नेपालमा कोही निर्देशकको लोभलाग्दो स्टारडम छ भने त्यो नाम हो, निश्चल बस्नेत । ‘लुट’बाट निर्देशनमा डेब्यु गरेका निश्चलले त्यही सिनेमाबाट आफूलाई परिचित गराए । यथास्थितिबाट बाहिर निस्किएर बलिउड फर्मुलाभन्दा भिन्न रूपमा निश्चलले ‘लुट’ बनाएका थिए । ‘लुट’ले नेपाली सिनेमाको यथास्थितिवादलाई भंग गरेको थियो । बलिउड सिनेमाको फर्मुला नपछ्याए पनि सिनेमा बनाउन सकिन्छ भन्ने तथ्य स्थापित गरेको थियो । सिनेमाका पात्र हाम्रै घरछिमेकमा बस्छन् भनेर देखाइएको थियो । सिनेमाका पात्रले नाटकीय लबजमै बोल्नुपर्छ भन्ने पुरानो मान्यतालाई निश्चलले चुनौती दिएका थिए । कतै गाली, कतै स्ल्याङ ‘लुट’मा प्रशस्तै थिए ।
‘लुट’ हिट भयो । हिट मात्र पनि होइन, नेपाली चलचित्र उद्योगकै ‘माइलस्टोन’ सिनेमा बन्यो । पछि उनले ‘टलकजंग भर्सेस टुल्के’ र ‘लुट–२’ निर्देशन गरे । थुप्रै सिनेमामा अभिनय पनि गरे । उनै निश्चलसँग निर्देशन र अभिनयको अनुभव योपटकको एक्सन–कट्का तिता–मिठा शृंखलामा :
०००
करिअरकै पहिलो सिनेमा ‘लुट’को फर्स्ट सट खिचेको पल याद छ ? “१२ वर्षअगाडिको कुरा मैले त बिर्सिसकेछु, बरु ‘टलकजंग भर्सेस टुल्के’को पहिलो सट भने याद छ, बुख्याचालाई हानेको सट हो,” १२ वर्षपछि ‘लुट’लाई सम्झँदा निश्चल भन्छन्, “पहिलो सट के लिएका थियौँ र कहाँ लिएका थियौँ बिर्सिसकेछु । सायद मुहूर्त गर्दा चाबहिलको मन्दिरमा लिएको सट थियो कि !” अनुमान मात्र लगाए निश्चलले ।
धेरै कुरा बिर्सिसके । धेरै घुर्मैलो याद मात्र होला । कति कुरा भने अझै उस्तै ताजा छ । यसको पनि कारण छ, उनले ठूलो संघर्षले बनाएको सिनेमा थियो त्यो ।
पहिलो सिनेमा थियो । सिनेमामा आफ्नो नाम निर्देशकका रूपमा आउँदै थियो । त्यो नै सबैभन्दा महत्त्वपूर्ण पक्ष थियो, उनका लागि । धेरै जानेको छैन, तर जति जानेको छु, त्यतिबाटै राम्रो काम निकाल्नुपर्छ भन्ने उनको मनमा थियो ।
सिनेमा युनिटभित्र कोही कसैसँग रिसाउन नहुनेमा निश्चल सचेत थिए । सम्बन्ध बिग्रिए राम्रो काम निस्कँदैन भन्ने उनले बुझेका थिए । थोरै समयमा सुटिङ सकाउनेतिर ध्यान थियो । जति सुटिङ डेज बढ्छ, त्यति नै सिनेमा महँगो हुन्छ ।
“त्यसैले पानी परोस् वा घाम लागोस्, हामी खिच्छौँ, जेसुकै होस्, हामी खिचिरहन्छौँ, रोक्दै रोक्दैनौँ भनेर मैले पूरै टिमलाई तयार गरेको थिएँ,” निश्चल सुनाउँछन्, “बजेटको अभावले कन्ट्युनिटी ब्रेक गर्ने हामीलाई छुट थिएन । त्यहीअनुसार तयार भएर हामी सिनेमा खिच्न गएका थियौँ ।”
खिच्दाखिच्दै पानी पर्थ्यो, तर केही न केही उपाय लगाउँथे, खिचिरहन्थे ।
पानीले तरंग
एक दिन नक्सालस्थित एउटा बिल्डिङको छतमा सट लिइरहेका थिए । दयाहाङ राई, सुशीलराज पाण्डे, प्रतीक निरौला र कर्माको आ–आफ्नो साइडमा फाइटको सट थियो । सट लिइरहेका बेला परबाट पानी परेर सदै आएको देखियो ।
निश्चल बोले– यो पानी यहाँ आइपुग्ला ?
‘सियोर हो, आइपुग्छ ।’
निश्चलले भने– त्यसो भए अब फेरि सुरुदेखि गरौँ, सबै सट पानीमै खिच्नुपर्छ । पानीमै सबै सट सक्नुपर्छ ।
पानी पर्नेबित्तिकै क्यामेरा रोल गरे । सट लिन सुरु भयो । वाइड सट लिइरहेका थिए । राम्रो देखिरहेको थियो । एक्कासि पानी पर्न रोकियो । फाइटको सबै सिक्वेन्स सकिएन ।
अनि ?
