दरबारसितै नापी, आफ्नो शिर दरबारको गजुरसम्म पुर्याई ।

‘फूल खवास पो त’ भन्ने रागले अनुहार रवाफिलो पारी । छिनभरका लागि मन गर्बिलो भयो, मुहार हँसिलो । मस्किएजस्तो लाग्यो । ‘छिः एक्लै के मस्किएको होला, अरूले देखे के भन्लान्’ सोचेर अनुहारको राग घटाई ।

‘गाउँमा मगर, गुरुङ छन् । नेवार छन् । बाहुन, क्षेत्री छन् । दमाइँ, कामी, सार्की छन् । तर, चाडबाड आओस् त दरबार चोखोनितो गर्न, फूल टिप्न, माला उन्न, टपरी गाँस्न हामीलाई नै डाक्छन् ।

काठमाण्डूका राजारानी आउँदा होस् कि राजाका छोराबुहारी आउँदा, फूलमाला लिएर अगाडि उभिन हामीलाई नै डाक्छन् । हामी कलश लिएर अघिअघि हिँड्छौँ । अनि, हाम्रो पाइला टेक्दै उनीहरू पछिपछि हिँड्छन् ।

फूलपाती भित्र्याउँदा पनि हामी नै चाहिन्छ । दरबारको पूजाकोठा, कुलायन थानमा लिपपोत गर्ने, जमरामा जल चढाउने हामी खवास कन्या नै हो,’ सिँढी चढ्दा उसको मनमा यस्तै धेरै कुराले खेले ।


काफलघारीकी यी फूल खवासलाई दरबारले भोलि पक्कै डाक्छ भन्ने पूर्वानुमान थियो । त्यसैले अघिल्लो दिनदेखि अभच्छे क्यै नखाई बसेकी थिई । नुवाइधुवाइ सकेर कतै छुतछात नगरी दरबार हिँडी । दरबारले फूल टिप्ने काममा यसरी भाउ दिएर सधैँ बोलाउँछ भने मानको अपमान किन गर्ने भन्ने उसको सोचाइ थियो ।

उसले खवासको धेरै कुरा जान्न पाएको भर्खर मात्र हो । देश–विदेशका मान्छे दरबार हेर्न आउँछन् । कालिका, गोरखनाथको पूजा गर्न आउँछन् । सबैजना ढोकामा पूजा गरेर फर्किन्छन् । भित्री कोठामा जान कसैले पाउँदैनन् ।

आफू मात्र दरबार र कालिका मन्दिरको कोठाचोटा सबतिर जान किन पाएकी रहेछु भन्ने कुरा उसले मामाघरबाट आएका लमजुङका हजुरबाबाट सुनेर मात्र थाहा पाई ।

गोरखामै बसेर गोरखाकै कहानी भनिदिने त्यसअघि कोही पाएकी थिइन । आफूलाई भित्रिया सुसारे भनेर किन भनेका रहेछन् भन्ने पनि उसले हजुरबाको मुखबाट सुनी ।

गोठमा बसिरहेका लमजुङका राजकुमार द्रव्य शाहलाई बोकेर लिगलिगकोटको राजा बनाउन ल्याउने मुरली खवास आफ्नै पुर्खा रहेछन् भन्ने त्यसपछि मात्र थाहा पाएकी थिई । लिगलिगकोटबाट गोरखा ल्याउने पनि आफ्नै पुर्खा ।

‘त्यो बेला दरबारका हर्ताकर्ता हाम्रै पुर्खा रहेछन्, अहिलेचाहिँ हामी,’ खिस्स हाँसी, ‘तर, त्यो बेला दरबारमा राजा थिए । अहिलेचाहिँ खाली, मौरी नभएको घारजस्तो ।’ फेरि छिनभरमै खिन्न भई ।

