
काठमाडौं । भारतको गुजरातमा गएको साता दुर्घटनाग्रस्त एयर इन्डिया विमानको एउटा इन्जिन नयाँ र अर्को सर्भिसिङको अवधि डिसेम्बरसम्म बाँकी रहेको एयरलाइन्सका अध्यक्षले बताएका छन् ।
भारतीय समाचार च्यानललाई दिइएको एक अन्तर्वार्तामा एयरलाइन्सका अध्यक्ष एन. चन्द्रशेखरनले विमानका दुवै इन्जिनको विगत ‘स्वच्छ’ रहेको पनि बताए ।
“दायाँ इन्जिन मार्च २०२५ मा नयाँ राखिएको थियो । बायाँ इन्जिनको पछिल्लोपटक २०२३ मा सर्भिसिङ भएको र अर्को सर्भिसिङका निम्ति डिसेम्बर २०२५ सम्म बाँकी थियो,” उनले टाइम्स नाउ च्यानलको अन्तर्वार्तामा भने ।
गएको बिहीबार (जुन १२) लन्डनतर्फ जान लागेको बोइङ ७८७–८ ड्रिमलाइनर एआई १७१ विमान अहमदाबाद विमानस्थलबाट उडेको एक मिनेटभित्रै दुर्घटनाग्रस्त हुँदा कम्तीमा २७० जनाको मृत्यु भएको थियो ।
अनुसन्धानकर्ताले दुर्घटनाको कारण निर्धारण गर्न रेकर्ड गरिएको उडान डाटा र ककपिट अडियो ‘डिकोड’को काम गरिरहेका छन् ।
“सबै विज्ञले ब्ल्याक बक्स र रेकर्डरले निश्चित रूपमा कारण बताउने मलाई बताएका छन् । त्यसैले हामीले त्यसको लागि पर्खनुपर्छ,” चन्द्रशेखरनले भने ।
भारतको एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरोका पूर्वअनुसन्धानकर्ता किशोर चिन्ताले विमानको इन्जिनको अवस्था विशेष गरी बोइङ ७८७–८ मा प्रयोग हुने जेनएक्स–१ बी का सन्दर्भमा आधारभूत रूपमा यसको उमेरसँग सम्बन्धित नहुने बीबीसीलाई बताए ।
यसको अर्थ इन्जिन नयाँ भएकाले यो स्वस्थ वा पुरानो हुँदा अस्वस्थ हुने भन्ने नहुने उनले स्पष्ट पारे ।