“अनि के हुनु, फेरि सुक्खा भयो ! पानीमा लिएको सट काम लागेन । पानी पर्छ कि भनेर एक छिन कुर्यौँ, चर्किएर घाम लाग्यो । तर, पानी परेन,” निश्चल पुराना दिन सम्झिन्छन्, “सबै निथ्रुक्क भिजेका थिए । सबैले लुगा खोलेर सुकाए । लुगा सुकेपछि फेरि सुरुबाट सबै सिन लिने कुरा भयो । लुगा सुकुन्जेल सौगात मल्ल बाहिरबाट अरू केटा भए ठाउँमा आएको सट लियौँ ।”
सात महिना वर्कसप
न्यून बजेटले काम छिटो सकाउनुपर्ने दबाब थियो । नयाँ मेकर प्रेसर फिल हुनु स्वाभाविक पनि थियो । गलेर लखतरान हुन्थे । तर, काम त गर्नैपर्यो । गर्थे । २७ घण्टासम्म कन्टिन्यु काम गरेको उनीसँग अनुभव छ । गीतको छायांकन थियो, लगातार २७ घण्टामा सकियो । “गीतको छायांकन सकियो, तर यति धेरै थाकिएछ, अस्पताल लगेर स्लाइन नै चढाउनुपर्यो,” निश्चल भन्छन् ।
कसलाई ?
‘मलाई ।’
तर पनि सुटिङ रोकिएन । चिफ एडी निगम श्रेष्ठ थिए, उनले छायांकनलाई निरन्तरता दिए । बेसिक स्टोरीबोर्ड थियो । त्यसले पनि निगमलाई गाइड गरिरहेको थियो । धेरै रेस्ट गर्ने समय थिएन । निश्चल फर्किए । २४ दिनमा छायांकन सकाइयो ।
त्यसअघि, निर्देशकसहित कलाकार सात महिना वर्कसपमा बसेका थिए । त्यति बेला न हाकु काले (सौगात मल्ल) जन्मिइसकेका थिए न त गोफ्ले (दयाहाङ राई) नै । दुवै फुर्सदिला थिए । वर्कसप लम्बिए पनि त्यति धेरै समस्या थिएन । वर्कसप जति लामो भइरहेको थियो, त्यति नै निश्चल स्क्रिप्ट रि–राइट गरिरहेका थिए ।
एउटाले एकथोक भन्थ्यो, अर्कोले अर्कोथोक । सस्पेन्स स्टोरी, एक ठाउँमा चलाएपछि सबै हल्लिन्थ्यो । अल्छी गरेर भएन, रि–राइट गर्नैपर्यो । “हरेक दिन नयाँ ड्राफ्ट लेख्नुपर्थ्यो । पछिपछि त मैले कति ड्राफ्ट लेखेँ भनेर गन्नै छोड्दिएँ,” निश्चल पहिलो सिनेमाको हार्डवर्क सम्झिन्छन्, “सात महिनासम्म हरेक दिन परिवर्तन भइरहेको थियो । बेसिक कुरा एउटै भए पनि त्यसभित्र गरिने सानोसानो परिवर्तनले स्क्रिप्ट हरेक दिन चलाउनुपर्यो ।”
त्यसले स्क्रिप्टलाई ‘टाइट’ गरिरहेको थियो । सन्तुष्टि मिलिरहेको थियो ।
सिनेमा लम्ब्याउने तनाव
करिब ७० सिनको सिनेमा थियो । अहिले पनि एक घण्टा ५५ मिनेटको सिनेमा छ । योभन्दा पनि छोटो थियो, सुरुमा । निर्माता माधव वाग्ले र नरेन्द्र महर्जनले भने– दुई घण्टाभन्दा छोटो फिल्मलाई यहाँ कसैले सिनेमै गन्दैनन् ।
त्यो समय फिचर फिल्म साढे दुईदेखि तीन घण्टाको हुन्थ्यो । माधव र नरेन्द्रले भने– कसरी हुन्छ लेन्थ बढाऊ ।
त्यसपछि अगाडि गीत राखियो । पछाडि गीत राखे । क्रेडिटलाइन लामो राखे । निश्चलले तानतुन पारेर एक घण्टा ५५ मिनेट पुर्याए ।
अनि, भेटिएका थिए निर्माता
फिल्म बनाउने जुनुन थियो । कसरी बनाउने माथापच्ची थियो । पहिला त स्क्रिप्ट नै राम्रो चाहियो । निश्चलले फिडब्याकका लागि अभिनाशविक्रम शाहलाई स्क्रिप्ट पढ्न दिए ।
अभिनाशले निश्चललाई भने– स्क्रिप्ट राम्रो छ, माधव वाग्लेले स्क्रिप्ट खोजिरहनुभएको छ, एकफेर भेट न ।
माधवलाई फोन गरे निश्चलले । भेट्न बोलाए । निश्चलले स्क्रिप्टमा जे थियो, पूरै न्यारेट गरे माधवलाई ।
स्टोरी सुनेपछि माधवले आश्वस्त पारे– ल, यो हाम्रो सिनेमा हो अब । कसरी गर्छौ, कति बजेटमा सक्छौ, कोको हुन्छ कलाकार ?
निश्चलले कलाकारको नाम भने, सुटिङ सकाउने समय भने । र, भने बजेट– प्रचार खर्चबाहेक २५ लाख । पछि ५४ लाखमा हलमा पुग्यो, सिनेमा ।
माधवलाई निश्चलले भने– हलमा कसरी लगाउने हो, त्योचाहिँ मलाई थाहा छैन ।
माधवले स्पष्ट पारे– त्यो चिन्ता तिम्रो होइन, मेरो पार्टनर साथी वितरक पनि हो । त्यसको काम हो यो ।
त्यसपछि निश्चललाई लाग्यो– यो फिल्म हलमा पनि लाग्ने भयो । काम गर्न मजा आउने भयो ।
सौगातका ३३ टेक
सात महिना लामो वर्कसपले कलाकार यति धेरै पर्फेक्ट भइसकेका थिए, एकैपटमा लगातार फाइन सट दिन्थे ।
निश्चलले भनेका थिए– तपाईंहरूको पफर्मेन्स हामी रोक्दैनौँ, तपाईंहरू आफ्नो तरिकाले पफर्मेन्स दिनुस् । मलाई कसरी चाहिन्छ, त्यसरी सट लिन्छु ।
“कुन सिन कसरी खिच्ने भनेर हामी पहिला नै क्लियर थियौँ । त्यसैले पनि सुटिङमा सहज भयो,” उनी विगत सम्झिन्छन् ।
यो सिनेमामा सबैभन्दा धेरै सट सौगातले लिए । ३३ पटक । छतको डिलमा उभिएका सौगातलाई क्यामेरा घुमाएर दयाहाङलगायत कलाकारको इन्ट्रीसम्मको टेक लिँदा हो, ३३ पटक । ३३ टेक लिँदा पनि निश्चललाई चित्त बुझेको थिएन । तर, ‘आधा दिन बितिसक्यो, अब नलिऊँ’ भनेर रोकेको निश्चलले भुलेका छैनन् ।
चिनिनु थियो
‘लुट’ बनाउँदा म के गर्दै छु, के का लागि गर्दै छु र किन गर्दै छु भन्नेमा निश्चल प्रस्ट थिए । उनलाई निर्देशकका रूपमा दरिनु थियो । दयाहाङ र सौगातलाई कलाकारका रूपमा स्थापित हुनु थियो । कर्मा, प्रतीक र सुशील नयाँ थिए । उनीहरूमा पनि कलाकार बन्ने जुनुन थियो । र, हामी गर्न सक्छौँ भन्ने ऊर्जाको पारो निकै माथि थियो । त्यसमा पनि थोरै नै किन नहोस्, केही नयाँ गर्दै छौँ भन्ने थियो ।
“हामी जे गर्दै छौँ, आफूलाई मजा लाग्ने काम गर्दै छौँ, हामीलाई मजा लाग्ने कुरा अरूलाई पनि त त्यस्तै लाग्ला भन्ने थियो,” निश्चल भन्छन्, “यो मेरो आशा थियो, यस्तै आशा उहाँहरूमा पनि थियो । लगातार काम गर्दा हामी थाक्थ्यौँ । तर, त्यो थकानभन्दा पनि आत्मसन्तुष्टिको मात्रा बढी हुन्थ्यो । आज यति सकियो, अब यति बाँकी छ भनेर खुसी हुन्थ्यौँ ।”
दर्शकले सिनेमालाई कसरी लिन्छन् भन्ने उनले सोचेका थिएनन् । उनलाई यतिचाहिँ लागेको थियो, दर्शकले रमाइलो भने मान्छन् । सिनेमामा धेरै मुख छोडेका डाइलग छन् । सुटिङ हेर्न आएका मान्छे एक्टरले मुख छोडेको सुनेर ‘आम्मै !’ भन्दै हिँड्थे ।
गाली नै गाली !
निश्चललाई लागेको थियो– सेन्सरले गाली सुनेर एडल्ट सर्टिफिकेट दिन्छ होला । आफैँ तर्क गर्थे र मन बुझाउँथे– संसारभर सिनेमामा प्रयोग भइरहेको कुरा नै हो, हामीले नयाँ केही गरेको होइन । समाजमा जे छ, त्यसैलाई देखाउन खोजेको मात्रै त हो ।
पोस्टमा पुगेपछि माधव र नरेन्द्रले भने– ओहो, कति धेरै मुख छाडेको ! कति धेरै चुरोट खा’को रै’छ ।
निश्चलले भने– दाइ, स्क्रिप्टमै थियो त यो । सेटमा केटाहरूले केही थपे होला !
ट्रेलर आएपछि...
जब ट्रेलर आयो, सिनेमाका शुभेच्छुक छक्क परे ।
किन ?
नेपाली सिनेमामा त्यति धेरै गाली त्यसअघि गरेको इतिहास नै थिएन । त्यसमा फरक टेस्ट थियो ।
“रियल लाइफमा मान्छे जसरी रिसाउँछ, त्यो सिनेमा नदेखाएर त्यसमा ड्रामाटाइज नै गर्नुपर्ने हो र ?,” निश्चल अहिले पनि प्रश्न गर्छन्, “रिस त रिस नै हो, त्यो जहाँसुकै होस् । त्यसमा पनि रियालिस्टिक सिनेमा बनाउँदै छौँ भने नाटकीयपन सकेसम्म कम गर्नुपर्थ्यो नै ।”
सिनेमामा प्रयोग गरिएका गाली समाजमा सामान्य बोलीचालीमा प्रचलनमा छ भने किन लुकाउनुपर्यो ? उनको तर्क थियो । पब्लिकमा बोल्न अप्ठ्यारो हुन्छ, तर हेर्ने/नहेर्ने त व्यक्तिको च्वाइस हो ।
“संसारको त्यस्तो कुुनै ठाउँ छैन होला, जहाँ गाली नहोस् । स्ल्याङ हो, कुनै न कुनै रूपमा प्रयोग हुन्छ,” उनी भन्छन्, “कुनै गालीका लागि त कुनै ह्युमरका लागि जसरी पनि प्रयोग त हुँदै आएको छ ।”
सिनेमा बुझ्ने चेत
सिनेमामा जे छ, त्यसले समाजलाई त्यतातिर लगिरहेको हो अथवा समाजमा जे छ, त्यसको चित्रण गरेको हो भन्ने बुझ्ने चेत भए कुनै पनि चलचित्रको विरोध नहुने उनी बताउँछन् ।
आफूलाई मन परिरहेको छ, अरूलाई पनि मजा लाग्ला भन्ने उनको अपेक्षा थियो । तर, साथीहरूले पत्याइरहेका थिएनन् ।
सिनेमाको सम्पादक सुरेन्द्र पौडेल थिए । उनी भनिरहन्थे– यो सिनेमाले खान्छ ! “उहाँ यो सिनेमाले खान्छ, खान्छ भन्नुहुन्थ्यो, के खान्छ थाहा थिएन । म नयाँ थिएँ, के भनिरहनुभएको थियो भन्ने त्यति धेरै थाहा पाउँदिनँ थिएँ । व्यंग्य हो वा तारिफ बुझ्दिनँ थिएँ,” निश्चल विगत कोट्ट्याउँछन्, अलिकति रोमाञ्चित, अलिकति शंका भरिएका पल सुनाउँछन् ।
फोटोग्राफर गौरव विष्टले पनि ‘लुट’ पहिला नै हरेका थिए । उनको प्रतिक्रिया थियो– हेर्दा मजा आउने फिल्म हो यो ।
जो त्यो समय हिन्दी र इंग्लिस सिनेमा हेरिरहेका थिए, उनीहरूका लागि अपिलिङ भइरहेको थियो ।
“सय/हजारजनाले त हेर्लान् भन्ने सोचेर बनाएको थिएँ, तर ट्रेलरको रेस्पोन्स आउँदा मान्छेमा उत्सुकता देखेको थिएँ,” निश्चल १२ वर्षअगाडि फर्किए । र, पहिलो सिनेमाको ट्रेलरको बजार अनुभव सुनाए ।
चिया पसलमा...
ट्रेलर आउँदा केही व्यक्तिले उनलाई गाली गरिरहेका थिए । चर्चा पनि भइरहेको थियो । निश्चल अनामनगर क्षेत्रका चिया पसलहरूमा गइरहन्थे । त्यहाँ उनी आफ्नै सिनेमाका बारेमा कुरा गरिरहेको सुन्थे । चर्चा गर्ने अधिकांशले भनेको निश्चल सुन्थे– ओइ, नेपाली फिल्मको एउटा ट्रेलर आ’को छ, हेरेको छस् ? खत्रै छ यार यो, हामीजस्तै बोल्छन् यार यिनीहरू !
“पहिलो कुरा त फिल्मबारे चिया पसलमा कुरै हुँदैन थियो । भए पनि नेपाली फिल्मको बारेमा युवापुस्ता कुरै गर्दैन थिए । यो सिनेमाका बारेमा भने युवापुस्ता कुरा गरिरहेको थियो,” निश्चल नोस्टाल्जिक हुन्छन्, “म गइरहने चिया पसमा आउने मान्छेले यसरी कुरा गरेको सुनेपछि एकदुईपटक मैले ‘यो सिनेमा मैले बना’को हो नि !’ भनेको थिएँ, ‘आबुइ ! हो र !’ भन्थे । सरप्राइज हुन्थे । कस्तो लाग्दो रहेछ भन्ने बुझ्नु पनि थियो । ‘कस्तो लाग्यो ?’ भनेर सोध्थेँ ।”
ट्रेलरको फर्स्ट कट काटेर गुरुकुल (नाटकघर) पनि पुगेका थिए, उनी । त्यहाँ अधिकांशले भनेको निश्चलको दिमागमा ताजै छ अझै– ल, मजा आउँछ । गज्जब छ ।
दयाहाङलाई भेटेको पल
त्यही चिया पसल हो, जहाँ निश्चलले पहिलोपटक दयाहाङलाई देखेका थिए । निश्चल चिया पिएर बसिरहेका थिए । देखे, परबाट कतै देखेदेखेजस्तो मान्छे आइरहेको छ । त्यो मान्छे उनी बसिरहेको चिया पसलमै आएर बस्यो । ‘दासढुंगा’मा देखेको अनुहार उनले ठम्याइहाले । दयाहाङ राई हुन् ।
“उहाँलाई देख्नबित्तिकै मलाई यति बोल्न मन लाग्यो, तर कसरी बोलाउने हिम्मत नै जुटाउन सकिरहेको थिइनँ । बोल्न त्यति अप्ठ्यारो त आजसम्म कसैसँग बोल्न पनि लागेको छैन,” उनी भन्छन्, “हेर्छु, बोल्न खोज्छु, तर आँट नै आउँदैन । खतरा एक्टिङ गर्ने एक्टर लागेको मान्छे, आफूलाई फिल्मप्रति यति धेरै लगाव छ, बोल्न मन लाग्छ, तर सक्तिनँ ।”
अन्ततः हिम्मत जुटाए निश्चलले ।
अनि ?
छेउमा गएर भने– दाइ, नमस्ते !
‘नमस्ते ।’
‘म पनि फिल्म सिक्दै छु ।’
‘ए, अँ ! ठिक छ ।’
‘दाइ, मैले कुनै दिन फिल्म बनाएँ भने खेल्नुहुन्छ ?’
“थाहा छैन, मैले किन त्यसरी सोधेँ । अरू कोही मान्छे देख्दा मलाई त्यस्तो कहिल्यै भएको थिएन । सायद दासढुंगा हेरेपछि मैले उहाँलाई फलो गरिरहेको थिएँ । कसरी ठ्याक्कै अमर लामाजस्तै बनेको होलाजस्तो लागेको थियो,” निश्चल भन्छन्, “म त्यो बेला बाहिर थिएँ, तर निरन्तर फलो गरिरहँदा नेपाली फिल्म इन्डस्ट्रीकै खतरा एक्टर भेटेँ भन्ने लागेको थियो । यस्तो एक्टरलाई मैले कति सजिलै भेटेँ भन्ने लाग्यो र मैले सोधिहालेँ ।”
‘बनाउन, खेलिहालिन्छ नि !,’ दयाहाङ भनेका थिए ।
त्यो समय निश्चल यति खुसी भए, त्यो क्षणलाई बयान गर्न अहिले पनि उनीसँग शब्द छैन ।
“त्यति बेला मैले उहाँसँग गरेको संवाद त्यति मात्रै हो । त्यसबाहेक म उहाँसँग केही बोलिनँ । न नम्बर मागेँ न ठेगाना सोधेँ । न सिनेमाबारे केही कुरा नै गरेँ,” निश्चल भन्छन्, “म जुन दिन फिल्म बनाउन तयार हुन्छु, त्यो दिन उहाँकोमा जान्छु भन्ने मात्रै थियो दिमागमा ।”
त्यस्तै घटना केही दिनअघि मात्र निश्चलको जिन्दगीमा घट्यो । ललितपुरको जावलाखेलस्थित एक अस्पतालमा पुगेका थिए । त्यहाँबाट बाहिर निस्कँदै थिए । गाडी चढ्दै गर्दा परबाट एक युवतीले भनिन्– निश्चल दाइ, नमस्ते !
‘नमस्कार’ भनेर निश्चल गाडीमा बस्न लागेका थिए । ती युवतीले भनिन्, ‘दाइ, म अहिले लेख्दै छु, जिन्दगीमा कुनै दिन म तपाईंलाई भेट्छु है । हामी फिल्म गर्नुपर्छ । अहिले तपाईंलाई देखाउन मसँग केही छैन, तर कुनै दिन म तपाईंलाई भेट्न आउँछु । डोन्ट वरी दाइ, म खोजेरै तपाईंलाई भेट्न आउँछु ।’
त्यति भनिन् र हिँडिन् ।
निश्चलले सम्झिए, आफ्नै विगत । चिया पसलमा उनले दयाहाङलाई भेटेका थिए । र, अनिश्चित सिनेमाका लागि अफर गरेका थिए । ती युवतीले पनि ठ्याक्कै त्यस्तै गरिन् ।
“मैले लुट बनाएपछि कति मान्छे बोल्न आए । बोले । फोटो खिचे । तर, को हो को हो एकछिनमै बिर्सिन्छु,” निश्चल भन्छन्, “तर, त्यो बहिनी आज पनि मलाई याद छ, फिल्ममा काम गर्नुपर्छ भन्ने । फोन नम्बर लिने मान्छे पनि मैले भुलिसकेको हुन्छु, तर त्यो बैनीको हाउभाउ पनि याद छ ।”
सेन्सरको झमेला
फेरि कुरा ‘लुट’कै । सिनेमा तयार भयो । अब गराउनुपर्यो सेन्सर । उनले कतिपय गाली आफैँले म्युट गरेर सिनेमा सेन्सरमा पठाएका थिए । तर, उनले सोचेको जस्तो सेन्सर बोर्ड कहाँ थियो र !
केही गाली र स्ल्याङ वर्ड थिए । त्यसैले उनले एडल्ट सर्टिफिकेट मागेका थिए ।
सेन्सरले भन्यो– गाली गरेको जति सबै हटाएर ल्याउनू, अनि एडल्ट सर्टिफिकेट दिउँला ।
सबै फालेपछि किन एडल्ट सर्टिफिकेट ? भनाभन नै पर्यो निश्चलको ।
माधव वाग्ले भन्थे– सिनेमा रिलिज गर्न पाँच दिन बाँकी छ, कहाँ झगडा गरेर हुन्छ भाइ !
माधव वाग्लेले ‘हटाउँछु’ भने । हटाए पनि ।
“कुन सिनेमा कसले हेर्न मिल्ने र कसले नमिल्ने भनेर त उमेर छुट्ट्याएको हो । विश्वभर नै चलेको नियम हो । जहाँ कन्ट्रोल (सिनेमा हलमा) गर्नुपर्ने हो, त्यहाँ गर्नुपर्यो,” निश्चल लुटमा सेन्सरले दिएको दुःख सम्झँदा अहिले पनि क्रोधित हुन्छन्, “आफू नियम फलो नगर्ने अनि हामी मेकरलाई कथा लेख्दादेखि नै सोच्नसम्म नदिने ? जबसम्म हामी यो प्रवृत्तिबाट शासित हुन्छौँ, हामी कहीँ पुग्दैनौँ । आज के हेर्ने र के नहेर्ने भन्नेमा सेन्सर गर्नेभन्दा दर्शक धेरै बाठो भइसके । धेरै सचेत पनि छन् । संसार कहाँ पुगिसक्यो, हामी चार सेकेन्ड किस गरेकोसम्म ठिक छ, त्यहाँभन्दा बढी भयो भने भल्गर भन्ने मानसिकता पालेर बसिरहेका छौँ । यो कुरा सुन्दा पनि मान्छे फ्रस्टेड हुन्छ ।”
आफ्नैपन
निश्चललाई ‘टलकजंग भर्सेस टुल्के’ निर्देशनको प्रस्ताव आयो । स्क्रिप्ट उनको हात पर्यो ।
‘ओहो, यस्तो स्क्रिप्ट त कहाँ पाउनु ! यस्तो स्क्रिप्ट त म आफैँ लेख्न सक्तिनँ ।’ यस्तै सोचे उनले ।
त्यसपछि खगेन्द्र लामिछानेलगायत व्यक्तिलाई उनले भने– हुन्छ, निर्देशन गर्न म तयार छु ।
उपन्यास, कथा, नाटक होस् अथवा साहित्यका अरू कुनै विधाबाट इन्सपायर्ड होस्, निश्चललाई आफ्नै तरिकाले कथा भन्न मन लाग्छ ।
कारण ?
त्यसपछि न त्यो कथा निर्देशकको हुन्छ । अरूको हेरेर त्यसबाट प्रभावित भएपछि त यो वा त्योजस्तो भन्ने आरोप आउँछ । त्यसैले ‘टलकजंग भर्सेस टुल्के’ नाटकको भिडियो हेर्ने ? भनेर सोधिएको थियो । हेरेनन् । नाटक पनि पढेनन् । आफ्नै तरिकाले गरे ।
‘टलकजंग भर्सेस टुल्के’भित्रका घटना हाम्रै हुन् । निश्चल हुर्कंदै गर्दा नेपाली समाजमै घटेका घटना हुन् । कतिपय भोगेका, कति देखेका । कतिपय सुनेका । त्यो समयको डर उनी आफैँले अनुभूत गरेका थिए । आफैँले जसरी बुझेका थिए, त्यसैगरी बनाए ।
कास्कीको हेम्जाकोटमा सिनेमाको सुटिङ थियो । सिनेमाको युनिट हेम्जाकोट पुग्दा बडो अचम्मको दृश्य देखियो ।
कस्तो ?
“हामीलाई स्वागत गर्न स्थानीय पञ्चेबाजा लिएर बसेका रहेछन् । माला लगाइदिएर पञ्चेबाजा बजाएर हामीलाई सुटिङस्थल पुर्याए स्थानीयले । बेहुलै भएर आएजस्तो गरेर गाउँमा स्वागत गरिरहेका थिए । हामी बिहेमा छौँ कि सिनेमा सुटिङ गर्न गएका हौँ भन्नेजस्तो भएको थियो । मेरा लागि त्यो पहिलो अनुभव थियो त्यस्तो,” सँगै रहेका खगेन्द्र निश्चललाई सम्झाउँछन्, “सुटिङ सकेर हिँड्दा पनि त्यसैगरी बिर्दा गरेका थिए नि स्थानीयले ! त्यो ठाउँ सम्झँदा पनि आनन्द आउँछ । वास्तवमा हेम्जाकोट सुटिङ गर्न शीतल ठाउँ पनि हो ।”
बाइकको त्यो स्टन्ट
‘लुट–२’ मा बाइकको स्टन्ट सिन थियो । मकैबारीमा र्याम्प बनाए । अगाडिदेखि नै अभ्यास गरिँदै थियो । दुई स्टन्टबाज ल्याएका थिए । अन्ततः बाइक स्टन्टको टेक लिने दिन आयो । दुर्भाग्य, त्यही दिन पानी पर्यो ।
प्लाइउडको स्लोप थियो, पानी परेपछि भिज्यो । स्टन्टका डटबाइक थिए, अलिकति माथि जानेबित्तिकै बाइक घुम्न र चिप्लिन थाल्यो । बाइकले ग्रीप लिन सकेन । त्यसपछि लिस्टी ल्याएर लगाए । नजिक राखेर ट्राइ गरे । भएन । टायर अडिने ग्याप राखेर बनाएपछि हुने पत्ता लाग्यो । त्यसै गरे । ट्रायल रन गरे । क्रस भयो । हुनेरहेछ भनेर टेक लिने निधो गरे । पाँच क्यामेरा रोल गरे । सिनेमामा राखेको सटमा दुईमध्ये एकजना लडेका थिए । झरेको सटसम्म क्यामेरामा कैद भयो । भुईंमा पछारिएको सट भने अटेन ।
“लडेर उसको हात मर्कियो । जिउ सुन्नियो । तर, उनले त उठेर ‘दाइ, सट पायो कि पाएन ?’ भनेर सोधिरहेका थिए । तिम्रो हात यस्तो भयो, सट त भएन भने पनि लिऊँला न भनेँ,” तीन दिन लगाएर लिएको सट सम्झिन्छन् निश्चल, “अलिअलि मात्रै हो, केही भएको छैन भनिरहेका थिए । पछि हस्पिटल लैजाँदा थाहा भयो, हात भाँचिएको रहेछ ।”
गाडी पल्टाउने र आगो लगाउने सिनमा पनि सकस व्यहोरेका उनी भन्छन्, “द्वन्द्वको काममा हामीले अझै मिहिनेत गर्नुपर्नेछ । द्वन्द्वको काम गर्नेलाई थप बिमाको व्यवस्था गर्नुपर्ने रहेछ । एक्सनका लागि नेपालमा धेरै काम गर्न बाँकी छ । द्वन्द्व संघले यसमा पहल गर्नुपर्नेछ ।”
कठिन के ?
निश्चल निर्देशक मात्र होइनन्, अभिनेता पनि हुन् । ‘कबड्डी’, ‘प्रसाद’, ‘घामड शेरे’लगायत थुप्रै सिनेमामा उनले अभिनय गरेका छन् ।
निर्देशन सजिलो कि अभिनय ?
एकै वाक्यमा धेरै शब्द नखर्ची उनी जवाफ दिन्छन्– निर्देशन ।
किन ?
– यत्रो अभिनय गरिसकेँ, तर अभिनयमा म कन्फिडेन्स नै फिल गर्दिनँ । भन्न आउँछ– यो डाइलग यसरी भन्नुस्, यो इमोसन निकाल्नुस्, यसो गर्नुस् । तर, त्यही आफूलाई भन्न आउने कुरा गर्दा भने कन्फिडेन्स आउँदैन ।
“निर्देशक भएर मलाई यस्तो चिज चाहिएको छ भनेर भन्न सक्छु, तर अर्को निर्देशकले त्यही कुरा निकाल भन्दा सायद धेरै कुरामा मबाट पुग्दैन,” उनी भन्छन् ।
एक सिनमा राम्रो देखिएर हुँदैन, पूरै सिनेमाभर त्यसले निरन्तरता पाउनुपर्छ । त्यो राम्रो एक्टरले मात्र गर्न सक्छ ।
“एउटै ग्राफमा देखिनुपर्छ भनेर याद हुन्छ । तर, त्यति कुरा सेटमा धेरै आउँदैन कि भन्ने लाग्छ,” निश्चल भन्छन्, “ट्रेन्ड कलाकारले धेरै तयारी नगरे पनि सहजै गर्न सक्छ, तर मेन्टल्ली रूपमा म यस्तोयस्तो चिज गर्छु भनेर सोचिरहेको हुन्छ । यसका लागि त्यहीँ गएर दुईचारपटक प्राक्टिस गरेपछि मात्रै थोरै सहज महसुस गर्छु ।”
निश्चलले धेरै फिल्ममा अभिनय गरिसके । कैयौँ गीतमा नाचिसके । अनि, उनले यो निष्कर्ष निकाले– एक्टिङ जो कसैले गर्न सक्तैन, गर्छु भनेर आँट्न त जसले पनि सक्ला । जसले एक्टिङ हेरिरहेको छ, उसले साँच्चै मान्नुपर्यो, राम्रो अभिनय भइरहेको छ ।
अभिनयमा लाज
‘कबड्डी’मा अभिनय गर्ने निधो भयो । सेटमा पुगे । रामबाबु गुरुङ निर्देशक थिए । रीस्मा गुरुङ को–एक्टर ।
“क्यामेरा फेस गर्नै गाह्रो भइरहेको थियो । रामबाबु दाइ भन्नुहुन्छ, एक्टिङचाहिँ गर्दै नगर् है, अरू बेला जे गर्छस्, त्यही गर् ! तँ जरी बोल्छस्, त्यसैगरी बोल्,” निश्चल पहिलो अभिनयको सेट सम्झिन्छिन्, “म ‘हुन्छ’ भन्थेँ, तर म के गरिरहेको छु भन्ने नै म आफैँ मेसो पाइरहेको थिइनँ । रीस्मासँग सिन हुनेबित्तिकै त झन् मेरो बाजा बज्यो । उनी फटट डाइलग भन्छिन्, इमोसन दिन्छिन्, तर म एउटा डाइलग बोल्यो, हाँस्छु । रामबाबु दाइ परबाट म हाँसेको देखेर आफैँ हाँस्नुहुन्छ । मलाई उहाँ हाँसेको देखेर थप हाँस उठ्छ ।”
निश्चल रामबाबुलाई क्यामेरा रोल गरेर नदेख्ने ठाउँमा जान भन्थे । र, फाइन सट दिने प्रयास गर्थे । उनलाई फर्ममा आउनै एक हप्ता लाग्यो । त्यो समय म कुन संसारमा के गर्दै छु, कसैले नगरेको काम पो गर्दै छु कि जस्तो लागेको उनी बताउँछन् ।
रहर थिएन काम गर्ने ?
“रहरै थिएन भन्ने त होइन, रहर नभए जबरजस्ती त किन कसैले काम गर्थ्यो र ? तर, त्यो क्यारेक्टर नै गर्छु भन्ने मलाई थिएन । सानोतिनो रोल गरौँ, पछिलाई स्मरण पनि हुन्छ भन्ने मात्रै थियो,” उनले सुनाउँछन् ।
त्यो फिल्ममा रहरभन्दा पनि लाज बढी रहेको निश्चल स्मरण गर्छन् । वर्कसपमा दयाहाङ, बुद्धि तामाङ, विजय बराल र रामबाबुले केके कुरा कसरी गर्ने भनेर ट्रेन्ड गराएका थिए । तर, सेटमा लाजले छपक्कै छोपिदियो । धन्न उमेर र अनुभवले केही सिकाएको थियो, सहज हुने कोसिस गरे ।
पछि उनले थाहा पाए– एक्टरले लाज माने काम हुँदैन । त्यही कुरा निश्चलले ‘कबड्डी’मा रियलाइज गरे । अभिनय गर्न सोचेभन्दा कठिन रहेको पनि उनले त्यही बेला महसुस गरे ।
‘प्रसाद’देखि गम्भीर
‘प्रसाद’देखि हो, निश्चल अभिनयमा गम्भीर भएको । “कि मैले अभिनय नै गर्नु भएन, होइन भने यसमा सिरियस हुनुपर्छ भनेर ‘प्रसाद’बाट मैले फिल गरेको हुँ । जसरी ट्रेन्ड एक्टरले अभिनय गर्दा उसले काम गर्छ, त्यस्तै प्रयास मैले गर्नुपर्छ भन्ने लागेर केही जानेको चिज मैले ‘प्रसाद’मा गर्न खोजेँ,” उनी भन्छन्, “अहिले पनि मलाई त्यही लाग्छ । गरेँ भने इच्छाले गर्छु, होइन भने अभिनय नै गर्दिनँ भन्ने फिल गरेर गर्छु । मलाई कास्ट गरिहाले भनेर त्यसलाई सामान्य सम्झिएर म काम गर्दिनँ । मेरो आफ्नो लागि त केही नहोला, सिनेमाका लागि भने त्यो अन्याय हो ।”
० ० ०
‘घामड शेरे’को सुरुकै सिन हेर्ने हो भने निश्चल धुलाम्मे देखिन्छन् । त्यो सिन सुर्खेत पुग्नुभन्दा अगाडि छिन्चुको हो । उनीहरूलाई धुलाम्मे सडक चाहिएको थियो । चाहिएजस्तो धुलो सडकमा थिएन । गाडीले बनाएको ट्रेलजस्तो देखाउनु थियो । तर, क्यामेरामा खोजेजस्तो ट्रेल देखिएको थिएन ।
धुलो जम्मा गरे । औधी धुलो देखाउन दुईतिरबाट पंखा चलाउन लगाए । त्यसअघि नै शरीरभरि धुलो हालेर उनी उभिएका थिए । त्यसपछि गाडीबाट ओर्लंदा भनेजस्तो सिन कैद भयो । त्यो पर्दामा पनि देखिन्छ ।
मलाई प्रोत्साहन गर्नु पर्दैन ?
स्वस्तिमा खड्कासँग काम गर्न सजिलो कि अरू एक्ट्रेससँग ?
काम गर्दा यो वा त्यो भन्ने नहुने तर स्वस्तिमासँग सहकार्य गर्दा दिमागमा एउटा कुरा भने आउने उनी बताउँछन् । “उसले मभन्दा राम्रो अभिनय गर्छिन्, मलाई अभिनयमा मलाई यो सिनमा धेरै पछि छोडेर जान्छिन् भन्ने थाहा हुन्छ,” निश्चल भन्छन्, “कसरी मैले उसकै तहमा अभिनय गर्न प्रयास गर्ने भन्ने दिमागमा आउँछ ।”
सेटमा घुलमिल नभए काम गर्न कठिन हुन्छ । त्यसैले दूरी कम गर्न उनी सक्दो प्रयास गर्छन् । स्वस्तिमासँग त यो समस्यै भएन । यसै सहज ! कलाकार त स्वस्तिमा हुन्, निश्चल अब्बल निर्देशक पो हुन् । स्वस्तिमा निश्चललाई यो सिन यसरी गर्दा राम्रो हुन्छ भनेर भनिरहेकी हुन्छिन् ।
“केही भनिनन् भनेचाहिँ ‘किन नभनेको ?’ भनेर म भनिरहेको हुन्छु । ‘श्रीमान्लाई पनि प्रोत्साहन गर्नु पर्दैन ?’ भन्छु,” निश्चल भन्छन्, “आफूले गर्दा र अरूले गरेको हेर्दा आकाश–जमिनको फरक पर्ने रहेछ । मैले कति एक्सप्रेस गरिरहेको छु भन्ने थाहा हुँदैन । तर, मैले के खोजिरहेको छु, त्यो भने थाहा हुन्छ ।”
यो पनि पढ्नोस्–
...त्यसपछि करिष्मालाई इन्जेक्सन दिएर लट्ठ्याएर राखियो
दीपक थापा अर्थात् गुन्डा सेलिब्रिटी
जब केकी असारको भेलमा फेवातालमा डुबिन्
उटपट्याङ ‘शिरोमणि’ राजारामका किस्सैकिस्सा
यसरी भएका थिए सरोज एकै रातमा सुपरस्टार
दीपकराज गिरीको त्यो ‘वाणी’ जसले स्वस्तिमालाई झस्काइरहन्छ
पटक–पटक मृत्युको मुखमा पुगेर फर्किएका दयाहाङ
निखिल उप्रेतीको सुटिङ अनुभव– सात तलाबाट हामफाल्दा आफैँलाई दबाबमा राखेको थिएँ