‘जब कोतपर्व घट्यो, तब खवासको दुर्दिन सुरु भयो,’ हजुरबाको यो वाक्य उसले मसिनो गरी सुनेकी थिई, ‘हनुमानढोका दरबारको पटाङ्गिनीलाई कोत भन्थे । त्यहाँ हाम्रा जिजुबाजे गगनसिंह खवासलाई मारेको यो साल ठ्याक्कै १७७ वर्ष पुग्यो । यही दसैँ आउन लागेको बेलातिर रहेछ । भदौको ३१ गतेको कुरा रहेछ गगनसिंहलाई तरबार हानेका ।’

धेरै चासो दिएकाले होला, हजुरबाको कुरा फूल खवासले सरासर बुझ्दै गई । ‘हाम्रा बराजु गगनसिंहलाई राजेन्द्र महाराजकी कान्छी महारानी राज्यलक्ष्मीदेवीले खुब मन पराउँदी रहिछिन् । त्यही भएर साधारण भारदार भएर पनि कान्छी रानीको आशीर्वादले एकाएक सेनापति भएका रहेछन् ।

कान्छी रानीको मायाले प्रधानमन्त्री फत्तेजंगभन्दा पनि हाम्रा बराजु नै शक्तिशाली बनेका रहेछन् । आफूभन्दा तल्लो दर्जाका भारदार एकाएक शक्तिशाली भएपछि कान्छी रानीबाहेक सबैका आँखाको कसिंगर बनेका थिए ।’

सोच्दासोच्दै ऊ गोरखा दरबार पुगी । पाँडे, पन्त, अर्याल, खनाल, भट्टराई, बोहोरा दरबारका ६ थरका पुरेतहरू पहिल्यै आइसकेका रहेछन् । द्वारे खवास र खान खवास पनि अघि नै आइपुगिसकेका रहेछन् ।

कलसिनी, मंगलिनी, सुसारेहरू आएर दुनाटपरी लाउने, मालसिरी गाउने ठाउँ बनाउँदै रहेछन् । सबैले घटस्थापनाको तयारी गरिसकेका रहेछन् । फूल टिप्ने आफ्नो काम मात्र बाँकी रहेछ ।

‘ढिला भएछ नि ! ल, अब अलमल नगरी काममा जा,’ खान खवास ठुल्बाले चेपारे पार्दै भने ।

‘आउँदाआउँदै ढिला भइहाल्यो,’ भन्दै ऊ डाली बोकेर बगैँचातिर हिँडी ।

उसको मन भने बाजेले सुनाएको कहालीलाग्दो कहानीले भारी भइरहेको थियो । ‘राजारानीको सधँै भक्ति गर्ने र सोझो भएकाले हाम्रा पुर्खा गगनसिंहलाई श्रीनाथ, लेटर, राजदल, महिन्द्रदल, रामदल, कालीप्रसाद, शमशेरदल गरी सातवटा पल्टनको तैनाथी र राज्य प्रशासन, परराष्ट्र, जंगीखाना र तराईको रेखदेख गर्ने जिम्मा समेत दिएका थिए,’ मामाघरका हजुरबाका खिरिलो स्वरमा गुन्जिएको यो कहानी उसले झल्झली सम्झिई, ‘कान्छी रानी खुसी भएर उनलाई मन्त्रिपरिषद्को सदस्य समेत बनाएकी थिइन् ।

आफूभन्दा तलको मान्छेलाई यसरी मानमाथि भुक्तमान गर्दिएपछि अरू रिसले जल्ने भइहाले । गगनसिंह र महारानीको मायाप्रेम छ भनेर भित्रभित्रै आरोप पनि लगाउँथे । त्यही भएर भदौ ३१ गते साँझ आफ्नै घरमा पूजा गरिरहेको ठाउँमा गगनसिंहलाई तरबार हानेर मारे । कसले मार्यो केही थाहा भएन ।

गगनसिंहको हत्या भयो भन्ने खबरले एक्कासि दरबार पिट्यो । कान्छी रानी बौलाहाजस्ती भइन् । गगनसिंहको हत्यारा पत्ता लगाउन भोलिपल्ट मध्यराति बिगुल बजाएर कोतमा सबै भारदारलाई सामेल गराइयो । जंगबहादुरचाहिँ ‘के पर्छ, के पर्दैन’ भनेर आफ्नो आदेश चल्ने सेनासहित उपस्थित भयो ।

आधा रात कट्यो । अब अर्को दिन लाग्यो भनेपछि मारकाट सुरु भयो । जंगबहादुरका सेनाले भारदारलाई छानीछानी छप्काएर मारे । त्यो बेला ठूलो पदका ४०÷४५ जनालाई मारेका, २७ जनाचाहिँ भागेर ज्यान जोगाएका रहेछन् ।

गगनसिंहलाई जंगलबहादुरले नै मारेको हो भन्ने किटान गरेर कान्छी महारानी र गगनसिंहका छोरा बजिरसिंहले साँठगाँठमा फेरि ३ गते भण्डारखालमा अर्को भेला गराइयो ।

त्यति बेला जंगबहादुरमाथि बदला लिने तयारी रहेछ । तर, उसले यो कुराको सुइँको पाएर त्यस दिन पनि बेचेखुचेका खवास पक्षका भाइभारदार समाप्त पारिदियो । दरबारमा हामी खवासको यसरी सत्यानाश भयो । अनि, जंगबहादुर प्रधानमन्त्री बन्यो ।’

फूल खवास फूल टिपिरहेकी थिई । आफ्ना नासिएका पुर्खाको कहानी सुनाइरहेका हजुरबाको सेताम्मे फुलेको जुँगामुठे मुख र मठारिएको दारीले ढाकिएको अनुहार सम्झिई ।

सनसनीपूर्ण कहानीले उसको ओठतालु सुकिरहेको थियो । जिब्रो माथिल्लो तालुमा टाँस्सिरहेको थियो । दुई ओठ गमले टाँसेजस्तो च्याप्प थियो । विस्तारै थुकले मुख भिजाई । टाँस्सिएका दुई ओठ जिब्रोले छुटाई ।

मुरली खवासदेखि गगनसिंहसम्म आइपुग्दा दरबारसँग खवासहरूको निकट सम्बन्ध एक दुश्मनले टुटाइदिएको पनि सम्झिई । त्यति हुँदा पनि अहिलेसम्म पुराना दरबारहरूमा खवासको ठाउँ रहेको सम्झेर फेरि खुसीको त्यान्द्रो पलायो ।

हजुरबाको कुरा कहाँ सकिएको थियो र ? ‘जंगबहादुर शक्तिमा आएपछि देशभरि रहेका खवासका खलकलाई सिध्याउन लाग्यो । खवासलाई जहाँ भेट्यो त्यहीँ मार्नू भन्ने आदेश थियो । ज्युधन जोखिममा परेपछि कसैले थर ढाँटे, कसैले जात ढाँटे ।

मगर गाउँमा बसेका खन खवासले ज्यान जोगाउन मगर हुँ भनेर ढाँटे । गुरुङ बस्तीमा बसेकाहरूले गुरुङ हौँ भने । साँचो थर खुलाए ज्युज्यान जाने, सरकारी जागिर पनि नपाउने भएपछि खवासहरू अहिले लोप हुने अवस्थामा छौँ ।

जंगबहादुर हिन्दुस्तानको कम्पनी सरकारसँग खुब मिल्दो रहेछ । खवासलाई आर्मीमा भर्ती नलिनू भनेर उर्दी गरेछ । त्यसैले नेपालमा त जागिर पाइएन, खवासलाई भारतीय सेनामा पनि भर्ती लिन छोड्यो ।

खवास भनेपछि भर्ती हुन नपाइने भएपछि ठिटाहरूले गुरुङ, मगर भनेर थर ढाँटेर भर्ती हुन थाले । हामीलाई अहिले पनि ‘दरबार लागेको जात’ भन्छन् । खसालेर व्यवहार गर्छन् । दरबारले चलाएको हल्लाले गर्दा तराईतिर अहिले पनि खवासलाई दलित भन्दा रहेछन् । जंगबहादुरको शासनभन्दा अघि त हामी पनि बाहुन, क्षेत्रीले झैँ जनै लगाउने थियौँ ।’

फूल खवास फूलबारीमै हराई । आफ्नो पुर्खामाथि दरबार लागेको सम्झेर भक्कानो फुट्यो । शरीर लल्याकलुलुक भएर गल्यो । फूलको डाली फूलबारीमै फालेर थुचुक्क बसी ।

माथि दरबारमा द्वारे खवास र खान खवासहरू उसलाई खोज्न थाले । दरबारको पर्खालबाट बगैँचातिर हेर्दै बोलाउन थाले, ‘फूल खवास, ओ फूल खवास ! कता हराइस् ?’

‘आएँ, आएँ,’ ऊ डाली सम्हाल्दै उठी । डालीभरि फूल बोकेर दरबारतिर उकालो लागी । उकालो बाटोभरि पनि सम्झिई हजुरबाका केही भरोसा लाग्दा वचनहरू, ‘हामी खवासहरू अहिले पनि दरबारको सबै काम गरिरहेका छौँ । राजभान्सामा काम गर्नेलाई खान खवास भन्छन् । राजवागमा काम गर्नेलाई फूल खवास भन्छन् । दरबारको सुरक्षामा काम गर्नेलाई द्वारे खवास भन्छन् ।

द्वारेहरू दरबारको विश्वासिला भएकाले नेपाली सेनाको जंगी निसान बनाउँछन् । निसान पूजा पनि सकेसम्म खवासले नै गर्नू भनिन्छ । सधैँ दरबारको सानमानमा रहेका हामी खवासहरूमाथि दरबार लागेपछि अहिले थर फेरेर कोही गुरुङ भए, कोही मगर भए ।’

फूल खवासले सम्झिई उसका आफन्तहरू सबै मगर छन् । दिदी मगरसित बिहे गरेर गई, भाउजू पनि मगरकै छोरी हो । वरिपरि खवासको छोरी नभेटेपछि उसका बुबा बिहे गर्न लमजुङ पुगेको पनि उसले पहिल्यै सुनेकी थिई ।

हजुरबाले लामो कहानी सुनाएपछि उनका बुबाले त्यस दिन कहेको समस्या पनि उसले चाख दिएर सुनेकी थिई ।

‘पुर्खाहरूले फेरेको थर फेरि परिवर्तन गरेर खवास लेख्न पनि झन्झट छ । मेरो बुबा, काकाहरूले पनि कसैले थापामगर, कसैले रानामगर राख्नुभएछ । हाम्रो गाउँका प्रायः सबै खवासहरूले नागरिकता, लालपुर्जा र अरू प्रमाणपत्रहरूमा रानामगर, थापामगर लेखेका छन् । अब सच्याउँदा भएभरका सबै कागजपत्र सच्याउनुपर्छ ।

सरकारी कागज बनाउन कहाँ सजिलो छ र ? त्यसैले सच्याउनतिर कोही लागेनन् । मचाहिँ थर नफेरीकन नेपाली सेनामा भर्ती भएँ । नेपाली सेनामा खासै समस्या भएन । तर, भारतीय सेनामा भर्ती हुन जाँदा खवास नचिन्ने रहेछ । खवासलाई दरबार लाग्या जात भन्दा रहेछन् । राम्रो मान्दैनन् रहेछन् । त्यै भएर सबैले पैसा देखे, आफ्नो पहिचान मेटाए । पेन्सन भएर फर्केर आएपछि पनि सच्याएनन् । सन्तानलाई पनि अर्कै पहिचान दिए ।’

‘साँच्चै, सबैले किन आफ्नो पहिचान मेटाएका होलान् है ?,’ फूल खवासले मनमनै प्रश्न गरी, ‘हामी ठिकै त छौँ, हैन र ? दरबार लाग्या भन्छन्, फेरि दरबारको सबै काम हामीले गरेका छौँ । दरबार पनि दुईथरी हुन्छ कि के हो, एउटाले हेप्ने, अर्कोले काखी चेप्ने ?’

ऊ फूलको डाली बोकेर दरबार पुग्दा कोतघर पूजा सर्जामले झकिझकाउ भइसकेको थियो । ६ थरका पुरेतहरूले जमरा राख्ने तयारी गरिरहेका थिए ।
(गोरखा) 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC