
मुम्बई । कमेडियन कपिल शर्माको कार्यक्रम ‘द ग्रेट इन्डियन कपिल शो’को तेस्रो सिजन सुरु भएको छ । अभिनेता सलमान खान यो शृंखलाको पहिलो अतिथिका रूपमा आमन्त्रित थिए ।
सलमान आफ्नो चलचित्र ‘सिकन्दर’को प्रचार गर्न शोमा पुगेका थिए । उनलाई कपिल र शोका अरू सदस्यले चलचित्र र व्यक्तिगत जीवनसँग सम्बन्धित प्रश्न सोधे ।
एउटा प्रश्नको जवाफमा सलमान खानले आफू ‘ब्रेन एन्युरिज्म’ नामक रोगबाट पीडित रहेको बताए । ‘सिकन्दर’को छायांकनका क्रममा आफ्नो करङमा चोट लागेको उनले सुनाए ।
“हामी हरेक दिन हड्डी भाँचिरहेका छौँ, करङ भाँचिएका छौँ, ट्राइजेमिनल न्युरोल्जियाले काम गरिरहेको छ,” उनले भने, “मस्तिष्कमा एन्युरिज्म छ, अझै काम गरिरहेको छ । एभी विकृति छ, अझै हिँडिरहेको छ । म एक्सन गर्छु । म हिँड्न सक्दिनँ, अझै नाचिरहेको छु । मेरो जीवनमा यी सबै एकसाथ भइरहेको छ ।”
सलमानले आफूलाई ‘ब्रेन एन्युरिज्म’ भएको बताएपछि मानिस इन्टरनेटमा त्यससँग सम्बन्धित जानकारी खोजिरहेका छन् । यो कस्तो समस्या हो र कति खतरनाक छ ?
‘ब्रेन एन्युरिज्म’ भनेको के हो ?
रक्तनली फुल्ने समस्यालाई एन्युरिज्म भनिन्छ । यो फुल्ने समस्या नसा कमजोर भएका कारणले हुन्छ । विशेष गरी नसा दुई भागमा विभाजित हुन्छ । जब रगत कमजोर ठाउँबाट जान्छ, यसको दबाबले त्यो क्षेत्र बेलुनजस्तै बाहिरतिर फुल्छ ।
शरीरको कुनै पनि नसामा एन्युरिज्म हुनसक्छ । तर, यो प्रायः दुई ठाउँमा हुन्छ । मुटुबाट शरीरमा रगत पुर्याउने धमनी र मस्तिष्कमा यो समस्या धेरै हुन्छ ।
मस्तिष्कमा एन्युरिज्म धमनीविस्फार छ भने यसलाई ब्रेन एन्युरिज्म भनिन्छ ।
ब्रेन एन्युरिज्मलाई मुख्यतया तीन वर्गमा विभाजन गरिएको छ–
१. थैली धमनी विस्फोट
यसलाई बेरी एन्युरिज्म पनि भनिन्छ । यो एन्युरिज्म बोटमा झुन्डिएको अंगुरजस्तो देखिन्छ । यो मुख्य धमनी वा यसको शाखामध्ये एकबाट निस्कने रगतले भरिएको गोलो थैली हो । यो प्रायः मस्तिष्कको आधारमा (तल) धमनीहरूमा बन्छ । बेरी एन्युरिज्म सबैभन्दा सामान्य प्रकारको एन्युरिज्म हो ।
२. फ्युसिफर्म एन्युरिज्म
यो एन्युरिज्म धमनी वरिपरि सुन्निन्छ । अर्थात्, धमनीका सबै भाग सुन्निन्छ ।
३. माइकोटिक एन्युरिज्म
यो एन्युरिज्म संक्रमणका कारण हुन्छ । जब संक्रमणले मस्तिष्कको धमनीहरूलाई असर गर्छ, यसले तिनीहरूको भित्ताहरूलाई कमजोर बनाउँछ र एन्युरिज्मको समस्या निम्त्याउँछ ।
ब्रेन एन्युरिज्मका लक्षण
ब्रेन एन्युरिज्म नफुटेसम्म यो खतरनाक हुँदैन । तर, यो फुटे अवस्था धेरै खतरनाक हुन्छ, जसलाई सबराक्नोइड हेमरेज भनिन्छ । यसले मस्तिष्कमा रगत फैलाउँछ र मस्तिष्कलाई ठूलो क्षति पुर्याउन सक्छ ।
ब्रेन एन्युरिज्म फुटेपछि देखा पर्ने लक्षण
– अचानक गम्भीर र असह्य टाउको दुख्नु (जस्तै, तपाईंलाई कसैले टाउकोमा जोडले हिर्कायो)
– वाकवाकी र बान्ता
– प्रकाश हेर्दा दुखाइ
ब्रेन एन्युरिज्म सानो भएको अवस्थामा सामान्यतया यसमा कुनै लक्षण देखिँदैन । यो ठूलो छ भने नजिकैका स्नायुहरूमा दबाब दिन सक्छ, जसले गर्दा टाउको दुख्ने, दृष्टिमा परिवर्तन हुन्छ । अनुहार सुन्निनेजस्ता लक्षण देखिन सक्छ ।
ब्रेन एन्युरिज्म किन हुन्छ ?
अनुसन्धानकर्ताले रक्तनली किन कमजोर हुन्छन् भन्ने पूर्ण रूपमा हालसम्म यकिन गर्न सकेका छैनन् ।
यसका मुख्य कारणहरू
– धूमपान
– उच्च रक्तचाप
– आनुवंशिक कारण
– कहिलेकाहीँ जन्मदेखि नै रक्तनलीहरू कमजोर हुन्छन्
– टाउकोमा चोटपटक
– मदिरा र लागुपदार्थको प्रयोग
ब्रेन एन्युरिज्म कुनै पनि उमेरमा हुनसक्छ । तर, ४० वर्षभन्दा माथिका मानिसमा यो बढी हुन्छ । पुरुषको तुलनामा महिलामा यो समस्याको सम्भावना बढी हुन्छ ।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार, त्यहाँ प्रत्येक वर्ष १५ हजारमध्ये एकजनामा ब्रेन एन्युरिज्म फुट्ने समस्या देखिएको छ ।
अमेरिकास्थित ब्रेन एन्युरिज्म फाउन्डेसनका अनुसार, त्यहाँ प्रत्येक वर्ष एक लाख मानिसमध्ये आठदेखि १० जनामा यो समस्या देखिने गरेको छ ।
उपचार के छ ?
मायो क्लिनिक अमेरिकाको एक निजी संस्था हो, जसले स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्छ । यो संस्थाले ब्रेन एन्युरिज्मका बारेमा विस्तृत विवरण सार्वजनिक गरेको छ ।
फुटेको मस्तिष्क धमनी मर्मत गर्ने दुई उपचार पद्धति छन् । पहिलो, सर्जिकल क्लिपिङ । दोस्रो, एन्डोभास्कुलर उपचार ।
कतिपय अवस्थामा यी उपचार नचुटिएको ब्रेन एन्युरिज्मका निम्ति प्रयोग गर्न सकिन्छ । तर, उपचारको फाइदासँगै जोखिम पनि बढी छ ।
सर्जिकल क्लिपिङ
यो प्रक्रियामा एन्युरिज्म बन्द हुन्छ । न्युरोसर्जन टाउकोको हड्डी हटाएर एन्युरिज्ममा पुग्छन् । त्यसपछि उनीहरूले एन्युरिज्ममा रगत आपूर्ति गर्ने रक्तनली फेला पार्छन् । त्यहाँ एउटा सानो धातुको क्लिप राखिन्छ । यसले रगतको प्रवाह एन्युरिज्ममा जानबाट रोक्छ ।
यो समस्याको निधानका निम्ति सर्जिकल क्लिपिङ धेरै प्रभावकारी मानिन्छ । क्लिप गरिएको एन्युरिज्म पुनः बन्दैन । यसको जोखिममा भने मस्तिष्कमा रक्तस्राव वा रगत जम्ने समस्या छ ।
शल्यक्रियाबाट निको हुन करिब चार देखि ६ हप्ता लाग्छ । एन्युरिज्म फुटेको छैन भने एक/दुई दिनमा बिरामी अस्पतालबाट घर फर्कन सक्छन् । एन्युरिज्म फुटेको अवस्थामा अस्पताल बसाइ लम्बिन सक्छ ।
इन्डोभास्कुलर उपचार
यो सर्जिकल क्लिपिङभन्दा कम जोखिमपूर्ण मानिन्छ । एउटा पातलो ट्युब रक्तनलीबाट एन्युरिज्ममा पठाइन्छ र त्यसमा विशेष धातु घुसाइन्छ ।
सर्जिकल क्लिपिङजस्तै यो प्रक्रियामा पनि मस्तिष्कमा रक्तस्राव हुने वा रक्तप्रवाह अवरुद्ध हुने थोरै जोखिम हुन्छ । एन्युरिज्म पुनः देखा पर्न सक्छ । त्यसैले समय–समयमा परीक्षण गराउनु महत्त्वपूर्ण छ ।
फ्लो डाइभर्सन
यो पनि एक प्रकारको एन्डोभास्कुलर उपचार हो । यसमा रक्त प्रवाहलाई एन्युरिज्मबाट टाढा लैजान नसामा स्टेन्ट राखिन्छ । यसले एन्युरिज्म फुट्ने जोखिम कम गर्छ ।
ठूलो ब्रेन एन्युरिज्म भएको अवस्थामा यो उपचार विधि उपयोगी मानिन्छ । ठूलो ब्रेन एन्युरिज्ममा शल्यक्रियाबाट उपचार गर्न गाह्रो हुन्छ । त्यस्तो अवस्थामा फ्लो डाइभर्सन उपयोगी हुन्छ ।
ब्रेन एन्युरिज्म कसरी रोक्ने ?
एन्युरिज्म हुनबाट जोगाउने वा ठूलो हुने र फुट्ने जोखिम कम गर्न सबैभन्दा राम्रो तरिका रक्तनलीलाई क्षति पुर्याउने काम नगर्नु हो । यसका निम्ति धूमपान नगर्ने, बढी तारेको खाना नखाने, उच्च रक्तचाप नियन्त्रण गर्ने, अधिक तौल वा मोटोपनबाट बच्नुपर्छ । बीबीसी हिन्दीबाट ।