site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
१५ वर्षपछि संयुक्त राष्ट्रसंघका महासचिव काठमाडौंमा, को हुन् एन्टोनियो गुटेरेस ? 

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणको सिलसिलामा आइतबार बिहान काठमाडौं आइपुगेका छन् ।

उनी यस्तो समयमा नेपाल भ्रमणमा आएका छन् जतिबेला विश्व इजरायल र प्यालेस्टिन दुई खेमामा विभाजन भइरहेको छ । 

यस्तो जटिल विश्व परिस्थितिमा पनि उनले नेपालको लागि चार दिन दिनुले विश्व कूटनीतिमा नेपालको महत्व एक पटक फेरि सम्झाइदिएका छन् । 

Dabur Nepal
NIC Asia

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ राष्ट्रसंघको ७८औँ  महासभामा सहभागी हुने क्रममा गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । 

एक समय नेपालको शान्ति प्रक्रियामा राष्ट्रसंघ संलग्न भएका कारण र जलवायु परिवर्तनको सबैभन्दा बढी प्रभावित देशको सूचीमा रहेका कारण नेपाल भ्रमणको निम्तो गुटरेसले सहजै स्वीकारेका थिए । 

यसअघि उनी असोज २६ गते नेपाल भ्रमणमा आउने कार्यक्रम थियो । इजरायल र प्यालेस्टिन चरमपन्थी समूह हमासबीच युद्ध चर्किएपछि राष्ट्रसंघका महासचिव गुटेरसले असोज २३ गते नेपाल भ्रमण स्थगित गरेका थिए । त्यसपछि कात्तिक १२ गतेबाट सुरु हुने गरी नयाँ भ्रमण तालिका सार्वजनिक गरिएको थियो । 

यसअघि बान की मुनले सन् २००८ अक्टोबर अन्तिम साता संयुक्त राष्टसंघको महासचिवको रूपमा नेपाल भ्रमण गरेका थिए । यसको ठिक १५ वर्षपछि राष्ट्रसंघका महासचिव गुटेरेस आइतबार बिहान नेपाल भ्रमणमा आएका हुन् ।

संयोग नै मान्नुपर्छ, यसअघि मुन अक्टोबर साता नेपाल आएका थिए भने अहिले गुटेरेस पनि अक्टोबर अन्तिम साता नै नेपाल भ्रमणमा आएका छन् । त्यति मात्र होइन मुन आउँदा प्रधानमन्त्री प्रचण्ड थिए भने अहिले गुटेरेस आउँदा पनि प्रधानमन्त्री प्रचण्ड नै छन् । 

महासचिवको रूपमा नेपाल भ्रमणमा आउँदा मुनले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई उच्च प्राथमिकता दिइ त्यहाँ गएका थिए भने गुटेरेसको पनि लुम्बिनी भ्रमण गर्ने कार्यक्रम रहेको छ । 

को हुन् गुटेरेस ? 
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको पूरा नाम एन्टोनियो म्यानुअल डे ओलिभेरा गुटेरेस हो ।

उनको जन्म सन् १९४९ अप्रिल ३० का दिन युरोपेली राष्ट्र पोर्चुगलमा भएको थियो । गुटेरेस पोर्चुगलका राजनीतिज्ञ र कूटनीतिज्ञ हुन् । 

बान की मुनको दोस्रो कार्यकाल ३१ डिसेम्बर २०१६ मा समाप्त भएपछि गुटेरेस संयुक्त राष्ट्रसंघको महासचिव भएका थिए । उनले सन् २०१७ बाट राष्ट्रसंघको महासचिवको जिम्मेवारी सम्हालेका हुन् । उनी संयुक्त राष्ट्रसंघको नवौँ महासचिव हुन् । 

पोर्चुगीस सोसियलिस्ट पार्टीको सदस्य गुटेरेस सन् १९९५ देखि २००२ सम्म पोर्चुगलको प्रधानमन्त्री रहेका थिए । गुटेरेसले सन् १९९२ देखि २००२ सम्म सोसियलिस्ट पार्टीको महासचिवको रूपमा गरेका थिए । 

गुटेरेस सन् १९९५ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । सन् २००१ मा पोर्चुगलको स्थानीय निर्वाचनमा उनको पार्टी पराजित भएपछि सन् २००२ मा प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । 

सन् २०१२ र २०१४ मा पोर्चुगलमा गरिएको सर्वेक्षणले पछिल्लो ३० वर्षमा गुटेरेस पोर्चुगलको उत्कृष्ट प्रधानमन्त्री रहेको देखाएको थियो । 

गुटेरेस सन् १९९९ देखि २००५ सम्म सोसियलिस्ट इन्टरनेसनलको अध्यक्ष रहेका थिए । उनले सन् २००५ देखि २०१५ सम्म शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघको उच्च आयुक्तको रूपमा काम गरेका थिए ।

गुटेरेस सन् २०१६ अक्टोबरमा संयुक्त राष्ट्रसंघको महासचिवमा निर्वाचित भएका थिए । सन् १९८१ मा कर्ट वाल्डहेमपछि संयुक्त राष्ट्रसंघको महासचिवको जिम्मेवारी सम्हाल्ने गुटेरेस पहिलो युरोपेली हुन् ।

के छ कार्यक्रम ? 
नेपाल भ्रमणमा महासचिव गुटेरेसले विशेषगरी दुई वटा कार्यक्रममा बढी ध्यान दिएका छन् । पहिलो, बाँकी रहेको शान्ति प्रक्रिया र दोस्रो, जलवायु परिवर्तनका असर । 

१० वर्षे सशस्त्र विद्रोहपछि माओवादी शान्ति प्रक्रियामा आएको १६ वर्ष बितिसकेको छ । शान्ति प्रक्रियाका केही काम बाँकी नै छन् । खासगरी गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका दोषीलाई के कस्तो कारबाही गर्ने र पीडितहरूलाई कसरी न्याय दिने भन्ने कुरा टुङ्गाउन बाँकी नै छ । 

गुटेरेसले शान्ति प्रक्रियाका बाँकी कामका विषयमा आइतबार राजनीतिक दलका नेताहरूसँग छलफल गर्नेछन् । उनले सुरुमा परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्नेछन् । त्यसपछि उनले उपप्रधान रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग कुराकानी गर्नेछन् । 

त्यसपछि गुटेरेसले आज (आइतबार) नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । उनले प्रधानमन्त्रीसँग भेट गरेपछि बानेश्वरस्थित संसद् भवन बीआईसीसीमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । 

देउवा र ओलीसँग भेटवार्ता गरेपछि शीतल निवासमा उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नेछन् । 

परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेस सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टमार्फत सगरमाथा क्षेत्रमा जानेछन् । उनले त्यहाँ स्थानीय जनतासँग जलवायु परिवर्तनले उनीहरूको दैनिक जीवनमा पारेका असरका विषयमा कुराकानी गर्नेछन् । उनी सोमबार नै पर्यटकीय नगरी पोखरा जानेछन् । 

मौसमले साथ दिएमा राष्ट्रसंघका महासचिव गुटेरेस मंगलबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा चढेर अन्नपूर्ण बेस क्याम्प जाने कार्यक्रम छ । त्यहाँ उनले स्थानीय जनतासँग जलवायु परिवर्तनले दैनिक जीवनमा पारेका प्रभावका विषयमा कुराकानी गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

उनी मंगलबार नै पोखराबाट गौतम बुद्धको जन्मस्थल लुम्बिनी जानेछन् । उनले मायादेवी मन्दीरको अवलोकन गर्ने कार्यक्रम छ । उनले लुम्बिनीबाट विश्व शान्तिको सन्देश दिने जनाइएको छ । 

लुम्बिनीबाट फर्किएपछि मंगलबार उनले संसद्का दुवै सदनलाई एकसाथ सम्बोधन गर्ने कार्यक्रम छ । बुधबार बिहान उनी फर्कने कार्यक्रम छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १४:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro