site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ज्ञानेन्द्र शाहको त्यो श्रीपेच मोह र अहिलेको तमासा 

काठमाडौं । “राणाहरूले त दरबार छाड्ने बेलामा श्रीपेच पनि तिनैले लगेका थिए,” २०६५ जेठ २० गते तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलासँग पूर्वराजा ज्ञानेन्द्र शाहले राखेका शब्द थिए यी ।

संविधानसभाको पहिलो बैठकले तोकेको समयमा नारायणहिटी दरबार खाली गराउने सन्देश लिएर गएका सिटौलासँग एक्लाएक्लै कुराकानी गर्दा पूर्वराजा शाहले श्रीपेच आफूसँगै लैजाने आशय व्यक्त गर्दै यी वाक्य भनेका थिए ।

सो संवाद त्यसबेला नारायणहिटी दरबारको विशेष बैठक कक्षमा भएको थियो । सिटौला दलबलसहित पुगेका थिए भने शाह एक्लै थिए । उनलाई नजिकबाट साथ दिनेहरू छाडेर हिँडिसकेका थिए । अन्तिम समयमा सचिवालयका केही कर्मचारीबाहेक उनीसँग कोही थिएन ।

शाहले एक्लै कुरा गर्ने बताएपछि बाँकी सदस्य बाहिर बसे । त्यतिबेला सिटौलासँग श्रीपेच आफैँले लैजान पाउन अनुरोध गरेका थिए ।

एक महिनाअघि पूर्वगृहमन्त्री सिटौलाले ज्ञानेन्द्र शाहसँग त्यसदिन नारायणहिटीभित्र भएको भेटका बारेमा यस लेखकलाई सो कुरा बताएका थिए ।

ज्ञानेन्द्र शाहले श्री ३ राणाहरूको उदाहरण देखाउँदै श्रीपेच आफूसँगै राख्ने योजना सिटौलालाई सुनाएका थिए ।

तर त्यसलाई सिटौलाले ठाडै अस्वीकार गरिदिए । “राणाहरूले आफ्नो श्रीपेच आफैँ लिएर गए, अहिले ती कहाँ छन् जनताले देख्न पाएका छैनन्,” सिटौलाले जवाफ दिए, "त्यसैले श्रीपेच लैजाने कुरा उचित हुँदैन ।”

ज्ञानेन्द्र शाह त्यसबेला शक्तिशाली संविधान सभा र सरकारको निर्णय नाघ्न सक्ने अवस्थामा थिएनन् । भर्खरैको जनआन्दोलनले उनका सबै अधिकार कटौती गरिदिएको थियो । 

अधिकारमात्रै खोसिएको होइन 'अल्टिमेटम' दिएर दरबार खाली गराउन निर्देश दिएको थियो । सडक र सदनमा जनआन्दोलनको रापताप थियो । संविधान सभाको निर्णय ‘शिरोधार्य’ गर्दै समयभित्रै पूर्वराजा दरबार खाली गर्न तयार भए । 

विसं २०६५ जेठ २९ गते अन्तिम घडीमा नेपाल सरकारलाई श्रीपेच बुझाए, पत्रकार सम्मेलन गरे । रानी कोमललाई लिएर ज्ञानेन्द्र शाह नारायणहिटीबाट बाहिरिए ।

पत्रकार सम्मेलनको अन्तिममा पनि उनले भनेका थिए, “मैले देश छाडेर जाने सोच बनाएको पनि छैन, म मातृभूमि नेपालमा नै बसी मुलुकको वृहत्तर हित र शान्तिका लागि योगदान पुर्‍याउन चाहन्छु । शाहवंशको विरासतको रूपमा रहेको श्रीपेच र राजदण्ड चिरकालपर्यन्त सुरक्षितरूपमा राख्नेगरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहनेगरी मैले हस्तान्तरण गरेको छु ।”

विसं ०६५ जेठ २० गतेको भेटमा सिटौलासँग शाहले अर्को जिज्ञासा पनि राखेका थिए ‘दरबारभित्र मुमालाई भेट्न आउन मिल्छ कि मिल्दैन ?’

सिटौलाको सहज जवाफ थियो– ‘मिल्छ, किन नमिल्नू ?’ आफ्नी आमालाई भेट्न जहिले र जुनसुकै बेला आउँदा पनि सरकारको रोकतोक हुनेछैन । 

विसं ०६२/०६३ को जनआन्दोलनको करिब १८ वर्षपछि फेरि पनि संग्रहालयमा राखिएको उक्त श्रीपेच पहिरिने उत्कट चाहना पूर्वराजा ज्ञानेन्द्र शाहमा देखिएको छ ।

उनी यतिका वर्ष मौन प्रायः बसे । कहिले धार्मिक यात्रामा त कहिले देश दौडाहा त कहिले अन्तर्राष्ट्रिय भ्रमणमा बिताए । व्यापार व्यवसायमा प्रशस्तै समय दिए । छोरा पारस शाहका धेरै अवाच्छित गतिविधिले उनलाई झनै दुखी बनायो ।

एकतर्फी दाबी गरिएको राजनीतिक दल र तत्कालीन राजाबीचको सहमति कार्यान्वयन हुनुपर्ने चिर्कटो बोकेर कैयौँपल्ट धार्मिक यात्राको नाममा पुगेर भारतीय नेताहरूसँग भेटघाट गरे । र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको गअन मूल्यांकन गरेर सडकमै उत्रिए ।

सबैभन्दा पहिले २५ गतेको जुलुसको सम्बन्धमा विश्लेषण गरौँ ।

पूर्वराजा ज्ञानेन्द्र शाह हिउँद लागेपछि काठमाडौंबाट बाहिरिए । झापा बसे । सुदूरपश्चिम क्षेत्रको भ्रमणमा समय बिताए । अनि एक महिना पोखरामा अड्डा जमाएर बसे ।

नजिकका मठ मन्दिरमा पूजाआजा गरे । काठमाडौं फर्किने दिनको तयारीमा बिताए । काठमाडौं फर्किँदा उनको पक्षमा भनौँ वा उनको स्वागतका लागि हजारौँको संख्यामा जनता सडकमा उत्रिए । सरकारले गरेको आकलनभन्दा बढी जनता त्यसदिन सडकमा निस्किए ।

सुरक्षा सूत्रहरूले सरकारलाई दिएको सूचनामा यति धेरै मानिस सडकमा उत्रिन सक्ने आकलन गरिएको थिएन तर भिडको गतिविधि नजिकबाट नियालिएको भने एकजना प्रहरी उच्च अधिकारीले बाह्रखरीसँग टिप्पणी गरे ।

को हुन्, सडकमा आएकाहरू ?

स्वागत समारोहको मूल आयोजक हामी हौँ भनेर दाबी गर्ने अनेकौँ समूह तथा पार्टी पछिमात्रै देखा परे । त्यस दिन उनीहरूले पनि आकलन गरेका थिएनन् भिडका सम्बन्धमा ।

जब सडकमा सोचेभन्दा बढी जनता देखा परे अनि दाबी गर्ने समूह पनि त्यसैगरी बढे ।

राप्रपा, राप्रपा नेपाल, विभिन्न राजावादी समूहहरू, दुर्गा प्रसाईं समूहलगायतको त्यहाँ उपस्थिति थियो । सडकमा निस्किएका जनताको भिड बढी देखिएपछि राप्रपा पनि आयोजक भयो, राप्रपा नेपाल र दुर्गा प्रसाईं पनि अग्रपंक्तिमा रहेर आफ्नै कारण जनता सडकमा आएको तर्क गरे ।

आन्दोलनका क्रममा भएको फोहोर व्यवस्थापन नगरेको भन्दै काठमाडौं महानगरपालिकाले जरिबाना तोक्यो । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले एक लाख रुपैयाँ बुझाए । त्यो रकम पनि देखावटी भन्दै दुर्गा प्रसाईंले राप्रपा र राप्रपा नेपाललाई कटाक्ष गर्दै भने, “गणतन्त्रको रस चुसेर अहिले ढोक्सा थाप्न आए । यिनीहरूबाट राजतन्त्र पुनःस्थापना हुनै सक्दैन ।”

राप्रपा उनको तर्कसँग सहमत छैन । तर राप्रपामा स्पष्ट दुई धार छ । पार्टीको धारणा एउटै छैन । नेतृत्व राजसंस्थाको पक्षमा सक्रिय नभएको आरोप धवलशमशेर जबरा, ज्ञानेन्द्र शाहीहरूको छ ।

गणतान्त्रिक दल र नेताहरूसँगको साँठगाँठ, मौका पाउनासाथ सरकारमा जान हतार गरिहाल्ने प्रवृत्तिले नेपालमा राजसंस्था स्थापना गर्न नसकिने बुझाइ उनीहरूको छ ।

तर नेतृत्वले परिस्थिति अनुकूल नरहेको भन्दै मौका हेरेर बसिरहेका बेला एक्कासि भिड सडकमा निस्किएपछि जस लिनेको संख्या पनि बढेको हो ।

राजावादी पार्टी र समूहहरूको बुझाइभन्दा भिन्न त्यसदिन सडकमा पनि देखियो ।

पूर्वराजा पोखरा जाँदा विशेष विमानमा गएनन् । नियमित उडानबाट गए, पोखरामा कुनै पनि पार्टीका नेता तथा समूहसँग भेटवार्ता गरेनन् आफ्ना नजिकका व्यक्तिहरूसँग भेट गरे, उनीहरूलाई नै परिचालन गरे ।

फर्किने दिनमा उनी पोखराको पुरानो विमानस्थल (जुन अहिले बन्द अवस्थामा छ) बाट निजी क्षेत्रको एउटा विशेष विमान लिएर काठमाडौं फर्किए ।

पूर्वराजा पोखराबाटै कुम्भ मेला पुग्न चाहन्थे । उनी भारतीय पक्षसँग पनि लगातार छलफलमा थिए । उनको चाहना कुम्भमेलाबाट सिधै काठमाडौं फर्किने थियो । तर भारतीय पक्षले चासो नदिएपछि उनी रोकिएको उनी निकटहरू बताउँछन् । 

भारतबाट आउँदा उनले थप शक्ति आफूसँग रहेको देखाउन चाहन्थे ।

उनी विमानस्थलबाट बाहिरिनासाथ राप्रपा, राप्रपा नेपालका नेता तथा कार्यकर्ताले स्वागत गरे । विसं २०५९ असोज १८ र २०६१ माघ १९ पछि जिल्ला जिल्लामा जसरी नागरिक अभिनन्दनको शैली अपनाउँथे, ठ्याक्कै त्यस्तै शैलीमा उनी सडकमा निस्किए । उनका पछाडिपछाडि राजावादी दलका नेता थिएनन् । बरु, नवराजावादी समूहका व्यक्तिहरूको चुरिफुरी बढी थियो ।

स्वागत समारोहमात्रै हुन्थ्यो भने विमानस्थलबाहिरको गोल्डेन गेटमा स्वागत गरेर सबैजना आ–आफ्नो बाटो लाग्थे होलान् तर त्यसो गरिएन ।

ज्ञानेन्द्र शाह स्वयंको चाहनामा त्यो जे भएको थियो, स्वागतमात्रै थिएन । नागरिक अभिनन्दन शैली पछ्याउँदै आफू गाडीमा र समर्थकलाई विमानस्थलबाट हिँडाएर महाराजगञ्ज हुँदै निर्मल निवास पुर्‍याए ।

बाटो बाटोमा हात हल्लाउँदै, फूल माला थाप्दै अघि बढे । जानकारहरू भन्छन्- ‘तर पनि उनको मुहारमा कान्ति थिएन ।’

निर्मल निवास पुगेपछि ज्ञानेन्द्र शाहभित्र प्रवेश गरे । समर्थक केहीबेर नाराबाजी गरेर बाहिरैबाट हिँडे । निर्मल निवासको ढोका समर्थकहरूका लागि बन्द थियो ।

यसबाट के देखिन्छ भने यहाँ कुनै राजनीतिक पार्टी वा समूहलाई मात्रै उनी विश्वास गरेर अघि बढ्ने पक्षमा छैनन् । वा बढाएकाबाट पनि धोका पाइसकेको अनुभूति उनले गरेका छन् ।

यस घटनालाई लिएर नेपाली समाजको तरंग कम भएको छैन ।

के राजा पुनः गद्दीमा फर्किएलान् ? राजावादी शक्तिले दोस्रो जनआन्दोलनभन्दा ठूलो जुलुस शान्तिपूर्ण तरिकाले लगातार निकाल्न सक्छन् ?  राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति उनको पक्षमा उभिएलान् ? लामो संघर्षपछि प्राप्त भएको परिवर्तन यति सजिलै उल्टिएला ? मानिलिऊँ राजा नै आए भने जनताका यावत समस्या रातारात समाधान हुन सक्छन् त ? यस्ता प्रश्न उठिरहेका छन् ।

यी प्रश्न सँगसँगै अन्य कैयौँ प्रश्नको जनि जवाफ खोजिनुपर्ने हुन्छ । शासन व्यवस्था परिवर्तन भएर एउटा रूप ग्रहण नगर्दै अर्थात् पूर्णपरीक्षण नहुँदै जनता किन असन्तुष्ट छन् ? जनता आफ्ना शासकवर्गप्रति किन विश्वस्त छैनन् ? जनतामा व्यापक निराशा किन देखिइरहेको छ ? नेपाली समाज किन उद्वेलित छ ?

नेपाली जनताले दरबारमा रहेको सार्वभौमसत्ता खोसेर जसरी जनतामा निहीत हुन्छ भन्ने सोचेका थिए त्यो जनताकहाँ नआइपुग्दै नेताहरूबाट अपहरित हुन पुग्यो । 

गणतन्त्र जनताको शासन व्यवस्था भनिए पनि व्यवहारमा त्यस्तो देखिएन । आसेपासे, नजिकका र आफूले सकुन्जेल साम, दाम, दण्ड, भेद प्रयोग गरेर सीमित नेताहरूले अधिकार सर्नै नदिएपछि आशा गरेर बसेका जनताको सपनामाथि तुषारापात भयो ।

प्रमुख दलका शीर्ष नेताहरूले आफूले चाहेसम्म न त अधिकार तल्लो तहसम्म दिन तयार भए न त जनतालाई फाइदा हुने काम गरे । 

शीर्ष नेताका परिवारले राणा र राजशैली अपनाएको जनतालाई फिटिक्कै मन परेन । जुन सरकार आए पनि सीमित समूह वा वर्गको हितका लागि लगातार काम गर्न थालेपछि जनताले अहिलेका दलको विकल्प खोज्ने संकेत गरे । र, सन्देश पनि दिए ।

स्थानीय तहको निर्वाचनमा बालेन शाहको जित होस् वा संसदीय निर्वाचनमा रवि लामिछाने र रास्वपाको उदय ।

काठमाडौं महानगरपालिकाको मेयरमा ठूला भनिएका दलले दिएका उमेदवारविरुद्ध स्वतन्त्र उमेदवारलाई जनताले भारी मतले जिताइदिए । कांग्रेस, एमालेजस्ता ठूला पार्टीका नेताले उमेदवार छान्दा नै जनतालाई दास बनाउन खोजेको सन्देशका रूपमा मतदाताले बुझे ।

तर, बालेन शाह काठमाडौंको मेयरमा निर्वाचित भएपछि फेसबुकबाट बाहिर निस्किन सकेनन् । मतदातासँग भेट गर्ने, उनीहरूको समस्या सुन्ने र समाधान गर्ने टाढाको कुरा !

कहिले सिंहदरबार जलाइदिने धम्की दिए त कहिले संघीय सरकारसँग टक्कर दिने प्रयास गरे । 

संसदीय निर्वाचनमा जनताले रवि लामिछाने र रास्वपालाई अघि सारे । रवि नागरिकता, सहकारीलगायतका काण्डमा मुछिए ।

काण्डैकाण्डको चाङमा उभिएका नेतालाई सार्वजनिक रूपमा सम्मान प्रकट गर्न र नेता मान्न नसकिने अवस्थामा जनता पुगे । पुराना होउन् या नयाँ । नयाँ भनिएका दलका शीर्ष नेताको काण्ड त पुरानाको भन्दा कैयौँ गुणा बढी !
समस्यै समस्याको भुङ्ग्रोमा रहेका जनतालाई यता जाँदा हुन्छ कि उता जाँदा हुन्छ भन्ने अवस्था आइलाग्दा पनि सरकारले भुइँमान्छेका समस्या समाधानमा पटक्कै ध्यान दिएन ।

सञ्चारमाध्यममा सार्वजनिक भइरहेका ठूला भ्रष्टाचार र अनियमिततामा सबैजसो दलका नेताकै नाम जोडियो ।

जताजतै आफ्ना मान्छे नियुक्ति गरेर बसेका उनीहरूलाई छुने कसले ?

समाज अस्थिर, सीमित नेताहरूको चौघेरामा राजनीति र शासनसत्ता, संकटैसंकटबाट बाहिर निस्किन नसकेका जनता, दलहरूबीच बढ्दो विश्वासको संकट, संविधान र गणतन्त्रका रक्षकहरू रक्षात्मक भइरहेको मौका पारेर ज्ञानेन्द्र शाह फेरि सडकमै उत्रिए ।

त्यसअघि फागुन ६ गते सार्वजनिक एक भिडियोमा उनले जनताको साथ खोजे । अन्तिम संघर्षको तयारीमा रहन घुमाउरो तरिकाले आह्वान गरे ।

जब उनी सडकमै उत्रिए यसअघि सुषुप्त रहेका समर्थक सामाजिक सञ्जाल र सडकमार्फत् आक्रामक हुन थाले ।

शीर्ष नेताहरू आफ्नै कार्यकर्ताबाटै आलोचित छन्, जनताको नजरमा उनीहरू विकास, परिवर्तन र समृद्धिका बाधक हुन् । उनीहरूको समर्थनमा विगतका वर्षमा जस्तै कार्यकर्ता सडकमा आउन सकिरहेका छैनन् । सडक खाली छ ।

उक्त खाली सडक कहिले दुर्गा प्रसाईं, कहिले धार्मिक संघ संगठन र सरकार विरोधी शक्तिले दुरुपयोग गर्दै आइरहेका बेला स्वयम् ज्ञानेन्द्र शाह देखा परे । सरकारले संविधान संशोधनको मुद्दा कहिले लिएर आउला र सडकमा निस्कि हालौँला भनेर पर्खिएकाहरूलाई पनि मलजल भयो । हो, तरंग ल्याएको यसैले हो ।

नेपालभित्रको मात्रै होइन ज्ञानेन्द्र शाहले अन्तर्राष्ट्रिय परिस्थितिको पनि आकलन गर्दै पानी धमिलिइरहेको बेलामा माछा मार्ने दाऊखोजिरहेका छन् ।

अमेरिकामा डोनाल्ड ट्रम्पको उदय, त्यसले नेपालजस्तो सानो मुलुकमा पारेको असर, ठूला शक्ति राष्ट्रहरूको टकराव, नेपालको छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलगायतलाई नजिकबाट हेरेर नै ज्ञानेन्द्र शाहले सडकमा निस्किने दुस्साहस गरेका हुन् ।

नेपालसँग छिमेकी भारत संविधान जारी हुँदादेखि नै असन्तुष्ट छ । संविधानको आजसम्म स्वागत गरेको छैन ‘नोटिस’मा मात्रै राखेको छ । 

चुच्चे नक्सादेखि नेपालमा आफूअनुकूलको सरकार नबनेकोमा भारतले खुलेरै असन्तुष्टि प्रकट गरेको छ । यस्तो बेलामा ज्ञानेन्द्र शाहले अन्तिम धक्का मारेर संग्रहालयमा थन्किएको श्रीपेच पहिरिने दाऊ खोजिरहेका छन् ।

राजा ल्याउने कसले र केका लागि ?

नेपालका विभिन्न धार्मिक अतिवादी समूह, केही राजनीतिक पार्टी र समूह गणतन्त्रको विपक्षमा छन् ।  तर उनीहरू सबैको माग एउटै छैन । कोही सक्रिय राजतन्त्रको कुरा गर्छन् त कोही सांस्कृतिक राजा, कोही राजाबिना हिन्दू राज्यको वकालत गर्छन् । 

यसअघिको चुनावमा राजतन्त्र स्थापनाका लागि एजेन्डा बोकेका राजनीतिक दलले देशभरबाट पाँच लाख बढी मत प्राप्त गरेका छन् । उनीहरू पनि अहिले सामाजिक सञ्जालदेखि सडकसम्म आक्रामक छन् ।

त्यसमा केही युवा पुस्ताको साथ देखिएको एक सुरक्षा निकायका उच्च अधिकारीको दाबी छ । अझ त्यसमा २०६१ माघ–१९ पछिका ज्ञानेन्द्रका चौध महिने प्रत्यक्ष शासन नभोगेका युवाहरूको संलग्नता देखियो ।

ज्ञानेन्द्रमा शासनकला थियो या नागरिक खुसी पारेको भए, उनले अकन्टक शासन गर्न सक्थे । उनको चौध महिने शासनबाट आजित भएकै कारण नागरिक सडकमा उत्रिएका थिए । 

ती सुरक्षा अधिकारी भन्छन् – "जसका बाआमा ज्ञानेन्द्र शाहलाई नारायणहिटीबाट हटाउन सडकमा निस्किएका थिए, उनैका छोराछोरी 'राजा आऊ' भन्दै सडक र सामाजिक सञ्जालमा देखिन थालेका छन् ।”

उनका अनुसार, उक्त पुस्तालाई राजतन्त्रकालीन कालरात्रिबारे जानकारी छैन ।

स्वतन्त्रता अपरहणमा परेको के हो थाहा छैन ? संविधान जारी हुनासाथ सबै समस्या ‘फु मन्तर’ गरेर जादूशैलीमा समाधान हुने आश्वासन देखाएजस्तै अहिले राजावादीले त्यस्तै सपना युवापुस्तामा देखाउन थालेका छन् ।
यसलाई बल पुर्‍याइदिने र विषयवस्तुलाई उत्तेजित बनाउने काम सत्तामा रहेका र विपक्षमा रहेका राजनीतिक दलले गरिरहेका छन् ।

कसरी ?

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि जम्मा भएका नागरिकको भिडमा एकजनाले बोकेको योगी आदित्यनाथको तस्बिरलाई लिएर अतिरञ्जना गर्ने काम प्रधानमन्त्री कार्यालय बालुवाटारबाटै भयो ।

जे नहुनुपर्ने थियो जुलुसमा त्यही भयो तर सामाजिक सञ्जालमा त्यस विषयलाई लिएर भिड्ने कि कूटनीतिक रूपमा समस्याको समाधान गर्ने ?

नेपालको सीमा जोडिएको, भारतको ठूलोमध्येको एक प्रदेशका मुख्यमन्त्रीको तस्बिरका विषयमा प्रधानमन्त्रीकै सचिवालयबाट जुन तहको टिप्पणी सार्वजनिक भयो यो अति नै ‘कच्चा कूटनीति’ हो ।

नेकपा (एमाले) वा नेपाली कांग्रेसका कुनै कार्यकर्ता तहबाट गरिएको टिप्पणी थिएन  त्यो । सडकमा निस्किएका जनतालाई थप उद्वेलित बनाउनेगरी सतही टिप्पणीहरू 'जिम्मेवार व्यक्ति'बाटै सार्वजनिक भए ।

उता हुलाकी राजमार्गमा नेकपा (माओवादी केन्द्र)ले जारी राखेको जनतासँग अभियान हतार हतारमा ‘राजा नारायणहिटी’ प्रवेश गरिसकेझैँ गरेर स्थगित गरेर आउँदा तल्लो तहसम्म त्यसले पार्ने असरका सम्बन्धमा विचारै पुर्‍याएन । 

यसले झनै सडकको मुद्दालाई स्थापित गर्न सहज हुन्छ भन्ने हेक्का माओवादीले राख्दै राखेन । त्यसबाहेक चैतमा गर्न लागेको शक्ति प्रदर्शनले भिडन्तबाहेक के निम्त्याउला र ? यस्ता प्रतिक्रियात्मक क्रियाकलापले बंगलादेश, श्रीलंका र सिरिया बनाउने सपना देखेकालाई बाहेक आमनागरिकलाई भने फाइदा केही छैन ।

जनसाधारणलाई त अहिले व्यवस्था होइन अवस्था परिवर्तनको आवश्यक छ । दैनन्दिनका समस्या समाधान हुने काम सरकारले गरिदिने हो भने एउटै व्यक्ति र पुस्तालाई फाइदा हुने व्यवस्थाका लागि जनता सडकमा पक्कै उत्रिनेछैनन् ।

वर्तमान व्यवस्थामा शासक वर्ग जति नै खराब भए पनि पाँच वर्षमा फेर्न सक्ने सुविधा र अधिकार जनतामा छ । फेरिँदै जाँदा मुलुकको मुहार फेर्न सक्ने व्यक्तिको उदय अवश्य हुनेछ ।

जसरी सडकमा उत्रिएर राजसंस्थाको माग भइरहेको छ तत्काललाई राजा आइहाले पनि ज्ञानेन्द्र शाह र त्यसपछि आउने पारस शाह नै हुन् । 

सडकमा निस्किएकाले यतिबेला बुझ्नुपर्ने कुरा के हो भने वर्तमान व्यवस्था अहिले खाडल परेको सडकमा हिँडिरहेको गाडीको अवस्थामा छ । गति लिनुपर्ने जसरी लिन सकेको छैन । कतिपय ठाउँमा बाटो बनाउँदै हिँड्नुपर्ने बाध्यता पनि छ ।

तर जुन व्यवस्थाको खोजी भइरहेको छ त्यो भने कोइला निकालिएको सुरुङमा प्रवेश गरेजस्तै हो । खाडल पुरेर राजमार्ग समाउने कि अँध्यारो सुरुङको यात्रामा निस्कने ?

ज्ञानेन्द्र शाहको सक्रिय शासनकालमा जनताविरोधी क्रियाकलाप बढी भएकै कारणले श्रीपेच र राजदण्ड बुझाएर आफ्नो सम्पत्ति रक्षाका लागि बाहिरिनुपरेको हो । १६ वर्षअघिको त्यो क्षणलाई बिर्सिएर पूर्वराजा नारायणहिटी प्रवेशको महाशा बोकेर अघि बढे भने त्यसले निम्त्याउने भविष्य थप खतरापूर्ण हुन्छ कि ?

केही नेताका कमजोरीका कारण रक्षात्मक अवस्थामा रहेका गणतन्त्रवादी व्यवस्था जोगाउन आक्रामक शैलीमा सडकमा आए भने...।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro