site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दीपक थापा अर्थात् गुन्डा सेलिब्रिटी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

०३९ सालमा काठमाडौं प्रवेश गर्दा अशोक शर्माको मनमा हिरो हुने रहरले घर गरेको थियो । त्यसो त स्कुले छँदै हिरो हुन घर छोडेर भागेका उनलाई यो सपना देख्न कसले सक्ने छेक्न ! त्यही रहरको फेरो समातेर काठमाडौं चार भञ्ज्याङभित्र छिरेका उनको सपना सुरुमा बरालियो । बल्लतल्ल पाएको पहिलो सिरियलमै नेगेटिभ रोलको अफर आयो । ‘पाएको अवसर खेल नफाल’ भने धेरैले, मन खिन्न पार्दै अभिनय गरे ।

अशोकले सयभन्दा धेरै चलचित्रमा अभिनय गरे । त्योभन्दा धेरै सिरियलमा काम गरे । दुई दर्जनभन्दा धेरै नाटकमा अभिनय गरे । उनको कला यात्राको सुरुआत नै नाटकबाट भएको थियो । अशोकले सिरियलदेखि चलचित्रसम्म बनाए । आफैँले निर्देशन गरे । ‘ट्रक ड्राइभर’, ‘अल्लारे’, ‘सीता’, ‘निरमाया’, ‘गरिब’, ‘मिस्टर रामकृष्णे’, ‘यो मायाको सागर’, ‘मितिनी’, ‘अन्दाज’ (पार्टनरसिपमा), ‘जय भोले’, ‘रातो टीका’ गरी ११ चलचित्र बनाए । आठवटा त निर्देशन नै गरे ।

जुन कुरामा अशोकको दिलचस्पी थिएन, त्यसैले उनलाई परिचय दियो । दीपक थापाको उनको क्यारेक्टरले उनलाई सेलिब्रिटी बनायो । योपटकको एक्सन कट्का तिता–मिठा शृंखलामा उनै अशोकको कलायात्रा :

KFC Island Ad
Dabur Nepal
NIC Asia

० ० ० 

सुनील थापाको त्यो गुन
वर्ष त कुन हो, अशोकलाई ठ्याक्कै याद छैन । त्यस्तै ०४१/०४२ सालतिर हुनुपर्छ, सिक्किममा चलचित्र ‘मसाल’ बनाइने भयो । अशोकलाई अफर आयो । नाटकमा काम गरिरहेका उनले अफर पाएका थिए । उत्साह बोकेर उनी पुगे सिक्किम । पहिलो चलचित्र थियो, उत्साह नै बेग्लै ।  

Royal Enfield Island Ad

सिनेमामा अशोकको रोल थियो, भिलेनको ‘चम्चा’को । प्रताप सुब्बा निर्देशक थिए । चलचित्रमा हिन्दी सिनेमाका पपुलर कलाकारहरू थिए । सुनील थापा मुख्य भिलेन थिए । अशोकको पहिलो सिन खिच्ने तयारी भयो । रुख काटिरहेको उनको पहिलो सिन थियो । सुनील र डेनी डेन्जोङ्पासँग उनको सिन थियो । निर्देशकले एक्सन ! भने, अशोकको बोली नै फुटेन । डाइलग बोल्नै सकेनन् । अर्को टेक लिइयो । र पनि अशोकको बोली फुटेन । त्यो दिन त्यो सिनको सुटिङ नै प्याकअप भयो ।

प्रोडुसरले ‘अशोकले नसक्ने रहेछ’ भने । ‘अर्को कलाकार ल्याउनुपर्लाजस्तो देखियो’ भने । निर्देशक प्रताप सुब्बासँग काठमाडौंमा अशोकको राम्रै चिनजान थियो । उनले अशोकले नाटकमा काम गरेको देखेका थिए । त्यसैले भने– राम्रै कलाकार हो, कहिलेकाहीँ यस्तो हुन्छ । फेरि प्रयास गरौँ । 

साँझ होटेलमा सुनील थापाले भने– तिमी डरायौ, मनबाट डर निकाल्नुपर्छ, सब ठिक हुन्छ ।

डेनीले पनि ‘यस्तो हुन्छ, निराश हुुनु पर्दैन’ भने ।

अशोकलाई लागिसकेको थियो– मैले जे रोजेँ, यो मेरो बलबुताभन्दा बाहिरको कुरा रहेछ । मैले नसक्ने काम रोजेछु । करिअर सुरु नहुँदै सकिने भयो भन्ने लागिरहेको थियो ।

“त्यो दिन साँझ होटेलमा सुनील थापाले मलाई इन्करेज गरेको म अहिले पनि सम्झिन्छु, ‘सटेमा के छ, को छ सब बिर्सिदेऊ, आफैँ ठिक हुन्छ’ भने । राति १ बजेसम्म बसेर डाइलग रटेँ, ममा हौसला आयो,” अशोक भन्छन्, “सुनीलले भने– जानेर को आएको हुन्छ ? यहीँ आएर सिक्ने हो । म पनि त फुटबल खेलाडी हुँ, यसैगरी सिक्दै आएको हुँ । तिमी त अझ नाटक खेलेर आएको मान्छे, आत्तिनु पर्दैन भने ।”

भोलिपटक अशोकको सट दिने तयारी भयो । वान टेकमै ओके भयो । सबले खुसीले ताली बजाए । अशोकको मन गर्वले ढक्क फुल्यो । अब गर्न सक्ने रहेछु भन्ने हौसला आयो । त्यसपछि कुनै सिनमा समस्या भएन । अशोक सुनीलको गुन सम्झिन्छन्– सुनील थापाले मलाई लगाएको त्यो गुन मैले आजसम्म भुलेको छैन । वास्तवमा मान्छेले गुन समस्यामा परेका बेला एकपटक लगाए पुग्ने रहेछ ।

किनारा लाग्ने बेला सुनीलले अशोकलाई आडभरोसा दिए । त्यो उनको मनमा कुँदियो । 

अनि, रिसाए सरुभक्त
एक दिन भोटेबहालमा पुगेर रमेश बुढाथोकीले अशोकलाई भने– अशोक, एउटा नाटक छ, नाचघरमा मञ्चन गर्न लागेको हो । तिमीले एउटा रोल गरिदिनुपर्‍यो । 

‘कहिले हो नाटक मञ्चन गर्ने ?’

‘भोलि’ 

नाटक थियो सरुभक्तको ‘इतिहासभित्रको इतिहास’ । सायद कसैले अन्तिम समयमा आएर नाटक छोड्यो । अप्ठ्यारोमा परेपछि रमेशले अशोकलाई सम्झिएका थिए । स्टेजमा पसेपछि एकैपटक सकिएपश्चात् मात्र मञ्चबाट बाहिरिने नाटक थियो । 

रमेशले अशोकलाई नाटकको पुस्तक दिए । डेढ घण्टाको नाटक अशोकले रातभर बसेर घोके ।

आदिवासीको भेषमा थिए, अशोक । उनको शरीर कलर लगाएर पूरै कालो बनाइएको थियो । मञ्चको पर्दा उघ्रियो । नाटक सुरु भयो । अरू कलाकार खरर्र डाइलग भनिरहेका थिए, एक रात मात्र तयारी गरेका अशोक अलमलिए ।

“अरू खरर्र डाइलग भन्थे, मलाई त कुन डाइलग कहाँ हो कहाँ ? कहाँ के भन्ने याद भए पो ! प्रम गर्ने पनि भकभके परेछन्, उसको भरै भएन,” अशोक भन्छन्, “अरूले के भन्छन्, त्यसपछि सम्भवतः यस्तो डाइलग आउला भनेर अनुमानका भरमा म आफैँ मनलाग्दी काउन्टर डाइलग बनाउँदै भन्न थालेँ ।”

नाटक सकियो । ड्रेस र मेकअप पखालेर अशोक बाहिर निस्किए । सरुभक्त त रिसले आगो भएर बसेका रहेछन् ! “तपाईंले मेरो नाटक खतम बनाइदिनुभयो । मेरो डाइलग के गरेको ? मेरो नाटकको डाइलग त केही बोल्नु भएन, आफूलाई जे मन लाग्यो त्यही बोल्ने ?,” अशोक भन्छन्, “मैले भनेँ– दाइ, तपाईं रिसाउनु स्वाभाविक हो । तर, मलाई हिजो त यो नाटक गर्नुपर्छ भनेर भनियो । तपाईं आफैँ भन्नुस् त, एक रातमा कसरी एउटा सिंगो नाटक मैले कण्ठ गर्न सक्छु ?” 

गुन्डा सेलिब्रिटी
नेपाल टेलिभिजनको प्रसारण सुरु भयो । कृष्ण मल्ल, बद्री अधिकारी, मोहन निरौला, लय संग्रौला टेलिभिजनतर्फ लागे । कृष्ण मल्लले टेलिचलचित्र ‘अपराध’ निर्देशन गरे । त्यसमा अशोकले खेलेका थिए । त्यसपछि उनै कृष्णले ‘चक्रव्यूह’ निर्देशन गर्ने भए । १२ शृंखलाको त्यो टेलिचलचित्र त्यस समयको सबैभन्दा लामो टेलिसिरियल थियो ।

कृष्णले अशोकलाई अफर गरे, भिलेनको रोल । भिलेनको क्यारेक्टरको नाम थियो, दीपक थापा । दोस्रो शृंखलादेखि गुन्डा दीपक थापाको प्रवेश हुन्थ्यो । हरेक हप्ता छायांकन गरिन्थ्यो । छायांकन गरिएकै हप्ता प्रसारण हुन्थ्यो । दोस्रो भाग प्रसारण भयो । त्यसको भोलिपल्ट तेस्रो भागको छायांकन थियो ।

“जब हामी तेस्रो भाग खिच्न बिहानै जाँदै थियौँ, बाटोमा त त्यो दिनको माहोल नै फरक छ । जसले पनि ‘ओ दीपक थापा, ओ दीपक थापा, ओ गुन्डा...’ भन्छ,” अशोक सुनाउँछन्, “मलाई त अचम्म लाग्यो । हिजोसम्म कसैलाई मतलब थिएन, आज त माहोल नै अर्कै छ ।”

अशोकलाई उनका साथी र आफन्तले भने– दीपक थापा क्यारेक्टर त हिट भइसक्यो त । “म भोटेबहाल बस्थेँ, हाम्रो साथीभाइ भेट हुने जक्सन पुतलीसडक थियो । मलाई त भोटेबहालदेखि पुतलीसडकसम्म पुग्नै गाह्रो हुन थाल्यो । बाटोमा जसले पनि ‘ओ दीपक थापा, कलाकार, गुन्डा आयो’ भन्न थाले,” अशोक भन्छन्, “अघिल्लो दिनको राति सुत्दासम्म केही थिएन, बिहान उठ्दा त माहोल नै अर्कै भइसकेछ । मैले मल्लजीलाई भनेँ– के हो मल्लजी, मलाई त सबैले जिस्काउन थाले । उहाँले भन्नुभयो– अशोकजी, तपाईं हिट भइसक्नुभयो । तपाईंको क्यारेक्टर हिट भइसक्यो । तपाईं पपुलर सेलिब्रिटी भइसक्नुभयो । यसरी म एउटा क्यारेक्टरबाट एकै रातमा हिट हुँदा आफैँ छक्क परेको थिएँ ।”

तेस्रो र चौथो भाग प्रसारण हुँदासम्म दीपक थापाको क्यारेक्टर यति हिट भइसकेको थियो, राष्ट्रिय पञ्चायतमा यस विषयमा बहस भयो । नेगेटिभ क्यारेक्टर (गुन्डा) टेलिभिजनमा प्रसारण गर्दा समाजमा यसले कस्तो असर गर्छ भनेर राष्ट्रिय पञ्चायतमा पक्ष/विपक्षमा बहस चलेको थियो ।

“टेलिभिजनको कार्यक्रममा अन्तर्वार्ता दिन आउनेले ‘यस्तो गुन्डाको रोल भएको टेलिचलचित्रबाट नेपाली समाजले के सिक्ने ?’ भनेर बहस समेत भएको थियो,” अशोक नोस्टाल्जिक हुन्छन्, “दीपक थापा क्यारेक्टरको नाम थियो, धेरैले कमल थापा र दीपक बोहोरा (नेता)को नामबाट क्यारेक्टर बनाइएको आशंका गरे । तर, वास्तविकता त्यो थिएन ।”

त्यसपछि अशोक शर्मालाई पैदल हिँड्न पनि समस्या हुन थाल्यो । “बच्चाहरू त मलाई देखेर डराउँथे । मलाई देखेर दौडेर भित्र पसेर ढोका लगाउने र कौसीमा गएर ‘ओ गुन्डा, डन’ भनेर जिस्काउँथे,” अशोक भन्छन्, “त्यो सफलता पनि मैले महसुस गर्ने अवसर पाएँ ।” 

हिरो हुन बम्बई  
हिरो हुन काठमाडौं आएका अशोक शर्मा गुन्डाका रूपमा चिनिए । हिरो हुन उनले गरेको मिहिनेत कम्ता थिएन ।

के–के गरे ? 
झापा घर । पढाइ कक्षा–८ । हिरो हुने औधी रहर थियो । हिन्दी सिनेमा हेरेर हुर्किएका अशोकमा हिरो हुन बम्बई (मुम्बई) जानुपर्छ भन्ने बालचेत थियो । साथीहरूसँग मिलेर बम्बई जाने र हिरो हुने योजना बनाए । प्रदीप थापा हेर्दै हेन्डसम, डान्स पनि उस्तै राम्रो गर्ने । ध्रुव थापा अशोकका मित थिए, उनी हेमा मालिनी भनेपछि हुरुक्कै । उनलाई हेमा मालिनीको घरमा काम गरेर मात्र बस्न पाए पुग्ने । अशोकलाई हिरो हुनु थियो ।

अशोक, प्रदीप र ध्रुव एक दिन बिहानै घरबाट भागे । ट्रेन स्टेसनमा पुगे । रेल चढे । तर, टिकट काट्ने पैसा थिएन । टिकट चेक गर्ने मान्छे आउँथ्यो, उनीहरू छलिँदै छलिँदै गइरहेका थिए । लखनऊ पुग्ने बेलामा उनीहरू समातिए । तीनैजना ओरालिए । समातेर हाकिमसामु पुर्‍याइए । 

‘कहाँबाट आयौ ?’
 
‘नेपालबाट ।’

‘कहाँ हिँडेको ?’

‘बम्बई ।’

‘किन ?’

‘हिरो हुन ।’ 

‘बिनाटिकट हिरो हुन हिँडेको ? कान पक्र !’

त्यो स्टेसनको हाकिमले उठबस गर्न लगायो । तीनैजनाले सक्दो उठबस गरे । बिनाटिकट जान पाइँदैन भनेर फर्काइदियो । टिकट किन्ने पैसा नहुँदा हिरो हुने सपनाको डोरी चुँडियो । कुँडिएको मन र गलेर लथ्रक्क भएको शरीर लिएर उनीहरू सरक्क फर्किए ।

काठमाडौंमा पहिलो दिन
०३९ सालको एक दिन । अशोक मनभरि हिरो हुने सपनाको भारी बोकेर काठमाडौंको गाडी चढे । एकजना साथीले उनलाई भनेका थिए– काठमाडौं गएर मेरो अंकललाई भेट्नू, सहयोग गर्नुहुन्छ । हिरो नहुन्जेलसम्म सँगै बस्नू ।

अशोक काठमाडौंमा आफ्नो पहिलो दिन सम्झिन्छन्– बसले सहिदगेटमा ओराल्दियो । सँगै रहेछ, टुँडिखेल । टुँडिखेलको बारमा वरिपरि मान्छेको घुइँचो थियो, भित्र हेर्नेको । के हेर्छन् यत्रा मान्छेले ? के छ यहाँभित्र ? खुलदुली भयो । उनी पनि त्यही भीडमा मिसिए । उसैगरी चियाएर हेर्दा देखे, घोडाको खेल । झापामा कहिल्यै नदेखेको, रमाइलो लाग्यो । अहिले उनी अनुमान लगाउँछन्, “सायद त्यो दिन घोडेजात्रा हुनुपर्छ ।” 

सोध्दै खोज्दै अशोक साथीको अंकलको कोठामा पुगे ।

हिरो हुन काठमाडौं आएका थिए, अवसर त खोज्नुपर्‍यो । काठमाडौंका सडक गोडाले नाप्न थाले । सम्बन्धित क्षेत्रका मान्छेलाई भेट्नुपर्थ्यो, सोधखोज गर्न थाले । त्यो समय धेरै सिनेमा बनाइँदैन थियो । अशोकले स्कुलमा नाटक खेलेको, नाटक कसले गर्छ होला भनेर बुझ्न सुरु गरे । त्यही क्रममा उनले भेटे, रमेश बुढाथोकी, बद्री अधिकारी, सुनील पोखरेल, कृष्ण मल्ल, हरिहर शर्मा आदि ।

अशोक दिनहुँ कलाकारिताका लागि अवसर खोज्न थाले । एकातिर काम छैन, अर्कातिर आफ्नो कोठा छैन, साथीको अंकलकामा कतिन्जेल बस्ने ? प्रश्नले घेरिरहन्थ्यो । तर, विकल्प सामुन्नेमा थिएन । 

“हो यस्तै, तपाईंको जस्तै कालो ब्याग थियो । त्यसमा घरबाट आउँदा ल्याएका तीन/चारवटा पाइन्ट र त्यति नै संख्यामा सर्ट थिए । त्यही झोलामा मन्जन र ब्रस हुन्थ्यो । त्यही झोला बोकेर म अंकलको घरबाट निस्किएँ । अंकलको कोठा त छोडेँ, तर मेरो आफ्नै कोठा थिएन,” उनी काठमाडौंमा संघर्षका दिन सम्झिन्छन्, “म जहाँ जहाँ काम हुन्थ्यो, त्यही सुटिङको गाडीमा सुत्थेँ । सुटिङ नहुँदा साथीहरूको घरमा गएर सुत्थेँ । करिब तीन वर्ष मैले यसैगरी बिताएँ । जब अलिअलि पैसा आउन थाल्यो र पपुलर हुन थालेँ, अनि कोठा लिएर बस्न थालेको हुँ ।” 

ती इन्द्र दाइ
धेरैजसो नाटक महेन्द्र पुलिस क्लब र राष्ट्रिय सभागृहमा हुन्थे । अबेर रातिसम्म नाटक हुन्थ्यो । नाटकमा त करोडपतिको पनि रोल हुन्थ्यो । मञ्चमा ठूलो सानसौकत र ठाँटबाँट हुन्थ्यो । मञ्चबाट ओर्लिएपछि रोडपति ! खल्तीमा सुको पैसा हुँदैन थियो । सुत्ने कोठा थिएन । नाटकबाट अक्सर पैसा पाइँदैन थियो ।

पुलिस क्लब र पद्योदय स्कुलबीचको टुकुचा खोलाको छेउमा इन्द्र दाइको खाजा पसल थियो । उनी कलाकारिताप्रति गहिरो दिलचस्पी राख्थे । कलाकारलाई खुब माया गर्थे । अशोकलगायत उनका साथीहरू नाटक सकेर अबेर राति त्यही पसलमा पुग्थे । सटर बन्द गरिसके पनि ढकढक गर्थे । उनले पनि सटर खोल्थे । बिक्री नभएर बाँकी रहेको के–के छ फ्रिजमा, निकालेर दिन्थे । अशोक र उनका साथीहरू पैसा छ भने दिन्थे, नहुँदा दिँदैन थिए । तर, उनीहरूको समस्या बुझेका इन्द्रले कहिल्यै पैसा माग्दैनथे ।

सिरियलबाट कृष्ण मल्लबाहेक खासै कसैले पैसा दिँदैन थिए । जब उनले सिनेमामा काम पाउन थाले, त्यसपछि आँट आएको थियो– कोठा लिएर बस्ने ।

पहिलो अफर नै भिलेनको
प्रसंग फेरि जोडौँ हिरो हुने अशोकको रहरको । ‘चक्रव्यूह’मा कृष्णले अशोकलाई भिलेनको रोलमा अफर गरे । हिरो हुने आकांक्षा पालेका उनले भने– हिरो हुन आएको मान्छे, नेगेटिभ रोल गर्ने र ?

कृष्णले भने– कलाकारले प्रतिभा देखाउने हो, यो/त्यो भन्ने होइन । जे काम आउँछ, गर्नुपर्छ । मन खिन्न भए पनि उनले भिलेनको रोल गरे । भलै, त्यसैबाट उनी चम्किए ।

उधारोमा कलाकार
हिरो हुँदा एउटा फिल्मबाट १०/१२ हजार रुपैयाँ पाइन्थ्यो । भिलेनलाई चार/पाँच हजार दिइन्थ्यो । ‘चक्रव्यूह’ गरेपछि अशोकको ट्रेडमार्क नै भिलेनको बनिसकेको थियो । कसैको सिनेमामा नेगेटिभ रोल निस्किए उनैलाई सम्झिन थालेका थिए ।

चार/पाँच हजारले जीविका चलाउन कठिन थियो । घरगृहस्थी चलाउन पनि केही नयाँ काम त गर्नुपर्ने नै भयो । उनले सोचे– अब आफैँ सिनेमा बनाउँछु । 

सिनेमा त बनाउने तर पैसा छैन । दीपक थापाको पात्र पपुलर भएपछि केही राजनीतिज्ञ समेत उनका साथी बनेका थिए । यसैक्रममा उनका मिल्ने साथीमा वीरेन्द्र क्षेत्री पनि थपिएका थिए । अशोकले उनलाई प्रस्ताव गरे । 

‘तिमी फिल्म बनाउँछौ भने चार/पाँच लाख रुपैयाँ म लगानी गर्दिन्छु ।’ 

वीरेन्द्रले आँट दिए । अशोक सिनेमा बनाउन जोसिए । ब्रजेश खनाललाई स्क्रिप्ट लेख्न अह्राए । निर्देशक को लिने ? उद्धव पौडेलले आफ्ना सिनेमा निर्देशन गराउँदै आएका भारतीय निर्देशक राजकुमार शर्मालाई प्रस्ताव गरे । उनले पनि ‘हुन्छ’ भने ।

संगीतकारमा शम्भुजित बास्कोटालाई आग्रह गरे । शिव श्रेष्ठ, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, किरण केसीलगायत कलाकारलाई अभिनयका लागि भने । क्यामेरा र ल्याबका सामग्रीका लागि नीर शाहलाई सम्झिए । यी सबैलाई अशोकले भने– मसँग अहिले पैसा छैन, सिनेमा रिलिज भएर पैसा उठेपछि मात्रै पारिश्रमिक दिन्छु ।

अशोकले निर्देशक, लेखक, कलाकार र ल्याबलाई त पछि पैसा दिने भनेर कन्भिन्स गरे, तर प्राविधिक – जो दिनभरि मिहिनेत गरेर साँझ चुलो बाल्थे, उनीहरूलाई सुरुमै दिनुपर्थ्यो । ड्रेस किन्नैपर्थ्यो । त्यसबाहेक हरेक दिन लाग्ने खर्च पनि उधारोमा चल्दैन थियो । निर्देशकलाई काठमाडौंमा राख्नुपर्थ्यो, त्यसका लागि पनि खर्च लाग्थ्यो । कथा लेखनका लागि बस्दा, गीत रेकर्ड गर्दा र अरू चाँजोपाँजो मिलाउँदैमा वीरेन्द्रले दिएको पाँच लाख सकियो । अब कसरी काम अघि बढाउने ? चुनौतीको पहाड अगाडि खडा भयो । 

ऋणैऋणमा सिनेमा
सिनेमाका वितरकले अहिले एड्भान्समै केही रकम दिन्छन् । त्यो समय यस्तो चलन थिएन । सुटिङ सकाएपछि मात्र वितरकले पैसा दिन्थे । तर पनि उनले केही वितरकसँग प्रयास गरे । आफूले कसरी सिनेमा बनाउन लागेको हो, बताए । तैपनि, कसैले पत्याएन ।

त्यसपछि अशोक पुगे, लीला शाक्यकामा । हुन त उनी पनि वितरक नै थिए । अशोकले आफ्नो योजना सुनाए । “...तपाईंले चाहिँ मलाई अगाडि नै पैसा दिनुपर्‍यो भनेँ । उहाँले मलाई १० लाख रुपैयाँ दिने हुनुभयो । उहाँले किस्ताकिस्तामा पैसा दिनुभयो । हामीले त्यही पैसाले सुटिङ गर्‍यौँ,” अशोक सुनाउँछन् ।

सुटिङ गर्दाको सकस बेग्लै छ, अशोकसँग । मध्यरातमा झल्याँस्सझल्याँस्स ब्युँझिन्थे, जुरुक्क उठेर बाहिर आएर आकाश हेर्थे । आकाशमा झलमल्ल तारा देखे फुरुङ्ङ पर्थे । नदेखे तनाव सुरु हुन्थ्यो । कारण, पानीले छायांकन रोकिँदा सुटिङ डेज बढ्थ्यो । सुटिङ डेज बढ्नु भनेको छायांकन खर्च बढ्नु थियो । उनकी श्रीमती सुटिङमा खर्च कम गर्नकै लागि भनेर बिहान ३ बजे उठेर कालीमाटी गएर सस्तोमा तरकारी ल्याउँथिन् ।

वितरकले दिएको पनि ऋण नै हो । साथीले दिएको पैसा उसलाई फर्काउनुपर्थ्यो नै । निर्देशक, कलाकार, ल्याब सबैको हिसाब समेत ऋण नै हो । अशोकको विवाह भएर बच्चा जन्मिसकेको अवस्था थियो । एकातिर पारिवारिक जिम्मेवारीको भारी, अर्कोतिर ऋणैऋणमा बनाएको सिनेमा । चलेन भने ? सम्झिँदा पनि अत्यास लाग्थ्यो उनलाई ।

सिनेमा बनाए । अब तयारी थाल्नुपर्‍यो रिलिजको । प्रचारप्रसार गर्नुपर्‍यो । उनीसँग पैसा थिएन । श्रीमतीको विवाहको गहना राखेर पैसा निकाले । चैत २४ गतेका लागि रिलिजको डेट घोषणा गरे । प्रचार गरे ।

हलले पत्याएनन्    
त्यो समय काठमाडौं उपत्यकामा जम्मा ६ हल थिए । काठमाडौंमा कुमारी, विश्वज्योति, रञ्जना र जयनेपाल हल थिए । ललितपुरको पाटनमा अशोक सिनेमा हल थियो । भक्तपुरमा नवदुर्गा सिनेमा हल थियो ।

अशोक सबैभन्दा पहिला पुगे, कुमारी हल । दुर्भाग्य, उनका लागि कुमारी हलको चेन गेट नै खोलिएन । त्यसपछि उनी पुगे, पाटनको अशोक हलको साहुको घर । अशोक आफूले कति दुःख गरेर सिनेमा बनाएँ भनेर सुनाउँदै थिए– विडम्बना, ती साहु त घ्वारघ्वार घुर्न पो थाले ! एवं रीतले उनी सबै हलमा पुगे । तर, कसैका कान ठाडा भएनन् । उनीहरूले दिएको एउटै प्रतिक्रिया थियो– तपाईंको सिनेमा त लाग्छ, तर कम्तीमा दुईदेखि अढाई वर्षपछि ।

जोरपाटीमा भर्खर खोलिएको एउटा सिनेमा हल थियो, आराधना । त्यसका मालिकले मात्र ‘लगाउँछु’ भने । कारण, पाँच वर्षसम्म नेपाली चलचित्र लगाउँदा कर छुट पाइथ्यो । तर, एउटा हलमा लगाएर के गर्नु ! आँटै गर्न सकेनन् उनले ।

ऋणको आहालमा चुर्लुम्म डुबेका अशोक कसरी अढाई वर्ष कुर्न सक्थे ?  सम्भवै थिएन । त्यो समय काठमाडौंका हलवाला आफैँ सस्तोमा हिन्दी सिनेमा किनेर ल्याउँथे र चलाउँथे । कसैलाई सेयर दिन नपरेपछि पैसा सबै आफ्नै खल्तीमा आउँथ्यो । त्यसैले नेपाली सिनेमा उनीहरूको प्राथमिकतामा पर्दैन थियो । 

“शाही नेपाल चलचित्र संस्थानले बनाएका चलिचत्र समयमै लाग्थे । कारण, ती सिनेमा सरकारको लगानीमा बनेका हुन्थे । बाँकी निजी क्षेत्रबाट यसै पनि कम सिनेमा बन्थे, बनेका पनि समयमा लाग्दैनथे,” अशोक त्यो समयको बेथिति सम्झिन्छन् ।

त्यति बेलामा काठमाडौंमा चार/पाँच भिडियो हल थिए । अहिलेको सिभिल महल भएको ठाउँमा, पुतलीसडकमा, बालाजुमा र फर्पिङमा एउटा/एउटा भिडियो हल थिए । ती हलका मालिकसँग कुरा गरे । उनीहरू उत्साही हुँदै भने– लगाउँछौँ ।

तर, धेरै मन मिल्ने व्यक्तिहरूको सल्लाह थियो– भिडियो हलमा होइन, सिनेमा हलमै लगाऊ । उनलाई पनि लाग्यो– भिडियो सिनेमा होइन, त्यसैले ठूलो हलमै लगाउनुपर्छ ।

त्यसपछि उनले आराधना मात्र भए पनि सिनेमा हल नै रोजे ।

सिनेमामा २६ लाख रुपैयाँ लगानी थियो । अशोक आशावादी भए– हप्ता वा दुई हप्तामा पो पैसा नआउला, विस्तारैविस्तारै त आउला । ऋण घटाउँदै जाउँला । ऋणको बोझ कम हुँदै जाला ।

अतिथि गणेशमान सिंह 
सिनेमा रिलिज हुने भयो । उनले योजना बनाए, उद्घाटन गरेर सिनेमाको शो सुरु गर्ने । अशोक त्यो समयको पपुलर फेस, उद्घाटनका लागि गणेशमान सिंहलाई प्रस्ताव राखे । गणेशमानले भने– दीपक थापाको सिनेमालाई किन सहयोग नगर्नु र ? म आउँछु ।

रिलिजको दिन । गणेशमानलाई लिन अशोक आफैँ चाक्सीबारी पुगे । गाडीमा गणेशमानलाई लिएर अशोक जोरपाटीस्थित आराधना हलतिर जाँदै थिए, जोरपाटीको मेनरोडबाट अलिकति भित्र थियो, हल । जब अशोक र गणेशमान मेनरोडबाट हलतर्फ जाने ठाउँमा पुग्न लागेका थिए, त्यहाँभन्दा वरैबाट जुलुसजस्तो मान्छेको भीड लागेको थियो । अशोकले सोचे– कुनै पार्टीको कार्यक्रम होला ।

उनीहरू भीड छिचोल्दै हलमा पुगे । त्यो भीड हलसम्मै थियो । बल्ल उनले थाहा पाए, भीड त सिनेमा हेर्न हलमा जाने मानिसको पो रहेछ ।

सिनेमा हेर्न उर्लियो भीड
गणेशमानले रिबन काटेर सिनेमा प्रदर्शनको शुभारम्भ गरे । गणेशमान बोले । बोल्ने पालो अशोक शर्माको आयो । त्यत्रो संघर्ष गरेर बनाएको सिनेमा हेर्न उर्लिएको मान्छेको भीड देखेर उनले आफूलाई थाम्न सकेनन् । बरर्र आँसु झरे । घुँक्कघुँक्क रुन थाले । उनले धेरै बोल्नै सकेनन् ।

पहिलो दिनदेखि एक महिनासम्म सिनेमा त्यत्तिकै भीडका साथ चलिरहेको थियो । तर, एउटा हलमा चलेर कहिले उठ्नु २६ लाख ? भिडियो हलमै भए पनि सिनेमा चलाउने निर्णयमा पुगे, अशोक ।

तर, नीर शाह, शम्भुजित बास्कोटाले आराधनामा यति राम्रोसँग चलेको सिनेमा केही समय कुरेर भए पनि ठूलै हलमा देखाउन सुझाव दिए । उनलाई भने पैसा जतिसक्दो छिटो उठाएर ऋणबाट मुक्त हुनु थियो । अशोक अरूको सुझाव त सुन्छन्, तर निर्णय आफ्नै मनले गर्छन् । नीर र शम्भुजितको सुझाव गलत थिएन । तर, उनको आवश्यकताले आफ्नै निर्णय लिए ।

त्यसपछि उनले बोलाए, हाइभिजन हलका मालिक । उनीहरू यसै दंग । सेलुलाइडमा बनेको सिनेमालाई भिडियोमा कपी गर्नुपर्थ्यो । नेपाल टेलिभिजनमा बसेर रातभर सिनेमा भिडियोमा कपी गर्दै थिए, बिहान साढे ११ बजेदेखि भिडियो हलमा शो थियो । तर, त्यति बेलासम्म कपी गर्ने काम सकिएन ।

“त्यही बेला टेलिभिजनमै सबै हलबाट फोन आयो, यहाँ त तोडफोड भइसक्यो, समयमै सिनेमा लागेन भनेर । तर, कपी अन्तिम समयमा पुगिसकेको थियो । त्यसैले पाँचवटै हलका मालिक पाँचतिर छरिए,” अशोक नोस्टाल्जिक हुन्छन्, “भिडियो हलमा पनि सिनेमा यसरी चल्यो, महिनौँसम्म हाउसफुल चल्यो । कुनैमा सय दिन, कुनैमा १५० दिनसम्म सिनेमा चल्यो । मसँग पैसा भएपछि अरू चार/पाँचवटा प्रिन्ट बनाएर काठमाडौंबाहिर पठाएँ ।” काठमाडौंबाहिर भने ठूलै हलमा सिनेमा चलाइएको थियो ।

अशोकलाई पैसा आउन थाल्यो । सबैको पैसा तिर्न थाले । “कसैको एक रुपैयाँ पनि पैसा नराखी हिसाब बुझाएँ । सिनेमा बनाउँदा मैले गरेको दुःख देखेर महजोडी र किरण केसीले भने पैसा लिन मान्नु भएन,” उनी भन्छन् ।

अशोकको यो संघर्षको कथा थियो, ‘ट्रक ड्राइभर’ बनाउँदाको । ‘ट्रक ड्राइभर’ले ५० लाखभन्दा धेरै कलेक्सन गर्‍यो । जति लगानी गरेको हो, त्यति नै अशोकलाई फाइदा भयो ।

यसपछि अशोकले अभावबाट उन्मुक्ति पाए । सुखशान्तिका दिन सुरु भए । निरन्तर सिनेमा बनाउन थाले । ‘सीता’, ‘निरमाया’, ‘गरिब’ निर्माण गरे । अशोकका कुनै पनि सिनेमा घाटामा गएनन् । राम्रो कमाए । 

‘अल्लारे’ले घरगाडी
०५३ सालमा जब उनले ‘अल्लारे’ बनाए, यसले नेपाली सिनेमाका सबै रेकर्ड ब्रेक गर्‍यो । करिब २७ लाखमा बनाइएको यो सिनेमाले सवा करोड ग्रस कलेक्सन गर्‍यो । लगानीको ६ गुणा बढी नाफा कमायो ।

अशोक अमेरिका, यूके, हङकङ गए सिनेमा लिएर । त्यो समयसम्म विदेशमा यति धेरै डिमान्ड भएको त्यो नै पहिलो सिनेमा थियो । अमेरिकाबाट मात्र उनले १० हजार अमेरिकी डलर लिएर नेपाल फर्किएका थिए । त्यही बेला त हो अशोकले घर र गाडी किनेको ।

अशोकको सोख हिरो हुने थियो । पहिलो सिनेमा ‘मसाल’ होस् वा सिरियल सुरुमा भिलेनको प्रस्ताव आयो । मन खिन्न बनाउँदै खेले । हिरो हुने रहर पनि ‘अल्लारे’, ‘नाता’, ‘परिवार’मार्फत पूरा गरे ।

० ० ०

अशोकले ‘निरमाया’मा इन्स्पेक्टर कुइँकेलको रोल गरे । त्यो निकै रुचाइयो । त्यसपछिका दर्जनभन्दा बढी सिनेमामा उनले इन्स्पेक्टरको रोल गरे । इन्स्पेक्टरको क्यारेक्टर आयो कि मेकरहरू अशोकलाई फोन गर्थे ।

किकले नाक बांगो
चलचित्र ‘गरिब’को छायांकन माइतीघरमा थियो, राजेन्द्र खड्गी भिलेन थिए । अशोकको रोल नेगेटिभ हिरोको थियो । फाइटको सिन थियो । किक हान्दा राजेन्द्रको नाकमा लाग्यो । 

“नाक फुटेर भलभल्ती रगत बग्न थाल्यो । तर, उसले फाइट रोक्नै मानेन । ऊ ‘हान् हान्’ भनिरहन्छ । क्यामेरा कट भएन । मैले पनि पञ्च, किक, फाइट हानिरहेँ,” अशोक सम्झिन्छन्, “रगत बगिरहेको थियो, तर सट रोकिएन । पछि सट सकिएपछि मैले किन नरोकेको भनेर सोधेँ । म आफैँ एक्सन डाइरेक्टर छु, कसरी रोक्नु भन्ने जवाफ थियो ।”

पछि राजेन्द्रले नाकको अपरेसन नै गराए । “राजेन्द्रको नाक अहिले पनि केही बांगो छ,” उनी भन्छन् ।

आशोकले सम्झिए, डा. सुबोधकुमार पोखरेलको सेट । शिव श्रेष्ठ र करिष्मा मुख्य कलाकार थिए । सूर्यविनायकमा छायांकन थियो । फाइटको सिन थियो । अशोकले हानेको किक शिव श्रेष्ठलाई लाग्यो । उनी बेहोस भए ।

“सुटिङ रोकियो । एम्बुलेन्स बोलाएर हस्पिटल नै लगियो । दुई दिन आराम गरेर उहाँ छायांकनमा आउनुभयो,” अशोक भन्छन्, “त्यो समय अहिलेको जस्तो डुप्लिकेसन प्रयोग हुँदैन थियो । सेफ्टी युज हुँदैन थियो । भुईंमा लड्दा पनि यत्तिकै खाली भुईंमा लड्नुपर्थ्यो । फम राख्न थालेको त कति नै वर्ष भयो र !”

यो पनि पढ्नोस्

जब केकी असारको भेलमा फेवातालमा डुबिन्

उटपट्याङ ‘शिरोमणि’ राजारामका किस्सैकिस्सा

यसरी भएका थिए सरोज एकै रातमा सुपरस्टार

दीपकराज गिरीको त्यो ‘वाणी’ जसले स्वस्तिमालाई झस्काइरहन्छ

पटक–पटक मृत्युको मुखमा पुगेर फर्किएका दयाहाङ

रेखा थापाको त्यो भयानक क्षण

निखिल उप्रेतीको सुटिङ अनुभव– सात तलाबाट हामफाल्दा आफैँलाई दबाबमा राखेको थिएँ

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro