१३ वर्षअघि ‘स्वर’ चलचित्रबाट नेपाली रजतपटमा पाइला टेकेकी केकी अधिकारी अभिनयमा अब्बल नायिकाको परिचय बनाउन सफल छिन् । काँचको पर्दा हुँदै केकीले हालसम्म दुई दर्जनभन्दा धेरै सिनेमामा अभिनय गरिसकेकी छन् । सफेद देखिने सिनेमाका पर्दा पछाडिका कुरा बेग्लै हुन्छन् । कहिले यात्राका कथा, कहिले सुटिङका बेग्लै अनुभूति हुन्छन् । कहिले सेटमै सिनेमाको कथा र सिनलाई लिएर रचनात्मक मतभेद हुन्छ । र, कहिले सोच्दै नसोचेको अकल्पनीय दुर्घटना ।
केकी कलिलै उमेरदेखि अभिनयमा समर्पित छिन् । उनको परिवारिक पृष्ठभूमि नै कला क्षेत्रसँग प्रत्यक्ष जोडिएको छ । अर्थात्, उनलाई घरानियाँ कलाकार भन्दा पनि हुन्छ । तर, त्यो घरभित्र कस्तो कुरा हुन्छ सिनेमालाई लिएर ? सिनेमाको अन्तरकुन्तरसम्म पुगेर छलफल र बहस हुन्छ ? प्रतिक्रिया र सुझाव दिने/लिने हुन्छ ? एक्सन–कट्का तिता–मिठाको यो अंकमा उनै नायिका अधिकारीको सुटिङ अनुभव :
० ० ०
म्युजिक भिडियोका साथी सहकर्मी थिए । फिचर फिल्मको नेचरअनुसार कडिकडाउ नगर्ने बताएपछि केकी (अधिकारी) चलचित्र ‘स्वर’मा जोडिइन् । त्यो उनको पहिलो फिचर फिल्म थियो । उनी कहिले झोलाभरि किताब बोकेर कलेज जान्थिन्, कहिले सुटिङ सेट । वास्तवमा केकीलाई त्यो सिनेमाको छायांकन गर्दा फिल्ममा काम गरेजस्तो अनुभव नै भएन ।
‘स्वर’को पोस्टर, टिजर र ट्रेलर सार्वजनिक गरिए । प्रिमियर शो गरियो । हुन थाले दिनकै अन्तर्वार्ता । बल्ल केकीलाई फिल भयो– ए, यो त फिचर फिल्म पो हो, है !
‘स्वर’भन्दा पहिला पनि केकीलाई सिनेमाको अफर गरिएको थिए । पढाइ बिग्रिएला भन्ने डरले गाँज्यो, काम गरिनन् । ‘स्वर’पछि पनि उनलाई थुप्रै अफरले पछ्याए । उनलाई चिन्ता पढाइकै थियो । कलेजले बेलाबेलामा गर्ने खबरदारीले उनलाई सिनेमा साइन गर्न रोकिरहेको थियो ।
आफैँले ‘गर्दिनँ’ भनेका सिनेमा बक्सअफिसमा हिट भइरहेका थिए । त्यसले पनि उनलाई कहिले–कहिले ठुँगिरहन्थ्यो । जस्तै : ‘नाईं नभन्नू ल’को पहिलो सिरिज । उनकै शब्द सापटी लिने हो भने, अरू थुप्रै सिनेमा छन्, जसमा उनले काम गरिनन् । ती राम्रै चले पनि । त्यो सम्झिँदा कहिले–कहिले लाग्थ्यो– कतै गल्ती त गरिरहेको छैन ? तर, सिनेमाको संख्या घटे पनि उनको एकेडेमिक क्वालिफिकेसन बढिरहेको थियो ।
अनि, ‘आई एम सरी’
करिअरको दोस्रो चलचित्रका रूपमा केकीले साइन गरिन्, ‘आई एम सरी’ । दिनेश राउतको पहिलो चलचित्र थियो, त्यो । सायद उनलाई पनि पहिलो प्रयासमै आफूलाई प्रमाणित गर्नु थियो । त्यसैले वर्कसप गराए । स्टार बनिसकेका अभिनेता आर्यन सिक्देल मुख्य भूमिकामा थिए ।
‘स्वर’मा केकीले चिने/जानेका धेरै कलाकार थिए । त्यसले सहजता प्रदान गरेको थियो । ‘आई एम सरी’मा केकीले नर्भस फिल गरिरहेकी थिइन् ।
“म आर्यन दाइको आँखामा आँखा जुधाएर पफर्म गर्न सकिरहेको थिइनँ । उहाँले जिस्किएर भनेको कुरालाई गम्भीर रूपमा लिएर दुःखी हुन्थेँ । आज ती कुरा फर्किएर हेर्दा त्यसलाई त सामान्य रूपमा भनिएको हुँदो रहेछ,” केकी भन्छिन्, “उमेरका कारण सानो कुरालाई पनि सिरियस्ली लिँदो रहेछु । सेटमा म इन्जोय गर्दिन थिएँ । सेट मेरो लागि एक्जाम हलजस्तो हुन्थ्यो ।”
‘आई एम सरी’को स्टोरीलाइनले केकीलाई यति धेरै तान्यो, उनलाई लाग्यो– यो सिनेमा फुत्किन दिन हुँदैन । केकीलाई अफर गरेको क्यारेक्टरले गाडी चलाउनुपर्थ्यो । उनलाई सोधियो– गाडी चलाउन आउँछ ?
उनले भनिन्– आउँछ । “तर, वास्तवमा मलाई गाडी चलाउन त के, त्यो समयसम्म मैले स्टेरिङ छोएको पनि थिइनँ,” झुट नै सही, केकी नोस्टाल्जिक हुन्छिन्, “मलाई यो सिनेमा फुत्किन दिनु हुँदैन भन्ने थियो । अर्को कुरा, स्टारसँग काम गर्ने लोभ थियो । त्यसैले मैले झुट बोलेको थिएँ, आउँछ भनेर । तर, सुटिङमा जाने दिनसम्म सिक्छु भन्ने सोचेको थिएँ । यद्यपि, सम्भवै भएन ।”
फेवातालमा...
दिन त याद छैन केकीलाई, तर याद छ– असार–साउनको महिना थियो । पोखरामा छायांकन थियो । फेवातालको किनारामा गीतको सुटिङ थियो । वर्षाको सिजन भएकाले जलसतह निकै माथि थियो । त्यो दिनको पहिलो सटको तयारी चलिरहेको थियो । कोरियोग्राफर कविराज गहतराज थिए । केकीको ड्रेस रेड थियो । कविले तीन/चारपटक स्टेप रिहर्सल गराए ।
पहिलो वाइड सट थियो । क्यामेरा टाढा राख्नुपर्ने थियो । त्यसैले नजिक कोही व्यक्ति बस्न मिल्दैन थियो । केकी नाच्दै–नाच्दै एक्लै हिँड्ने सिन थियो । झाडीमा क्यामेराका केयर टेकरलाई लुकाइएको थियो । त्यो पनि अरूको तुलनामा मात्र नजिक हो । केकीबाट भने टाढै थिए । उनलाई लुकाउनुको कारण – केकी जहाँजहाँ हिँड्थिन्, ढुंगामा रहेको पानीमा आउने टुप्लुक–टुप्लुक आवाज ल्याउनु थियो ।
पहिलो टेक दिइन् । ओके भएन । सेकेन्ड टेक सुरु भयो । लङ सट दिँदै आइन् । घुम्ने बेलामा दाइने खुट्टो सिल्प भयो । केकी स्वाट्टै फेवातालमा खसिन् ।
अनि ?
खस्दै गर्दा उनले होहल्ला सुनिन् । त्यही क्रममा उनलाई याद छ अन्तिम आवाज– ‘म्याम !’ भनेर चिच्याएको । त्यो आवाज थियो, उषाको – जो केकीको घरमा बस्थिन् । केकीसँगै उनको साथीका रूपमा पोखरा पुगेकी थिइन् । केकीका बुवाआमाले छोरीलाई कतै टाढा जानुपरे उनै उषालाई साथी पठाउँथे । पोखरा पनि पठाएका थिए । उषा केकीकी आमालाई ‘म्याम’ भन्थिन् । सायद आत्तिएर उनको मुखबाट त्यही शब्द उच्चारण भयो– म्यामऽऽऽ !
जब केकी पानीमा डुबिन्, क्षणभरमै उनलाई अर्कै संसारमा पुगेजस्तो भयो । निलो संसारमा कालो जनावर देखेजस्तो भयो । पानीमा हिँड्ने जनावर परपर गएजस्तो अनुभूत भयो ।
कसैले भनेको सुनिन् वा सबकन्सस माइन्डमा थियो र अचानक सम्झिइन्– हात माथि गर्नू । त्यसपछि उनले दुइटै हात माथि गरिन् । त्यति नै बेला कसैले हातका औँलामा समातेर तानेजस्तो लागेको उनलाई थाहा छ, त्यसपछि के भयो उनलाई थाहा छैन । उनी बेहोस भइछन् ।
जब उनलाई होस आयो, थाहा पाइन्– केकी डुब्नेबित्तिकै केयरटेकर फेवातालमा हामफालेका रहेछन् । अन्दाजमा पानीमुनि यताउता हात डुलाउँदा उनले केकीको हात भेटेका रहेछन् । र, तानेर बाहिर निकालेका रहेछन् । केकीलाई पानी छदाइयो । त्यसको केही समयपछि बल्ल उनी होसमा आएकी थिइन् ।
रातो लुगा लगाएकी थिइन् । मान्छेले सोचे– त्यसको कलर गयो । तर, सत्यता अर्कै थियो । पिरियडको दोस्रो दिनमा थिइन्, केकी । लुगाको कलर होइन, रगत बगेको थियो – त्यो रातो ।
“शाही नेचर थियो । उमेरले होला, म भन्न सक्तिनँ थिएँ,” केकी भन्छिन्, “म फेवातालमा डुबेर पनि बाँचेको थिएँ । तर, म पिरियडमा भएको यत्रो मान्छेले थाहा पाए भन्ने कुराले मलाई लाजले छोपेको थियो ।”
सिनेमाको सुटिङमा यसै पनि मान्छेको भीड हुन्छ, त्यसमाथि हिरोइन फेवातालमा डुबेको खबरपछि झन् धेरै घुइँचो थियो ।
“त्यहाँ मलाई केहीले भन्नुभयो– फेवातालमा त्यो पनि असार–साउनमा डुबेर बाँचेको रेकर्ड धेरै कम छ, अब्बल स्वीमर पनि असार–साउनमा फेवातालमा पौडिन डराउँछन् । तिमीले पाएको यो पुनर्जीवनलाई राम्रोसँग बाँच्नू, घरमा गएर पूजा लगाउनू भनेपछि बल्ल मलाई त्यो कति भयंकर दुर्घटना थियो भन्ने अनुभूत भयो,” केकी १३ वर्षअघिको घटना सम्झिन्छिन्, “अनि मलाई लाग्यो– यो नै मेरो अन्तिम दिन पनि हुनसक्थ्यो । तर, भाग्यले म बाँचे ।”
अहिले पनि केकीलाई पानी, आगो र बाहिरको सुटिङ छ भने बुवाआमा सिनेमा नै साइन नगर्न सुझाउँछन् । त्यति बेला केकी मात्र २० वर्षकी थिइन् । बुवाआमासँग जिद्दी गरेर उनी पोखराको सुटिङमा पुगेकी थिइन् । उनलाई त्यो समय लागेको थियो– मैले युद्ध जितेर पोखरा आएको छु ।
त्यसरी पुगेकी उनी घरमा फोन गरेर कसरी सुनाउन सक्थिन्– आमाबाबा, म फेवातालमा डुबेर पनि बाँचे नि ! भनेर ? तत्काल आँटै आएन । भोलिपल्ट आमालाई फोन गरिन्, भनिन्– सामान्य घटना हो ।
“मैले जे भएको हो, त्यो भनेको भए आमाले चिन्ता लिनुहुन्थ्यो । तुरुन्तै आजै घर आऊ भन्ने अवस्था आउँथ्यो । जसले सिनेमाको सुटिङ नै प्रभावित हुनसक्थ्यो । त्यसैले सामान्य घटना भएको मात्रै भनेँ,” केकी भन्छिन्, “तर, जब म घर फर्किएँ, त्यसपछि डिटेलमा बताएँ । बाबाआमाले ग्रह शान्तिसहितको ठूलो पूजा नै लगाउनुभयो । त्यति बेला गुरुले यति ठूलो पानीको खड्गोबाट पनि बाँचेको जस्तो गरेर आश्चर्य प्रकट गर्नुभयो ।”
अर्को दुर्घटना
‘आई एम सरी’मै स्वीमिङको सिन थियो । केकीलाई स्वीमिङ गर्नै आउँदैन थियो । त्यसैले ठूलो अक्वारियम निर्माण गरियो, जहाँ केकी डुबेको सिन देखाउनु थियो । पानीभित्र केही सेकेन्ड सास नफेरेपछिको सिन लिने तयारी सुरु भयो । “एक्सन डारेक्टर पनि छिरेर यसरी गर्ने भनेर देखाउनुभयो । असिस्टेन्ट डारेक्टर पनि छिरेर यसरी सट दिने भनेर देखाउनुभयो,” केकी भन्छिन्, “एक्सन ! भनियो, म छिरेँ । तर, अचानक अक्वारियम फुट्यो । पानीको फोर्सले सिसाहरू तोडले फुटेर टाढा–टाढा पुग्यो । मेरो घाँटीको छेउछेउमा फुटेका धारिला सिसैसिसा थिए । तर, धन्न मलाई केही भएन ।” केकी ठूलो दुर्घटनाबाट बचिन् ।
त्यसयता पानीको सिन र विदेशमा छायांकन छ भने केकीलाई घरबाट स्वीकृति मिल्दैन । “विदेशमा समुद्रको तटमा सुटिङ हुन्छ भनेर आमा डराउनुहुन्छ । त्यसैले आमाले मलाई पानी र विदेशको सिन छ भने अप्रुभ गर्नु हुन्न,” उनी भन्छिन्, “जति पनि यस्ता सिन मैले गरेको छु, घरबाट चिट गरेर गरेको छु ।”
० ० ०
करिब आठ वर्षअघिको एक दिन । चलचित्र ‘महसुस’को छायांकन थियो । सुटिङ सेड्युल अन्तिम चरणमा पुगिसकेको थियो । नीर शाहसँग छायांकन थियो । नीर शाह त्यसको भोलिपल्ट विदेश जाँदै थिए । त्यसैले उनले भनेका थिए– मेरो सट भोलिसम्म सकिदिनू ।
सुटिङ युनिटलाई नीरले भनेकै दिनसम्म खिचिसक्नुपर्ने थियो । प्रोडक्सन म्याजेजर शंकर पाण्डे थिए । उनले बिहानै फोन गरेर केकीलाई भनेँ– कलाकारलाई ल्याउने माइक्रो सुरुमा नीर शाह सरलाई लिन जाँदै छ, त्यहाँबाट घुमेर तपाईंलाई लिन आउँदा ढिलो हुने भयो । त्यसैले आज मेरो असिस्टेन्ट बाइक लिएर लिन आउँछ, आउनुस् ल ?
