site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
महाकुम्भ : प्रयागराजमा आस्थाको डुबुल्की

पृष्ठभूमि : एक सय ४४ वर्षपछिको महाकुम्भ 
कुम्भ स्नानले जीवनमा सकारात्मक प्रभाव पार्छ भन्ने पौराणिक र आध्यात्मिक विश्वास छ । मलाई थाहा छैन, यो प्रभावबारे कसले परीक्षण गरेको छ, तर धर्मशास्त्रहरूले यसको महत्त्वका बारेमा अनेक कुरा उल्लेख गरेको पाउन सकिन्छ । यस सम्बन्धमा मेरो अध्ययन आधिकारिक छैन । मैले पढेको भन्दा धेरै सुनेको छु र मेरो अध्ययनको सीमितता स्वीकार गर्न मलाई कुनै हिचकिचाहट छैन ।

कुम्भको समयमा, मलाई गंगा वा कुनै संगम (प्रयाग) मा स्नान गर्ने वर्षौंदेखिको ठूलो इच्छा थियो, तर यो इच्छा पूरा हुन सकेको थिएन । मेरो परिवारका सबैजसो (मेरी श्रीमतीसहित) इलाहाबाद (प्रयागराज) र हरिद्वारमा आयोजित पूर्णकुम्भ र अर्धकुम्भमा विगतमा सहभागी भइसकेका छन् । तर, समय व्यवस्थापन गर्न नसक्दा मैले भने त्यस्तो अवसर प्राप्त गर्न सकेको थिइनँ । पौराणिक कथाअनुसार, प्रयागराज, हरिद्वार, नासिक र उज्जैनमा कुम्भ लाग्ने गर्दछ ।

IMG-20250315-WA0000-1742030461.jpg
अर्धकुम्भ छ वर्षमा र पूर्णकुम्भ बाह्र वर्षमा लाग्ने गर्दछ । मैले माथि पनि उल्लेख गरेँ, म कुम्भमा भाग लिन चाहन्थेँ, तर सायद समयको पर्खाइ सकिएको थिएन र सहभागी हुन सकेको थिइनँ । यसैबीच, महाकुम्भको चर्चा उत्कर्षमा थियो । यस्तो लाग्थ्यो, सम्पूर्ण मानव सभ्यता भारतको प्रयागराजमा भेला भइरहेको छ । यस वर्षको प्रयागराज कुम्भ सम्भवतः संसारकै सबैभन्दा ठूलो आयोजन हो भन्दा फरक पर्ने अवस्था थिएन, जहाँ यति धेरै मानिस एकै ठाउँमा उपस्थित भए । सन् २०२५को जनवरी १३ पूर्णिमाका दिन सुरु भएर शिवरात्रि (फेब्रुअरी २६, २०८१)मा समाप्त भएको यो अनुष्ठान ४५ दिनसम्म जारी रहेको थियो । यसमा करिब ६६ करोडभन्दा बढी मानिसले भाग लिएको अनुमान गरिएको छ । जानकारका अनुसार सबैभन्दा धेरै सनतानीको उपस्थिति मात्र होइन, अहिलेसम्म विश्वकै सबैभन्दा बढी मानिस एकै ठाउँमा एउटै प्रयोजनका लागि सहभागी भएको सर्वाधिक ठूलो मानव भेला थियो यसपटकको महाकुम्भ । यो पूर्णकुम्भ, जसलाई महाकुम्भ पनि भनिन्छ, खगोलीय र ज्योतिषीय गणना र संयोगको आधारमा एक सय ४४ वर्ष पछि मात्र सम्भव हुनसक्छ । एघार पूर्णकुम्भपछि आयोजना हुने कुम्भ, अर्थात् एक सय ४४ वर्षमा आउने बाह्रौँ पूर्णकुम्भलाई महाकुम्भ भनिन्छ । आजको आध्यात्मिक संसारले मात्र होइन, भौतिक संसारले पनि यस आयोजनको महत्त्वलाई स्वीकार गरेको छ । २०१७ मै युनेस्कोले महाकुम्भलाई ‘मानवताको अमूर्त सांस्कृतिक सम्पदा’ को रूपमा परिभाषित गरेको थियो ।

केही आध्यात्मिक विश्वास र केही सामाजिक प्रतिष्ठाको संज्ञान । अलिकति श्रीमतीजीको दबाब र छोरा आदित्यको पनि आग्रह । महाकुम्भमा सहभागी भएर डुबुल्किने पृष्ठभूमि तयार भएको थियो ।

प्रयागराजको यात्रा : रविजीको साथ
महाकुम्भ यात्राका लागि म लामो समयदेखि तयारीमा थिएँ, तर उपयुक्त मितिको तय हुन सकेको थिएन । धेरै व्यक्ति/समूहसँग कुरा गरिएको थियो, तर उपयुक्त मिति छनोट गर्ने समस्याका कारण यात्राको निश्चित तालिका तय हुन सकेको थिएन । म काम गर्ने संस्था राष्ट्रिय समाचार समिति (रासस) को ६४औँ स्थापना दिवस (फागुन ७ अर्थात् फेब्रुअरी १९) नजिकिँदै थियो । म त्यस दिनको कार्यक्रमपछि मात्र यात्रा गर्न सक्ने अवस्थामा थिएँ । यसको अर्थ म फेब्रुअरी २०, फागुन ८ भन्दा पहिले यात्रा गर्न सक्दिनथेँ । मेरो प्रस्तावलाई सबैले सहजै स्वीकार गर्न सक्ने अवस्था थिएन । अनि अर्को कुरा, तीनजना (म, श्रीमती मुन्नी र छोरा आदित्य) सँगै यात्रा गर्नुपर्ने बाध्यात्मक अवस्था मेरासामु विद्यमान थियो । एकपटक त यस्तो लाग्यो कि हामी महाकुम्भको यो दुर्लभ घटनाको साक्षी बन्न सक्षम नहुन सक्छौँ । तर, म आफ्नो विश्वासमा कायम छु, सिद्धस्थलबाट नबोलाइएसम्म कोही पनि त्यहाँ जान सक्दैनन् । त्यसैगरी, को कोसँग जाने हो भन्ने कुरा पनि सम्भवतः पूर्वनिर्धारित हुन्छ । यसपटक कपिलवस्तुको माहुरीहोम (मधेश मानव अधिकार गृह) का संस्थापक अध्यक्ष मित्र रवीन्द्रनाथ ठाकुर (रविजी) सँग महाकुम्भको यात्रा जुर्‍यो जो सम्भवतः पूर्वनिर्धारित थियो ।

IMG-20250315-WA0001-1742030491.jpg
एक दिन (सायद माघ १७/१८ गते) मैले रविजीलाई फोन गरेर सोधेँ, “के खबर छ रविजी ? कुम्भ तपाईं बसेको ठाउँबाट नजिकै पर्छ । तपाईं त त्यहाँ गइसकेको हुनुपर्छ । के मैले जानु पर्दैन ?

उनले भने, “म पनि गएको छैन । म पनि जानुपर्नेछ । तपाईं पनि जाने हो र ?

मैले भने, “म पनि कहाँ गएको छु ? म पनि जानुपर्नेछ ।

उनले भने, “त्यसो भए हामी सँगै जाऔँ न त । म यहाँ व्यवस्थापन गर्छु । तपाईं कहिले जान सक्नुहुन्छ ? म त फागुनको पहिलो साताभन्दा अगाडि जान सक्दिनँ ।”

कस्तो संयोग ? मैले जे चाहेको थिएँ, त्यही भइरहेको थियो । मैले भनेँ, “म फागुन ८ भन्दा पहिले जान सक्दिनँ ।”

उनले भने, “ल, मैले तपाईंको कुरा बुझेँ । तपाईं कहिले जाने मलाई मिति भन्नुस् ।”

मैले भने, “फागुन ८ ।”

मैले थपेँ, “हामी तीनजना हुनेछौँ, म, मेरी श्रीमती मुन्नी र आदित्य ।”

उनले अब यात्राको लागि गाडी खोज्ने र अन्य व्यवस्था गर्ने भन्दै मलाई यात्राको निश्चितताको आश्वासन दिए । यसरी हामीले अब फागुन ८ गते साँझ बसबाट यात्रा सुरु गर्ने र फागुन ९ गते बिहान तौलिहवा पुग्ने योजना बनायौँ । त्यहाँ माहुरीहोममा छोटो आराम गरेपछि हामीले इलाहाबाद जाने कार्यक्रम तय गर्‍यौँ । म उक्त रुटमा नयाँ यात्रु हुने भएकाले तौलिहवासम्मको यात्रा टिकटको व्यवस्थापनको जिम्मेवारी मैले भाइहरू वसन्त बन्जाडे र मुस्तफालाई सुम्पिएँ । म उनीहरूको सहयोगका लागि आभारी छु ।

IMG-20250315-WA0002-1742030509.jpg
रात्रिकालीन यात्रा : बिग्रिएको सडक र एक्लो होटेल
राससको वार्षिकोत्सवको कार्यक्रम निश्चित मितिमा सम्पन्न भयो र त्यसपछि मैले यात्राको तयारी गर्न थालेँ । २०८१ फागुन ८ का दिन मेरो व्यस्तता बढेको थियो । ओमेन्स लिड भन्ने संस्थाले महिलाका लागि एक तालिम कार्यक्रमको आयोजना गरेको थियो र संस्थाका तर्फबाट कविता लिम्बूजीले मलाई फागुन ८ का दिन कक्षा लिन आग्रह गर्नुभएको थियो । मैले जिम्मेवारी स्वीकार गरेको थिएँ । म यो कक्षा लिएर साँझ ५ः३० बजे बालकोट (घर) पुगेँ । हामीले कलंकीबाट साँझ ७ः३० बजे बस चढ्नुपर्र्ने थियो, द प्यालेस बस । एयरकन्डिसन्ड । सोफा सिट ।

मैले हाम्रो राससको गाडीचालक यादव गोतामेलाई पहिले नै कलंकीसम्म छोडिदिन आग्रह गरेको थिएँ । उनले सहयोग गरे । उनले हामीलाई कलंकीसम्म पुर्‍याइदिए । हामी समयमै आइपुगेका थियौँ । तर, हामीले आधा घण्टाजति कुर्नुपर्‍यो । लगभग आठ बजे बस आइपुग्यो र हामीले आ–आफ्नो सिट ग्रहण गर्‍यौँ । म धेरै वर्षपछि यसपटक रात्रिकालीन बस सेवा प्रयोग गर्दै थिएँ, लगभग पाँच/छ वर्षपछि । सायद त्यसैले होला, म बस सेवाको बारेमा त्यति अद्यावधिक थिइनँ । यो बस चढेपछि मैले महसुस गरें, नेपालमा बस सेवाको गुणस्तरमा धेरै परिवर्तन आएको छ । बसको यस्तो सुविधाजनक अवस्था कम्तीमा मेरो कल्पनाभन्दा धेरै परको थियो । सोफा सिट, बोतलको पानी, एयरकन्डिसन, चार्जिङ पोर्ट, कम्बलको उपलब्धता आदि नौलो लाग्नु मलाई यी कुराका बारेमा थाहा नभएको प्रमाणित गर्न पर्याप्त थियो ।

मैले आदित्यलाई भनेँ, “बाबु, बस त ठिकै छ नि, होइन ? मैले नेपालमा कहिल्यै यस्तो बस चढेको थिइनँ ।”

उनले भने, “तपाईं कहिले बस चढ्नुहुन्छ र ? अहिले लामो दूरीका धेरै बसहरू यस्तै छन् । म केही दिन पहिले राजविराज गएको थिएँ । त्यहाँ जाँदा पनि यस्तै बस थियो ।”

IMG-20250315-WA0003-1742030534.jpg
मैले स्वीकार गरेँ, म अद्यावधिक छैन । समय केही हदसम्म परिवर्तन हुँदै छ र मलाई त्यसको बारेमा पर्याप्त जानकारी छैन । मलाई कुनै विषयको बारेमा थाहा नहुनु समयको गल्ती होइन, मेरो गल्ती हो । समय त अगाडि बढ्छ नै, तर समयको गतिबारे थाहा नपाउनु त मेरो कमजोरी हो नि । समयको गतिसँग मैले आफ्नो गति कसरी मिलाउन सक्छु भन्ने कुरा त मेरो हातमा छ । मेरो छोराको अगाडि मैले यी कुरा केही प्रतिवाद नगरी स्वीकार गरेँ । जानकारीको अभाव र सहज स्वीकारोक्तिको समस्याले ज्ञान प्रसारको प्रक्रियामा बाधा पुर्‍याउँछ र दुई पुस्ताबीचको दूरी बढाउँछ । यो तथ्य हो, स्वीकार्नैपर्छ । हामी दुवैजना यो र यस्तै अन्य कुरा गरिरहेका थियौँ । बस नौबिसे पुगिसकेको थियो । बाटोको अवस्था उस्तै देखिन्थ्यो । मलाई बाटोको बारेमा पूर्ण जानकारी थियो । लामो समयदेखि सडक मर्मत भइरहेको छ । सडकलाई चार लेनमा विस्तार गर्ने योजना छ । छिटफुट ठाउँबाहेक करिबकरिब बुटवलसम्मकै बाटोको अवस्था बिग्रिएको छ । नाजुक छ र यो अवस्था कहिलेसम्म रहन्छ ? कसैले सहजै उत्तर दिन सक्दैन । गैँडाकोटदेखि सुनवलखण्डसम्मको बाटोको स्तरीकरणका लागि लगाइएको ठेक्काको म्याद त निकै पहिले सकिएको चर्चा चलेको हो । अहिले म्याद थपिएको छ क्यारे !

नारायणघाटभन्दा अगाडि बस रामपुरमा खानाका लागि रोकियो । रातको लगभग साढे एघार बजिसकेको थियो । काठमाडौंबाट आउँदा हामीले विनाकुनै कन्जुस्याइँ खाजा खाएका थियौँ । त्यसैले हामीले यहाँ खाना नखाएर चाउचााउ खाने निर्णय गर्‍यौं । होटेलमा गएर सोहीअनुसार अर्डर गर्‍यौं । हामीले त्यहाँ देख्यौँ, चाउचाउ खाने हामी मात्र होइन रहेछौँ । एउटा कुरा नि, समयमा निकै परिवर्तन आइसकेको छ । बसमा पनि परिवर्तन आइसकेको छ । तर, राजमार्गका होटेलका खाद्य परिकारको गुणस्तर मापनको प्रक्रियामा भने कुनै परिवर्तन देखिएको छैन । रामनगर मात्र होइन, देशका अधिकांश ठाउँका होटेलमा खाद्य गुणस्तर मापन नहुँदा बसका यात्रुले स्वास्थ्य जोखिम मोल्न बाध्य हुनुपरेको छ । राजमार्गमा राति गुड्ने अधिकांश बस खाना खुवाउने नाममा यात्रुले कुनै विकल्प नभेट्ने गरी एक्लो होटेल भएको ठाउँमा रोकिन्छन् । यात्रुले जे खाए पनि त्यही होटेलमा खानुपर्छ । सायद यो कारण पनि हुनसक्छ, रात्रिकालीन यात्रुको रोजाइमा चाउचाउ पर्ने गरेको छ । सायद होटेलमा पकाएर राखिएको खानाभन्दा यात्रुले चाउचाउ कम जोखिमपूर्ण ठान्दछन् । बस रामनगरबाट अगाडि बढ्यो र बुटवलमा केही बेरको विश्रामपछि ४ नम्बर जीतपुर हुँदै बिहान ७ बजेतिर तौलिहवा पुग्यो ।

क्यालेन्डरको मिति परिवर्तन भइसकेको थियो, ९ फागुन २०८१ अर्थात् २१ फेब्रुअरी, २०२५ । म वसन्त र रविजीसँग निरन्तर सम्पर्कमा थिएँ । हामी बसपार्कमा ओर्लियौँ र एउटा अटो लिएर माहुरीहोम पुग्यौँ । त्यहाँ निर्मलाले हामीलाई आराम गर्न कोठा तयार पारेकी थिइन् । केही समयपछि मैले वसन्त, रविजी, खग चापागाईं, ओमप्रकाश र माहुरीहोमका वर्तमान अध्यक्ष आदरणीय रामदयाल ठाकुरलाई भेटेँ । छलफल भयो । चिया पिउने क्रम जारी रह्यो । केही समयपछि हामी रेम टन्डनजीको होटेलमा गयौँ, जहाँ मैले पहिले धेरैपटक खाना खाएको छु । मलाई यहाँको खाना मन पर्छ । विज्ञापन गरेको अर्थ नलागोस्, तर मलाई विश्वास छ, यहाँको खाना स्वस्थ, सफा र ताजा हुन्छ । मुन्नी र आदित्यलाई पनि खाना मन पर्‍यो । संयोग, पत्रकार नारद कोहारसँग पनि त्यहीँ भेट भयो । उनी पनि खाना खान त्यहीँ आएका थिए ।

IMG-20250315-WA0004-1742030565.jpg
मध्यरातमा मिसन संगमघाट 
खाना खाइसकेपछि हामी माहुरीहोम आइपुग्दा दिउँसोको करिब सवा बाह्र बजेको थियो । रविजीले प्रयागराजको लागि व्यवस्था गरेको गाडी (स्कर्पियो) दुई बजे आइपुग्ने जानकारी थियो । त्यसैले हामीले केही समय आराम गर्ने निर्णय गर्‍यौँ ं। केही बेर निदाउने प्रयत्न त गरेँ, तर सफल हुन सकिनँ । मुन्नी र आदित्य भने केही बेर निदाए । दिउँसो डेढ बजेतिर चालक मनीष गाडी लिएर आइपुगेको हामीलाई जानकारी गराइयो । हामी तयार भएर ठिक दुई बजे बाहिर निस्कियौँ । त्यति बेलासम्म यात्रा टोलीका अन्य सदस्यहरू रविजी, उनकी श्रीमती र रेखा (रविजीको छिमेकीकी छोरी) आइसकेका थिए र स्कोर्पियोको छेउमा बसिरहेका थिए । हामी सबै गाडीमा बस्यौँ । चालक मनीषसहित सातजनाको यात्रा टोली अगाडि बढ्यो । यात्रा टोलीको भौतिक नेतृत्वको जिम्मेवारीमा मनीष थिए भने रविजी अन्य व्यवस्थापकीय नेतृत्वको जिम्मेवारीमा ।

गाडी नेपालको बहादुरगन्ज र कृष्णनगर हुँदै बढनीमा भारत प्रवेश गरेको थियो र त्यहाँबाट बस्ती, हर्दिया चौराहा, सिद्धार्थनगर, टाण्डा, डुमरियागन्ज, अम्बेडकरनगर, सुल्तानपुर–दोस्तपुर, आजमगढ, अमेठी र प्रतापगढ हुँदै प्रयागराज पुगेको थियो । यसैबीच, हामीले हरदिया चौबाटोमा चिया र अम्बेडकरनगरमा खाना खाएका थियौँ । हरदियाबाट चिया खाएर अगाडि बढ्दै गर्दा टाण्डानजिक हाम्रो गाडी एउटा सामान्य दुर्घटनाको चपेटामा पर्‍यो । पछाडिबाट ओभरटेक गरेर आएको एउटा सानो मालवाहक गाडीले ठोक्दा हाम्रो गाडीको अगाडि बायाँतिरको हेडलाइट क्षतिग्रस्त हुन पुग्यो । अब हाम्रो गाडी एउटा हेडलाइटको भरमा मात्र प्रयागराजसम्मको यात्रा गर्न बाध्य थियो । रात परिसकेकाले गाडी मर्मत गर्न सकिएन । खैर हाम्रो यात्रा जारी रह्यो ।

इलाहाबाद त होइन, तर मैले पहिले नै भारत, उत्तर प्रदेशका बढनी, सोहरतगढ, वस्ती, गोरखपुर, नौतनवा, महाराजगञ्ज, सिद्धार्थनगर, गोण्डा, पिलिभित, नानपारा, बहराइच र यस क्षेत्रका अन्य केही स्थानको सामान्य भ्रमण गरिसकेको थिएँ । यसै आधारमा म यी ठाउँको बारेमा तुलनात्मक निष्कर्ष निकाल्न सक्ने अवस्थामा थिएँ– यस क्षेत्रले यातायात, भौतिक पूर्वाधार, सरसफाइ र व्यवसायमा अभूतपूर्व उपलब्धि हासिल गरेको छ ।

IMG-20250315-WA0005-1742030593.jpg
हाम्रो गाडी राति लगभग साढे एघार बजे प्रयागराज प्रवेश गरिसकेको थियो । सडकमा वरिपरि थुप्रै गाडी थिए । पार्किङ समस्याबारे अनुमान गर्न असहज थिएन । सवारीसाधनको भीडभाडको आधारमा कुम्भमा सहभागीको संख्या सजिलै अनुमान गर्न सकिन्थ्यो । अब मनीष पार्किङ खोज्दै थिए । केही समय घुमेपछि मनीषले अन्ततः एउटा ठाउँ भेट्टाए, लक्ष्मीद्वार बडा बघाडा । जब गाडी यहाँ आइपुग्यो, मैले घडीमा समय हेरेँ, भारतीय समय साढे बाह्र बजिसकेको थियो । अर्थात्, मिति परिवर्तन भइसकेको थियो – २०८१ फागुन १० अर्थात् २२ फेब्रुअरी, २०२५ ।

मनीषका अनुसार, यो ठाउँबाट संगम पुग्न सबैभन्दा छोटो थियो । यहाँबाट संगमघाट क्षेत्र पुग्न बढीमा तीन किलोमिटर यात्रा र त्यसपछि संगमघाटैका लागि छोटो यात्रा तय गर्नुपर्ने थियो । मनीषले हामीलाई बाटो देखाए र आफैँ गाडीमा गएर केही बेर आराम गर्ने निर्णय हामीलाई सुनाए । हामीले संगमघाटको यात्रा सुरु गर्‍यौँ । रेखा यहाँ हाम्रो गाइडको रूपमा काम गरिरहेकी थिइन् । उनलाई यहाँको बारेमा केही पूर्वजानकारी थियो, जुन उनी यहाँ प्रयोग गर्न खोजिरहेकी थिइन् । हामी सेक्टरमा ६ मा थियौँ । हामीलाई सेक्टर ५ मा पुग्नुपर्ने थियो । हामी वासुकि नाग मन्दिर, निरञ्जन अखाडा, दशाश्वमेघघाट, पन्टुन पुल, कच्छपद्वार, नन्दीद्वार र संगमद्वार हुँदै संगमघाटतर्फ यात्रा गरिरहेका थियौँ । बाटोको दुवै छेउमा अस्थायी प्रकृतिका पसल थिए, जहाँ चिया, पानी, उपहारका सामानहरू, होटेलहरू,  निःशुल्क खानाका स्टलहरू, विभिन्न धार्मिक तथा गैरधार्मिक संस्थाहरू र चिउरा, भुजा, चिनी मिठाई, पेडा आदि प्राप्त गर्न सकिन्थ्यो । एउटा कुरा सहजै भन्न सकिन्थ्यो, यस महाआयोजनले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको हुनुपर्छ ।

अहिले मलाई त्यति भीडभाड भएको महसुस भएन । भीड त थियो, तर जुन वर्णन मैले सुनेको थिएँ, त्यस्तो लागेन । नागाबाबाहरूको संख्या अब घट्दै गएको थियो । हातमा माला लिएर बेच्ने भाइरल कन्याहरू अब देखिन्न थिए । तर, डुंगाको व्यापार फस्टाएकै देखिन्थ्यो ।

एउटा कुरा स्वीकार गर्नुपर्छ, डेढ महिनासम्म एकैठाउँमा यति ठूलो भीड व्यवस्थापन गर्नु सजिलो थिएन । तर, केही अपवादबाहेक जे जस्तो व्यवस्था गरिएको थियो, त्यसको प्रशंसा गर्नैपर्छ । १५/२० हजार निरन्तर सुरक्षाकर्मी, डेढ लाखभन्दा बढी शौचालय र मूत्रालय, नुहाउनका लागि असंख्य घाट, अस्थायी र स्थायी सडकको व्यवस्थापन र डेढ दर्जनभन्दा बढी ठूला पार्किङ क्षेत्रको निर्माण र व्यवस्थापन कम चुनौतीपूर्ण थिएन । तर, सम्बन्धित व्यक्ति र निकायको सामूहिक प्रयासका कारण यो सम्भव भयो र राम्रोसँग सम्पन्न भयो ।

IMG-20250315-WA0006-1742030615.jpg
बिहान लगभग तीन बजे हामी संगमघाट – घाट नम्बर ३२, सेक्टर ५ पुग्यौँ । हामी घाटमा पुग्दासम्म भीड बढेको थिएन । त्यसैले हामी सहजताको आधारमा घाट छनोट गर्न स्वतन्त्र थियौँ । हामीले यो स्वतन्त्रताको फाइदा उठायौँ । तर, त्यो खुसी धेरै समय टिकेन । यस्तो देखिन्थ्यो कि दश मिनेटभित्रै भीड अकल्पनीय रूपमा बढेको थियो र यो बढ्दै गइरहेको थियो । जसरी सलहहरू कृषि फसलमा फैलिन्छन्, त्यसरी नै गंगा, यमुना र सरस्वती नदीको संगमस्थलमा मानिसहरू फैलिरहेका थिए । प्रयागराजको यो संगममा गंगा र यमुना नदीको संगम प्रत्यक्ष देख्न सकिन्छ, तर सरस्वती नदीलाई प्रत्यक्ष देखिँदैन । तर, श्रद्धालुहरू यहाँ सरस्वती नदी पनि मिसिने र त्यसको धार पनि अनुभूत हुने दाबी गर्दछन् । उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थान बद्रीनाथ धामको माथितिर पर्ने मानागाउँ, जसलाई भारतको पहिलो वा अन्तिम गाउँ पनि भनिन्छ – मा सरस्वती नदी हिमालयबाट बग्दै आएर तल जमिनमा ठोक्किएको देखिन्छ । तर, त्यसपछि यो नदी पूरै भारतमा कतै देखिन्न । यही सरस्वती नदी मानागाउँपछि जमिनमुनि बग्दै प्रयागराजमा गंगा र यमुनासँग मिसिएको विश्वास गरिन्छ । सनातन आध्यात्मिक महत्त्वका तीनवटा नदी मिसिने विश्वासका कारण पनि प्रयागराजको संगम अन्यत्रको भन्दा महत्त्वपूर्ण मानिन्छ ।

अब मैले रविजीले भनेको कुराको अर्थ बुझेँ । यात्रामा निस्कनुअघि उनले तौलिहावेमा भनेका थिए, “हामी एक बजेसम्म घाट पुग्ने प्रयास गर्नेछौँ र तीन/चार बजेसम्ममा स्नान पूरा गरी बढीमा साढे पाँच बजेसम्म प्रयागराजबाट निस्कनेछौँ ।” हामी उनको कुरा पछ्याइरहेका थियौँ । यदि, हामी अलिकति पनि ढिलो भएको भए सायद ठूलो ट्राफिक जाममा फस्ने थियौँ होला ।

ब्रह्म मुहूर्तमा संगम जलस्पर्श
अन्ततः फाल्गुन कृष्णपक्षको दशमी तिथि शनिबार हामीलाई  महाकुम्भमा स्नान गर्ने सौभाग्य मिल्यो । बिहान करिब तीनदेखि साढे तीन बजेको बीचमा हामीले भक्ति र प्रेमको संगममा डुबुल्की लगायौँ । आध्यात्मिक रूपमा यो समय ब्रह्म मुहूर्तसँग सम्बन्धित छ । यो केवल धार्मिक कार्यक्रम मात्र नभएर मानवता, आस्था र शाश्वत संस्कृतिको महान् पर्व थियो । सनातनहरूको महान् अनुष्ठान पनि थियो । मानव सभ्यतामा विगतमा कसैले आजसम्म नदेखेको जनसागर थियो, जसको आधार परम्पराप्रतिको प्रेम र विश्वास थियो । यो एउटा दुर्लभ दिव्य अवसर थियो, जुन एक सय ४४ वर्षमा मात्र उपलब्ध हुन्छ । यो अवसर कम्तीमा चार पुस्ताअगाडि र चार पुस्तापछाडिका लागि उपलब्ध छैन । अनि, यो आध्यात्मिक शुद्धीकरण, ऐतिहासिक अनुभव र जीवनमा सांस्कृतिक समृद्धिको लागि एक दुर्लभ अवसर हो भन्ने मैले महसुस गरेको थिएँ ।

IMG-20250315-WA0010-1742030939.jpg
माथि उल्लेख गरिएझैँ हामी संगमघाट पुगिसकेका थियौँ । हामीले प्लास्टिकको तन्नामा अस्थायी आराम गर्ने ठाउँ बनायौँ र सबैको लुगा त्यहीँ राख्यौँ । सबैले पालैपालो नुहाउन थाले । त्यसपछि मुन्नीले फेरि घाटमा धूप लगिन् र पूजा गरिन् । यो सबै गरिसकेपछि मैले घडी हेरेँ, पौने चार बजिसकेको थियो । मानिसको भीड बढ्दै गएको अनुभव भइरहेको थियो । सकेसम्म चाँडो निस्कने सम्भावनाको बारेमा छलफल गर्दै हामी अब फिर्ता यात्राको लागि अगाडि बढ्यौँ । मुन्नी पुनः घाटमा गइन् र पूजाको क्रममा दुनामा बालेको बत्तीलाई दुनासहितै पानीमा बगाइन । हामी अगाडि बढ्न थाल्यौँ । मैले दुई–तीनपटक पछाडि फर्केर हेरेँ । दुनाको बत्ती पनि हामीजस्तै अगाडि बढिरहेको लाग्यो ।

संगमबाट फर्किंदा मेरो दिमागमा धेरै कुराहरू आए । संगमको आध्यात्मिक महत्त्व, यसको पवित्रता, मानिसको भीडमा पानी प्रदूषण, रोग सर्ने आदिबारे मेरो मनमा प्रश्न नउठेको होइन, तर सबैभन्दा ठूलो कुरा आत्मसन्तुष्टिको अनुभूति थियो ।

मुक्तिको संगम : मोक्षको स्थान
सातौँ शताब्दीमा चिनियाँ यात्री ह्वेनसाङले कतै प्रयागको सन्दर्भमा ‘मुक्तिको संगम’ को उल्लेख गरेको विश्वास गरिन्छ । गंगा, यमुना र सरस्वतीको संगमस्थल त्रिवेणी संगमलाई हजारौँ वर्षदेखि मोक्षको स्थान मानिन्छ ।

कुम्भको इतिहास र पौराणिक कथा हिन्दु धर्मका पुराणहरू, विशेष गरी भागवतपुराण, विष्णुपुराण, महाभारत र रामायणमा उल्लेख गरिएको पाइन्छ । कुम्भको मूल कथा समुद्र मन्थनसँग सम्बन्धित छ । जब देवता र दानवले मिलेर समुद्र मन्थन गरे, तब अमृत कलश (कुम्भ) निस्कियो । समुद्र मन्थनबाट प्राप्त अमृतका लागि देवता र असुरबीचको संघर्षको क्रममा अमृत कलशबाट केही थोपा अमृत पृथ्वीमा खसेको विश्वास गरिन्छ । देवता र असुरबीच अमृतको लागि संघर्षपछि अमृतका थोपाहरू पृथ्वीमा खस्दा जुन खगोलीय अवस्था थियो, त्यो पुनःनिर्माण गर्न एक सय ४४ वर्ष लाग्छ र यस वर्षको कुम्भलाई त्यही खगोलीय अवस्था मानिएको छ । यो भूमि फेरि एकपटक लाखौँ भक्तहरूको लागि आत्मशुद्धिको केन्द्र बनेको छ । पृथ्वीमा त्यो अमृत प्रयागराज, हरिद्वार, नासिक र उज्जैनमा खसेको धार्मिक मान्यता छ ।

IMG-20250315-WA0008-1742030739.jpg
केही परिस्थितिहरू हुन्छन्, जहाँ भावना महसुस गर्न सकिन्छ । तर, भावनाहरू सार्वजनिक गर्न धेरै असहज हुन्छ । मेरो अनुभव पनि त्यस्तै थियो । एक सय ४४ वर्षमा आयोजन हुने महाकुम्भ मेलाबाट फर्किएको अनुभूति शब्दमा बयान गर्न गाह्रो छ । यो केवल धार्मिक/आध्यात्मिक यात्रा मात्र थिएन, जीवनको गहिराइ र सत्यता अनुभव गर्ने क्षण पनि थियो भन्दा अस्वाभाविक हुँदैन । सन्त र ऋषिहरूको ऐतिहासिक भव्यता, आध्यात्मिक ऊर्जा र दिव्य उपस्थितिले मनलाई ऊर्जावान् बनाएको जस्तो अनुभूतिले जीवनमा केही नौलोपनाको आभाष भइरहेको थियो । पछि मैले सामाजिक सञ्जालबाट थाहा पाएँ, पोखराका मेरा पत्रकार मित्र दीपेन्द्र श्रेष्ठले पनि सोही दिन प्रयागराजमा कुम्भ स्नान गरेका थिए । तर, हामी त्यहाँ भेटिन सकेनौँ । त्यहाँबाट फर्केपछि उनले सामाजिक सञ्जालमा आफ्ना भावना व्यक्त गरेका थिए– भक्ति, ध्यान र विश्वासको यो समय मेरो जीवनको अविस्मरणीय क्षण थियो ।

IMG-20250315-WA0011-1742030811.jpg
म स्वीकार गर्छु, म दीपेन्द्रको भावना र विचारसँग सहमत छु । संगममा डुबुल्की मार्ने क्षण जीवनको एउटा अविस्मरणीय क्षण थियो, जुन प्राप्त गर्न सजिलो छैन र त्यो क्षण अनुभव गर्नु कुनै ठूलो उपलब्धिभन्दा कम होइन । म यी र यस्तै सोच्दै अगाडि बढ्दै थिएँ, मैले देखेँ, कच्छपद्वार आइपुगेको थियो र यो द्वारबाट अगाडि हेर्दा मैले देखेको मानिसको समुद्र अविश्वसनीय र अद्भुत थियो । मैले मेरो जीवनमा पहिले कहिल्यै पनि एकैठाउँमा यति धेरै मानिस देखेको थिइनँ । यस्तो लाग्थ्यो, यी मानिस हिँडिरहेका थिएनन्, बरु सनातनी संस्कृतिको उत्कृष्ट अभिव्यक्तिका रूपमा संगमघाटतिर बगिरहेका थिए, संगमको जलधाराजस्तै... । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro