विपीन कार्कीभन्नेबित्तिकै धेरै दर्शकको दिमागमा बन्ने इमेज हो, ‘भर्सटाइल’ अभिनेता । हुन पनि हो, अक्सर विपीन सिनेमामा फरकफरक चरित्रमा देखिने प्रयत्न गर्छन् । जबकि, उनकै समकालीन तथा अग्रजमाथि स्टेरियोटाइपको आरोप लाग्ने गर्छ । ‘लुट’को पहिलो सिरिजमा गेस्ट रोलका रूपमा छोटो स्क्रिन टाइम पाएका विपीनलाई दर्शकले त्यति बेला नोटिस गरे, जब विन्दुको क्यारेक्टरमा देखिए । ‘छड्के’को विन्दुबाट उनले धेरै दर्शकको माया पाए । लगत्तै आएको ‘पशुपतिप्रसाद’को भष्मे डनले उनलाई नेपाली सिनेमाको ‘डन’ बनायो । त्यसयता विपीनलाई आफ्नो सिनेमामा खेलाउन मेकर लालायित भए । आजपर्यन्त उनलाई सिनेमा खेल्न भ्याइ नभ्याइ छ । डेढ दर्जनभन्दा धेरै चलचित्रमा एक्सन–कट्को अनुभव सँगालेका उनै विपीनको कलाजीवन बाह्रखरीको योपटकको एक्सन–कट्का तिता–मिठा शृंखलामा :
० ० ०
‘छड्के’ खेलेपछि विपीनसामु थुप्रै स्क्रिप्ट आइपुगे । नेपाली रजतपटमा खासै ‘मार्क’ नभएका उनलाई त्यसपछि दर्शकले आफूलाई चिन्न थालेको महसुस गरेका थिए । त्यसैले उनी जे आउँछ, साइन गर्न हतारिँदैन थिए । स्क्रिप्ट पढ्थे । स्क्रिप्ट बलियो लागे ‘ओके’ गर्थे, नलागे ‘रिजेक्ट’ । उनलाई ‘छड्के’ र ‘पशुपतिप्रसाद’को बीचमा आएका अधिकांश स्क्रिप्ट चित्त बुझेन ।
त्यसो त ‘छड्के’बाट दर्शकसामु आफूलाई चिनाउन उनले निकै मिहिनेत गर्नुपरेको थियो । दशकौँसम्म सेतो पर्दालाई पेवाजस्तै बनाएका मूलधारका हस्तीहरूलाई केही कलाकारले ओझेलमा पारिसकेका थिए । दयाहाङ राई, सौगात मल्ल, फाट्टफुट्ट भए पनि देखिने सुनील पोखरेल, रोबिन तामाङ, अर्पण थापा, नम्रता श्रेष्ठजस्ता पात्रहरूसँगै झन्डैझन्डै समानान्तर रूपमा आफूलाई उतारेका विपीनलाई कम्तीमा न्याय गर्ने कथा चाहिएको थियो । त्यसैले उनले दुईचार पैसाको माया मारे । ‘हुन्न’ भने ।
‘छड्के’लाई आजसम्म विपीनले भुल्न सकेका छैनन् । यसका केही कारण छन् उनीसँग ।
जस्तै ?
पहिलो, जसलाई उनले रंगमञ्चको दुनियाँमा आफ्नो आइडल माने, सौगात मल्ल – उनैसँग त्यो चलचित्रमा काम गरे । कमलमणि नेपालको संगतले थिएटरमा छिरेका विपीन सौगातसँग प्रभावित भए र रत्तिए । उनलाई सौगातको अभिनयकला बडो अजिबको लाग्थ्यो । सौगातसरह अभिनय गर्ने हुटहुटीले तनाव दिन्थ्यो । अनि, आफैँ हरेस खान्थे । दिमागमा आउँथ्यो– कहाँ सक्नु, सक्तिनँ !
उनै सौगातले विपीनलाई रंगमञ्चको कला सिकाए । ब्रिग्रँदा ‘त्यसो होइन विपीन, यसरी गर्नुपर्छ’ भने । चिप्लिएर लड्दा हात दिए । उठ्न खोज्दा साथ दिए । तिनै सौगातसँग ‘छड्के’मा खेल्न पाउनु विपीनका लागि अहोभाग्य थियो ।
उनकै शब्दमा विपीनमा एउटा कमजोरी छ रे !
कस्तो कमजोरी ?
जस्तोसुकै सजिलो चरित्र नै किन नहोस्, उनलाई गर्न सक्छु जस्तो कहिल्यै लाग्दैन रे ! अहिले पनि विपीनले हरेक सिनेमामा भोग्ने समस्या हो यो । भलै, बलमिच्याइँ गरेर ह्याकुलोले थिच्छन् ! र, काम गर्छन् ।
“छड्केमा पनि त्यस्तै भएको थियो । स्क्रिप्ट हेर्छु, राम्रो लाग्छ । अग्रज हस्ती कलाकारहरूसँग खेल्ने अवसर छ, जिम्मेवारी हेर्छु, सक्छु र ? जस्तो लाग्छ । यो अवसर गुमाउनु हुँदैन भन्ने लाग्छ । अन्ततः हुन्छ भनेँ । अनि, खेलेँ छड्के,” उनी भन्छन् ।
‘छड्के’ले उनलाई नाम दियो । त्योभन्दा पनि धेरै त अभिनयको पारो कति छ, जाँच्ने मौका मिल्यो । विपीनको अनुहार दर्शकको मस्तिष्कमा बसाइदियो । फलतः उनी दर्शक र नेपाली सिने नगरीमा मार्क भए ।
‘छड्के’मा विपीन चितवनको स्थानीय पात्र भएर खेलेका थिए । सुटिङको समय त्यहाँ त्यसैगरी हिँड्थे, जस्तो ‘छड्के’मा देखिन्छन् । चितवनमा छायांकन हेर्न आउनेहरू पनि उनलाई स्थानीय कलाकार नै भन्ठान्थे रे !
पछिसम्म धेरैले उनलाई ‘चितवनको कलाकार’ भन्थे । फेसबुकमा ‘घर चितवन हैन ?’ भनेर सोधिरहन्थे ।
० ० ०
न अनुहार छ न रूप, बेढंगको बोली । त्यसमाथि भासिएको स्वर । असहज मात्र होइन, साँच्चै अजिब पात्र छ ‘पशुपतिप्रसाद’मा भष्मे डन । आर्यघाटमा ‘टिला’ र मान्छे पोलेका ‘सेकेन्ड ह्यान्ड’ मुढा बटुलेर जिन्दगी घिसारिरहेको भष्मे आफूलाई पशुपति क्षेत्रको स्वघोषित ‘डन’ भन्छ । आफूजस्तै दुईचारजनालाई पछि लगाएर हिँड्छ ।
मरेका मान्छेका औँठी ब्रह्मनालमा अन्तिम संस्कार गर्दा तिनका आफन्तले वाग्मतीमा कहिले फाल्छन् र त्यसलाई हासिल गरी महँगोमा बेचेर ऋण तिरेपछि भुईंचालोमा परेर मरेका आफ्ना बाबुआमाको अस्तु सेलाउँला भन्ने भष्मेको एक मात्र ‘तार्गेट’ छ । यो अजिबको पात्र कसरी जन्मिएको थियो ?
एक दिन ‘पशुपतिप्रसाद’को स्क्रिप्ट उनीसामु आइपुग्यो । ‘छड्के’पछि धेरै स्क्रिप्ट पढे पनि उनलाई खासै चित्त बुझेको थिएन । यो भने मन पर्यो । निर्माण पक्षलाई भने– खेल्छु ।
‘पशुपतिप्रसाद’को स्क्रिप्ट विपीनसामु आइपुग्दा अहिलेको ‘भष्मे’को रूप थिएन । चलचित्र निर्माणका लागि छलफल गर्ने भन्दै निर्माण युनिटले ‘क्लोज क्याम्प’ राख्यो । विपीन पनि सहभागी हुनै नै भए । क्लोज क्याम्पमा जानुभन्दा अगाडि उनले आफ्नो चरित्र पटकपटक पढेका थिए । केही न केही नयाँ गर्नुपर्छ भन्ने थियो । कारण, यसमा मिहिनेत नगरे ‘पशुपतिप्रसाद’भित्रै हराइन्छ भन्ने उनलाई पूरापूर थाहा थियो । त्यति मात्र होइन, ‘छड्के’मा देखाएको कला ‘पशुपतिप्रसाद’ले पशुपतिमै सेलाइदिन्छ भन्ने उनलाई लागेको थियो । अनि, सुरु गरे विपीनले भष्मेका लागि नाटक ।
नाटक ?
‘हो, नाटक ।’
कस्तो नाटक ?
क्लोज क्याम्पमा ‘पशुपतिप्रसाद’का नायक तथा लेखक खगेन्द्र लामिछाने, निर्देशक दीपेन्द्र के खनाललगायत सबै कलाकार थिए । चलचित्र कसरी राम्रो बनाउने भन्ने छलफल सुरु भयो । सबैले आफूलाई ‘थिंक ट्यांक’कै रूपमा प्रस्तुत गरिरहेका थिए । बोल्ने पालो आयो विपीनको ।
बोल्न खोज्छन्, स्वर पटक्कै स्पष्ट आउँदैन । मोटोे स्वर भएका विपीन भित्रभित्रै श्वासले मात्र बोल्छन् । ‘मेरो स्वर भासियो । यस्तै आउँछ दुईचार दिनदेखि,’ उनले सबैसामु भने । त्यस्तै स्वरले कसरी क्यारेक्टर राम्रो बनाउन सकिएला भन्ने उनले आफ्नो धारणा राखे । भष्मे क्योरक्टरलाई कसरी चित्रण गर्नेबारे बोले ।
निर्देशक खनाल र लेखक लामिछानेले पनि सुझाव दिए । यस्तो खालको ‘माइन्ड मेकअप’ गर भने । उनले सहमति जनाए । दुवैले उनलाई छायांकन गर्ने बेलासम्म स्वर ठिक हुन्छ भन्दै चिन्ता नगर्न हौसला दिए ।
तर, कुरा अर्कै थियो ।
कस्तो अर्कै कुरा ?
“वास्तवमा मेरो स्वर भासिएको थिएन नि ! मेरो स्वर सामान्य अवस्थामा जस्तो हो, त्यस्तै नै थियो । मैले ढाँटेको थिएँ,” विपीन नोस्टाल्जिक हुन्छन् ।
केही बिल्कुल नयाँ र फरक नगरे कसैले पनि ‘नोटिस’ गर्दैन भन्ने डरले उनको मनमा घर गरेको थियो । त्यसैले उनले बनावटी स्वर निकालेर बोलेका थिए, क्लोज क्याम्पमा । घरीघरी उनी बोल्दा बिर्सन्थे, ओरिजिनल स्वर खुस्किन्थ्यो । त्यस्तो अवस्थामा फाट्टफुट्ट ओरिजिनल स्वर पनि आउँछ भन्थे, फेरि ढाँट्थे ।
सुटिङ सुरु हुनुभन्दा चार/पाँच दिनअगाडि भने विपीनले खगेन्द्रसँग आफ्नो गुह्य कुरा खोले । आफूले भासिएको आवाजमा भष्मेको क्यारेक्टर गर्न नक्कली स्वर निकालिरहेको सुटुक्क बताए । खगेन्द्रले पनि त्यसको केही दिनपछि निर्देशक दीपेन्द्रलाई विपीनको योजना सुनाए । दीपेन्द्रले ‘राम्रो गर्न सक्छौ भने गर’ भने ।
“यसरी पशुपतिप्रसादमा मैले मेरो स्वर भासिएको निकालेको थिएँ । सायद मैले नर्मल स्वरमा भष्मेको क्यारेक्टर गरेको भए कसैले पनि मलाई नोटिस गर्दैनथ्यो,” विपीनले दोहोर्याए, “म पशुपतिप्रसादभित्रै कतै हराउँथेँ । सायद खोज्दा मैले मात्रै देख्थेँ होला भष्मेलाई ।”
विपीन आफ्नो चरित्र हिट हुनेमा ढुक्क थिए । उनी सुटिङकै क्रममा भन्थे– पशुपतिप्रसादमा मेरो चरित्र हिट हुन्छ । पशुपतिप्रसाद हिट भयो भने मेरो क्यारेक्टरलाई पनि सबैले नोटिस गर्छ । पशुपतिप्रसादलाई जस्तै दर्शकले भष्मेलाई सम्झनेछन् ।
अब प्रसंग ‘पशुपतिप्रसाद’को मुख्य क्यारेक्टरमध्येको एक भष्मे डनको ‘स्पिनअप’मा बनाइएको ‘पशुपतिप्रसाद–२ : भष्मे डन’को । गएको चैतमा चलचित्र छायांकन हुँदै थियो । भष्मे डन यसै पनि लोकप्रिय कलाकार, उनका फ्यान फलोइङ हुने नै भयो । भीडबाट उनलाई लुकाएर सिनेमाको छायांकनलाई बिनाअवरोध निरन्तरता दिन कठिन भइरहेको थियो । सुरुका दुईतीन दिन त विपीनसँग फोटो खिच्नेको यति भीड लाग्यो, दिनमा दुईतीनभन्दा धेरै सिन खिच्न सम्भवै भएन । पछि ग्रुप फोरबाट सेक्युरेटी नै झिकाएर भीडलाई रोकियो ।
ठ्याक्कै कुन दिन थियो, त्यो त विपीनले बिर्सिए, घटना भने विस्मृतिमा गइसकेको छैन । पशुपतिनाथ आर्यघाटमा ‘पशुपतिप्रसाद–२ : भष्मे डन’को छायांकन भइरहेको थियो । ब्रह्मनालमा हिन्दु परम्पराअनुसारको कर्म सकाएर शव जलाउन आफन्तले तोकिएको घाटतर्फ लैजाँदै थिए । त्यो शव कसको थियो, उनका छोरा र आफन्त को थिए, विपीनलाई थाहा छैन । शव बोकिरहेका मध्ये एकजनाले हात उठाउँदै भने– भष्मे दाइ, म तपाईंको फ्यान हुँ । दाइ, म तपाईंको डाई हार्ट फ्यान हुँ ।
विपीन भन्छन्– फ्यानले पनि आफू कुन परिवेश र अवस्थामा छु भनेर बुझिदिए म कति खुसी हुने थिएँ ।
इमोसन जोसँग पनि हुने तर आफूलाई कहाँ कति इमोसनल बनाउने त्यसमा सबैले ख्याल गर्नुपर्नेमा उनी जोड दिन्छन् । “हुन त इमोसन नियन्त्रण गर्न कठिन हुन्छ पनि भनिन्छ,” विपीन आफैँ भन्छन् ।
पछि निर्देशक दीपेन्द्रले विपीनलाई भने– आज मलाई बहुत दुःख लागिरहेको छ ।
विपीन : किन दाइ ?
दीपेन्द्र : तिम्रो क्रेजले मलाई आज दुःखी बनायो ।
विपीन : कसरी दाइ ?
दीपेन्द्र : मान्छेमा इमोसन पनि हुँदो रहेनछ यार, यस्तो हुन्छ पनि हुन्छ ! लास बोकेको मान्छे भष्मे दाइ भनेर बस्छन्, त्यस्तो पनि हुन्छ ?
“म यस्तो अवस्थामा खुसी हुने कि दुःखी हुने ? एक्टरको हिसाबले मेरा फ्यान यो तहका पनि छन् भन्ने हो भने सफलता हो,” विपीन भन्छन्, “मानवताका हिसाबले त्यस्तो ठाउँमा के गर्ने र के नगर्ने भन्ने चेतना भए सायद राम्रो हुने थियो ।”
० ० ०
विपीन भन्नेबित्तिकै हरेक सिनेमामा केही नयाँ चरित्रमा आउने कलाकारको पर्यायवाचीजस्तै बनिसकेको छ । त्यसैले मेकरबाट अफर आउनेबित्तिकै उनलाई कौतूहल हुन्छ, चरित्र कस्तो होला ? चरित्रको प्रकार सुनेपछि उनी घोत्लिन्छन्, आवरण र अन्तर्यमा चरित्रलाई कस्तो रूप दिने ? यसका लागि सिनेमा करिअरको सुरुसुरुमा खुब समय दिन्थे । सायद विस्तारै अनुभवले खारिए । अहिले नयाँ क्यारेक्टरका लागि त्यति धेरै तनाव लिँदैनन् ।
यति बेला रिलिजको तयारीमा छ, उनको अभिनय रहेको चलचित्र ‘एक भगवत् गीता’ । यसमा विपीन तेस्रोलिंगी महिलाको भूमिकामा छन् । यो चरित्र उनका लागि नयाँ थियो । नयाँ चरित्रमा काम गर्ने लोभ विपीनलाई हमेसा हुन्छ । यो चरित्रमा पनि हुने नै भयो । आवरणमै सही, चरित्रमै भए पनि लिंग परिवर्तन हुने भयो । यसमै खुसी थिए विपीन ।
जनकपुरमा छायांकन थियो । चरित्रमा घुस्न तेस्रोलिंगीबारे त थाहा पाउनैपर्यो । निर्माण टिमले विपीनलाई जनकपुरमा बसोबास गर्दै आएका तेस्रोलिंगीसँग भेटाइदियो । सेटमै तेस्रोलिंगी हुन्थे । त्यति भएपछि ‘क्लु’ मात्र पाउँदा त चरित्रलाई न्याय गर्ने विपीनलाई के चाहियो ! तेस्रोलिंगीको आनीबानीदेखि अदाहसम्म अनुभूत गर्न कठिन भएन ।
अँ, अनि उनले सम्झिए आफ्नै साथी ।
को ?
“म नाम त भन्छु, तर तपाईं लेख्न पाउनु हुन्न है त ! उसको नाम थियो ...। हामी गाउँमा १० कक्षासम्म सँगै पढेको । त्यति बेला त हामीलाई के थाहा, त्यो साथीबारे मलाई अहिले पो थाहा भयो । मलाई त्यो साथीको याद आयो । उसमा तेस्रोलिंगीको बानी–व्यवहार रहेछ,” विपीन आफ्ना स्कुले दिनमा फर्किए, “त्यो साथी मेरो दिमागमा आएपछि स्कुले दिन किताबको पाना पल्टिएजस्तो फरर्र पल्टिए । मलाई ती पुराना दिन सम्झँदा नै काफी भयो । तर, मलाई के लाग्यो भने– कसरी त्यो साथीले १० वर्ष झेल्यो होला ? आफूलाई लुकाएर बस्न कसरी सक्यो होला ?”
विपीन काम गर्दा खुलेर गर्नुपर्छ भन्ने मान्यता राख्छन्, जसले चरित्रमा घुस्न सहयोग गरोस् । पर्दामा देख्नेलाई नेचुरल लागोस् । दिनभरि उनी तेस्रोलिंगीको वरिपरि हुन्थे । सँगै बसेका तेस्रोलिंगीले उनको असली रूप थाहा पाउनु छुट्टै कुरा, उनी ‘कमलामाई’को रूप धारण गरिसकेपछि जो पुग्थे, उनीहरूले कसरी चिन्नु ? चिन्दैनथे ।
“मलाई तेस्रोलिंगीहरूले ‘महारानी’ भन्न थाले । आशीर्वाद लिनेको घुइँचो लाग्न थाल्यो । खुट्टा ढोग्थे । पैसा दिन्थे । पैसा नै थुप्रो हुन थाल्यो,” उनी भन्छन्, “एकजनाले मलाई दिएको पैसा बोक्थे । कति भयो मेरो पैसा भनेर सोध्ने दिन आयो । त्यो पैसा मैले पनि केही चलाएँ ।”
दिनभर सँगै बसे पनि बेलुका सबै आ–आफ्नै ‘गुँड’मा जाने नै भए । विपीन भने आफ्नो असली रूपमा चोकतिर डुल्न निस्कन्थे । दिनभर सँगै बसेको तेस्रोलिंगीलाई चिनेर उनी नामले बोलाउँथे । तर, कसले बोलायो भनेर उनीहरू टोलाइरहन्थे । कतिपयले विपीन भनेर चिन्थे, कतिले चिन्दैनथे । केहीले गाली पनि गर्थे । अनि, विपीन बताइदिन्थे आफ्नो दिउँसोको पहिचान । उनीहरू छक्क पर्थे ।
विपीनले यो क्यारेक्टरमा अभिनय गर्दा एउटा कुरो महसुस गरे, सिनेमामा सायद महिला निर्देशक नभएको भए काम गर्न कठिन हुने थियो । “म त गेटअप र मेकअपले पो तेस्रोलिंगी महिला भएको थिएँ, मेरो फिलिङ्स त महिलाको हुने भएन । महिलाको पोस्चर, जेस्चर र अदाह कुनै न कुनै बेला चिप्लिन्थ्यो,” विपीन निर्देशक झरना थापाप्रति अनुग्रहित सुनिन्छन्, “झरना दिदीले बाबु यस्तो होइन होला, यस्तो हो कि भन्नुहुन्थ्यो, म सजग हुन्थेँ । मेकअपमा पुरुषजति नै गम्भीर भए पनि महिलाको जस्तो कहाँ हुन्छ र ? ।”
‘एक भगवत् गीता’को प्रसंग अझै बाँकी छ ।
के प्रसंग ?
पुरुषलाई तेस्रोलिंगी महिलाको गेटअप दिनुपर्ने थियो, लुगा र मेकअपमै धेरै समय लाग्थ्यो । अरू कलाकारलाई भन्दा दुई घण्टाअघि नै उनको ‘कलिङ टाइम’ हुन्थ्यो । दुई घण्टाअगाडि सेटमा पुगेर मेकअपमा बस्थे । महिलाजस्तो देखिनका लागि दारीजुँगा मात्र होइन, शरीरका रौँ पनि काट्नुपर्यो ।
“साडी लगाउने भएपछि पेटको रौँ काट्नुपर्यो । साडी लगाउँदै जाँदा जहाँ जहाँ रौँ देखियो, त्यहाँ काटिदिहाल्थे । पेटदेखि छातीसम्मको एक साइड पूरै रौँ खौरिइयो,” सुटिङका दुःख विपीन हाँस्दै सुनाउँछन्, “अहिले पनि रौँ काटेका ठाउँमा बिबिरा आएर दुःख दिइरहन्छ ।”
सुटिङ सकाएर घर फर्किएपछि पनि दुई दिन उनी चरित्रकै गेटअपमा बसे । “श्रीमतीलाई अब दुई दिन छ है भनेर भनेँ । वास्तवमा मलाई चरित्रबाट बाहिर आउन लागेको समय थियो त्यो,” विपीन भन्छन्, “हातमा लगाएको मेहन्दी गएको छैन, आँखाको गाजल उत्रिएको छैन, बाहिर पनि जाने कि नजाने ? मलाई त के गर्ने, कसो गर्ने भन्ने भयो ।”
क्यारेक्टरबाट उनलाई निस्कन समय लाग्छ । यसको उदाहरण हो, विन्दु पात्र । ‘छड्के’मा विपीन विन्दु बनेका थिए । त्यही चरित्रबाट उनी नेपाली रजतपटमा नोटिस भएका हुन् । उनलाई अहिले पनि बेलाबेलामा त्यो क्यारेक्टर स्वस्फूर्त आउँछ, चालै नपाई त्यसकै लबजमा बोलिरहेका हुन्छन् ।
० ० ०
विपीनले काम गरेका मध्ये उनलाई चित्त बुझेको सिनेमा हो, ‘रेड सुटकेस’ । फिडेल देवकोटाले निर्देशन गरेको सिनेमाको लोकेसनले हैरानी दिएको उनको सम्झनामा ताजै छ । त्योपछि उनले आधाभन्दा दर्जनभन्दा धेरै चलचित्र खेलिसके ।
बीपी हाइवे भएर हेटौँडा निस्कने सडक हुँदै कफिनमा रहेको एउटा शव स्थानीय कसैको घरको आँगनमा बिसाउनु थियो । उनीहरूले सोचेजस्तै घर पनि देखियो । तर, कसरी सुटिङका लागि प्रस्ताव गर्ने हिम्मतै आएन ।
कारण ?
उनीहरू यस्तो गाउँमा पुगेका थिए, त्यहाँ कुनै त्यस्तो घर थिएन, जहाँका मान्छे वैदेशिक रोजगारीका लागि विदेश नगएका हुन् । जसको घरको बाबु वा छोरा रोजगारीका लागि विदेशमा छन्, उसैकामा गएर परदेशबाट लास ल्याइएको सिन सुट गर्न दिनुस् भनेर कसरी भन्नु ? त्यो गाउँमा पटकपटक कफिनमा शव आइसकेकाले पनि उनीहरूले सहजै आग्रह गर्न सकिरहेका थिएनन् ।
“हामीले बाहिर जतिसुकै चर्का कुरा गरे पनि आफैँलाई परेपछि के गर्छौं भन्ने महत्त्वको कुरा हो । आफूलाई नपरुन्जेल मात्रै हो हामीले क्रान्तिकारी कुरा गर्ने,” विपीन भन्छन्, “जसको परिवारको सदस्य विदेशमा छ, जसले आफ्नो सन्तान विदेशमा गुमाएर त्यसैगरी कफिनमा फर्किएको दर्द भोगेको छ, उसलाई कसरी हामी तपाईंको घरमा कफिन बिसाउँछौँ र नक्कली भए पनि रोइकराइ गर्छौं भन्ने ?”
भोगिसकेको घरमा गरौँ, खाटा बसेको घाउ कोट्टिने डर । परिवारका सदस्य परदेशिएका घरमा गरौँ, ‘अलच्छिन लगाउँछौ ?’ भन्लान् भन्ने डर ।
“आफूलाई नपर्दासम्म मात्रै हो मान्छेले बोल्ने । केही वर्षअगाडिको कुरा हो, दिनेश राउतको सिनेमा ‘सेल्फी किङ’को छायांकन थियो । थानकोट हो उहाँको घर । उहाँको घरबाट सेल्फी किङको बाउको शव निकाल्ने सुटिङ गर्दा उहाँले भोगेको पीडा मैले देखेको छु,” विपीन भन्छन्, “हामी संघीय राजधानीमा त यो समस्या भोगिरहेका छौँ भने काठमाडौंबाट टाढाको गाउँमा अवस्था कस्तो होला ? हामी यहीँबाट अनुमान लगाउन सक्छौँ ।”
जसरी हुन्छ, सिनेमाको छायांकन गर्नु थियो । मुखै फोरेर सुटिङका लागि प्रस्ताव गरे । कुरा मिल्यो । भलै, त्यो घरका दुई छोरा पनि वैदेशिक रोजगारीमै थिए ।
सुरुमा सिनका बारेमा जानकारी नगराईकन ढाँटेर उनीहरूले छायांकन थाले । “सुरुमा यस्तो सिन छ भनेर नभनी ढाँटेर छायांकन सुरु गर्यौँ, पछि कफिन बिसाएपछि सुटिङ रोकिएला भन्ने डर थियो,” उनी भन्छन्, “हामी मेकर तथा एक्टरले देखाउन खोजेको के हो त्यहाँ बुझिँदैन थियो । त्यहाँ घरमा देखिँदा विदेशबाट शव आएको मात्रै देखिने हो । यसलाई समाजले के भन्छ, त्यो सबैलाई थाहा छ ।”
धर्म र संस्कृतिसँग जोडिएका कतिपय नकारात्मक पक्षलाई सहजै अन्त्य गर्न नसकिने उनको ठम्याइ छ । परिवर्तन पक्षधरले पनि आफूलाई पर्दा व्यवहारमा कार्यान्वयन नगर्ने उनको भनाइ छ ।
“धर्म र संस्कृतिसँग जोडिएको कुरा जुका टाँसिएजस्तै टाँसिएको हुँदो रहेछ, त्यसलाई निकालेर मिल्काउन त्यति सहज नहुँदो रहेछ,” उनी भन्छन्, “मलाई थाहा छ यो गलत हो र परिवर्तन हुनुपर्छ भनेर, तर म आफूलाई पर्दा गर्दिनँ । यो नै हाम्रो समाजको वास्तविकता । यसले हामीलाई सुटिङमा दुःख दिइरहन्छ । हामी अरूलाई सचेतना दिन्छौँ, यो र त्यो गर्न हुँदैन भन्छौँ । तर, साँझ हामी घर पुगेर भन्छौँ– आज चार दिन भ’को हो तिम्रो ? त्यसै धर्म अफिम हो भनिएको होइन रहेछ ।”
‘रेड सुटकेस’को क्यारेक्टरबारे केही कुरा गरौँ न !
“ओहो, यो त वाइल्ड क्यारेक्टर हो नि ! सम्झँदा पनि आङ जिरिङ्ङ हुन्छ,” विपीन भन्छन्, “विपीनको काम हरेक सिनेमामा फरक हुन्छ भनेर भनिरहँदा फरक भनेको चाहिँ यो हो भन्नेजस्तो मलाई लाग्छ ।”
कतिपय सिनेमा विभिन्न कारणले फरक काम देखाउनका लागि मात्र गर्ने गरिएको उनी बताउँछन् । “साँच्चै फरक काम के हो भनेर देखाउनुपर्दा यो (रेड सुटकेस) सिनेमाको काम हो । जानरा नै फरक, सिनेमा नै फरक त यसलाई पो भनेजस्तो म आफैँलाई भइरहेको थियो ।”
‘मिस्टिकल रियालिजम’ जानराको सिनेमा थियो । फिडेल त्यही विषयको प्रोफेसर । “कहिलेकाहीँ सिनेमाको सेटमै पनि सिक्ने अवसर पाइँदो रहेछ । हुन त हामीले यस्ता सिनेमा हेरेको र मन पराएकै हो । तर पनि फिडेल आफैँ प्रोफेसर भएकाले आफूले अलिअलि बुझे पनि यो के हो पढाऊ त भन्थेँ, थप बुझ्ने प्रयास गर्थेँ,” उनी भन्छन्, “जुनसुकै जानरा र विषय भए पनि भू–गोल र संस्कृतिभन्दा अलग हुन नसकिने रहेछ भन्ने यो सिनेमाबाट मैले अनुभूत गरेँ ।”
० ० ०
उनी फेरि फर्किए ‘एक भगवत् गीता’मै । पुगे जनकपुर । सम्झिए सुटिङ । साँझको समय थियो । सिनेमा युनिट छायांकनमा व्यस्त थियो । राजसी ठाँट र शैलीमा चार/पाँच गाडी फिल्मीशैलीमा आएर रोकिए ।
“गाडीबाट ओर्लिएर ‘के हो यो ? ...(तेस्रोलिंगीलाई स्थानीय भाषामा गाली गर्दा प्रयोग गरिने शब्दले गाली गर्दै) सब बन्द गर्, कसले दियो यहाँ ... गर्न ?’ हाम्रो सुटिङ त फिल्मीशैलीमा पुजारीले रोकिदिए । कलाकार डरले गाडीमा बसे । एक गाडी त कोरस मात्रै थिए, नाच्न गएका,” विपीन सम्झिन्छन्, “मलाई अब यो सुटिङ नै होला कि रोकिएला भन्ने चिन्ता लाग्यो । उनी नभएका बेला हामीलाई त सहायक पुजारीले छायांकनका लागि अनुमति दिएका रहेका छन् ।”
यो पनि पढ्नोस्–
चिया पसलमा ‘लुट’का कुरा सुन्दा
...त्यसपछि करिष्मालाई इन्जेक्सन दिएर लट्ठ्याएर राखियो
दीपक थापा अर्थात् गुन्डा सेलिब्रिटी
जब केकी असारको भेलमा फेवातालमा डुबिन्
उटपट्याङ ‘शिरोमणि’ राजारामका किस्सैकिस्सा
यसरी भएका थिए सरोज एकै रातमा सुपरस्टार
दीपकराज गिरीको त्यो ‘वाणी’ जसले स्वस्तिमालाई झस्काइरहन्छ
पटक–पटक मृत्युको मुखमा पुगेर फर्किएका दयाहाङ
निखिल उप्रेतीको सुटिङ अनुभव– सात तलाबाट हामफाल्दा आफैँलाई दबाबमा राखेको थिएँ