
समसामयिक विषयवस्तुमा कविता लेख्न रुचाउने डा. अनन्त अधिकारीको दृष्टि आमकविभन्दा फरक रहेको पाइन्छ । त्यसैले पनि पहिलो कृतिमै नेपाली कवितामा आफ्नो नाम अग्रपंक्तिमा राख्न सफल भएका छन् ।
नेपाली कविताको वर्तमान समयका आशालाग्दा प्रतिभा हुन्, डा. अनन्त । डा. अनन्तले समाजका विविध क्षेत्रका विकृतिलाई शालीनताका साथ प्रस्तुत गरेका छन्, कविताकृति ‘सर्वाइवल नोट’मा ।
उनको यस कृतिमा समकालीन समाजका विसंगति, मूल्यहीनता, कपट, लालच, विवेकहीनता, निरीहता र लाचारीलाई अभिव्यक्त गर्दै शान्ति, समता र न्यायपूर्ण समाज स्थापनाको आह्वान गरेको पाइन्छ । डा. अनन्त आफ्नो लेखनमा यथार्थपरक दृष्टिकोण अपनाउँदै समाजका विविध पक्षहरूलाई उजागर गर्न रुचाउँछन् ।
‘सर्वाइवल नोट’मा समसामयिक विषयवस्तु समेटिएका ४१ वटा कविताहरू छन् । कवि यही समाजका एक पात्र हुन् । र, समाजका हरेक गतिविधिलाई हेर्ने मिहिन तरिकाले उनी आमकविभन्दा बेग्लै देखिएका छन् । कविहरूको भीडमा प्रस्ट रूपमा चिन्न सक्ने सामर्थ्य उनका कविताले बनाएका छन् ।
पेसाले मनोचिकित्सक भएकोले मान्छेको मनका भावनासँग कविताको संवाद उनको लेखनको पृथक् पहिचान हो भन्ने लाग्छ ।
मानवीय मूल्य–मान्यतासँगै उनका कविताहरूमा जीवन दर्शनका प्रतिछायाहरू प्रशस्त भेटिन्छन् । यही समाजमा भएका घटनालाई यथार्थको जलप लगाएर लेखेका यी कविताका घटनाहरूलार्ई सुन्दर र शालीन रूपमा उजागर गर्न खप्पिस छन्, डा. अनन्त ।
यसको ज्वलन्त उदाहरण हो, ‘सर्वाइवल नोट’ । र, जीवनका हरेक पाटाहरू सुन्दर हुनुपर्छ र ती क्षणहरूलाई यादगर बनाउने सिर्जना गर्नुपर्छ भन्ने मान्यता कवितामा पोखिएका छन् ।
कविले सरल, बोधगम्य शैलीका विम्बले कवितालाई चिटिक्क पारेका छन् । सधैँ सबैले पोख्ने वेदना उनीबाट पोखिएको देखिँदैन, यो उनको अर्को विशेषता हो ।
संग्रहकै पहिलो कविता ‘गने अथवा गणबहादुर’ शीर्षक कवितामार्फत एउटा रिक्साचालकको कथासँगै आममान्छेका कथाहरू एकीकृत गरेका छन् कविले । व्यवस्था परिवर्तन भए पनि परिवर्तन हुन नसकेका शासकहरूको दृष्टि तथा एउटा लयहीन बनेको जीवनको पूरा हुन नसकेका अनगिन्ती सपनाहरू कवितामार्फत प्रस्तुत भएका छन् ।
वर्तमानका धेरैजसो कविताहरू वाद–प्रतिवादमा रहेर लेखिएका भेटिन्छन्, नाराजस्ता लाग्ने ती कविताका आयु धेरै हुँदैनन् । सीमित वर्गलाई लक्षित गरेर लेखिएका कविताहरू जीवन्त रहन सक्तैनन् । मानव जीवनका अनेकन् आयामसँग मेल खाने कविताहरू नै पठनीय लाग्छन् ।
उनका कविता प्रगतिशीलता, राष्ट्रवाद, जनपक्षीय र परिवर्तनकामी समाजको निमार्णमा जोड दिँदै देश र समाजप्रति उत्तरदायी तथा सकारात्मक सोचको निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्न सफल छन् ।
कृतिका कविताहरूले फरकफरक आयाम बोकेका छन् । कविता पढिरहँदा फिल्म हेरिरहेको जस्तो पनि लाग्छ । कतै वर्तमान समाज पढिरहेको भान हुन्छ, कतै समाजका विविध घटनाक्रमसँग साक्षात्कार भएझैँ लाग्छ । दुःखका पहाडहरूको सम्झना ताजा बनाउँछ ।
रेमिट्यान्सका कथा झलझली आउँछ । विदेशिएका छोराको दुःख ताजा बन्छ । बाबुले बन्धकी राखेर पठाएको खोरिया बारी निखन्न आफ्नो ज्यान दाउमा राख्ने छोराका दुःखका कहानी डाक्टरका कवितामा भेटिन्छ ।
त्यति मात्र नभएर निराश जीवनमा आशा जगाउने कविताहरू ‘सर्वाइवल नोट’मा भेटिन्छन् ।
कविले जीवनदेखि हारेका कैयौँ व्यक्तिको सुसाइड नोटको विपक्षमा जिजीविषाको पैरवी गर्दै कविता लेखेका छन् ।
कवितामा डा. अनन्त कतै व्यंग्य गर्छन्, कतै आग्रह र कतै बेथितिका विरुद्धमा क्रूर पनि बन्छन् । सहरका सुकिला ‘ननसेन्स’हरूको कथा लेख्छन्, तिनीहरू सडकमा साग बेच्नेसँग पाँच रुपैयाँमा मोलमोलाइ गर्छन्, तर रेस्टुरेन्टमा पाँच सय टिप्स छोड्छन् । तिनलाई सुकिला ननसेन्सको संज्ञा दिन्छन् कवि ।
कवितामार्फत कविले वर्तमानमा सहिदका सपनालाई बेवास्ता गरिरहेका शासकलाई बिउँझाउन खोजेका छन् ।
डा. अनन्तले कवितामार्फत सबै मिलेर जीवनका अँध्यारा पक्षलाई त्यागेर उज्यालो निर्माण गरौँ भन्ने चाहना व्यक्त गरेका छन् । बुद्ध जन्मेको देशमा हराउँदै गएको बुद्धत्वलाई खोजी गरौँ भन्ने आग्रह पनि कवितामार्फत व्यक्त भएका छन् ।
यसभित्र प्रेमिल कविता पनि छन् । बाका कविता छन्, आमाका कविता छन् । यात्राका कविता छन् । परदेशिएका सन्तानको पीडालाई कवितामा उनेका छन् । समग्रमा कविता कविजस्तै शालीन र भद्र देखिएको छ ।