site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
लिंग परिवर्तन गरेर खुसी छु

सन्ध्या लामा पेशाले जागिरे हुन् । अधिकारका लागि कार्यरत संस्थामा कार्यरत उनको पहिचान तेस्रोलिंगी महिला हो । जन्मिँदा पुरुष भए पनि हुर्किने/बढ्ने क्रममा महिलाको स्वभाव विकास हुँदै गयो । पछि उनले आफूलाई लुकाएर राख्न सकिनन् । र, अन्ततः उनले ‘क्रस डेसिङ’ गर्न थालिन् । उनलाई झट्ट हेर्दा तेस्रोलिंगी भनेर कसैले चिन्दैन । स्वर मोटो भएकाले केहीले भने अनुमान गर्छन् । तर, स्वर सुनेपछि पनि धेरैले उनलाई चिन्दैनन् । स्वभावअनुसार उनलाई आफ्नो शारीरिक अङ्ग पनि प्रत्यारोपण गर्ने रहर सानैदेखि थियो । तर, आर्थिक अभावमा त्यो पूरा हुन सकेको थिएन । सपना साकार बनाउन उनले बिस्तारै पैसा जम्मा गर्दै गइन् र । थैली मोटो भएपछि उनी बैंकक गइन् र लिंङ्ग परिवर्तन गरेर सपना पूरा गरिन् । उनै सन्ध्या लामासँग नरेश फुयाँलले गरेको कुराकानी

तपाईंले कहिले र कहाँ पुरुष यौनाङ्ग हटाएर महिला यौनाङ्ग ट्रान्सप्लान्ट गर्नुभयो ?
बैंककमा गरेको हो, तीन महिना भयो ।

स्वास्थ्य अवस्था कस्तो छ अहिले ?
ठिकै छ भन्नुपर्‍यो ।

कत्तिको गाह्रो हुँदो रहेछ ?
अप्रेशन गर्नुपर्ने भएकाले गाह्रो नै भएको थियो । 

कति समय बेहोश बनाउँदारहेछन् ?
मलाई ३ बजे बेहोश बनाएका थिए । होश खुल्दा राति ९ बजेको थियो । 

साथमा को थियो तपाईंको जिम्मेवारी लिने ?
म एक्लै गएको थिएँ, कोही थिएन मेरो आफन्त । थाइल्यान्डमा चिनेका साथी थिए दुई जना– कम्बोडियन र इटालियन । उनीहरू नै मेरो संरक्षकका रूपमा बसेका थिए । मैले मेरो कोही छैन भन्दा डक्टरले अप्रेसन नै हुँदैन भनेपछि उनीहरूलाई संरक्षकको रूपमा राखेकी थिएँ । 

अप्रेसन गरिसकेपछिको अवस्था कस्तो थियो ?
म उठ्नै सकिनँ । दुई दिनसम्म हस्पिटलको बेडमै बस्नुपर्‍यो । 

डक्टरको प्रत्यक्ष सम्पर्कमा कति दिन बस्नुभयो ?
अप्रेशनपछि १५ दिन बैंकक बसें । 

स्वास्थ्यको हेरचाह कसरी गर्नुपर्ने रहेछ ?
घाउ पाक्ने कुरा खानु हुँदैन । दौडिने र धेरै हिँड्ने गर्नु हुँदैन । स्कुटर र बाइक चलाउनु हुँदैन रहेछ । सरसफाइ नियमित गर्नुपर्छ ।

तपाईं अब सम्पूर्ण रूपमा पुरुषबाट महिला हुनुभएको हो ?
हो । स्वभाव त मसँग पहिले नै महिलाको थियो । अब शारीरिक अङ्ग पनि महिलाको भयो ।

कस्तो अनुभूति हुँदोरहेछ ?
पहिले कताकता म पुरुष पनि हैन, महिला पनि हैन भन्ने लाग्थ्यो । अहिले भने त्यो आशंका हटेको छ ।

लिंग परिवर्तनपछि सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट छु । यो मेरो सुरुदेखिकै इच्छा पनि हो । तर, आर्थिक अभावले चाहेको बेला अप्रेसन गर्न सकेकी थिइनँ । त्यो रहर अहिले पूरा भएकोमा खुसी छुृ । 

कति खर्च लाग्दो रहेछ ?
१० लाख रुपैयाँ जति लाग्यो ।

कत्तिको कमजोर महसुस हुँदो रहेछ ?
गह्रुँगा काम गर्नु हुँदैन । अरु त खासै केही हुँदैन । 

रहर त पूरा भयो । अब कसरी बाँच्ने इच्छा छ ?
अरु जसरी बाँचिरहेका छन्, त्यसैगरी नै जिउने हो । 

तपाईं अरुभन्दा फरक हुनुहुन्छ नि, हैन र ?
मलाई त त्यस्तो लाग्दैन । म पनि अरुजस्तै हुँ ।

विवाह गरेर बुहारी बन्ने रहर छ अब ?
बुहारी भन्नाले घरमै बसेर काम गर्ने खालको रहर छैन । विवाह गरेर घरजम गर्ने मन त सबैलाई हुन्छ नि । 

जीवनसाथी खोजिसक्नुभयो कि बाँकी छ ?
खोजेकी छु तर विवाह हुन्छ कि हुँदैन, हेरौं । 

किन ? ढुक्क हुनुहुन्न ?
अलिअलि शंका छ ।

शंका गर्नुपर्ने कारण ?
मैले बच्चा दिन सक्दिनँ, मसँग पाठेघर छैन । यही कारण भोलि उसले मलाई धोका दिएर अर्कै महिलासँग विवाह गर्ने हो कि भन्ने डर लाग्छ । 

बच्चाको रहर लाग्दैन ?
अहिले सेरोगट मदर पनि पाइन्छ । बच्चा एडप्ट गर्न पनि पाइन्छ । आफैंले नजन्माए पनि बच्चा राख्न सकिन्छ धर्मसन्तानको रूपमा । 

समलिंगी विवाहलाई राज्यले मान्यता दिएको छैन । तपाईंहरूले बच्चा एडप्ट गर्न पनि त पाउनुहुन्न नि !
महिला–पुरुषले पाउने, हामीले नपाउने कानुन विभेदकारी हो । यसलाई परिवर्तन गर्नुपर्छ भन्ने हाम्रो माग हो । 

तपाईंले यति धेरै खर्च गरेर अप्रेशन गर्नुको कारण पुरुषसँग विवाह गर्नु नै हो कि अरु नै छ ?
हैन । मेरो सानैदेखिको इच्छा हो । मेरो स्वभावअनुसार बन्छु भन्ने थियो । मलाई विवाह गरेर घरजम गरी बच्चा जन्माउँछु भन्ने थिएन । बुढेसकालमा कसले हेर्छ भनेर मात्रै बच्चाको परिकल्पना गर्ने हो नि ! 

तपाईं (तेस्रोलिंगी)हरूका यौनसाथीहरू धेरै हुन्छन् भन्ने आरोप लागिरहन्छ । हो ?
कसैका हुन्छन्, कसैका हुँदैनन् । यो महिला अथवा पुरुषको हकमा पनि लागू हुन्छ । सेक्सवर्कर तेस्रोलिंगी महिलाहरूका पक्कै पनि एकभन्दा धेरै पार्टनर हुन्छन् । 

अङ्ग प्रत्यारोपणपछि शारीरिक सम्पर्कमा पनि परिवर्तन हुने भयो हैन ?
हो । पहिला एनल र ओरल सेक्स हुन्थ्यो भने अब महिला र पुरुषजस्तै हो । 

परिवारले तपाईंलाई कसरी लिएको छ ? हेलाँहोचो गरेको छ कि छैन ?
छैन । सुरुमा केही अप्ठ्यारो थियो । अहिले परिवारले बुझिसकेको छ । 

अनि समाजले ?
समाजले पनि मेरो अगाडि त भन्दैन । पछाडि के भन्छ, थाहा छैन । 

सुरुमा तपाईं छोरा हुनुहुन्थ्यो, अहिले छोरी । परिवारले छोरी भनेर कहिलेदेखि बोलाउन थाल्यो ?
मैले जहिलेबाट क्रस ड्रेसिङ गर्न थालेँ, त्यही दिनदेखि । दाइ–दिदीहरूले पनि भन्छन् । सुरुमा एकजना दाइ किन यस्तो गरेको भनर रिसाउनुभयो । ममीले सम्झाएपछि बुझ्नुभयो । 

समाजका सदस्य, आफन्तले पनि छोरी नै भन्छन् ?
मलाई देख्दा त भन्छन् तर ममीलाई तपाईंको छोरीको कति ठूलो स्वर भनेर भन्छन् रे ! ममीले हाम्रो खानदानकै स्वर ठूलो छ भन्दिनुहुन्छ रे मेरो पहिचान थाहा नपाउनेलाई । तर, धेरैलाई थाहा छ । नातागोताले पनि मेरो पहिचानअनुसार नै बोलाउँछन् । 

सबै छोराछोरीको घरबार भैसक्यो तर तपाईंको भएको छैन । परिवारले के भन्छ ?
अहिले केही नभए पनि बुढेसकालमा अप्ठ्यारो हुनसक्छ, अहिले कमाएको पैसा पछिलाई जम्मा गरेर राख्नू, तिमीलाई साथ दिन्छु भन्नेहरूलाई पनि त्यति धेरै विश्वास नगर्नू भन्नुहुन्छ ।

आफूसँगैका साथी र दिदीहरूले घरजम गरेको र छोराछोरी खेलाएको देख्दा मनमा कस्तो भावना आउँछ ?
घरझगडा भएको देख्दा त के झमेला गरेको होला, एक्लै बस्दा पनि हुन्छ जस्तो लाग्छ । म जे छु ठीक छु भन्ने लाग्छ । अनि रहर र ईश्र्या फरक कुरा हुन् । केटाकेटीको अबोधपन देख्दा रहर लाग्छ तर मेरो चाँही हुँदैन भनेर त्यस्तो दुःख लाग्दैन । खुसी नै छु । 

राम्री हुनुहुन्छ, हिरोइन या मोडल हुने रहर छैन ?
छैन । जसरी पनि चलचित्र खेल्नुपर्छ भन्ने थियो भने म खेलिसक्थें । मैले भोजपुरी चलचित्रमा काम पनि गरिसकेकी छु । अफर आयो भने खेल्छु तर जसरी पनि खेल्नै पर्छ भन्ने मरो चाहना छैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०७४  ०७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro