काठमाडौं । लिभरपुलका मुख्य प्रशिक्षक योर्गान क्लोपले जारी सिजनको अन्त्यसँगै क्लब छोड्ने घोषणा गरेका छन् ।
सन् २०२६ सम्मको सम्झौता भए पनि क्लोपले ‘उर्जा समाप्त हुँदै गएको’ कारण क्लब छोड्ने घोषणा गरेका हुन् । क्लोप सन् २०१५ मा लिभरपुलको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।
“मैले नोभेम्बरमै क्लबलाई भनेको थिए,” क्लोपले भने, “अहिलेको अवस्थामा यो कुरा धेरैका लागि अप्रत्यासित भएको म बुझ्न सक्छु । तर, म यो निर्णयबारे बुझाउन सक्छु । म यो क्लब र सहरको सबै कुरा मन पराउँछु । मलाई थाहा छ म एउटै काम बारम्बार गरिरहन सक्दिन ।”
क्लोपकै प्रशिक्षणमा लिभरपुलले सन् २०१९ मा टोटनहमलाई फाइनलमा हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेको थियो । सोही सिजन लिभरपुलले यूइएफए सुपर कप र क्लब विश्वकपको उपाधिसमेत जितेको थियो ।