अप्ठ्यारो पर्दाको समस्या त बुझिदिनैपर्यो । उनी स्वीकृति जनाइन् । बिहानको समय थियो । ६ पनि बजिनसकको हुँदो हो, शंकरका असिस्टेन्ट केकीलाई लिन उनको घर पुगे । गौरीघाट हुँदै धोबीखोलाको करिडोर भएर सुटिङ सेटमा जाने रुट तय भयो । केकी स्कुटरको पछाडि बसिन् । गौरीघाटस्थित वाग्मती किनारमा उनीहरू आइपुगेका थिए । केकीले ब्यागबाट मोबाइल निकालेकी मात्र थिइन्, त्यसको अर्को सेकेन्ड उनी दुर्घटनामा परिसकेकी थिइन् ।
अनियन्त्रित भएर स्कुटर सडकमा चिप्लिएर लड्यो । अनुहार र खुट्टा पिच सडकमा बजारियो । जसोतसो उठेर हेर्दा अनुहारभरि रगतैरगत थियो । कहाँ के फुट्यो र यति धेरै रगत आइरहेको छ भन्ने चाल पाउन सकिरहेकी थिइनन् । उनी एकदम अत्तालिइन् । अनुहारभरि रगत र आत्तिएको अवस्थामा केकीलाई देखेपछि ड्राइभ गर्ने भाइ फेन्ट भए ।
केकीले सडकमा गुडिरहेको बाइकलाई रोक्न हातले इसारा गरिन् । एउटा बाइक रोकिएन । अर्को बाइकचालकले रोके । “म जसोतसो उठेँ । बाइक रोक्ने दाइ र म भएर फेन्ट भएको भाइलाई बाइकमा बीचमा राख्यौँ । मैले पछाडि बसेर उसलाई समाएँ,” केकी भन्छिन्, “त्यो दाइले मलाई को, के किन, कसरी, कहाँ केही सोध्नु भएन । हस्पिटल लगेर छोड्दिनुभयो । र, म एकदम हतारमा छु भनेर जानुभयो । त्यसपछि बल्ल मैले घरमा फोन गरेँ ।”
अस्पताल पुगेपछि थाहा भयो, उनको ओठमा चोट लागेको रहेछ । दाहिने घुँडा निकै जोडले ठोक्किएको थियो । “पछि थाहा भयो, घुँडामा पानी जमेछ । योङ ऐजमै यसले समस्या दिन थाल्दो रहेछ । समस्या नदिएसम्म जमेको पानी निकाल्न नमिल्ने भएकाले अहिले पनि म घुँडामा जमेको पानी लिएर हिँडिरहेको छु,” केकी काम गर्दाको अप्ठ्यारो सुनाउँछिन् ।
केकी हस्पिटलमा थिइन् । उनलाई लिन गएको भाइको होस आएको थिएन । तर, सुटिङ युनिटले भनिरहेको थियो– एकपटक भए पनि सेटमा आइदिनुपर्यो ।
“त्यसपछि म सुन्निएको ओठ लिएर अनामनगरको नूतन स्टुडियो पुगेँ, जहाँ सिनेमाको सेट लागेको थियो,” केकी सम्झिन्छिन्, “मेरो सुन्निएको फेस र काटेको ओठ देखेर सबै डराउनुभयो । मलाई देखेर नीर शाहले भन्नुभयो म विदेशबाट फर्किएर दुई दिन समय दिन्छु, त्यही बेला खिचौँला ।”
पेसागत व्यावसायिकता के हो, त्यस दिन उनले अनुभूत गरिन् । त्यति ठूलो दुर्घटना हुँदा पनि सकिनसकी सेटमा पुग्नुपर्ने हुँदो रहेछ ।
मतभेद
केही वर्षअघि उनलाई एउटा सिनेमाका लागि प्रस्ताव आयो । स्टोरीलाइन गजब मन पर्यो । खेल्ने निधो गरिन् । चलचित्रको नाम थियो, ‘सरकारी जागिर’ । सिनेमामा एक युवती हुन्छे, ऊ निकै फरवार्ड हुन्छे । परेको बेला लड्न सक्ने, सत्यका लागि उठ्न सक्ने र परिवारमा केही पर्दा त्यसको समाधान खोज्न सक्ने प्लान मेकर पनि हो, ऊ । उसले स्कुटीमा ब्वाइफ्रेन्डसँग आफ्नो लभ इन्ट्रेस्ट सुनाउँदै कतै जाने सिन हुन्छ । युवतीले कुर्ता सलवार लगाएकी हुन्छे । निर्देशकले भने– कुर्ता सलवार लगाएकाले एकै साइडमा खुट्टा राखेर बस ।
केकीलाई चित्त बुझेन । निर्देशकलाई भनिन्– यसरी बस्ने यो चरित्र नै होइन । उनको तर्क थियो– पहिलो कुरा त सुरक्षाका दृष्टिले पनि साइडमा बस्नु खतरनाक हो । दोस्रो, काठमाडौंको धीडभाड सडकमा साइडमा बस्नु झन् खतरनाक हो । तेस्रो, ऊ आफैँमा पढेलेखेकी केटी हो, उसलाई समाजले देख्ला भन्ने लाज छैन । परिवारका सदस्य पनि उसको रिलेसनसिपबारे जानकार छन् । ब्याइफ्रेन्डसँग पनि ऊ बिनासंकोच कुरा गर्छे भने उसलाई त्यसरी बसाउनुको कुनै कारण छैन ।
यही विषयलाई लिएर लामो छलफल भयो । अन्तिम दिनको छायांकन थियो, घाम नै डुब्यो । केकीले निर्देशकलाई भनिन्– हामीलाई रि–सुट गर्ने मौका मिलेको छ, यसबारेमा फेरि एकपटक सोच्नुस् है । यो क्यारेक्टरलाई तपाईंले जुन स्ट्रेन्थ र पावर दिनुभएको छ, यो एउटा सिनले गर्दा उसको होल क्यारेक्टरलाई नै कमजोर बनाएको छ । म महिला हुँ, त्यसैले म लजाउँछु, परम्परागत सोच र बानी–व्यवहारअनुसार नै चल्नुपर्छ भन्ने फिल भइरहेको छ, त्यसैले एकपटक सोच्नुहोला ।
केकीले सम्झिइन्, “तर, उहाँले मान्नु भएन । मैले साइडमा बसेरै सट दिएँ । किनभने, मसँग कुनै अप्सन नै थिएन । मैले सिनेमा साइन गरिसकेको थिएँ र सिनेमा निर्देशकको भिजन हो । त्यसलाई साइन गरेपछि स्वीकार गर्नैपर्छ । हैन भने फिल्म नै छोड्नुपर्यो, जुन व्यावसायिकता हुँदैन थियो ।”
एकाध सिनको कुरा छुट्टै, त्यो सिनेमाको आइडिया केकीलाई मन परेको थियो । तर, यहाँको वातावरण निर्माण पक्षलाई मन परेन । उनीहरू बरु सिनेमा नै रिलिज गर्दैनौँ भनेर अमेरिका फर्किए । फलतः सिनेमा आजसम्म रिलिज भएको छैन ।
“१०/१५ वर्ष अमेरिका बसेर काम गर्नुभएको थियो । त्यहाँको वर्किङ कल्चरमा काम गरेको बानी भएकाले सायद यहाँको मन परेन होला । त्यसैले यहाँको वर्किङ कल्चरले उहाँहरूलाई गाह्रो भएजस्तो लाग्छ,” केकी भन्छिन् ।
बुवासँग आइसब्रेक
बद्री अधिकारी नेपाली कला क्षेत्रका उम्दा कलाकार र निर्देशक हुन् । उनको गाइडमा कति कलाकारले नेपाली चलचित्र र नाटकमा दह्रो खुट्टा टेके र समकालीनहरूको भीडमा आफूलाई अब्बल प्रमाणित गरे, सूची बनाउने हो भने निकै लामो होला । आफ्नै छोरी केकी भने यो क्षेत्रमा आओस् भन्ने उनको चाह थिएन । तर, केकीलाई रंगीन दुनियाँले आकर्षित गरिसकेको थियो । अभिनयप्रति दिलचस्पी बढिसकेको थियो । म्युजिक भिडियोबाट उनले आफूलाई कला क्षेत्रमा स्थापित गरिसकेकी थिइन् ।
पाँच मिनेटको म्युजिक भिडियोमा मोडलिङ गर्दा उनले अनुभूत गरिसकेकी थिइन्– क्यारेक्टर जिउने दुई घण्टाको सिनेमामा हो । अभिनय गर्ने त फिचर फिल्ममै हो ।
म्युजिक भिडियोमा काम गरिरहँदा केकीलाई फिचर फिल्मबाट अफरहरू नआएका होइनन् । तर, म्युजिक भिडियो गर्दा नै क्लासमा कम उपस्थिति भएको भन्ने कम्प्लेन आउन थालिसकेको थियो । फिचर फिल्म गर्दा त झन् पढाइमै ब्रेक लाग्ला कि भन्ने डर थियो । त्यसमा पनि एकेडेमिक क्वालिफिकेसनको महत्त्व कति छ भन्ने उनलाई भलिभाँती जानकारी थियो । त्यसैले अफरलाई नजरअन्दाज गरिरहेकी थिइन् । तर, आफूले नगरेका सिनेमाको सफलता देखेर बेलाबेला मन चसक्क हुन्थ्यो ।
एकातिर पढाइलाई समय दिनुपर्ने, अर्कोतर्फ परिवारको चाहका कारण पनि केकीले मन खोलेर सिनेमा गर्न सकिरहेकी थिइनन् । बद्रीले मनैदेखि छोरीलाई चलचित्र क्षेत्रमा स्वागत गरेका थिएनन् । केकीले आफैँ जबरजस्ती बुवालाई कन्भिन्स गरेकी थिइन् । रहरले होइन, लगावले काम गर्छु भनेकी थिइन् । त्यसैले फिचर फिल्ममा डेब्यु गरे पनि बुवासँग केकीले खुलेर कुरा गर्न सकिरहेकी थिइनन् । आफ्नो काम हेरेर प्रतिक्रिया दिन बुवालाई भन्न सकेकी थिइनन् ।
“सायद बाबालाई लागेको थियो, एक–दुईवटा फिल्म खेलेपछि छोरीको रहर पुग्छ, अनि ऊ यो फिल्डबाट अर्को फिल्ड रोज्छे,” केकी आफ्नो विगत सुनाउँछिन्, “तर, म कमिटेड भएर चलचित्रमा लागिसकेको थिएँ । मेरो पेसा नै यही हो, करिअर नै यही हो भनेर सोचिसकेको थिएँ ।”
विस्तारै केकीले सिनेमा खेल्न थालिन् । बक्सअफिसमा उनको अभिनय रहेका चलचित्र हिट भए/नभए पनि सिनेमाप्रतिको लगावको पारो उकालो लागिरहेको थियो । उनलाई रहर पुगेन । यसैक्रममा चलचित्र ‘मसान’बाट अफर आयो । यसलाई निर्देशन गर्दैै थिए, नीर शाहले ।
यो चलचित्रबाट आइसब्रेक भयो केकी र बद्री अधिकारीबीच । ‘मसान’को अफरपछि उनीहरूबीच सिनेमाको कुरालाई लिएर खुलेर छलफल हुन थाल्यो । केकीले सिनेमासम्बन्धी कुरा बुवासँग राख्न थालिन् । बद्रीले आफूले जानेको कुरा छोरीलाई सुनाउन थाले ।
“मसान नाटकमा म आफैँले मुख्य भूमिका निर्वाह गरेको थिएँ भनेर बाबाले भनेपछि हामीबीच सिनेमाका विषयमा खुलेर छलफल गर्ने वातावरण बन्यो,” केकी स्मरण गर्छिन्, “मैले बाबालाई मसान नाटकका लागि नीर शाह सरले अफर गर्नुभयो नि ! भनेर सुनाएँ । मेरो कुरा सुनेर बाबा खुसी हुनुभयो । सायद उहाँलाई छोरीको कामलाई लिएर सिरियस्ली लिने मान्छे छन् भन्ने लाग्यो ।”
नीर शाहलाई भेटेर कुरा गर्नुअगाडि ‘यो पुस्तक पढ्नू’ भनेर बद्रीले केकीलाई मसान नाटककृति दिए । “तिमीलाई नाटक र यसका पात्रबारे सबै कुरा थाहा होस्, तर नीर शाहसँग कुरा गर्दा केही थाहा नपाएजस्तो गर्नू है भन्नुभयो,” आफूलाई बुवाले सिकाएका पुराना दिन सम्झिएर केकी नोस्टाल्जिक हुन्छिन्, “यसको अर्थ चलचित्र क्षेत्रका लागि मलाई तयार पार्दै हुनुहुन्थ्यो । मलाई सजिलो होस् भनेर उहाँले सम्झाइरहनुभएको थियो ।”
‘मसान’को अफर आउँदा केकी नबिल बैंकको अत्तरखेल ब्रान्चमा बीआईएम सकेर त्यसको इन्टर्नसिप गरिरहेकी थिइन् । त्यो बेला हेलेन होइन, सानी दुलहीको क्यारेक्टरका लागि नीरले केकीलाई अफर गरेका थिए ।
अफरपछिको भेटमा नीरले केकीलाई सोधे– तिमीभन्दा योङ आर्टिस्ट पनि छन् यो फिल्डमा ?
‘हामी नै होला सायद पछिल्लो लर्ट ।’
‘नीता ढुंगाना तिमीभन्दा योङ देखिन्छिन् कि देखिन्नन् ?’
केकी अलि मोटी थिइन् । त्यसैले उनीभन्दा नीता योङ देखिन्थिइन् ।
‘नीतालाई कान्छी दुलहीको रोल दिएर तिमीलाई जेठी दुलहीको रोल दिँदै छु, त्यसका लागि तिमी तयार छ्यौ ?’
हेलेन अर्थात् सिनेमाको मुख्य क्यारेक्टर । यति ठूलो अवसर आयो, हुन्छ भनौँ वा हुन्न, उनलाई के भनौँभनौँ भयो । त्यो बेला उनको दिमागमा अचानक आयो– मेरै समकालीन मभन्दा कान्छी बनेर खेल्दै छ, सँगै आएको समकालीन कान्छी र मचाहिँ जेठी भएर खेलेपछि मलाई मेच्योर्ड भनेर सोच्लान् कि ! केकीको रियल उमेरभन्दा आठ/नौ वर्ष जेठी पात्र थिइन्, हेलेन ।
“त्यो पात्रका लागि म मेन्टल्ली र इमोस्नल्ली तयार छु कि छैन, दर्शकले कसरी लिनुहोला, यसपछि मलाई कस्तो फिल्ममा कस्तो क्यारेक्टरका लागि रोल आउला भन्ने कुराले मलाई गाँजेको थियो,” केकी भन्छिन्, “बाबासँग प्रश्न गर्ने र सुझाव लिने मेरा लागि सही अवसर थियो, त्यो । मेरो घरमै मेन्टर हुनुहुन्थ्यो, जुन अवसर जो कोहीले कहाँ पाउँछ र ?”
केकीले बुवालाई आफ्नो मनमा उठेका ज्वारभाटा सुनाइन् । उनले सुझाव दिए– यो एउटा चलचित्रबाट मान्छेको माइन्डसेट परिवर्तन गर्न सक्छौ भने अर्कोबाट अर्को माइन्डसेट चेन्ज गर्न सक्नुपर्छ । त्यसले तिमी अभिनयमा अब्बल छौ भन्ने प्रमाणित हुन्छ, चरित्रलाई न्याय गर्छौ भन्ने प्रमाणित हुन्छ । सकेनौ भने अरूलाई अवसर दिनुपर्छ, ठाउँ खाली गरिदिनुपर्छ ।
ओहो ! त्यसैले त अग्रज र अनुभवीका कुरा सुन्नुपर्छ । हरेक वाक्यमा अर्थ र गम्भीर मर्म हुन्छ । आर्शीवचन हुन्छ ।
“त्यो समय उदाहरण नै दिएर कति कुरा भन्नुहुन्थ्यो । कति बुझ्थेँ, कति बुझ्दििन थिएँ । कति कुरा सुन्न तयार हुन्थेँ, कति हुन्नथेँ । सायद उमेर पनि त्यस्तै थियो । कति कुरा जायज लाग्यो, कति कुरा तितो पनि लाग्थ्यो,” केकी भन्छिन्, “तर, मेरो घरमा सिनेमाको एउटा इन्स्टिच्युसन थियो, त्यसले मलाई ठूलो सहयोग गरिरहेको थियो । यसमा म भाग्यमानी हुँ ।”
‘मसान’को प्रिमियर शो गरियो । केकीले खेलेको सिनेमाको प्रिमियर शोमा पहिलोपटक बद्री अधिकारी आए । त्यस दिन त हो, केकीलाई पहिलोपटक अब म एक्ट्रेस भएँ भन्ने लागेको ।
बद्री प्रिमियर शो हेरेर क्यामेराअगाडि प्रतिक्रिया दिनका लागि तयार हुँदै थिए । केकी त्यहीँ थिइन् । तर, जिन्दगीकै सबैभन्दा नर्भस थिइन् । बुवाले के भन्नुहोला भन्ने केकीमा कौतूहल थियो । त्यसभन्दा पनि धेरै उनको मनमा डरले घर गरेको थियो ।
अनि ?
“क्यामेराका अगाडि बाबाले बडो डिप्लोम्याटिक जवाफ दिनुभयो– मसानजस्तो चलचित्र पाउनु, नीर शाहजस्तो व्यक्तिसँग काम गर्न पाउनु नै ठूलो कुरा हो, करिअरको सुरुमै यो अवसर पाउनु नै उसका लागि ठूलो कुरा हो,” केकी सम्झिन्छिन्, “घर पुगेपछि भने उहाँले कन्स्ट्रक्टिभ क्रिटिसिजम दिनुभयो । उहाँले पहिला मेरो सकारात्मक पक्ष बताउनुभयो, त्यसपछि नकारात्मक पक्ष बताउनुभयो ।” अहिले पनि ब्रदीले केकीलाई प्रतिक्रिया दिने त्यसैगरी हो ।
केकीको स्वर अहिले पनि पातलो छ । त्यो समय त झन् हुने नै भयो । बद्रीले स्वरमा काम गर्न बाँकी रहेको सम्झाए । उनले भने, ‘सिनेमा नै मेरो भविष्य हो भनेर सोचिसकेपछि तिमीले आफूलाई यसमा जसरी हुन्छ, तयार गर्नुपर्छ ।’
सकारात्मक कुरा पनि गरे । ‘तिम्रो आँखाको इमोसन राइट आउँछ, थोरै मात्रै मनले एक्सप्रेस गरेको कुरा आँखाले बोल्दिन सक्छ,’ केकी बुवाले भनेका कुरा सम्झिन्छिन्, “कति कलाकारले फिल गर्छन्, तर त्यो आँखामा देखिँदैन । कतिले मनमा फिल पनि गर्न सक्तैनन् । तिम्रो के हो, त्यो त मलाई थाहा भएन, तर आँखामा चाहिँ देखिन्छ ।”
खुलेर बोल्नु/नबोल्नु एउटा पाटो, तर आफ्नो सन्तानको काममा अभिभावकलाई चासो नहुने कुरै हुँदैन, हुन्छ । बद्रीमा पनि थियो । स्वाभाविक हो । केकीले वर्षौँपछि मात्र थाहा पाइन्, बद्रीले उनको फिल्म ‘आई एम सरी’ नै हेरेका रहेछन् । त्यो पनि आमासँगै हलमा गएर । आइसब्रेक भएपछि मात्र उनले यो कुरा थाहा पाएकी थिइन् ।
“बाबासँग भन्दा म आमासँग नजिक थिएँ । करिअर चुज गर्ने सवालमा कुरा नमिल्दा केही समय चलचित्रका विषयमा मात्रै खुलेर कुरा नभएको हो,” केकी भन्छिन्, “जब ‘मसान’ले यसमा आइसब्रेक भयो, हामी सिनेमाका विषयमा पनि खुलेर छलफल गर्न थाल्यौँ । एक दिन कुरैकुरामा बाबा र आमाले ‘आई एम सरी’ हलमै गएर हेरेको प्रसंग आयो – पुरानो साथीसँग जसरी लामो छुटाइपछि भेट हुँदा पनि दिनकै भेट भएजस्तो गरी कुरा हुन्छ, बाबासँग फेरि त्यसैगरी कुरा हुन थाल्यो ।”
त्यति नै बेला केकीलाई बद्रीले भनेका थिए– ‘आई एम सरी हेर्दा तिमी एक्टर बन्नका लागि तयार भइसक्यौ भन्ने लागेको थिएन । त्यसमा तिमीमा सिरियसनेस देखिँदैन थियो । एक सिन मात्रै आओस्, म गरेर देखाउँछु भन्ने जुुनुन् तिमीमा देखिँदैन थियो, जुन हामीमा हुन्थ्यो ।
अनि, स्टन्ट
‘बोक्सीको घर’ केकीले हालसम्म सबैभन्दा धेरै स्टन्ट दिएको सिनेमा हो । यो रिलिज हुन बाँकी छ । पोस्ट प्रोडक्सनमा रहेको यो चलचित्रमा एउटा अलौकिक पात्र छ, जसले धेरै स्टन्ट गर्छ । रुखमा हिँड्छ । हावामा उड्छ । सोच्न पनि नसकिने शक्ति छ ।
भीएफएक्सको मात्र भर परेर भएन । एकातिर भीएफएक्स आफैँमा महँगो प्रविधि, अर्कातिर रियल सिन दिने केकीको रहर – त्यसैले स्टन्ट दिन उनी कडा मिहिनेत गर्न थालिन् । टुचिङ लगाएर स्टन्ट सिन गरिन् ।
“चलचित्रमा कतिपय कुरा प्रविधिको माध्यमबाट गर्न सकिन्छ, तर मलाई चिट गर्न मन लागेन । त्यसैले बोक्सीको घरमा स्टन्ट गर्दा कति चोटपटक लाग्यो, अप्ठ्यारो भयो । तर, रियल सिनका लागि मैले काम गरेको छु,” केकी भन्छिन् । उनले कति काम गरेकी छन्, त्यो दर्शकले हेर्न बाँकी नै छ ।
कोरोना महामारी चलिरहेको थियो । फ्लोरमा सिनेमा थिएन । उनीसँग समय थियो । केकीले सोचिन्– यो समयमा पनि क्यारेक्टरमा बसेर काम नगरे कहिले गरिएला ? आफैँले आफैँलाई च्यालेन्ज दिइन् र स्वीकारिन् पनि– अहिलेसम्म गर्न नसकेको काम म जसरी पनि काम गर्छु ।
“कुनै विन्दुमा पुगेपछि म राम्रो कलाकार हो कि होइन भनेर प्रश्न गर्ने दिन पनि आउला, त्यो समय आफैँले आफैँलाई जवाफ दिन सकिएन भने कसरी आफूलाई माफ गर्न सकिएला ?,” केकी भन्छिन्, “कोभिडको समयमा मैले आफैँलाई पनि यो प्रश्न गरेँ । त्यसपछि मैले ‘बोक्सीको घर’ रोजेको थिएँ । ६ महिना म भ्वाइस ट्रेनिङमा बसेँ ।”
केकीलाई सधैँ डाइलग डेलिभरीमा आफ्नो समस्या रहेको भान हुन्छ । मसिनो स्वर छ, सिनेमामा त्यही आउँछ । उनले भ्वाइसमा विविधता दिन सकेकी छैनन् ।
“त्यसैले त म ६ महिना भ्वाइस ट्रेनिङमा बसेँ । सिनेमामा जस्तो लुक छ, त्यसकै भेषमा बिहानदेखि बेलुकासम्म बसेँ । पात्रले कसरी बोल्छ, त्यसरी नै बोल्ने प्रयास गरेँ,” केकी सुनाउँछिन्, “भ्वाइसमा काम गर्नु थियो, त्यसमा अधिक काम गर्थेँ । मेरो निर्देशकले मलाई ‘तिम्रो स्वर चिनिन्छ कि होइन’ भनेर घरमा ममी र साथीलाई फोन गर्न लगाउनुहुन्थ्यो । नचिने मेरो सफलता हुन्थ्यो, चिने असफलता ।”
यो पनि पढ्नोस्–
उटपट्याङ ‘शिरोमणि’ राजारामका किस्सैकिस्सा
यसरी भएका थिए सरोज एकै रातमा सुपरस्टार
दीपकराज गिरीको त्यो ‘वाणी’ जसले स्वस्तिमालाई झस्काइरहन्छ
पटक–पटक मृत्युको मुखमा पुगेर फर्किएका दयाहाङ
निखिल उप्रेतीको सुटिङ अनुभव– सात तलाबाट हामफाल्दा आफैँलाई दबाबमा राखेको थिएँ