site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
सीडीओ छँदाका रोचक घटना

एकजना सामान्य प्रहरीको खराब आचरणले सिंगो प्रशासनयन्त्र नै बदनाम हुन्छ । यसको उदाहरण आफैँले भोगेँ । यो प्रसंग निकै रोचक छ ।

दिक्तेलको रत्नपार्कमा एकजना मासु व्यवसायी रहेछन् । मैले त्यहाँ बहाली गरेकै केही दिनपछि उनी बिहानै मेरो क्वार्टरमा एक किलो खसीको मासु लिएर आए । उनले भने, “सीडीओ साहेबहरूलाई कहिलेकाहीँ म मासु टक्रयाउँछु । म सधैँ खसी काटेर बिक्री गर्छु ।”

मलाई नराम्रो लाग्यो । यौटा निरीह व्यापारीसँग जिल्ला प्रशासकले त्यसरी शोषण गर्नु अन्याय हो भन्ने मेरो धारणा थियो । मैले स्पष्ट भनेँ, “यो मासु फिर्ता लानुहोस् । म रकम नतिरी खाने सीडीओ होइन । तपाईंले कसैलाई सित्तैमा केही ख्वाउनु पर्दैन । केही परे मलाई भन्नुहोला ।”

उनी मासु लिएर फर्के । तर, त्यही मासुले अर्को ठूलो काण्डको सामना गर्नुपर्‍यो केही महिनापछि । एक प्रहरी हवल्दार उनै पसलेसँग सित्तैमा मासु खान पल्केका रहेछन् ।

एक दिन ती पसलेले सित्तैमा मासु नदिएपछि बाख्रीको मासु बेचिस् भनेर प्रहरी थानामा लान समातेछन् । बजारका सबैले थाहा पाएर तिनको पछिपछि ठूलो जुलुस निस्केछ ।

प्रहरी हवल्दारले अनावश्यक भ्रष्ट आचरण गरी आएका कारण बजारका सबै पसले त्रसित रहेछन् र तिनले विरोध जनाई जुलुस प्रहरी कार्यालयमा पुगेछ । केहीले तोडफोड पनि सुरु गरेछन् ।

खबर पाएपछि म पनि त्यही पुगेँ । प्रहरी हवल्दारको विषयभन्दा पनि प्रहरी प्रशासनकै विरोध भएको पाइएकाले मैले सबैलाई सम्झाएँ, “तपाईंहरूले धन्दा मान्नु पर्दैन र कसैलाई अनावश्यक रकम ख्वाउनु पर्दैन ।”

ती पसलेलाई तुरुन्त छाडिदिएँ र हवल्दारलाई विभागीय कारबाही प्रारम्भ गरेँ । यसरी मासुकाण्डका रूपमा यो घटना जनमानसमा सम्झना रह्यो, २०२८ मा भएको ‘बोकोकाण्ड’ जस्तै उत्पात हुने हो कि भनी सबै डराएका थिए ।

खोटाङको सबभन्दा ठूलो समस्या नै खाद्यान्नको अभाव । जिल्लाको उत्पादनले नपुग्ने भएकाले बोकाएर तराईबाट ल्याउनुपर्ने । खाद्य संस्थानमार्फत चामल तराईको राजविराजबाट आउँथ्यो । त्यहाँको चामल संकटबारे अहिले पनि मलाई राम्रै सम्झना छ ।

त्यो बेला ढुवानीबापतको खर्च स्थानीय जनताले नै पाऊन् भनेर सल्लाह गरियो । चामल बोकेबापत ६० प्रतिशत बोक्ने स्वयम्ले लिने र बाँकी ४० प्रतिशत अनिवार्य गोदाममा बुझाउनुपर्ने व्यवस्था मिलाइयो ।

यो व्यवस्था अत्यन्त प्रभावकारी रह्यो । खाद्यान्न व्यवस्था गर्न मलाई सजिलो भयो । तर, केही पञ्चहरूले बहुदलका कार्यकर्ताहरूलाई समेत रकम तिरेर चामल किन्न दिइयो भनेर चित्त दुखाए ।

ती पनि यही देशका जनता हुन् तिनले पनि सरकारी चामल खरिद गरेर खान पाउने अधिकार छ भनेर मैले सम्झाएँ । यसमा सम्बन्धित गाउँ पञ्चायतका प्रधानपञ्च वा उपप्रधानपञ्चले जमानी बसी चामल ढुवानी गराउने व्यवस्था थियो ।

खोटाङतिरका एकजना उपप्रधानपञ्च यसमा असफल मात्र भएनन्, तिनले अनाहकमा ज्यान पनि गुमाउनुपर्‍यो । ती मेरा अत्यन्त परिचित व्यक्तिको असामयिक निधनले मलाई दुःखी तुल्यायो ।

यस्तै, खोटाङकै डिपो प्रमुख सुब्बाले चामलको व्यवस्था मिलाउन नसकी हिनामिना गरेको हुनाले मैले कष्ट व्यहोर्नुपर्‍यो । निज त भागी हाले, तर तिनका पिताजीले त्यो बेलाको एकएक लाख दण्ड व्यहोर्नुपर्‍यो । यो चामलकाण्ड पनि मेरा लागि दुःखद विषय भएको छ ।

यही चामलकाण्डका कारण एकजना धार्मिक, उदार र समाजसेवी भावना भएका प्रधानपञ्च मधुसूदन भट्टराईले केही दिन जेल पनि बस्नुपर्‍यो । चामल बोकेर ल्याउनेहरूले ४० प्रतिशत पनि नबुझाई खाइदिएकाले तिनको यथार्थ बुझेर पनि कानुनतः म थुन्न बाध्य भएँ । पछि त्यहाँका जनताहरूले यथार्थ बुझी रकम नै बुझाएपछि उनी जेलमुक्त भए ।

त्यहाँ बसुन्जेल चामलको व्यवस्थापन नै मेरा लागि चुनौतीको विषय भयो । मेरो अधिकांश समय चामलमा नै व्यतित हुन्थ्यो । म स्वयम् पनि ससुराली मार्सेबाट चामल झिकाएर व्यवहार चलाउँथे । अहिले त मोटरबाटो खुलेकाले यस्तो दुःखद स्थिति नहोला कि ?

जिल्लामा सानोतिनो घटना, दुर्घटना, झैझगडा, कुटपिट, चोरी, अपहरण, डकैती, जुलुस आदि म बसुन्जेल (अर्थात् ३ वर्ष) छुटेन । कहिल्यै आराम गर्न पाइएन, न पढ्न लेख्न नै !

पत्रपत्रिका आउँदैनथे भने हुन्छ । रेडियोको भर । टेलिफोन, मोबाइल केही थिएन, मोहन आकाशवाणीको भर । त्यो पनि पन्ध्रपल्ट ‘हेलो... हेलो...!’ गर्‍यो, सुन्न र बुझ्नै गाह्रो ।

खोटाङ बसाइका प्रत्येक वर्षजसो म चुनावमा व्यस्त रहेँ । अर्थात्, ०३७ मा जनमत, ०३८ मा राष्ट्रिय पञ्चायत र ०३९ मा स्थानीय पञ्चायतको । चुनाव सधैँको युद्धभूमिजस्तो हुन्थ्यो ।

यी वर्षहरूका बीच दोर्पा (साप्सु खोलाछेउ) को यौटा साम्प्रदायिक वा जातीय झगडाको समाधान गर्न म बाध्य भएँ । ब्राह्मणको बिहेमा केही जनजातिका गुण्डाहरूले बेहुलीलाई अपहरण गरेर एकातिर र बेहुलालाई अपहरण गरी अर्कोतिर पुर्‍याएछन् ।

अनि, बिहेको भोज बिथोलेको घटना मेरा मानसमा अझ ताजै छ । ती ८–१० जनालाई समातेर ल्याई, सकेसम्म शारीरिक दण्ड दिएर ६–६ महिना जेल दिइयो । खुट्टाको पाइतालामा बाँसको सिर्कनोले हानेपछि त्यसको सोला सिधै मुटुमा जाँदो रहेछ र मान्छे प्राणान्त हुँदो रहेछ ।

तर, घाउ–चोटपटक केही नलाग्ने र केही नदेखिने यस किसिमको अदृश्य, सशक्त दण्ड पनि त्यहीँ थाहा पाएँ । अनि, त्यस भेगका बूढापाकाहरूलाई भेट्दा अहिलेसम्म त्यस कडा कारबाहीको प्रभावले त्यस किसिमका घटनाहरू नघटी शान्तिपूर्वक बस्न पाएको सुनाउँदा म सन्तोषको श्वास फेर्छ ।

कम से कम मैले जातीय विद्वेष र झगडालाई कम गर्ने कोसिस गरेको रहेछु भन्ने लाग्छ । मलाई संसारमा नारी र पुरुष दुई जात मात्र छन् भन्ने लाग्छ र त्यही चेतना हामी सबैमा हुनुपर्छ ।

यस्तै अर्को दुःखद घटना घट्यो दिक्तेलबजारको एक होटेलमा । शिक्षामा काम गर्ने एकजना सुब्बा भाइलाई टाइफाइड भएछ । स्थानीय हेल्थ सेन्टरका कम्पाउन्डरले के सुई हो दिएछन्, निजको त्यही होटेलमा तुरुन्तै प्राण गएछ ।

यही विषयलाई लिएर मैले ‘एउटा लासमाथि’ कथा लेखेँ – जो राम्रो मानियो अनि पछि यस कथाको रचनागर्भ अझ पृष्ठभूमि लेखेँ । त्यसको केही अंश यहाँ प्रस्तुत गर्छु–
कार्यालयमा बसिरहेको थिएँ । हुनसक्छ कुनै छलफलमा थिएँ । एक्कासि बान्तावाजी (मेरो सहायक साथी) दौडेर आउनुभयो, “लौ ! बरबाद भयो । लौ ! सर्वनाश भयो । लौ ! के गर्ने हो, सीडीओ साहेब ?”

“होइन, के भयो ? घटना त भन्नुहोस् ।” मैले उहाँलाई सामान्य बनाउने प्रयास गरेँ ।

“शिक्षा कार्यालयको सुब्बा चट् ! मरि नै सक्यो भन्या ।” उहाँको स्वरमा अझ भयपन थियो । प्रमुख जिल्ला अधिकारीको पद यस्तो छ कि अरू आत्तिए पनि आफू आत्तिन नहुने, धैर्य लिनुपर्ने ।

“को सुब्बा ? कसरी मर्‍यो ?”

“लिम्बू सुब्बा मर्‍यो । अलिकति रुघाखोकी लागेको रहेछ, हेल्थ–असिस्टेन्टको एक सुईले चट् । चट् नै भन्या । लयालुको होटेलमा मान्छेको भीड भइसक्यो, हामी छिटो जाऔँ ।”

त्यो होटेल टाढा थिएन । म र बान्तवाजी तुरुन्तै पुग्यौँ । होटेल वरिपरि दुई–तीन सय मान्छे जम्मा भइसकेका रहेछन् । त्यो भीडलाई हटाएर होटेलको माथिल्लो तलामा गयौँ । हेर्‍यौँ, अस्तिसम्म शिक्षा कार्यालयमा काम गरिरहेका सुब्बाको लास लडिरहेको छ, मुडोजस्तो भएर ।

छेउमा त्यहाँको हेल्थ–असिस्टेन्ट केसी झोक्राएर बसेको छ । मैले स्थिति बुझिहालेँ, नाजुक छ । अलिकति गडबड भएमा के हुन्छ, के हुन्न ? भन्न सकिने अवस्था छैन ।

बाहिरबाट हुलको आवाज आइरहेछ, “सुब्बाको हत्यारा त्यस हेल्थ असिस्टेन्ट केसीलाई बाहिर निकाल् । त्यसलाई पिटीपिटी मार्छौं ।”

बान्तवा र म एकछिन आत्तियौँ । तर, समय र परिस्थितिलाई जसरी पनि नियन्त्रणमा लिनुपर्छ भन्ने कुरा मलाई थाहा थियो । मैले तत्काल सबैले सुन्ने र देख्ने गरी कराएँ, “प्रहरी भाइ ! यो ज्यानमारा हेल्थ असिस्टेन्ट केसीलाई पक्राउ गरी तुरुन्त लगेर तुरुङमा हाल्नूस् ।” नभन्दै सबैले देख्ने गरी केसी पक्राउ परे र भीडबाट बाहिर निकाली सुरक्षासाथ उनलाई प्रहरी कार्यालयमा पुर्‍याइयो ।

बाहिर निस्केर भीडलाई मैले आश्वासन दिएँ, “तपाईंहरू धन्दा नमान्नुहोस् । सुब्बाको ज्यानमारा केसीलाई मैले जेल हालिसकेँ । अरू कानुनबमोजिम कारबाही गर्नेछु ।”

“पोस्मार्टम हुनुपर्छ, अन्यथा हामी मान्दैनौँ ।” भीडबाट आवाज आयो ।

“यहाँ पोस्मार्टम हुन सक्तैन । भोजपुर वा ओखलढुंगा कहीँ लगी पोस्टमार्टम गराउँछु । ज्यानमाराजस्तो कुरामा म ‘सिरियसली’ लिन्छु । म आफ्नो वचन पूरा गर्छु ।” मैले आश्वासन दिएँ । विस्तारै भीड पातलियो । लासलाई प्रहरीहरूले आफ्नो कब्जामा लिए ।

अब कार्यालयमा आएर म घोरिएँ । त्यस बेला दिक्तेलमा अस्पताल थिएन । सानो हेल्थपोस्ट थियो, फेरि त्यसकै हाकिमको गति यस्तो ! त्यो रातभरि निद्रा लागेन । मनमा थरीथरीका कुराहरू आइरहे ।

भोलि बिहानै छिमेकी जिल्ला ओखलढुंगा र भोजपुरका प्रजिअहरूसँग सम्पर्क राखेँ, कोड आ.व.को माध्यमले । डाक्टर त कुनै ठाउँबाट पनि नआउने । लास पठाएमा भोजपुरले पोस्टमार्टमसम्म गरिदिने भयो ।

लासलाई कसरी भोजपुरसम्म पुर्‍याउने ? श्रावण–भाद्रको महिना छ । पानी झमझम परिररहेछ । लासलाई बोकेर लाने मान्छेहरूको खोजी गरेँ । त्यस बेला ५–६ हजारसम्म दिँदा पनि त्यो लास बोकेर लैजान कोही तयार भएनन् ।

जो आउँछन्, कुरा गर्छन्, जान्छन् । भारी बोक्ने भरियाहरूसँग कुरा गरेँ । सरकारसँग यस्तो बेला जत्ति पनि बजेट छ, रुपियाँ कुम्ल्याउने बेला यही हो भन्ने मानसिकता रहेको पाएँ । आफूसँग न बजेट छ न गजेट ! एकदुई दिन यसै बित्यो ।

जिल्लाका नेताहरूले काम पाए । आखिर दुर्गम जिल्ला न पर्‍यो ! यस्तो एकदुईवटा इस्यु नभए नेताहरूले के गरी बस्ने ? प्रतिनिधिमण्डल आउन सुरु भयो– हेलिकोप्टर झिकाएर भए पनि लास भोजपुर वा जहाँ लगेर हुन्छ, पोस्टमार्टम गर्नुपर्छ ।

हेल्थ–असिस्टेन्ट केसीमाथि कडाभन्दा कडा कारबाही हुनैपर्छ । फेरि, लयालु होटेलवालाको आफ्नै गुनासो छ, “दुईचार पैसा कमाएर खानुपर्ने । होटेल बन्द छ, लास गनाउन लाग्यो हजुर, के गर्ने ?”

कस्तो संकटमा परियो, “खाइनस् कि सीडीओ !” आफैँलाई धिक्कारेँ । गार्ड लिएर सयौँको नमस्कार खाएको, सबै निस्कने बेला भयो ।

स्थानीय नेताहरूको एक समूहलाई मेरा कुरा काट्ने राम्रो मौका मिल्यो–जाबो एउटा लासको पोस्मार्टम गराउन सक्तैन सीडीओ ! अनि, यसैसँग गाँसियो– बजारको भाउ नियन्त्रण गर्न सक्तैन सीडीओ ! यसपालि गोदाम बन्द छ– उसिना चामल समेत ख्वाउन सक्तैन सीडीओ !

लासलाई बजारको सिरानमा स्थानीय रत्नपार्क नजिकसम्म लगेर राखियो । भोजपुर वा ओखलढुंगा कहीँ लान सक्ने कुरा भएन । लास प्रतिदिन गनाउन र कुहुन थाल्यो । मान्छेहरूले सल्लाह दिए– शिवजीले पार्वतीको लास बोकेर हिँडेजस्तो हुन्छ यो लास बोकेर हिँड्नु । आँखा एक ठाउँमा गएर खस्ला, नाक अर्कोतिर आदिआदि ।

सुब्बाको आफन्त, दाजुभाइ धरानमा रहेछन् । उनीहरूलाई झिकाई लास बुझाउने सल्लाह भयो । विराटनगरको हवाईजहाजको कुनै टुंगो छैन । सुब्बाको दाजु आज आउँछ–छैन । भोलि आउँछ–छैन ।

लगभग एक हप्ता बित्यो । लास रुङ्ने व्यवस्था गर्नुपरेको छ । बजारका एक हुल गण्यमान्य व्यक्तिहरू आउँछन् र भन्छन्, “हामी जहाँ, जे लेख्नुपर्ने हो लेखिदिन्छौँ, बजार नै दुर्गन्धित हुने गरेर यो लास राख्न भएन, गाडिदिऔँ ।”

अर्को हुलले भन्छ, “त्यसै छाड्नु हुँदैन । पोस्टमार्टम नगरी कहाँ हुन्छ ? कानुनानुसार त हुनुपर्‍यो नि !” 

अझ अर्को समूहले उचाल्छ, “सुब्बाको कर्तव्यज्यानबापत कम से कम लाखको मुआब्जा दाजुभाइहरूले पाउनुपर्छ ।”

म भने ती दुःखका क्षणहरूमा भोजपुरका पुराना बडाहाकिमहरूलाई सम्झिरहेछु । ती धेरै सहृदयीहरू, जससँग म नजिक थिएँ र जो अब कालको लामो कालखण्डमा कहीँ, कतै बिलाएका छन् ।

कहिले बद्रीविक्रम थापा आउनुहुन्छ, कहिले गोविन्दप्रसाद सिंह, कहिले गम्भीरध्वज गुरुङ आदिआदि । तिनको कार्यशैलीहरूलाई आफूमा उतार्न चाहन्छु, कोसिस गर्छु तर सक्तिनँ ।

आफ्नै सुब्बा (उमेरभन्दा जेठा) स्वर्गीय टंकप्रसाद पोखरेलले भनेको सम्झन्छु, “ऐन–मौकामा सीडीओ एक्लै पर्छ नि हजुर ! अत्यन्त विचार पुर्‍याएर काम गर्नुहोस् ।”

म भने पहिलोपटक सीडीओ भएको, त्यो पनि जनमतको संक्रमणकालको बेला । हरेक दिन कुनै न कुनै समस्या आउँथ्यो र त्यसको समाधान नगरी धर थिएन । वास्तवमा म हैरान थिएँ । भालुको कन्पट समाएजत्तिकै भएको थियो ।

धरानबाट सुब्बाको दाजु बल्लतल्ल आइपुग्नुभयो । भाइ अकालमा मरेको पीडासँगै उहाँले भन्नुभयो, “हजुर ! भाइ त मरिगयो, अब फर्केर आउने होइन । सरकारले कम से कम लाख रुपियाँ सहयोग गर्नुपर्‍यो ।”

म गम्भीर भएँ । मैले थाहा पाइहालेँ, कुनै समूहले सुब्बाको दाजुलाई पहिल्यै भेटी कान फुकिसकेको छ ।

मैले सम्झाएँ, “तपाईंको भाइ कालगतिले मर्नुभएको होइन । न त कर्तव्यले नै हो । मारौँ भनेर डाक्टरले सुई दिएको होइन । अब त्यस्तै पर्‍यो । लासका लागि क्रियाखर्च लिनोस्, अरू त म के गर्न सक्छु र ?”

सुरुमा त उसले आनाकानी गर्‍यो । तर, मैले अलि दबाबसहित दाजुले लास बुझेको कागतमा सही गराएँ र २–३ हजार के कति हो, दाजुको पाकेटमा हालिदिएँ । अनि, म अलिकति आश्वस्त भएँ । एउटा मान्छेको लासको समस्या अब समाधान भएजस्तो भयो ।

बस्, ‘एउटा लासमाथि’ कथाको पृष्ठभूमि भने पनि, घटना भने पनि यही थियो – जुन कुरालाई लगभग दस वर्षपछि मैले कथामा उतारेँ अथवा भनौँ ल्याएँ ।

जिन्दगी नै सीडीओ भएर बिताउनेहरूका लागि यो कुनै घटना होइन, मामुली हो । तर, म लेखक–सीडीओका लागि एउटा कथाको वस्तु भयो । कथामा के छ कसरी प्रस्तुत छ, म लेख्न चाहन्नँ । देशको तत्कालीन राजनीतिक, सामाजिक र आर्थिक स्थितिलाई एउटा लासमार्फत मैले व्यंग्य गरेँ ।

मैले अघिअघि पनि लेखेको छु– म मुक्त भएँ । त्यो एउटा प्रसंगबाट स्वतन्त्र भएँ । एउटा भोगेको यथार्थलाई कथामा ल्याएँ । यही मेरो मुक्ति हो ।

कुनै बेला स्वर्गीय बद्रीविक्रम थापाले भन्नुभएको थियो, “परशुजी ! तपाईं त लेखक पनि, सीडीओ पनि । जिल्लाको प्रशासनिक डायरी लेख्नुहोला है । मैले त केही लेख्न सकिनँ ।”

मानौँ यो डायरी नै हो, एउटा जिल्ला प्रशासकको, एउटा लेखकको ।

(आख्यानकार परशु प्रधानको संस्मरणात्मक कृति ‘जिन्दगीका मोडहरू’बाट ।)
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro