site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
म्यानमारको मेवाडीबाट सात नेपालीको उद्धार, बैंकक हुँदै काठमाडौं फर्काइयो

काठमाडौं । म्यानमारको मेवाडीबाट उद्धार गरी सात नेपालीलाई स्वदेश फर्काइएको छ । थाइल्यान्डको राजधानी बैंककस्थित नेपाली दूतावासले उनीहरूलाई उद्धार गरी बुधबार काठमाडौं पठाएको हो ।

“अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकहरूलाई नेपाली राजदूतावासले थाइल्यान्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याइ सातजना पुरुषहरूलाई २०८२ असार ११ गतेका दिन नेपाल फर्काइएको छ,” बैंककस्थित नेपाली दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान दूतावासले विज्ञप्तिमा अनुरोध गरेको छ ।

कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने हेतु कम्बोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीमा नजान पनि दूतावासले अनुरोध गरेको छ । 

 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १८:४०
प्रतिक्रिया दिनुहोस्