site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसरी भएका थिए सरोज एकै रातमा सुपरस्टार
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

नेपाली चलचित्रका अग्रज नायकमध्येका एक हुन्, सरोज खनाल । आफ्नो समयमा उनले चलचित्रमा एकछत्र राज गरे । केही समय अमेरिकामा बिताए । अमेरिकाबाट फर्किएपछि पुनः चलचित्र उद्योगमै सक्रिय छन् । भलै, रोल फेरिएको छ । अमेरिका जानुअघि उनी नायक थिए । अहिले चरित्र अभिनेतामा परिणत भएका छन् । नाटकबाट अभिनयको यात्रा सुरु गरेका सरोजले थुप्रै टेलिचलचित्र खेलेका छन् । उनलाई सुरुआती आमपरिचय दिएको पनि टेलिचलचित्रले नै हो । नाटक, टेलिफिल्म हुँदै सिनेमातिर मोडिए । सरोजले सयौँ चलचित्रमा अभिनय गरेका छन् । कुनै समय एकैदिन तीनवटासम्म सिनेमामा काम गरेका उनी अहिले आफैँ निर्देशनमा होमिएका छन् । प्रस्तुत छ, उनै सरोजको सिनेयात्रा  :

० ० ०

यस्ता पनि निर्देशक !
०४६ पुस ६ गते सरोज खनाल हिरो हुँदै गरेको पहिलो चलचित्र  ‘विजय पराजय’को पहिलो दिनको छायांकन थियो । ‘भीडदेखि भीडसम्म’ सिरियल भर्खर प्रसारण भएको थियो । त्यसले दिएको लोकप्रियताले सरोज ‘हटकेक’का रूपमा थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

पहिलो दिनको पहिलो सिन नै सरोजको थियो । उनी सिनेमाको क्यामेरा पहिलोपटक फेस गर्दै थिए । पहिलो सिनको पहिलो डाइलग नै डेढ पेज लामो थियो । तुलसी घिमिरे, भुवन केसी, कृष्ण मल्ललगायत अग्रज कलाकार अगाडि थिए । उनीहरूलाई लाग्दो हो– यति लामो डाइलग यसले कसरी बोल्न सक्ला !

उनले गरेको आशंका थियो त्यो । आशंका नाजायज पनि थिएन । कारण, उनी नयाँ थिए । उनीहरूको ठाउँमा भए सायद सरोज पनि त्यही सोच्दा हुन् । 

Royal Enfield Island Ad

तर, निर्देशक राजेन्द्र शलभललाई सरोजप्रति भरोसा थियो । गर्न सक्छन् भन्नेमा ढुक्क थिए । कारण, सरोजले राजेन्द्रको नाटक गरिसकेका थिए ।

राजेन्द्रले ३६० डिग्रीको राउन्ड ट्रली लगाउन लगाए । सरोजले तीनपटक रिहर्सल गरे ।

सिनेमेटोग्राफरले भने– डाइरेक्टर साब आउनुस्, सट कस्तो देखिन्छ, हेर्नुस् ।

डमी आर्टिस्ट बीचमा उभिए । ट्रली घुम्यो । राजेन्द्रले भने– फर्स्ट क्लास ! 

राजेन्द्र ट्रलीबाट ओर्लिए, र भने– सरोज, मैले त केही पनि देखिनँ ! 

सरोज छक्क परे, उनलाई लाग्यो– क्यामेरामा हेरेपछि त देखिनुपर्ने । 

‘सरोज, तिमीले सोध्नुपर्‍यो । म त डाइरेक्टर, किन देखिएन भनेर सोध्न पनि लाज हुन्छ,’ राजेन्द्रले सरोजलाई खुसुक्क भने ।

सरोजले सिनेमेटोग्राफर जाबेद शाहलाई सोधे– दादा, कसरी हेर्न मिल्छ ? म पनि हेर्छु नि एकपटक । 

जाबेद : ५०० रुपैयाँ छ ? 

सरोज : छ । 

जाबेद : छ भने पहिला ५०० रुपैयाँ राखेर ढोग र ट्रलीमा आऊ, देखाउँछु ।

सरोजले क्यामेराको भ्यु फाइन्डरमा आँखा राखे । केही देखेनन् । 

सरोज : दादा, मैले त केही देखिनँ । 

जाबेद : यो यसरी थिच, यो ओपन हुन्छ, अनि देखिन्छ । 

निर्देशकलाई क्यामेराको भ्यु फाइन्डर हल्का थिचेपछि हेर्न मिल्छ भन्ने पनि थाहा थिएन । उनले तुलसी घिमिरे, भुवन केसीजस्ता अनुभवी कलाकारलाई निर्देशन गर्दै थिए । त्यसमध्ये पनि तुलसी घिमिरे त आफैँ भेट्रान निर्देशक । 

यो किस्सापछि राजेन्द्रले आफ्नो पहिलो फिल्मको पहिलो सट लिए । सरोजले आफ्नो पहिलो फिचर फिल्मको पहिलो सिनको सट दिए । डेढ पेज लामो डाइलगको सिन सरोजले एक सटमा ‘ओके’ गरे ।

पछिपछि त सरोज क्यामेराम्यानसँग बाजी लगाउँथे– तपाईंको लाइट मिलाउन्जेल म मेरो डाइलग कण्ठ गरेर एकैटेकमा ओके गर्छु । पहिलो टेकमा जस्तो इमोसन दोस्रो/तेस्रो वा त्यसपछिका सटमा नआउने उनको अनुभव छ ।

त्यो दुर्घटना
‘पुकार’मा नीर शाह भिलेन थिए, सरोज हिरो । विराटनगरमा क्लाइमेक्स सिनको छायांकन थियो । करिब २० फिट अग्लो मचानमा छायांकन भइरहेको थियो । मचानको तल नक्कली बम राखिएको थियो । माथि सरोज र नीरको फाइटको सिन थियो । बम पड्किएपछि सरोज एकातिर र नीर शाह अर्कोतिर हामफाल्नुपर्ने थियो । मचानको खाँबोका रूपमा प्रयोग गरिएको बाँस आधा काटिइसकेको थियो । बक्सिङको सिन क्लोजअपमा ‘चिट’ गरेर तलै खिचिएको थियो ।

बम पड्किँदा हामफाल्नुपर्ने सिन थियो । बम पड्कियो । निर्देशकले हामफाल ! भनेर कराए । सरोज हामफाले । नीर शाहले अर्कोतिर हामफाल्नुपर्ने मेसै पाएनन् । आत्तिएर सरोजतिर नै हामफाले । उनको बडेमाको ज्यान सरोजको ज्यानमाथि खस्यो । सरोज तीन घण्टा बेहोस भए ।

त्यो समय नेकोन एयरलाइन्स चल्थ्यो । नेकोनको विमान लास्ट फ्लाइट गरेर विराटनगरमै रातभर पार्क हुन्थ्यो । र, बिहान काठमाडौं फर्किन्थ्यो । नीर शाह आफैँले भनसुन गरेर उक्त विमानमार्फत सरोजलाई काठमाडौं ल्याए । वीर अस्पतालमा भर्ना भएका सरोजले १५ दिन रेस्ट गर्नुपर्‍यो ।

जब सक्कली बन्दुक सेटमा देखियो... 
रातको समयमा चलचित्र ‘चुनौती’को छायांकन भइरहेको थियो । सरोजले मदन घिमिरेको पहिलो चलचित्र ‘आमाको माया’लाई ‘चुनौती’लगत्तैको समय दिएका थिए । ‘आमाको माया’को निर्माता समुन्द्र भट्टचन थिए । उनी मारपिटमा नाम कहलिएका व्यक्ति थिए । ‘चुनौती’का निर्माता बिजु रञ्जित पनि गाडीमा रिभल्वर बोकेर हिँड्छन् धेरैले भन्थे ।

रातिको १२ बजेर एक मिनेट जाँदादेखिको सरोजको समय मेरो हो भन्दै समुन्द्र अगाडिपछाडि केटाहरू लिएर बालाजु पुगे, जहाँ ‘चुनौती’को क्लाइमेक्स सिन छायांकन भइरहेको थियो ।

“करिब दुई घण्टा मात्रै सुटिङ बाँकी थियो, मैले उहाँलाई बिहानै फोन गरेर आज म जान भ्याउँदिनँ, भोलि बिहानसम्म आइपुग्छु भनेको थिएँ । तर, उहाँ १२ बजे सुटिङ सेटमै आइपुग्नुभयो,” सरोज सझिन्छन्, “हामी नक्कली गन लिएर छायांकन गरिरहेका थियौँ । तर, त्यहाँ त सक्कली रिभल्वर लिएर साथीहरू झगडामा उत्रिए । एकले अर्कोलाई सुट गर्ने अवस्थामा पुगे ।”

समुन्द्र छायांकन नसकिएसम्म सरोजलाई नछोड्ने, बिजु नलिई नजाने अडानमा रहे । एकले अर्कोलाई सुट गर्ने अवस्थामा पुगेपछि सरोज आफैँ अगाडि सरे । भने, ‘तपाईंले अहिले मलाई लिएर गए पनि पोखराको सुटिङ भोलि बिहान नभइ हुँदैन । यहाँको काम मलाई सक्न दिनुस्, ६ बजे तपाईंको युनिट लोकेसनमा राख्नुस् । म आराम गरेर जाऊँ वा नगरी तर ६ बजे म लोकेसनमा पुग्छु ।’ बल्ल कुरा मिल्यो । सक्कली बन्दुकबाट हुन सक्ने सम्भावित क्षति रोकियो ।

नाटक हुँदै सिरियलबाट सिनेमामा प्रवेश गरेका सरोजको लोकप्रियता उचाइमा थियो । वर्षमा एकाध सिनेमा बनाइँदा पनि उनलाई भ्याइनभ्याइ हुन्थ्यो । ‘पुकार’को छायांकनका क्रममा २१ दिन दिनको दुई घण्टाका दरले सुतेर काम गरेको उनी नोस्टाल्जिक हुँदै स्मरण गर्छन् ।

“म काठमाडौंबाट विराटनगर जान्थेँ, करिब एक घण्टाको फ्लाइट हुन्थ्यो । म त्यहीँ सुत्थेँ । विराटनगरबाट बेलुका फर्किँदा फेरि त्यसैगरी प्लेनमै सुत्थेँ,” सरोज भन्छन्, “काठमाडौंमा रातभर ‘मोहनी’को छायांकन हुन्थ्यो, उता पुकारको । दिनको दुई घण्टा सुतेर २१ दिन छायांकनमा व्यस्त भएको थिएँ ।”

२२औँ दिनमा ‘यो साँझ यो सुवास...’ गीतको छायांकन थियो, चलचित्र ‘मोहनी’को । यसमा नायकले नायिकालाई हेरेर मुस्कुराउने सिन थियो । सरोज हिरो । कमल राई डान्स डाइरेक्टर थिए । धेरै सिनेमामा सँगै काम गरेका सरोजसँग कमलको तँ तँ र म म चल्थ्यो । कमलले भने– ओइ केटा, यता फर्केर एउटा मुस्कान छोड्दे त ! 

सरोजले त्यसै गरे । 

‘ओइ केटा, तँ त हाँसेको होइन रोएको जस्तो पो देखियो,’ कमलले भने ।

१८ टेक दिए सरोजले । ओके भएन ।

रमेश बुढाथोकी निर्देशक थिए । उनलाई सरोजले भने– रमेश दाइ, म नसुतेको आज २२ दिन भयो, मलाई आजको रातदिन ढुक्कले सुत्न दिनुस्, भोलि खिचौँ, बेकारमा पैसा वेस्ट भइरहेको छ । (त्यो समय रिलमा सिनेमा खिचिन्थ्यो । जति धेरै टेक लियो, त्यति नै रिल खर्च हुन्थ्यो । जति धेरै रिल प्रयोग भयो, त्यति नै खर्च पनि बढ्थ्यो ।) अघिल्लो दिन १८ पटक बिग्रिएको सट भोलिपल्ट पहिलो टेकमै ओके भयो ।

चार/पाँच महिनामा एकपटक घर पुग्थे सरोज । दिनको तीनवटासम्म सिनेमाको छायांकन गर्थे । “म यसरी प्रेसरमा सिनेमा गर्न हुँदैन भन्ने विचार राख्ने कलाकार हुँ । तर, नचाहेर पनि त्यस्तै भयो,” उनी भन्छन्, “मुस्किलले १०/१२ वटा सिनेमा बन्थे । बल्लबल्ल आएको अफर किन लत्याउनु भन्ने लोभले काम गरिन्थ्यो ।”

कुनै दिन त नाटक, टेलिफिल्म र फिल्मको काम एकैदिन हुन्थ्यो । क्यारेक्टरमा केन्द्रित हुनै पाउँदैनथे । यो उनी स्वयंले गरेको अनुभव हो । ‘चाहना’, ‘अरुणिमा’ ‘तपस्या’ उनले एकैपटक छायांकन गरेका सिनेमा हुन् । “तीनवटैको क्यारेक्टर फरक–फरक थिए, मिहिनेत गर्ने प्रयास त गरेँ,” तीन दशकअगाडि फीर्कन्छन् सरोज, “तर, समयाभावले जति गर्नुपर्ने थियो, त्यति गर्न सकिएन ।”

खल्तीको त्यो अस्थायी साधन
‘सान्नानी’ सिनेमाको छायांकन बन्दीपुरमा थियो । त्यहीँ आइपुगे स्थानीय एक व्यापारी । उनी काठमाडौंबाट पसलका लागि सामान किनेर आएका थिए । व्यापारीले सरोज, राजाराम पौडेल र अर्का एक कलाकारलाई डिनरका लागि बोलाए ।

“उनले राजाराम दाइको छेउमा झोला राखेछन् । राजाराम दाइले उनको झोलामा देख्नुभएछ, परिवार नियोजनको अस्थायी साधन ढाल । उहाँले भन्नुभएछ– दाइ, मलाइ यो दिनु न,” सरोज सम्झिन्छन् । 

व्यापारी : किन चाहियो तपाईंलाई । 

राजाराम : के किन नसोध्नुस्, दिनु न । 

व्यापारीले दिए । सरोजसहित अरू डिनर खाएकै ठाउँमा बसिरहेका थिए । राजाराम कोठामा फर्किए । सरोजको हाफपाइन्ट झुन्ड्याइएको देखेछन्, त्यसकै खल्तीमा राजारामले ढाल राखिदिए ।

सरोजसहितको टोली त्यसको दुई दिनपछि काठमाडौं फर्कियो । भोलिपल्ट बिहान सरोजकी श्रीमती सूर्यमाला बाथरुममा लुगा धुन पसेकी थिइन् । सरोजले बाहिरबाटै उनी रोएको सुने ।

के भयो तिमीलाई ? – सरोजले सोधे । उनी बोलिनन् । पटक–पटक सोधेपछि उनले फुत्त फालिदिइन्, ढाल ।

सरोज जिल परे । कहाँबाट आयो यो मेरो खल्तीमा ! उनी रनभुल्ल भए । शंका लाग्यो– राजाराम दाइ मेरो रुममेट, उटपट्याङ गर्न माहिर, उहाँकै हो यो काम ।

सरोजले राजारामलाई फोन गरे, ‘तपाईंले मेरो खल्तीमा केही हाल्दिनुभएको थियो ?’

‘छैन ।’ 

‘हालेको होला, सम्झिनु न ।’

‘के हाल्दिएँ र, मलाई त याद छैन त !’

‘हे, होला हौ ! सम्झिनु न ।’

‘ए, अँ अँ सम्झिएँ, अस्थायी साधन हो ? मैले नै हो राखिदिएको ।’

‘सूर्यमाला रिसाएर यहाँ मसँग रन्किरा’छ, मैले उटपट्याङ गरेको हो भनेर भन्दिनु ।’

‘ए, ल ल, खोइ देऊ त फोन ।’

सूर्यमालासँग राजारामले कुरा गरे । सूर्यमालाले सरोजलाई फोन दिइन् ।

राजारामले सरोजलाई भने– मैले सम्झाइदिएको छु, अब ठिक हुन्छ । 

“खोइ सूर्यमाला, मैले त भनेको हो यस्तो नगर भनेर, तर सरोज मान्दै मान्दैन । छोड्देऊ, कलाकार मान्छे हो, यस्तो भइहाल्छ नि पो भनेर भन्नुभएछ,” सरोज भन्छन्, “उहाँले त झन् आगोमा घिउ थपिदिनुभयो । सूर्यमाला र मेरो डिभोर्स नै होला जस्तो भयो । मेरो गोजीमा ढाल भेटिएकै हो, चार/पाँच महिनामा घर आउँछ, रुममेटले हो भन्दिन्छ भने उनले शंका गर्नु पनि ठिकै थियो ।” पछि निर्देशक शैलेश आचार्यसहितलाई बोलाएर वास्तविक कुरा बताएपछि सूर्यमालाले पत्याएको सरोज सुनाउँछन् । 

एक्सन कट् पनि भन्न नसक्ने निर्देशक !
सुबोध पोखरेल ‘मनकामना’ सिनेमाको निर्माता मात्र होइन, निर्देशक पनि थिए । सरोजले त्यो समय धेरै निर्देशकलाई सच्चा निर्देशकका रूपमा अनुभूत नै गर्न सकेनन् । उनले क्षमता देखेका निर्देशक प्रकाश थापा र तुलसी घिमिरे मात्र हुन् ।

त्यति बेलाका चलचित्रमा निर्देशकले सुरुमा लाइट्सलाई कमान्ड गर्थे । त्यसपछि साउन्ड, क्यामेरा, क्ल्याप भनेपछि बल्ल एक्सन ! भन्थे । “तर, सुबोध डाइरेक्टरसाब नर्भस भएर कहिल्यै पनि क्रमशः साउन्ड, क्यामेरा, क्ल्याप र एक्सन भन्न सक्नु भएन । जबकि, यीमध्ये कुनै एकलाई कमान्ड गर्न सकेन भने त्यो रोल नै हुँदैन थियो,” सरोज भन्छन्, “साउन्ड नभनेसम्म साउन्डम्यानले नागरा घुमाउँदैन थियो, हामी एक्टिङ गरिरहेका हुन्थ्यौँ, तर साउन्ड अन नै भएको हुँदैनथ्यो ।”

सरोज सुबोधलाई भन्थे, ‘तपाईं डाइरेक्टरसाब नै हो, तर राम्रो असिस्टेन्ट राखेर उसलाई एक्सनदेखि कट्सम्म भन्न दिनुस् न ।’ यति भन्दा पनि उनले मानन् ।

प्रोडुसर नै निर्देशक हुँदाका समस्याको अनुभव पनि सरोजले गरे । जब एक्टरको अभिनयमा पज अलि लामो भएजस्तो लाग्थ्यो, उनीहरू भन्थे– लौ न, पज अलि बढी भयो, अलि छिटोछिटो गर्नुपर्‍यो, रिल सखाप भयो !  

तपाईं पनि हामीजस्तै मान्छे त रै’छ 
चलचित्र ‘प्रेमपिण्ड’ रिलिज हुँदा सरोज झापामा थिए । कुन चलचित्रको छायांकन थियो, उनले बिर्सिए । उनी बिर्तामोडमा सुटिङमै थिए । उक्त सिनेमाको होल युनिटले रिलिजको भोलिपल्ट ‘प्रेमपिण्ड’ हेर्ने निर्णय गर्‍यो । निर्माताले हल मालिकलाई भने– बालकोनी हाम्रो बुक भयो, अरूलाई टिकट नबेच्नू ।

हल मालिकले भने– तपाईंहरू २०/२५ जना हो, एक साइड तपाईंहरूलाई राखिदिऊँला, अर्को साइडको बेच्छु । 

प्रोडुसरले ‘हुन्छ नि त’ भनिदिए ।

नाइट शो थियो । 

सिनेमा सुरु हुने बेला भयो । दर्शक आउनेक्रम जारी थियो । १८/२० वर्षीय एक युवकले एकटकले आफूलाई हेरिरहेको सरोजले देखे । जतिपटक उनको आँखा युवकमा पर्छ, उसले आफूलाई हेरिरहेको सरोज देखिरहेका थिए । हेर्न त त्यो बेलाको हिरो सबैले हेर्थे नै, तर त्यो युवकको हेराइमा छुट्टै भाव सरोजले महसुस गरिरहेका थिए ।

सरोजले भने– भाइ, तिमी यहाँ आऊ त ! जब ती युवक सरोजको नजिक आए, उनले भने– सर, म तपाईंलाई छुन सक्छु ?

‘अरे भाइ, के कुरा गरेको ! आऊ हात मिलाऊँ’ भन्दै सरोजले ती युवकसँग हात मिलाए । 

हात मिलाएपछि ती युवकको प्रतिक्रिया सुनेर सरोज छक्क परे– ए, तपाईँ पनि हामीजस्तै मान्छे त रहेछ नि !

“उनले हामी कलाकार छुट्टै ग्रहबाट आएका हुन्छौँ भन्नेजस्तो सोच पालेका रहेछन् । जब मसँग उसले हात मिलायो अनि उसले थाहा पायो, कलाकार पनि हामीजस्तै सामान्य मान्छे रहेछन्,” सरोज भन्छन्, “एउटा कलाकारका लागि त्योभन्दा महत्त्वपूर्ण कुरा के हुनसक्छ ? कलाकारलाई दर्शकले के सोच्नु हुँदो रहेछ, त्यसले देखाउँछ ।”

पछि ती युवकले इतिवृत्त बताए । सरोज सिनेमा हेर्न आउने थाहा पाएपछि उनी बुवाको पकेट मारेर हल आएका रहेछन् । र, बाल्कोनीको महँगो टिकट काटेका रहेछन् ।

पत्रकार तथा प्रकाशक पुरष्करलाल श्रेष्ठलाई सम्झिए सरोजले । जसले ‘कामना’ म्यागेजिन प्रकाशन गर्थे । चलचित्रसँग सम्बन्धित सामग्री मात्र छाप्थे । पुस्कर आफैँले सरोज, राजेश हमाल, करिष्मा मानन्धर, भुवन केसीका नाममा छुट्टै पोस्टबक्स खोलिदिएका थिए ।

हरेक अंकमा एउटा प्रश्न सोध्न पाइन्थ्यो । तर, प्रत्येक अंकका लागि कम्तीमा एक बोरा चिठी आउँथ्यो । त्यसमध्ये छानेर केही चिठी मात्र ‘कामना’ले सरोजसहितका कलाकारलाई जवाफका लागि पठाउँथ्यो । “रगतले लेखेर पठाएका चिठी आउँथे,” सरोज भन्छन्, “हामी सुटिङ गर्न जहाँ पुग्थ्यौँ, त्यहाँ मान्छे खाजा बोकेर बिहानदेखि बेलुकासम डाँडाभरि, खेतभरि, बारीभरि हामीलाई हेर्न बस्थे ।”

सरोज खनाल भएको दिन... 
सरोजले कान नसुन्ने व्यक्तिहरूसँग नाटक गरेका थिए । जसका कारण धेरै दिन सरोजले उनीहरूको संगत गरे । त्यही बेला उनले स्क्रिप्ट लेखिरहेका थिए ।

०४५ को एक दिन उनले बद्री अधिकारीलाई भने– दाइ, यो स्क्रिप्ट कस्तो छ ? बद्रीले भने– यो त गज्जब छ, यसलाई टेलिसिरयल बनाउनुपर्छ ।

तर, उनीहरूसँग पैसा थिएन ।

सरोज र सुनील पोखरेल बागबजारको एउटा कोठामा सँगै बस्थे । त्यहाँ नजिकै एउटा फेन्सी स्टोर थियो । स्टोरमा एक व्यक्ति आइरहन्थे । सिनेमाप्रति उनको झुकाव भएकाले ती व्यक्तिसँग गफगाफ हुन्थ्यो ।

एक दिन सरोजले ती व्यक्तिलाई आफूले लेखेको टेलिसिरियलको कथा सुनाए । उसले भन्यो– म १५ हजार हाल्छु ।

अझै १५ हजार नपुग्ने भयो । कसरी खोज्ने होला ? दिमागमा यसकै चिन्ता थियो । तिनै व्यक्तिले एक दिन भने– १५ हजार हाल्ने मान्छे म खोज्छु । तर, उसलाई हिरोको रोलमा खेलाउनुपर्छ ।

सरोजले भने– हिरो त अरूले खेल्नै सक्तैन, मैले नै गर्ने हो । यसका लागि कान नसुन्ने व्यक्तिहरूले प्रयोग गर्ने भाषा जान्नुपर्छ । यो सबैले नजानेको हुनसक्छ । मैले उनीहरूसँग काम गरेकाले केही सिकेको छु । त्यसैले मैले नै यो भूमिका गर्नुपर्छ ।

सरोजले भने– साइड हिरोको रोल छ, त्योचाहिँ दिन सक्छु ।

ती व्यक्ति थिए, राजा घले । जो अवसरको खोजीमा थिए । “धनी बाउको छोरा उनलाई धेरैले सिनेमा खेलाइदिन्छु भन्दै पैसा डुबाइदिएका रहेछन् । उनले म सबै पैसा हाल्छु, तर मलाई ठगेर भाग्न पाइँदैन भने,” सरोज भन्छन्, “टेलिसिरियल मौन आकाश बन्यो । नेपाल टेलिभिजनमा प्रसारणका लागि दिएँ । त्यहाँ केही सीमित व्यक्तिले बनाएका टेलिचलचित्र मात्रै प्रसारण हुन्थे । महिनौँ बित्यो हाम्रो टेलिसिरियल प्रसारण भएन ।”

त्यही समय सरोज फ्रेन्च कल्चरले बनाएको नाटक खेलिरहेका थिए । उक्त नाटक देखाउन हरेक दिन एकजना इस्पेसल गेस्ट चाहिन्थ्यो । त्यही क्रममा उनीहरूले एक दिन नीर शाहलाई देखाए । जो चिफ गेस्ट हुन्थ्यो, ऊसँग सरोज १५/२० मिनेट खेल्थे । पहिलो हाफ उनी हँसाउँथे । सकिनु १५ मिनेटअगाडिबाट रुवाइदिन्थे, अभिनयबाट ।

नाटक सकियो । नीर शाहलाई सरोजको अभिनयले छोएछ । उनी ब्याक स्टेजमा सरोजलाई खोज्दै आए । नीरले भने– राम्रो एक्टिङ गर्दो रहेछौ, टेलिभिजनमा काम गर्ने हो ?

सरोजले सोचे– यही हो मौका ! भने– सर, हामीले एउटा टेलिफिल्म बनाएर बुझाएका थियौँ । महिना दिन भयो, केही रेस्पोन्स आएको छैन । 

त्यो बेला नीर शाहको छुट्टै रवाफ थियो । यस्तो लाग्थ्यो, उनी सेकेन्ड किङ हुन् ! खल्तीबाट कार्ड निकालेर दिँदै भने– भोलि बिहान ठिक १० बजे सिंहदरबारको गेटमा आएर मलाई भेट्नू । 

भोलिपल्ट नीरले भनेको समयमै सरोज उनको कार्यकक्षमा पुगे ।

‘के अरे तिम्रो सिनेमाको नाम ?’

‘मौन आकाश’

कार्यक्रम शाखाको प्रमुखलाई बोलाएर भने– के हो, उहाँहरूले फिल्म बनाएर दिनुभएको थियो रे, तपाईंहरूले त रेस्पोन्स नै गर्नु भएन रे ! त्यो सिनेमा ल्याउनूस् ।

नीरले आफ्नै कार्यकक्षमा रहेको डेकमा सिनेमा हेरे ।

“डेढ घण्टा लामो हाम्रो सिनेमा हेरेपछि तपनाथ शुक्ल, लय संग्रौलालगायत सातजनालाई उहाँले यसरी गाली गर्नुभयो, झन्डै जागिर नै खाइदिनुभ’को,” सरोज सम्झिन्छन्, “थाहा छैन तपाईंहरूको केके प्रोगाम छ, तर न्युज देखाउनुस्, त्यसबाहेक तीन दिनसम्म यो फिल्म मात्र देखाउनूस् । अरू केही पनि देखाउनु पर्दैन ।”

त्यो समय बेलुका ७ देखि ९ बजेसम्म सर्ट फिल्म देखाइन्थ्यो ।

उनले सोधे– कति पैसा खर्च भयो, सरोज बाबु ? 

‘३० हजार’ 

‘१० हजार तपाईंको एक्टिङलाई बक्सिस’ भन्दै ४० हजारको चेक काटेर दिए ।

एक रातले बनाएको सेलिब्रिटी
बेलुका ‘मौन आकाश’ टेलिभिजनबाट प्रसारण भयो । भोलिपल्ट बिहानैदेखि सरोजको कोठाअगाडि दिनकै सयौँ मानिसको भीड लाग्न थाल्यो । घरधनीले सरोजलाई भने– तपाईंलाई कुरेर मान्छे गेटमा बसेका छन्, आउनुस् ।

अघिल्लो दिनसम्म वर्षौँ बसेको त्यही गल्लीमा उनलाई कसैले हेर्दैनथ्यो । तर, नीर शाहलाई भेटेपछि जसरी एकाएक टेलिचलचित्र प्रदर्शन भयो, उसैगरी उनी बसेको घरअगाडि भीड लाग्यो ।

“सबै आउँथे, हात हल्लाउँथे । म पनि हात हल्लाउँथे । पीके क्याम्पस र प्रदर्शनी मार्गका कलेजका सयौँ अटोग्राफ लिन आउँथे । मैले पनि हजारौँलाई अटोग्राफ दिएँ,” सरोज भन्छन्, “एक हप्ता बित्यो, मलाई भेट्न आउने जसरी हात हल्लाउँथे, म पनि त्यसैगरी अभिवादन गर्थें ।”

एक दिन विजयकुमार पाण्डेले सरोजलाई अन्तर्वार्ताका लागि डाके । सरोजलाई लाग्यो– वाह, अमिताभ बच्चनको अन्तर्वार्ता लिने व्यक्तिले मेरो अन्तर्वार्ता लिने ! दंग परे सरोज ।

“जब मैले विजयकुमारको कार्यक्रममा अन्तर्वार्ता दिएँ, त्यसपछि मान्छेले थाहा पाए– यो मान्छे ‘लाटो’ होइन रहेछ, बोल्न नसक्ने व्यक्तिको एक्टिङ गरेको रहेछ,” सरोज भन्छन्, “एक रातमा मान्छे कसरी सेलिब्रिटी हुन्छ, त्यो मैले अनुभूत गरेँ ।”

जसरी एक रातमा मान्छे सेलिब्रिटी हुन्छ, त्यस्तै एकैरातमा पतन हुन्छ भन्नेमा पनि उनलाई भलिभाँती थाहा छ । उनी भन्छन्, “हामीले कुनै गलत कदम चाल्यौँ भने जसरी भुईं मान्छेबाट एकै रातमा सुपरस्टार हुन्छ, त्यसैगरी पतन पनि हुन्छ ।”

त्यही एक रातले सेलिब्रिटी बनाएपछि सरोजले फिचर फिल्म पाएका थिए । यो टेलिचलचित्र चल्दाचल्दै उनले सिनेमामा साइन गरेका थिए ।

‘मौन आकाश’ प्रसारण हुँदा काठमाडौंका सडक सुनसान हुने गरेको सरोज सुनाउँछन् । “मैले एडिटिङमै हेरिसकेको हुन्थेँ, त्यसैले टेलिभिजनमा प्रसारण हुँदा दर्शकको रेस्पोन्स कस्तो छ भनेर म काठमाडौंका सडक चक्कर लगाउँथेँ,” सरोज भन्छन्, “एउटा मान्छे बाटोमा हुँदैनथ्यो । सबै टेलिभिजनमा मौन आकाश हेरिरहेका हुन्थे ।”

पुतलीसडकमा एउटा सेकुवा पसल थियो । टेलिचलचित्र ‘भीडदेखि भीडसम्म’ टेलिभिजनमा देखाएर उनले घर बनाएको सरोज बताउँछन् । “जसको घरमा टेलिभिजन हुँदैन थियो, उनीहरू सेकुवाघरमा आउँथे । प्रसारण हुने समय कुरेर बस्दा खानै पर्‍यो । त्यही टेलिचलचित्र देखाएर उनले घर बनाए,” सरोज ती सेकुवा पसलेलाई उद्धृत गर्दै भन्छन्, “सरोज बाबु, मैले तपाईंको भीडदेखि भीडसम्म देखाएर यति पैसा कमाएँ, म आफ्नै घर बनाउँदै छु । तपाईँले लगाएको यो गुन त म कहिल्यै तिर्न सक्तिनँ । तर, तपाईंलाई जति बेला सेकुवा खान मन लाग्छ, आएर खान सक्नुहुन्छ । तर, त्यसपछि सेकुवाघरमा बसेर सेकुवा खाने अवस्थै रहेन ।”

सरोज आफ्नो क्रेजका पुराना दिन सम्झिन्छन् । पछि ती सेकुवा पसलेले आफ्नै घर बनाएर सरे । त्यो सेकुवा पसल अहिले त्यहाँ छैन ।

अहिले पनि समकालीन, आफ्नो उमेरभन्दा माथिका र केही कम उमेरका ९० प्रतिशत व्यक्तिले सरोजलाई ‘भीडदेखि भीडसम्म’बाट चिन्ने र बाँकीले ‘प्रेमपिण्ड’को कुरा गर्ने गरेको उनी सम्झिन्छन् । 

अभिनय गरेकै कारण जेल
‘बिनाचिहानको मृत्यु’ नामक टेलिचचित्र प्रसारण भयो । सरोजलगायत केही टिममा थिए । टेलिचलचित्रको कथा थियो– यसो गरे गणतन्त्र आउँछ । 

निर्देशक सुनील पोखरेल थिए । मुख्य कलाकार सरोज । टेलिचलचित्र प्रसारण भइरहेको थियो । आठमध्ये पाँचौँ शृंखला प्रसारण भएको थियो । एक दिन बिहानै कालो टोपी लगाएका दुई व्यक्ति सरोजको कोठा सोध्दै आएछन् । उनी कहाँ बस्छन् भन्ने टोलमा सबैलाई थाहा थियो, देखाइदिए । उनीहरू सरोजको कोठामा पुगेर भने– बाहिर जाऊँ । बाहिर आएपछि भने– गाडीमा बस्नूस् ! बल्ल सरोज र सुनीलले थाहा पाए, उनीहरू सिभिल ड्रेसमा आएका प्रहरी पो रहेछन् । सरोज र सुनील दुवैलाई त्यहीँबाट पक्राउ गरेर लगियो ।

प्रहरी कस्टडीमा बसेको तीन दिनका दिन नीर शाहले भनेछन्– उहाँहरू त सिनेमा बनाउने र अभिनय गर्ने कलाकार मात्रै हो, म नेपाल टेलिभिजनको जीएम हुँ । उहाँहरूले बनाएको सिनेमा सेन्सर गर्ने र प्रसारण गर्ने/नगर्ने मैले हो, उहाँहरूलाई छाडदिनुस् ।

सुनील र सरोज लामो समय सँगै बसे । सरोजले विवाह गरेपछि मात्र हो, उनीहरू छुट्टाछुट्टै बस्न थालेको ।

सुनीलले भनिदिए– एक्टिङमा तिम्रो भविष्य छैन
सरोज आफ्नो पहिलो नाटक ‘भष्मासुरको नलिहाड’को रिहर्सल गरिरहेका थिए । बद्री अधिकारी निर्देशक थिए । भारतमा एनएसडीमा पढ्दै गरेका सुनील केही समयको बिदामा नेपालमा आएका थिए । आरोहण गुरुकुलदेखिका साथी थिए बद्री र सुनील । सुनीललाई बद्रीले रिहर्सल हेर्न बोलाएका थिए । सुनील रिहर्सल हेर्न आउने भनेपछि सरोजमा त्यो दिन छुट्टै उत्साह थपिएको थियो । सरोजसहितका कलाकारले रिहर्सल गरिरहेका थिए । हातमा किताब बोकेर पढिरहेका सुनीलले बेलाबेला हेरिरहेको सरोजले ख्याल गरिरहेका थिए ।

“नाटक सकिएपछि उत्साही हुँदै मैले सोधेँ– सुनील सर, मेरो एक्टिङ कस्तो लाग्यो हजुरलाई ?,” सरोज सम्झिन्छन्, “खै यार, एक्टिङमा तिम्रो भविष्य राम्रो छैन । म पढेर फर्किन्छ, मैले डाइरेक्सन पढेको हुँ । बरु, तिमीलाई म डाइरेक्सन सिकाउँछु ।”

राम्रो भनेर तारिफ गर्लान् भनेका सुनीलले एक्टिङमा तिम्रो भविष्य राम्रो छैन भनिदिएपछि सरोज खङ्ग्रङ्ङ भए । त्यत्रो नाटक खेलेको, पढेको मान्छेले तिम्रो भविष्य नै छैन यसमा भनेपछि केही कमजोरी त पक्कै छ भन्ने कुराले उनलाई चिन्तित बनायो । 

एक वर्षपछि सुनील नेपाल फर्कंदा सरोजको लोकप्रियताले आफ्नो बाटो फराकिलो बनाइसकेको थियो ।

यो पनि पढ्नोस्–

दीपकराज गिरीको त्यो ‘वाणी’ जसले स्वस्तिमालाई झस्काइरहन्छ

पटक–पटक मृत्युको मुखमा पुगेर फर्किएका दयाहाङ

रेखा थापाको त्यो भयानक क्षण

निखिल उप्रेतीको सुटिङ अनुभव– सात तलाबाट हामफाल्दा आफैँलाई दबाबमा राखेको थिएँ

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro