काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले मधेस प्रदेशविरुद्ध ६ विकेटको सहज जित निकालेको छ ।
बुधबार मूलपानीस्थित मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेसले प्रस्तुत गरेको ९७ रनको लक्ष्य पुलिसले १८.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
पुलिसको जितमा ओपनर सुनिल धमलाले २८ रन बनाए । कुशल भुर्तेलले १९ रन थप्दा आरिफ सेखले १६ र अमृत तामाङले १५ रन जोडे ।
मधेसका रञ्जित कुमार र अर्निको यादवले समान दुई विकेट लिए ।
त्यसअघि पुलिसका दुई स्पिनर सागर ढकाल र ललित नारायण राजवंशी चम्किएपछि टस हारेर ब्याटिङमा आएको मधेसले २४ ओभरमा सबै विकेट गुमाएर ९६ रन बनाएको थियो ।
मधेसका अर्निको यादवले २३ रन बनाएका थिए । कप्तान हरिशंकर साहले २२ रन जोड्दा अभिषेक तिवारीले ११ रन थपे । यसबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
मधेसलाई सस्तैमा समेट्न पुलिसका सागर ढकालले पाँच विकेट लिए । नौ ओभर बलिङ गरेका सागरले ४१ रन खर्चिए ।
ललित राजवंशीले चार विकेट लिए । पाँच ओभर बलिङ गरेका ललितले दुई मेडन राख्दै १२ रन खर्चिए । राशिद खानले एक विकेट हात पारे ।
प्रतियोगितामा लगातार पाँचौँ जित निकालेको पुलिस १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ । सात खेलबाट आठ अंक जोडेको मधेस तालिकाको तेस्रो स्थानमा छ ।