site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दीपकराज गिरीको त्यो ‘वाणी’ जसले स्वस्तिमालाई झस्काइरहन्छ
SkywellSkywell

पछिल्लो समय कोही अभिनेत्रीका लागि मेकरले कुर्नुपर्छ भने ती हुन्, स्वस्तिमा खड्का । एकपछि अर्को चलचित्र फ्लोरमा रहेकाले उनको समय हेरेर मेकरले आफ्नो सिनेमाको सुटिङ सेड्युल मिलाउनुपर्छ । ‘होस्टेल रिटर्न्स’बाट नेपाली रजतपटमा पाइला टेकेकी उनको करिअर त्यति बेला उचालियो, जब ‘बुलबुल’मा अभिनय गरिन् । राष्ट्रिय अवार्डसमेत प्राप्त गरिसकेकी उनले विदेशी फिल्म फेस्टिभलको स्वाद पनि चाखिसकेकी छन् । लार्जर देन लाइफका सिनेमा हुन् वा चरित्रप्रधान, स्वस्तिमा फिट देखिन्छिन् । त्यसैले पनि अहिले उनको माग उच्च छ । ‘चिसो मान्छे’ र ‘बुलबुल’मार्फत आफूलाई अभिनयमा अब्बल प्रमाणित गरिसकेकी छन् । उनी कमिर्सियल मुभीमा पनि उत्तिकै सहज महसुस गर्छिन् । एक दर्जन चलचित्रमा अभिनय गरिसकेकी उनै स्वस्तिमा बाह्रखरीको यो हप्ताको एक्सन कट्का तिता–मिठा श्रृंखलामा : 

०००

तपाईंलाई फिचर फिल्ममा पहिलोपटक क्यामेरा फेस गरेको याद छ ? स्वस्तिमालाई आजसम्म कतिले सोधे यो प्रश्न त्यो त उनलाई याद छैन, तर आजसम्म दिन नसकेको जवाफ भने यही हो ।  

KFC Island Ad
NIC Asia

किन ? 

“सायद म असाध्यै खुसी भएको भए याद हुन्थ्यो । अथवा, डरले आत्तिएको भए सम्झनामा रहिरहन्थ्यो होला,” स्वस्तिमा सम्झिन नसकेको फिचर फिल्मको पहिलो सटको कुरा गर्छिन् । त्यसअघि नै म्युजिक भिडियोमा क्यामेरा फेस गरिसकेकाले स्वस्तिमाको सम्झनाको तरेलीमा पहिलो सटको छाप अमिट भएर बसेन ।

Royal Enfield Island Ad

उमेर १९ थियो । पेसा अध्ययन । कक्षा इन्जिनियरिङ थर्ड इयर । त्यही समय उनले म्युजिक भिडियोमा अभिनय सुरु गरेकी थिइन् । म्युजिक भिडियोको त्यही बाटो नै स्वस्तिमाका लागि सिनेमासम्म पुग्ने भर्‍याङ बन्यो ।

दोस्रो म्युजिक भिडियो बजारमा भर्खर आएको थियो । त्यही हेरेर निर्माता सुनील रावलले स्वस्तिमालाई सिनेमाका लागि अफर गरे । जस्तो उमेर त्यस्तै सिनेमा । सिनेमा थियो, होस्टेल रिटर्न्स ।

चलचित्रमा अधिकांश कलाकार उनीजस्तै युवावयका थिए । स्वाभाविक थियो, कथाअनुसारका पात्र । पहिलो सिनेमा थियो । वर्कसप नै झन्डै दुई महिना चल्यो । वर्कसपमै अधिकांश कलाकारसँग गजबको बन्डिङ भइसकेको थियो । तँ तँ र म म चल्न थालेको थियो । काठमाडौंको गन्जागोलभन्दा पर जान पाए हुन्थ्यो भन्ने मनको चाह थियो । त्यस्तै भयो, बुटवलमा सिनेमा छायांकन हुने भयो । दसैँलगत्तै सुरु भएको सिनेमाको छायांकन तिहारको भाइटीकासम्म चलेको थियो ।

“मलाई त भ्याकेसनमा काठमाडौंबाहिर गएजस्तो भइरहेको थियो । २१ दिन बसेर काठमाडौं फर्किएको दिन तिहारको भाइटीका थियो,” स्वस्तिमा नोस्टाल्जिक हुन्छिन् ।

न डर न अपेक्षा
पहिलो सिनेमा थियो । न कसैको अपेक्षा न डर । न दर्शकले मन नपराऊलान् भन्ने डर थियो न समीक्षकको भय । त्यसैले पनि होला, उनले काममा इन्जोय गरिन् ।

स्वस्तिमाले अहिलेसम्म काम गरेका सिनेमाका प्रोडुसरमध्ये सबैभन्दा कठोर निर्माता हुन्, सुनील । अक्सर नयाँ फेस लिने र कडा अनुशासनमा राखेर काम लिने सुनीलको छवि थियो । स्टार अभिनेता/अभिनेत्री भए सायद धेरै भन्न पनि सक्दैन थिए होला, तर नयाँ फेस भएकाले टाइट गर्थे ।

“मलाई त वर्कसप र सेटभन्दा पनि स्कुलजस्तो लाग्थ्यो । तर, स्कुलमा जति टाइट हुन्छ, विद्यार्थी त्यति नै लुकेर आफूले चाहेको गर्छ,” स्वस्तिमा पहिलो सेटको रमाइलो सम्झिन्छिन्, “त्यही नै हामीलाई रमाइलो लाग्थ्यो । सुनील दाइले सिकाएको त्यो कडा अनुशासनले अहिले पनि काम गरिरहेको छ । त्यो स्कुलिङले अहिले पनि कलाकार, निर्देशक, निर्माता तथा टेक्निसियनसँग कसरी प्रस्तुत हुने भनेर सिकाएको छ भन्ने लाग्छ । त्यो बेला – यो दाइले के गर्न खोजिरहेको छ भन्ने लागे पनि अहिले त्यसले काम गरिरहेको छ ।”

वर्कसप चलिरहँदा परीक्षा पनि सञ्चालन भइरहेको थियो । दिउँसो २ बजेदेखि परीक्षा हुन्थ्यो । राति १२ बजेसम्म स्वस्तिमा वर्कसपमै हुन्थिन् । “दुई महिना वर्कसप हुँदा फर्स्टदेखि लास्टसम्मको एक/एक डाइलग कण्ठ थियो । दाइले ‘नहेरी डाइलग भन’ भन्दा हामी पहिलो पेजदेखि अन्तिम पेजसम्मको डाइलग डिट्टो नबिराई भन्थ्यौँ,” उनी भन्छिन् ।

पहिलो सिनेमा थियो । अपेक्षा गरेर बसेका बेला आएको अफर थिएन । त्यसैले मेरो करिअर पोइन्ट नै यही सिनेमा बन्न सक्छ भन्ने लोभ उनमा थिएन । दोस्रो, भिडियो ‘कुचीकुची...’ रिलिज भएकै दिन त्यही हेरेर उनलाई म्यासेज आएको थियो । स्वस्तिमाले भनेकी थिइन्– अहिले सिनेमा गर्दिनँ होला ।

सुनीलले ‘एकपटक अफिस आएर स्क्रिप्ट हेर, राम्रो लागे गर नभए नगर’ भने । उनले स्क्रिप्ट हेरिन् । उनले त्यो बेला पढेको स्क्रिप्ट अर्कै थियो । त्यो नबनाएर सुनीलले पनि ‘होस्टेल रिटर्न्स’ बनाएका थिए । त्यसैले अपेक्षा नगरी आएको अफर र यसैलाई करिअरको ट्रनिङ पोइन्ट बनाउनुपर्छ भन्ने हेक्का नराखेकाले पनि होला, बिनाप्रेसर स्वस्तिमाले यो चलचित्रमा काम गरेकी थिइन् ।

गोसाइँकुण्डमा कष्ट 
‘होस्टेल रिटर्न्स’ रिलिजको केही समयपछि स्वस्तिमाको विवाह भयो । ‘होस्टेल रिटर्न्स’मा नोटिस हुने क्यारेक्टर भए पनि स्वस्तिमा मुख्य चरित्रमा थिइनन् । तर, त्यही चलचित्रमा हेरेर दीपेन्द्र के खनालले ‘लभ लभ लभ’मा उनलाई मुख्य भूमिकामा अनुबन्ध गरे । दोस्रो सिनेमा पनि काठमाडौंबाहिर छायांकन भयो । पहिलो सिनेमामा धेरै कास्टसँग काम गरेकी स्वस्तिमा यसमा लिड रोलमा त थिइन्, तर प्रायः दुई मात्र कलाकार हुँदा उनलाई के नपुगे नपुगेजस्तो लागिरहेको थियो । उनको अपोजिटमा थिए, सुरज पाण्डे । पोखराको छायांकन सकियो । गीतको छायांकनका लागि गोसाइँकुण्ड जाने तयारी गरियो । सुरुमा हेलिकोप्टरमा जाने कुरा थियो । कारणवश गाडीमा जानुपर्ने भयो । उनले गुगल गरिन्, अहो, कस्तो राम्रो ठाउँ ! उत्साह थपियो ।

तीन दिनका लागि प्लान थियो । पहिलो दिनको बास धुन्चेमा भयो । त्यहाँबाट उकालो बाटो हिँडेर गोसाइँकुण्ड पुगिन्थ्यो । पहिलो दिन ठिकै थियो । दोस्रो दिन हाइअल्टिच्युड भयो । बाटोमा उनले टुरिस्ट भेटिन् । उसैसँग गफ मिलिरहेको थियो । हाइअल्टिच्युड हुँदा उसैले औषधि दियो । जब गोसाइँकुण्ड पुगिन्, स्वस्तिमालाई लाग्यो– ल, यही हो गोसाइँकुण्ड ? न हिँउ थियो न हरियाली । पानी पनि कालो । जता हेर्‍यो त्यतै उजाड । मनै खल्लो भयो । कस्तो मौसममा आइएछ भन्ने लाग्यो ।

प्रोडक्सनले अझै माथि जाने भन्यो । लेक लागेकाले स्वस्तिमाले असहज महसुुस गरिरहेकी थिइन् । दिउँसो १२ बजेपछि हुस्सु लागेर काम बन्द गर्नु परिरहेको थियो । तीन दिनको सेड्युल राखेर गएको आठ दिन बित्यो । प्रोडक्सनले स्वस्तिमालाई भन्यो– तिमीले गर्दा हामी भनेको ठाउँमा जान पाएनौँ । स्वस्तिमाले ‘कलाकारलाई टेककेयर गर्ने ठाउँमा उल्टै तिमीले गर्दा काम भएन भन्ने हो भने कसरी काम हुन्छ ?’ भनिन् । सामान्य विवाद भयो । विवाहपछि उनी घर छोडेर एक्लै टाढा गएको पहिलोपटक थियो ।

“एकातिर घर छोडेको धेरै भएको थियो, अर्कोतिर स्वास्थ्यले साथ नदिँदा पनि प्रोडक्सनले आफैँलाई औँल्याएपछि मजा लागिरहेको थिएन,” स्वस्तिमा भन्छिन्, “अहिलेसम्मको करियरमा म रोएको त्यो नै पहिलोपटक हो । घरमा आमा र निश्चललाई फोन गरेर म रुन्थेँ । हन्ड्रेड पर्सेन्ट चार्ज गरेर चलाउन थाल्दा दुई मिनेटमा ब्याट्री डाउन हुन्थ्यो । त्यो बेला साँच्चै कठिन भएको थियो ।”

एक कल फोन गरेको २० रुपैयाँ लाग्थ्यो । एक ग्लास तातो पानीको सय रुपैयाँ तिर्नुपर्थ्यो । म कहिले आऊँ ? भन्दै निश्चलसँग फोनमा स्वस्तिमा रुन्थिन् । कामका लागि गएकी श्रीमतीलाई निश्चलले के भन्नु, सुन्नु र ‘ठिक हुन्छ, वेट गर’ भन्नुको उनीसँग विकल्प थिएन ।

शारीरिक मात्र होइन, मेन्टल्ली पनि डाउन भइसकेपछि स्वस्तिमालाई कसैको अनुहारै नहेरौँ जस्तो भएको थियो । कहिले काम सकिन्छ र जाऊँ भन्ने भइसकेको थियो । तर, उनी सम्हालिएर काम गरिरहेकी थिइन् । कारण, सिनेमा जेसुकै कारणले बिग्रियोस्, यहाँ कलाकारलाई दोष लगाइन्छ भन्ने उनलाई थाहा थियो ।

“गोसाइँकुण्डमा दीपेन्द्र दाइ हुनुहुन्नथ्यो । यदि, उहाँ जानुभएको थियो भने यस्तो हुँदैन थियो । उहाँ कलाकारलाई फ्रिली काम गराउने निर्देशक हो,” स्वस्तिमा स्पष्ट पार्छिन् ।

लक्ष्मीपूजाको दिन सुटिङ प्याकअप भयो । कोरियोग्राफर कविराज गहतराजलाई जुठो परेकाले उनको भाइटीका थिएन । प्रोडक्सनको पनि टीका थिएन । को–एक्टर सुरजको समेत टीका लगाउन नहुने रहेछ । त्यसैले कसैलाई हतार थिएन । तर, स्वस्तिमा एक्ली बहिनी – जसरी पनि भाइटीकामा घर आउनैपर्थ्यो ।

फ्रस्टेड स्वस्तिमा
स्वस्तिमा यति फ्रस्टेड भइसकेकी रहिछन्, कसैलाई गएँ है पनि नभनी सेटबाट हिँडिछन् । हेयर डिजाइनर ‘दिदी’ले ‘म पनि जानेँ’ भनिन् । स्वस्तिमाले भनिन्, ‘हिँड्न सक्नुहुन्छ भने जाऊँ ।’

उनीहरू हिँडे । बीच बाटोमा आइपुगेपछि दिदीले भनिन्– मलाई पेट दुख्यो । “उहाँ त प्रेग्नेट पो हुनुहुँदो रहेछ । ढाँटेर काममा जानुभएको रहेछ,” स्वस्तिमा भन्छिन्, “म कतिसम्म फ्रस्टेड भएछु भने, उहाँले मलाई पेट दुख्यो, गाह्रो भयो भनेरभन्दा पनि म यति धेरै सेलफिस भएछु, जंगलको बाटोमा उहाँलाई एक्लै छोडेर हिँडेछु । आज पनि मलाई मैले त्यस्तो किन गरेँ होला भनेर रिगरेट हुन्छ ।”

साढे पाँच घण्टाको बाटो उनी साढे तीन घण्टामा कुदेर आइपुगिन् । धुन्चेमा झरेर १० दिनका दिन नुहाइन् । संयोगले धुन्चे चेकपोस्टमा स्वस्तिमाका आफन्त दाइ आर्मी थिए । उनले ‘म काठमाडौं फर्किंदै छु, गाडी मिलाइदिनु’ भनिन् । दाइले त्रिशूलीसम्म गाडीको बन्दोबस्त गरिदिए । त्यहाँसम्म उनले निश्चललाई बोलाएकी थिइन् ।

“निश्चल मेरो फेस हेरेर तर्सिएको थियो । चिसोले मेरो फेस कालो भएको थियो । त्यहीँका स्थानीय वृद्धाहरूको जस्तो अनुहार भएको थियो,” उनी सम्झिन्छिन्, “अनुहारभरि रिंकल नै रिंकल । चिसोले छालामा असर गरेर पाप्रैपाप्रा उप्किरहेको थियो । पछि मेरो साथीहरूले त्यो बेलाको फोटो हेरेर ‘तँ बूढी हुँदा यस्तै हुनेरैछेस्’ भन्थे ।”

सिनेमामा जति धेरै कलाकार हुन्छन्, त्यति नै सफलताको जस र असफलताको अपजसको नैतिक जिम्मेवारी डिभाइड हुन्छ । भलै, निःसन्देह सिनेमा मुख्य कलाकारको काँधमा हुन्छ । ‘लभ लभ लभ’मा उनी लिड रोलमा थिइन् । चलचित्र स्वस्तिमा र सुरजको काँधमा थियो । अरू कलाकार यो सिनेमामा मुख्य भूमिकामा छैनन् । तर पनि सेटमा उनले भोलि सिनेमा के होला भनेर खासै तनाव लिइनन् । जब चलचित्रको रिलिज डेट नजिकियो, पब्लिसिटी सुरु भयो । अनि, तनाव पनि सुरु भयो । सिनेरमा रिलिज भएर कमर्सियल रूपमा सफल हुन नसकेपछि झन् दबाब महसुस भएको उनलाई सम्झना छ ।

“लभ लभ लभपछि मैले मेकरले सिनेमा कस्तो बनाएको रहेछ भन्दा पनि एक्टरले सिनेमा चलाउन सकेन भनेर लिइँदो रहेछ । र, यसले भयंकर प्रेसर हुँदो रहेछ भन्ने मैले महसुस गरेँ,” स्वस्तिमा सम्झनाको पोयो फुकाउँछिन् ।

दीपक–दीपासँग छुट्टै आत्मीयता
‘छक्का पञ्जा–२’ बाट स्वस्तिमालाई अफर आयो । दीपकराज गिरी र दीपाश्री निरौलासँग पहिलो मिटिङ थियो । पहिलो मिटिङमा नै दीपक–दीपासँग यति राम्रो बन्डिङ भयो, सायदै अरूसँग यति चाँडो कसैको आत्मीयता बढ्छ ।

“मेकरहरूसँग अहिलेसम्म पनि दीपक दाइ र दीपा दिदीसँग जस्तो रिलेसन कसैसँग छैन । उहाँहरू मेरो परिवारजस्तै हो,” स्वस्तिमा भन्छिन्, “त्यो बेला म आफ्नै कारणले डिस्टर्ब थिएँ । तर, त्यो सुटिङले मलाई त्यो तनावबाट बाहिर निकाल्यो । लाइफटाइम चियरिर्स गर्ने एक्सपिरियन्समा  पहिलो सिनेमा हो भने दोस्रो छक्का पञ्जा–२ हो ।”

दीपक–दीपा तिनै कलाकार हुन्, जसलाई टेलिभिजनमा हेरेर स्वस्तिमा हुर्किइन् । तिनै कलाकारसँग काम गर्दै थिइन् । स्वस्तिमाले दीपक–दीपासँग काम गर्दा दुइटा अनुभव गरिन् । लिजेन्डसँग काम गर्दा एउटा त मनोवैज्ञानिक प्रेसरले आत्मबल गिराइदिन्छ । अर्को, सानैदेखि देखेकाले चिनेको आफ्नै मान्छेजस्तो उनलाई लाग्यो । वर्षौँदेखि सँगै काम गरिरहेको जस्तो अनुभव गरिन् । जसले गर्दा काम गर्न सहज भयो ।

धेरैले दीपक–दीपाले बनाउने सिनेमालाई लिएर उनीहरूलाई हेय भावले पनि हेर्छन् । तर, स्वस्तिमालाई थाहा छ, उनीहरू काममा कति धेरै संवेदनशील छन् । दर्शकको अपेक्षा धेरै भएकाले पनि उनीहरूमा त्यो जिम्मेवारी बोधले काम गरेको उनले देखेकी छन् ।

“उहाँहरूमा जति सेन्सअफ ह्युमर छ, त्यहीअनुसार रमाइलो गर्दै काम गर्नुहुन्छ, त्यति नै कामप्रति संवेदनशील पनि हुनुहुन्छ,” स्वस्तिमा भन्छिन्, “त्यही भएर उहाँहरूको कामको रिजल्ट राम्रो आइरहेको छ ।”

कअक्सर कलाकार त्यो दिनको सुटिङ प्याकअप भएपछि आ–आफ्नो गन्तव्यतिर लाग्छन् । धेरैलाई प्याकअपकै प्रतीक्षा रहन्छ । अरू काममा स्वस्तिमा पनि हतारिन्छिन् । तर, खोइ किन हो, सिनेमाको सेटमा उनलाई कहिल्यै त्यस्तो हुँदैन । सुटिङ सकिएपछि पनि सेटमा बस्छिन् । आजको कामको समीक्षा खोज्छिन् । भोलिको काम कसरी गर्ने रोडम्याप बनाउने प्रयत्न गर्छिन् ।

यस्तै क्रम चलिरहेको थियो । दिन कुन थियो त्यो तिथिमिति त उनलाई याद छैन, तर यतिचाहिँ याद छ – एक दिन ‘छक्का पञ्जा’को छायांकन सकियो, अरू कलाकारले आ–आफ्नो गन्तव्य समाए । उनी भने सेटमै बसिरहेकी थिइन् । दीपकले भने, ‘तिमीले अहिले जे गरिरहेकी छौ, यो सधैँभरि क्यारी गर्नू । तिमी आज जुन ठाउँमा छौ अथवा भोलि जुन ठाउँमा हुन्छौ, त्यो ठाउँमा पुग्ने तिमीजस्ता हजारौँ युवतीको ड्रिम हो । त्यसैले यसलाई तिमीले कहिल्यै हल्का रूपमा नलिनू । जब तिमीले यसलाई हल्का रूपमा लिन्छौ, तिमीलाई रिप्लेस गर्न तयार भएर बसेका हजारौँलाई सहज हुनेछ ।’ यसलाई स्वस्तिमाले सफलता जोगाएर राख्ने वाणीका रूपमा लिएकी छन् ।

“आज पनि जब म शारीरिक र मानसिक रूपमा थाकिरहेको हुन्छ, म दीपक दाइको यो मन्त्र सम्झिन्छु । जसले मलाई ऊर्जा प्रदान गर्छ ।”

भेट्रानसँग स्वस्तिमा
‘जय भोले’मा स्वस्तिमाले फरक कास्टसँग काम गरिन् । सौगात मल्ल, खगेन्द्र लामिछाने रंगमञ्चमा लामो समय बिताएर चलचित्रमा आएका खुंखार अभिनेता थिए । उनीहरूसँग स्क्रिन सेयर गर्दा केही कुरा सिक्न पाइएला भन्ने लोभ थियो ।

तीन साता झापामा छायांकन भयो । त्यही बेला त हो, खगेन्द्रसँग स्वस्तिमा नजिकिएको । सौगात इन्ट्रोभट स्वाभावका छन् । सुटिङ सकिएपछि रनिङ गर्न जान्थे । एउटै होटेलमा बसे पनि सेटबाहेक भेट नै हुँदैन थियो । खगेन्द्र र बुद्धिसँग भने उनी गफिन्थिन् । नजानेका कुरा सोध्थिन् ।

लार्जर देन लाइफको अनुभव 
‘छक्का पञ्जा–२’ को स्क्रिप्ट दीपक–दीपालाई विकास आचार्यले दिएका थिए । त्यही बेला विकासले स्वस्तिमालाई भनेका थिए– मेरो सिनेमामा काम गर्नुपर्छ ।

नभन्दै त्यो दिन आयो । ‘नाईं नभन्नू ल–५’ पनि छायांकनका लागि झापा पुग्यो । यो सिनेमा उनका लागि अरूभन्दा चुनौतीपूर्ण थियो । उनले गरिरहेका सिनेमाभन्दा फरक प्याटर्नको थियो । सिनेमाका कतिपय डायलग एक्टरहरू आफैँ बनाउँछन् । तर, यो लार्जर देन लाइफ सिनेमा थियो । राइम मिलेका कवितात्मक डाइलग थिए । बोल्नुपर्ने पनि त्यसैगरी थियो ।

“डाइलग बोलिरहँदा कस्तो नसुहाएको, स्क्रिनमा हेर्दा नराम्रो देखिन्छ कि भन्ने लागिरहन्थ्यो,” नयाँ अनुभव सम्झिन्छिन् स्वस्तिमा ।

यो सिनेमासँग जोडिएको उनको अर्को अनुभव पनि छ । अभिषेक नेपाल उनका को–एक्टर थिए । खासै नबोल्ने । धेरै नबोल्ने मान्छेसँग बोल्न पनि अप्ठ्यारो ।

“करिब–करिब हामी सेटभन्दा बाहिर नबोली नबोली नै त्यो फिल्मको छायांकन सक्यौँ । म आफैँ पनि अरूलाई कम्फर्ट बनाइदिरहेको हुन्थेँ बोल्नलाई । तर, बोल्न अप्ठ्यारो मानेकाले बोन्डिङ नै भएन,” स्वस्तिमा भन्छिन्, “मोर केमेस्ट्री र रियल देखिनुपर्ने सिनेमा भएको भए सायद अप्ठ्यारो नै हुन्थ्यो होला, तर पोइट्रिक डाइलग भएकाले समस्या नै भने भएन ।”

नेपाली सिनेमा उद्योग दुई धारमा विभक्त छ । एउटा रियालिस्टिक मेकरको समूह र अर्को कमर्सियल । निश्चलका कारण पनि होला, स्वस्तिमाको संगत पनि रियालिस्टक सिनेमाका मेकरसँग बढी भयो । ‘नाईं नभन्नू ल–५’ गर्ने खबरपछि स्वस्तिमालाई धेरैले भन्थे– यस्तो सिनेमा किन गर्न लागेको ?

“तर, यस्तै सिनेमा हेर्ने अडियन्स पनि हुनुहुँदो रहेछ । विशेष गरी युवापुस्ता, त्यो पनि भ्यालीबाहिर यो सिनेमाका दर्शक धेरै हुनुहुँदो रहेछ,” उनी भन्छिन्, “अहिले पनि काठमाडौंबाहिर मलाई अरू सिनेमाभन्दा यो सिनेमा हेरेर चिन्ने धेरै हुनुहुन्छ ।”

विकास आचार्यकै अर्को चलचित्र ‘हजार जुनीसम्म’को छायांकन सिक्किममा भयो । ३० दिन उनी सिक्कममा बसिन् । जहाँ चिसो हुन्छ, त्यहाँ स्वस्तिमालाई गाह्रो हुन्छ । त्यसमाथि टिमसँग बन्डिङ भएन भने अर्को समस्या । यो चलचित्रमा पनि उनलाई बन्डिङ धेरै मिलेजस्तो लागेन । त्यही बेला ‘बुलबुल’को प्रोमोसन थियो । करोडौँ लगानी रहेको चलचित्रको प्रोमोसनमा फुलटाइम दिनुपर्छ भन्ने कलाकारलाई लाग्छ । त्यसमा पनि ‘बुलबुल’ अरूभन्दा फरक, यसलाई समय दिनुपर्छ भन्ने प्रेसरले स्वस्तिमालाई बेचैन बनाइरहेको थियो ।

‘बुलबुल तिमीले गर्न सक्तैनौँ’
‘बुलबुल’ सुरुमा कमर्सियल तरिकाले सोचिएको चलचित्र थियो । जोयस पाण्डेले निर्देशन गर्ने तयारी थियो । निश्चल र स्वस्तिमालाई अफर आएको थियो । निश्चलले लामो समय यस/नो नै भनेनन् । उनलाई आफू र स्वस्तिमाको सिनेमा आउँदा त्यो अलि विशेष होस् भन्ने चाहना थियो । त्यसपछि मेकर पनि परिवर्तन भए । निर्देशन विनोद पौडेलले गर्ने भए । निश्चलले स्क्रिप्ट पढिसकेका थिए । 

स्वस्तिमाले सोधिन्– कस्तो छ ?

निश्चल : राम्रो त छ, तर तिमीले गर्न सक्ने/नसक्ने हेर न ।

निश्चलकाे भनाइले कस्तो क्यारेक्टर र’छ भनेर कौतूहल भयो । पढिन् । जब उनले स्क्रिप्ट पढिन्, स्वस्तिमालाई आफूले कुरेर बसेको सिनेमा यही हो जस्तो लाग्यो । भलै, आफूलाई यस्तो क्यारेक्टर कसैले अफर गरोस् र काम गर्छु भन्ने उनले सोचेकी पनि थिइनन् । हरेक सिनेमामा टाइप कास्ट गरेको देखेर उनी दिक्क भइसकेकी थिइन् । हरेक अफरमा उनी भन्थिन्– सिनेमामा मेरो क्यारेक्टर के हो ?

हरेक मेकरको जवाफ हुन्थ्यो– तिमी जे हौ, त्यही हो तिम्रो क्यारेक्टर । जबकि, सँगैको को–एक्टरलाई ‘तिम्रो क्यारेक्टर यो, विषय यो हो, उद्देश्य र सम्भावित प्रभाव यो हो’ भनेको उनी सुन्थिन् । महिला चरित्र भन्नेबित्तिकै हल्का रूपमा लिएको देख्दा उनलाई लाग्थ्यो– बब्ली टाइपको रोल छ, यसमा स्वस्तिमालाई सुहाउँछ भनेर लिइएको होला !

रणकलाको क्यारेक्टर ३० वर्षको थियो । बच्चाको उमेर ११ वर्ष । स्वस्तिमा फुच्ची देखिन्थिन् । स्वस्तिमाले ठट्ट गर्दै विनोदलाई सोधिन्, ‘तपाईंले ३० वर्षको महिलाका लागि मलाई अफर गर्नुभएको कि ११ वर्षको बच्चाका लागि ?’

स्वस्तिमाले ओके गरेपछि रणकला र उनको बच्चाको उमेर घटाइयो ।

को–एक्टर को ?
साइन् गरिन् । साइनिङ अमाउन्ट पनि लिइन् । महिला चरित्रप्रधान सिनेमा थियो । को–एक्टरचाहिँ को ? एक्टिभली यो क्षेत्रमा लागेका हिरोहरू अहिले पनि महिला चरित्रप्रधान सिनेमामा काम गर्न मान्दैनन् । ‘बुलबुल’मा पनि मानेनन् । त्यसैले जोयसले खेल्ने भए ।

किन हो थाहा छैन, तर जोयस सुरुदेखि नै स्वस्तिमासँग अप्ठ्यारो मान्थे । जबकि, ‘बुलबुल’को कथाले को–एक्टरसँग गजबको बन्डिङ माग्थ्यो ।

स्वस्तिमाले विनोदसँग भनिन्, “जोयस दाइसँग त काम गर्न गाह्रो होलाजस्तो लाग्यो । म सिनेमा गर्दिनँ होला ।”

विनोद स्वस्तिमालाई ‘काम गर्नुपर्छ’ भनिरहेका थिए । तर, प्रोडुसर विकल्प खोज्न तयार भइसकेका थिए । स्वस्तिमा पनि साइनिङ अमाउन्ट फिर्ता गर्ने तरखर गर्दै थिइन् ।

एक दिन अबेर साँझ विनोदको फोन आयो । उनले सोधे, ‘खगेन्द्र अपोजिटमा भए काम गर्छौ ?’

स्वस्तिमा : डाइरेक्टरलाई मलाई यो को–एक्टर चाहिन्छ भनेर भन्न मिल्दैन । जोयस दाइ मसँग कम्फर्ट नभएपछि काम गर्न गाह्रो हुन्छ भन्ने मात्रै मेरो कुरा हो ।

अर्को दिन विनोदले अफिसमा बोलाए । सँगै मुकुन भुसाललाई पनि बोलाएका रहेछन् ।

विनोदले भने– ल, अब तिम्रो को–एक्टर ऊ (मुकुन भुसाल) हो । त्यसपछि टेम्पो सिक्न थालिन्, स्वस्तिमा । स्वस्तिमाले सिनेमाको सैद्धान्तिक ज्ञान कहिल्यै लिएकी थिइनन् । विनोदले सिनेमाको वर्कसप चलाउँदा धेरै सैद्धान्तिक कुरा सिकाए । त्यो आज पनि स्वस्तिमालाई काम लागिरहेको छ ।

‘बुलबुल’ रिलिज भएपछि धेरैले स्वस्तिमाको काम देखेर भने ‘वाउ, गजब काम !’ राष्ट्रिय अवार्ड जितिन् । विदेशका केही अवार्ड पनि हात लागे । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)मा यो सिनेमा स्क्रिनिङ भयो । अवार्ड पनि जित्यो । स्क्रिनिङपछि क्यूएनए (प्रश्नोत्तर)मा स्वस्तिमालाई गरिएको मध्ये एउटा प्रश्न थियो– अरू सिनेमाभन्दा फरक चरित्रमा हुनुहुन्छ, कत्तिको कठिन भयो यो चरित्र निभाउन ?

‘भएन । अरू क्यारेक्टरजस्तै मैले यसमा पनि सामान्य तरिकाले नै काम गरेको थिएँ,’ स्वस्तिमाको जवाफ थियो ।

भारतबाट आएका प्रकाश झालगायत अरू विदेशी व्यक्ति निर्णायक थिए । “एकजनाले मेरो जवाफ याद गरिरहनुभएको रहेछ । उहाँले विनोद दाइसँग ‘यो त साउथ एसियन एटिच्युड भएन र ? कस्तो रेडिमेट जवाफ’ भन्नुभएछ,” स्वस्तिमा भन्छिन्, “वास्तवमा मैले यो सिनेमाको होल प्रोसेसमै इन्जोय गरेको हुँ । यो सिनेमामा मेरो क्यारेक्टर यस्तो छ है भनेर सचेत भएर काम गर्दा मलाई सहज महसुस भइरहेको थियो । सायद पर्दा पछाडिकाे काम उहाँले नदेखेर पनि याे भन्नु भएकाे हाेला ।”

विनोद काममा खुब ध्यान दिन्थे । अघिल्लो सिन सम्झाएर पछिल्लो सिनमा काम गराउँथे । स्वस्तिमाको त्यो पहिलो सिनेमा हो, जसमा आँसु झार्न ग्लिसिरिन प्रयोग गर्नु परेन ।

विनोदले जब पहिलो पोस्टर सार्वजनिक गरे, धेरैले भनेका थिए– स्वस्तिमालाई लिएर तिमीले किन फिल्म बिगार्न लागेको ?

तर, सिनेमाले तारिफ मात्र बटुलेन, स्वस्तिमाको करिअरकै टर्निङ पोइन्ट पनि बन्यो । अहिले पनि स्वस्तिमालाई भेट्ने धेरैले ‘बुलबुल’को कुरा गर्छन् ।

“एकप्रकारले भन्ने हो भने मलाई यो सिनेमा बोझ पनि हो । योभन्दा राम्रो अर्को सिनेमा गर्न नसक्ने पो हुँ कि भन्ने डर छ । अब यस्तै राम्रो अर्को सिनेमा गर्न ढिलो भइसकेन र भन्ने लाग्छ,” स्वस्तिमा भन्छिन् ।

स्वस्तिमालाई निराश बनाउने ‘घामड शेरे’ 
हेमराज बिसीले स्वस्तिमालाई भनिरहेका थिए– ‘घामड शेरे’मा काम गर्नुपर्छ ।

निश्चल त हिरो, काम गर्ने नै भए । स्वस्तिमालाई भने निश्चल र आफ्नो सिनेमा आउँदा त्यो अझ विशेष होस् भन्ने अपेक्षा थियो । जसले काममा थप उत्साह भर्न सकोस् । दर्शकमा पनि त्यो अनुभव होस् । त्यसैले उनले भनिन्– अरूलाई नै अफर गर्नुस् ।

स्क्रिन टाइममा स्वस्तिमा खासै मतलब गर्दिनन् । मात्र उनलाई छोटै होस्, दमदार रोल चाहिन्छ । ‘घामड शेरे’मा ल्यान्डिङ राम्रो लागेको थिएन । त्यो भन्दा पनि निश्चल र आफ्नो पहिलो सिनेमा आउँदा धमाकेदार हुनुपर्छ भन्ने उनको चाहना थियो । तर, हेमराज दिनहुँ घरमै आएर ‘तिमीले जसरी पनि गर्नैपर्छ, यस भन’ भन्थे । छायांकन सुरु हुने सात दिनअघिसम्म पनि उनले नखेल्ने बताइरहेकी थिइन् । त्यसैले कुनै दिन वर्कसपमा नबसी सिधै छायांकनमा गइन् । स्वस्तिमाले काम गर्ने भनेपछि हेमराजले पहिलाको तुलनामा केही पावरफुल क्यारेक्टर बनाए ।

‘घामड शेरे’बाट उनलाई ठूलो अपेक्षा थियो । काम गर्दा नै पोजेटिभ भाइब्स आएको थियो । अक्सर यस्तो हुँदैन । निकै थोरै सिनेमाको कामबाट मात्र पोजेटिभ भाइब्स आउँछ । तर, सिनेमा अपेक्षित चलेन । स्वस्तिमा भन्छिन्, “यो एउटै सिनेमा हो, जुन चलचित्र नचल्दा ममा निराशा छाएको थियो ।”

नकारात्मकताभित्र बिजनेस नखोज्ने स्वस्तिमा
‘चपली हाइट–३’ मा स्वस्तिमालाई जोडेर अनेक समाचार आए– पब्लिसिटीमा नहिँडेको, निर्मातालाई सहयोग नगरेको आदिआदि । कोही नकारात्मकताभित्र सिनेमाको बिजनेस खोज्ने मेकर हुन्छन् । त्यो विचारसँग उनको मतभिन्नता छ । बरु, गुमनाम नै सही तर नकारात्मक कुरा गरेर चर्चामा आउने रहर आफूलाई नभएको उनी स्पष्ट पार्छिन् ।

स्क्रिप्ट मन पर्‍यो, स्वस्तिमाले ओके गरिन् । त्यसअघि नै केहीले सिनेमाकाे नाम परिवर्तन गर्न माग गरेका थिए । तर, उनले नामसँग मतलब राखिनन् । साइन गरिन् । फिमेल प्रोटागोनिस्ट भएको सिनेमा हो भन्ने थियो । पछि सौगातले नगर्ने भए । स्वस्तिमाले नै निर्देशकलाई महेश त्रिपाठीसँग भेटाइदिइन् । लक्ष्मी बर्देवा थिइन् । राम्रो कास्ट थियो ।

निर्देशक निकेश खड्काले स्वस्तिमासँग एउटा कुरा लुकाए । उनको अपोजिटमा को राख्ने भन्दाभन्दै फोटोसुटका दिन नयाँ मान्छे ल्याए । बन्डिङ नराम्रो पो हुने हो कि ? उनले शंका व्यक्त गरिन् । तर, एकजना प्रोडुसर नै उनै रहेछन् । डाइरेक्टरले ‘म काम गराउँछु’ भने । काम गर्नैपर्ने भयो । काम सुरु भयो ।

पुसको ठिही थियो । रातको समय थियो । रातभर तीन दिन पानीमा भिज्नुपर्ने सिन थियो । चिसो सहन नसक्ने स्वस्तिमालाई यो सिन आफैँमा कठिन थियो । सामान्य हिटरको समेत व्यवस्था थिएन । सिन कट् हुनेबित्तिकै स्पट ब्वाई पानी तताउन जान्थे । मेकअप आर्टिस्ट उनलाई तातो पानी खन्याइदिन्थिन् । तीन दिन उनले कीर्तिपुरको जाडोमा यसैगरी सुटिङ गरिन् । प्रोडुसर पनि खुसी भए । प्रेस मिटमा प्रोडुसरले छायांकन सोचेजस्तै राम्रो रहेको बताए । तर, जब नेगेटिभ पब्लिसिटीको कुरा आयो, उनले इन्कार गरिन् । त्यही नै समाचार बनेर आए ।

सिनेमा कोभिड–१९ को कोपभाजनमा पर्‍यो । समीक्षा भने औसतभन्दा माथि आयो । त्यसमै सन्तुष्ट भइन् स्वस्तिमा । 

हाइप बनाएको ‘चिसो मान्छे
अपेक्षा गरेभन्दा धेरै हाइप बनाएको सिनेमा हो, चिसो मान्छे । उनकै शब्दमा ‘व्यक्तिगत रूपमा आफूलाई ग्रो गरेको’ सिनेमा पनि हो यो ।

स्वस्तिमालाई हिरोइन बनाउने दीपेन्द्र नै यसका निर्देशक थिए । त्यसमा पनि फरक लवज र विषयको सिनेमा थियो । यो सिनेमाको जब पोस्टर आयो – सिनेमाको हाइप यति धेरै उचालियो, दर्शकको अपेक्षाले धरहराको टुप्पो नाघ्यो । स्वस्तिमाको क्यारेक्टरको उच्च प्रशंसा चुलियो ।
  
यो सिनेमा पश्चिम पहाडको लवजमा छ । काठमाडौंमा जन्मेहुर्केकी स्वस्तिमालाई कठिक भएन ? 
“मलाई लिरिक्स र डाइलग यति सहजै कण्ठ हुन्छ । आधा पेजको डाइलग पनि मलाई एकैछिनमा याद हुन्छ,” उनी भन्छिन्, “चिसो मान्छेको मध्यान्तरअगाडिको सटमा आधा पेजको डाइलग एक सटमा दिएको हो मैले । पछि त्यसलाई कट् गरिएको मात्रै हो ।” 

कुनै समय एक्सप्रेसन नमिलेर र आँसु नआएर रिटेक लिनु बेग्लै कुरा । बाँकी अक्सर एकैसटमा टेक ओके गर्छिन् उनी । ‘नाईं नभन्नू ल–५’ को सेटमा फर्किइन् ।

“आँखामा लेन्स लगाएको छ, क्यामेरा ट्रलीबाट आएर आफूलाई फेस गर्दा तरर्र आँसु आउनुपर्ने, त्यो त कसरी सम्भव हुन्छ ?,” उनी भन्छिन्, “टेक्निकली इरर हुँदा भने टेक धेरै हुन्छ । चिसो मान्छेकै छायांकनमा लास बोकेर घाट जानुपर्ने थियो । मान्छे नै सुतिरहेको थियो । अर्पण (थापा) दाइ र म अगाडि थियौँ । ओरालोमा अगाडि प्रेसर भयो । खाली खुट्टा ढुंगैढुंगा भएको बाटोमा हिँड्नुपर्ने । अगाडिबाट खिचेर पछाडिको सनसेट क्याप्चर गर्नुपर्ने थियो । कम्तीमा १५ पटक फोकस आउट भयो । एक्टर भएकाले भन्न पनि केही नमिल्ने । तर, निकै गाह्रो भएको थोरै सिचुएसनमा त्यो पनि एउटा हो ।”

सेटको खानाको भोक
स्वस्तिमालाई सेटको खाना सबैभन्दा मन पर्ने । उनलाई खानामा कम्पनी चाहिन्छ । त्यसैले घरमा एक्लै हुँदा उनी खासै खाँदिनन् । सेटमा ठूलो संख्यामा क्रु मेम्बर हुने भएकाले उनी मजाले खान्छिन् ।

“मैले खा’को देखेर दीपेन्द्र दाइ ‘यो हिरोइनले नै खाको हो ?’ भनेर जिस्काउनुहुन्छ,” स्वस्तिमा भन्छिन्, “छक्का पञ्जामा दीपा दिदी र मैले तीनपटक खाना थपेर खा’को याद छ । गुन्द्रुक तरकारी थियो, जुन मलाई असाध्यै मन पर्ने । त्यसैले हामीले भएको खानाले नपुगेर फेरि पकाउन लगाएर खाएका थियौँ ।” 

आउटडोर सुटिङको सकस
आउटडोर सुटिङमा उनलाई मेकअपमा समस्या लाग्छ । बाटोमै बसेर छायांकन गनुपर्छ । सकेसम्म त्यसो गर्न नपरे हुन्थ्यो भन्ने उनलाई लाग्छ । “चिसो मान्छेको छायांकन थियो । सकेसम्म यसको लुक्स पोस्टर सार्वजनिकभन्दा अगाडि नआओस् भन्ने मेरो चाहना थियो,” उनी भन्छिन्, “तर, अहिले हरेकको हातहातमा मोबाइल छ, टिकटक छ, त्यसैले बाहिर आउँछ भन्ने डर थियो । मैरै जोडबलले यो बाहिर नआएको हो ।”

अरूको घरमा फेवर मागेर सुटिङ गर्नुपर्छ । सँगै आफ्नो सेक्रेसी पनि कायम राख्नुपर्छ, त्यो अहिलेको समयमा चुनौतीपूर्ण छ । ‘जय भोले’को छायांकन अरूको घर मागेर भइरहेको थियो । हेयर डिजाइनरले स्वस्तिमाको हेयर डिजाइन गरिदिइन् । “मेरो हेयर डिजाइन गरेको देखेपछि घरभेटीको छोराले ‘मेरो पनि हेयर डिजाइन गरिदिन’ भने,” आफ्नै आउटडोर इन्डोर स्टुडियो नहुँदाको समस्या सुनाइन् स्वस्तिमाले, “हेयरको दिदीले मिल्दैन भनेपछि त्यो मान्छेले मुखै छोडेर गाली गरे । हामीले फेवर गरिदिइरहेको भनेर एक्टरसँग नै फाइदा लिन खोजिरहेका हुन्छन् ।”

यो पनि पढ्नोस्–

पटक–पटक मृत्युको मुखमा पुगेर फर्किएका दयाहाङ

रेखा थापाको त्यो भयानक क्षण

निखिल उप्रेतीको सुटिङ अनुभव– सात तलाबाट हामफाल्दा आफैँलाई दबाबमा राखेको थिएँ

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  ०९:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro