site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उटपट्याङ ‘शिरोमणि’ राजारामका किस्सैकिस्सा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

हास्यकलाकार राजाराम पौडेलले चलचित्र ‘वासुदेव’बाट अभिनय थाले । ०३९ सालदेखि सुरु भएको उनको एक्टिङ करिअर आजपर्यन्त जारी छ । चलचित्र, टेलिचलचित्र, विज्ञापन नाटकलगायत कलाका विभिन्न विधामा उनले अभिनय पस्किएका छन् । महजोडीले निर्माण गरेको टेलिचलचित्र ‘१५ गते’ उनको करिअरको माइलस्टोन हो । ‘१५ गते’बाट आमजनमानसमा चिनिएका उनको करिअरलाई सिनेमाले थप उचाइ दियो ।

राजाराम छोटो भूमिकामा देखिन रुचाउँछन् । हालसम्म कति सिनेमामा अभिनय गरे, उनीसँग यकिन तथ्यांक छैन । उनी भन्छन्– मेरा लागि यो प्रश्न डकर्मीलाई घर बनाउँदा कति इँटा प्रयोग गर्नुभयो भनेजस्तै भयो । चलचित्रको छायांकनमा जाँदा होस् वा कार्यक्रममा साथीसंगतीबीच रमाइलो गरिरहनु उनको विशेषता हो । साथी–सहकर्मीमाझ छुकछुके राजाराम अनेक उटपट्याङ गर्छन् । उनका यस्ता थुप्रै किस्सा छन्, त्यो सुनेर मान्छे पेट मिचीमिची हाँस्छन् । उनै पौडेलसँग एक्सन–कट्का तितामिठा अनुभव :   

० ० ०

KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । ०४६ सालमा महजोडीले ‘१५ गते’ टेलिसिरियल बनाउने भयो । ०३९ मा निर्मित ‘वासुदेव’मा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले राजारामलाई अवसर दिएका थिए । ‘१५ गते’मा पनि अफर गरे । विराटनगरको झोराहटमा छायांकन भयो । ‘१५ गते’ पाँच भाग छायांकन गरिएको थियो ।

‘१५ गते’को प्रसारण सुरु भयो । ०४६ सालको जनआन्दोलन ठिक त्यही बेला चर्कियो । पहिलो भाग प्रसारणताका आन्दोलन पूर्ण रूपमा चर्किएको थियो । दोस्रो भाग प्रसारणताका आन्दोलन दबाउन गोली चलाउन थालिसकेको अवस्था थियो । मान्छे मर्न थालिसकेका थिए । अनि, महजोडीलाई लाग्यो– यस्तो बेला मान्छे हँसाएर हुँदैन । हुन पनि हो, देशमा व्यवस्था परिवर्तनका लागि आन्दोलन चलिरहेका बेला टेलिभिजनमा हँसाउने टेलिसिरियल प्रसारण भइरहेको थियो । त्यसपछि ३, ४ र ५ भाग एकैदिन प्रसारण गरियो । तीनवटा भाग एकैदिन प्रसारण गर्दा महजोडीले करिब ८०० रुपैयाँ घाटा समेत व्यहोर्नुपर्‍यो ।

Royal Enfield Island Ad

देशमा पञ्चायतविरुद्ध आन्दोलनकै बीच ‘१५ गते’ले अपेक्षित लोकप्रियता हासिल गर्‍यो । राजारामले भने सोचेभन्दा बढी ख्याति कमाए । यही सिरियलदेखि हो, आमपब्लिकले राजारामलाई चिनेको । उनको ह्युमरको पहिचान भएको । मन पराइएको ।

तेस्रो भागको प्रसारण थियो । साँझ छिप्पिसकेपछि प्रसारण सुरु हुन्थ्यो । त्यो समय राजाराम त्रिपुरेश्वरमा साथीको घरमा थिए । उनले साथीलाई भने– १५ गते प्रसारण हुने बेला भयो, घर गएर हेर्छु । 

तर, मोटरसाइकलले धोका दियो । जति किक हाने पनि स्टार्ट भएन । उनी फर्किएर साथीकै घरमा पसे । 

‘१५ गते’ सुरु भयो । राजारामसहित चारजना थिए, टीभी कोठामा । त्यो साथी र उनकी श्रीमती, त्रिपुरेश्वरकै अर्का साथी र राजाराम ‘१५ गते हेरिरहेका थिए । 

जब ‘१५ गते’को प्रसारण सुरु भयो, राजाराम छक्क परे । 

किन ? 

“यसो टीभी हेर्छु, उनीहरूलाई पुलुक्क हेर्छु, ज्यान गए कोही हाँस्दैन,” राजाराम सम्झिन्छन्, “सबैको अनुहार हेर्छु, डल छ । केही रेस्पोन्स छैन ।” 

‘१५ गते’ सकियो । मोटरसाइकलको प्लग निकालेर सफा गरे । स्टार्ट भयो । 

घर आएर सबैभन्दा पहिला श्रीमतीलाई सोधे– आजको भागको रेस्पोन्स कस्तो छ ? 

‘एकदम राम्रो भा’को छ ।’

तर, राजारामलाई लाग्यो– श्रीमान्ले गरेको काम श्रीमतीलाई जे गरे पनि राम्रो लाग्छ नि ! 

अर्को दिन नियमित दिनचर्या सुरु भयो । घर (नक्साल)बाट राजाराम निस्किए । पुतलीसडकको ट्राफिक जाममा परेका थिए । पद्यकन्या क्याम्पसमा पढ्ने विद्यार्थी बाटो काटिरहेका थिए । साथीहरूसँग बाटो काटिरहेकी एक युवतीले भनिन्– आबुइ ! १५ गतेमा खेल्ने मान्छे होइन ! 

पुतलीसडकको ट्राफिक जामबाट सुरु भएको रेस्पोन्स विस्तारै फैलिँदै थियो । “गाइँगुइँ गाइँगुइँ हल्ला हुँदै व्यापक नै राम्रो भयो,” राजाराम भन्छन् । उनको एक्टिङ करिअरको यो नै ट्रनिङ पोइन्ट बन्यो । 

खुसीलाई धुमिल बनाउने खबर
‘१५ गते’बाट राजाराम अभिनयमा अब्बल दरिए । आमदर्शकले चिन्न थाले । अब यस्ता टेलिसिरियल र सिनेमाबाट पनि अफर आउला भन्ने अपेक्षाको पारो माथि उक्लिरहेको थियो । त्यही बेला आएको एउटा खबरले उनलाई निराश बनायो ।

के थियो खबर ? 

पाटन, गाःबहालमा एक वृद्ध ‘१५ गते’ हेर्दाहेर्दै बितेछन् । 

कसरी ?   

“पलङमा बसेर टेलिसिरियल हेरिरहेका थिए रे, टेलिसिरियल हेरेर हाँस्दाहाँस्दै सफोकेसन भएर पलङबाट लडेछन् । हस्पिटल लाँदालाँदै बाटैमा मृत्यु भएछ,” राजाराम भन्छन्, “यस्तो दुःखद घटना पनि घट्यो । तर, मलाई र किरण केसीलाई चिनाउने यही टेलिसिरियल हो ।”

खाल्डो र राजाराम
‘१५ गते’मा राजारामलाई खाल्डोमा हाल्ने सिन थियो । त्यसका लागि अघिल्लो दिन नै खाल्डो खनेर तयार पारियो । रातभर पानी पर्‍यो । बिहान छायांकनका लागि जाँदा खाल्डोभरि पानी थियो । फेरि अर्को खाल्डो खनेर छायांकन गरिएको थियो ।

अन्तिम सिन सम्झिए उनले । गर्मी ठाउँ, किरण केसीले लखेटेको लखेट्यै – राजाराम भागेको भाग्यै गर्ने सिन थियो । “१५ गते हेर्ने धेरैलाई थाहा पनि होला, म कल्भर्टमुनि लुक्ने सिन छ । त्यो स्क्रिप्टमा थिएन । हरिवंशले भन्नुभयो– यहाँ पनि गरौँ एक सिन,” राजाराम सम्झिन्छन्, “कल्भर्टमुनि हेरेको यस्तो फोहोर थियो, कसरी जाने ? मैले सोधेँ, ‘यहाँ त एकदम फोहोर छ, के गरी जाने ?’ हरिले भने, ‘जाऊ, अहिले फोहोर भएर केही हुन्न ।’ हरिले भनेजस्तै पछि त्यो सिन निकै राम्रो भयो ।” 

कस्तो रमाइलो !
पुस मसान्तको दिन छायांकन सकियो । इटहरी आएर बसे । हुस्सुले सहर पूरै छोपेको थियो । पाँच मिटर पर पनि देखिँदैन थियो ।

ड्राइभरले भने– गाडीमा फग लाइट नफेरी चलाउन नसकिने भयो । लाइट खोज्दै जाँदा किरण केसीले साइकल पसल देखेछन् । 

“किरणले त्यो साइकल पसलको साहुजीलाई भन्यो, ‘मलाई ७० देखि ८० वटा नयाँ साइकल चाहिएको छ ।’ उसले रातभर बसेर साइकल फिटिङ गरेछ,” राजाराम भन्छन्, “बिहान हामी काठमाडौं फर्किंदा ती साहुजीले चाङ लगाएर ७०/८० वटा साइकल राखेका थिए । केही हतारहतार फिटिङ गरिरहेका थिए । किरण र मैलै गाडीको झ्यालबाट चियाएर हेर्‍यौँ । तर, उसले हामीलाई देखेन । सायद साँझैसम्म हामीलाई कुरेर बसिरहे होला !” 

महेन्द्रको सालिकमा...
आफ्नो जीवनकालका राजा महेन्द्र शाहको जन्मजयन्तीको दिन थियो । धनुषाको ढल्केबर चोकमा आएपछि चालकले गाडी रोके । महेन्द्रको सालिकमा माला लगाएर, फलफूल चढाएर पूजा गर्नेहरूको भीड थियो । 

त्यहाँ पनि किरणको उपद्रो देखे राजारामले । गाडीबाट ओर्लिएर किरणले सालिकलाई ढोगे । “किरणले सालिकलाई ढोग्यो । र, त्यहाँ चढाएको फलफूल–सुन्तला, केरा छोडाउँदै राजाको प्रसाद भन्दै गमगम खायो,” राजाराम भन्छन्, “पूजा गर्दै गरेका मान्छे सबै हेरेको हेर्‍यै भए, कसैले एक शब्द कोही बोलेन ।”

किरणलाई पशु अस्पताल 
५० को दशकको सुरुतिर ‘सिखर साँझ’ कार्यक्रमको सिलसिलामा महजोडीसहित राजाराम र किरण केसी धनगढी पुगेका थिए । मेचीबाट सुरु भएको कार्यक्रम धनगढीमा हुँदै थियो । बिहानै उठेर गायक प्रकाश श्रेष्ठ र राजाराम ब्याडमिन्टन खेलिरहेका थिए । 

किरण केसी आएर भने– दाइ, हस्पिटल जाऊँ न ।

‘के भयो ?’

‘पेट दुखिरहेको छ ।’

राजाराम प्रायः सधैँ फर्स्ट एड बक्स बोकेर हिँड्थे । पेट दुखेको निको पार्ने औषधि दिँदै भने– यो खाऊ, निको भएन भने जाऊँला ।

ट्याबलेट खाएको पाँच मिनेट पनि भएको थिएन । किरणले फेरि भने– दाइ, निको भएन, अस्पताल जाऊँ न । 

औषधिले काम गर्न पनि त समय लाग्छ । आधा घण्टासम्म पनि निको भएन भने जाऊँला– राजारामले किरणलाई सम्झाए । 

किरणले मदनकृष्णलाई भनेछन्– मदन दाइ, राजाराम दाइलाई अस्पताल जाऊँ भनेको मान्नु भएन । तपाईंले भनेको मान्नुहुन्छ, भन्दिनुपर्‍यो । 

राजारामलाई मदनकृष्णले भने– राजाराम, यो किरणले हैरान पार्‍यो, मनमा शान्ति पनि हुन्छ, नजिकै कता छ, हस्पिटल लगेर ल्याइदेऊ न त ! 

राजाराम अगाडि लागे । किरणले पछ्याए । राजाराम एउटा घरको कम्पाउन्डभित्र छिरे । किरणले भने– कस्तो फोहोर र’छ, है दाइ ? 

‘जिल्लातिरका अस्पताल यस्तै त हो,’ राजारामले भने ।

कम्पाउन्डभित्र पस्नेबित्तिकै डाक्टर भेटिए । डाक्टरले राजारामलाई चिनेका रहेछन् । देख्नेबित्तिकै भने– ओहो, सर तपाईं हाम्रोमा ! किन आउनुभयो ? 

‘डक्टरसाब, मेरो साथी पेट दुखो भनिरहेको छ, त्यसैले चेक गर्न लिएर आएको,’ राजारामले भने । 

‘ओहो, यो त पशु अस्पताल पर्‍यो !’

‘मान्छेको औषधिले नछोएर यहाँ ल्याएको !’

“त्यहाँदेखि किरणले मलाई लखेटेको होटेलसम्मै लखेट्यो । मैले पशु हस्पिटलको बोर्ड देख्ला भनेर उसलाई अन्तअन्तै देखाएर त्यहाँ पुर्‍याएको थिएँ,” राजाराम हाँस्दै विगतका उटपट्याङ सुनाउँछन्, “होटेल पुग्दा प्रकाश श्रेष्ठ, हरिवंश, मदन दाइ होटेलकै कम्पाउन्डमा हुनुहुँदो रहेछ, म भागेको, किरणले लखेटेको देखेपछि उहाँहरूले सोध्नुभयो, ‘के भयो ?’ मैले भनेँ, ‘किरणले मलाई पशु हस्पिटल लान भन्यो ।’ त्यसपछि मदन दाइ हरिवंशलगायत सबैजना लडीबुडी गरेर हाँस्न थाल्नुभयो ।”

सरोजसँगको किस्सा
बन्दीपुरमा चलचित्र ‘सान्नानी’को छायांकन थियो । त्यहीँका एक स्थानीय व्यापारीसँग उनीहरूको भेट भयो । काठमाडौंबाट आफ्नो पसलका लागि सामान किनेर आएका ती व्यापारीले राजारामसहित सरोज खनाल र अर्का एक कलाकारलाई डिनरका लागि बोलाए ।

उनले राजारामको छेउमा झोला राखे । राजारामले ती व्यापारीको झोलामा अस्थायी साधन ढालको प्याकेट देखे । उनले भने– दाइ, मलाइ यो दिनु न ।  

व्यापारी : किन चाहियो तपाईंलाई ? 

राजाराम : के किन नसोध्नुस्, दिनु न ।

राजारामको आग्रह व्यापारीले टार्न सकेनन् । दिए । सरोजसहित अरू व्यक्ति डिनर खाएकै ठाउँमा बसिरहेका थिए । राजाराम एक्लै कोठामा फर्किए । उनले सरोजको हाफपाइन्ट झुन्ड्याएको देखे । त्यही खल्तीमा ढाल राखिदिए ।

राजाराम र सरोजसहितको टोली त्यसको दुई दिनपछि काठमाडौं फर्कियो । 

भोलिपल्ट बिहानै राजारामलाई सरोजको फोन आयो । सरोजले राजारामलाई भने, ‘तपाईंले मेरो खल्तीमा केही हाल्दिनुभएको थियो ?’

‘छैन ।’ 

‘हालेको होला, सम्झिनु न ।’

‘के हाल्दिएँ र, मलाई त याद छैन त !’

‘हे, होला हौ ! सम्झिनु न ।’

‘ए, अँ अँ सम्झिएँ, अस्थायी साधन हो ? मैले नै हो राखिदिएको ।’

‘सूर्यमाला रिसाएर यहाँ मसँग रन्किरा’छ, मैले उटपट्याङ गरेको हो भनेर भन्दिनु न ।’

‘ए, ल ल, खोइ देऊ त फोन ।’

सूर्यमालासँग राजारामले कुरा गरे । अन्तिममा सूर्यमालाले सरोजलाई फोन दिइन् ।

राजारामले सरोजलाई भने– मैले सम्झाइदिएको छु, अब ठिक हुन्छ । 

“हामी फर्किएको भोलिपल्ट बिहान सरोजकी श्रीमती सूर्यमाला बाथरुममा लुगा धुन पस्नुभएको रहेछ । सरोजले बाहिरबाटै उनी रोएको सुनेपछि सोध्नुभएछ– के भयो तिमीलाई ?,” राजाराम उट्पट्याङ सम्झिन्छिन्, “सरोजले सोधे पनि सूर्यमाला बोल्नु भएनछ । पटक–पटक सोधेपछि उहाँले फुत्त ढाल फालिदिनुभएछ ।”

सरोज जिल परेर सोचेछन्, कहाँबाट आयो यो मेरो खल्तीमा ! यस्तो उटपट्याङ गर्ने त राजाराम दाइ मात्रै हो । रुममेट पनि भएकाले राजारामले नै हो भन्दै उनलाई फोन गरेका रहेछन् । त्यसपछि राजारामले म सम्झाइदिन्छु भन्दै सरोजसँग फोन मागेको सम्झिए । 

“खोइ सूर्यमाला, मैले त भनेको हो, यस्तो नगर भनेर ! तर, सरोज मान्दै मान्दैन । छोडदेऊ, कलाकार मान्छे हो, यस्तो भइहाल्छ नि भनेर सूर्यमालालाई भनेँ,” राजाराम भन्छन्, “मेरो फोनपछि सूर्यमाला र सरोजको डिभोर्स नै होलाजस्तो भयो । मैले पनि त्यो तहमा सम्बन्ध पुग्ला भन्ने त सोचेको थिइनँ । सरोजको गोजीमा ढाल भेटिएको थियो, चार/पाँच महिनामा घर आउने, त्यो’नि त्यस्तो भेटिएपछि त झगडा त हुने नै भयो ।”

पछि राजारामसहित निर्देशक शैलेश आचार्यलगायत व्यक्तिलाई बोलाएर वास्तविकता बताएपछि मात्र सूर्यमालाले पत्याएको र उनीहरूको सम्बन्ध सौहार्द भएको राजाराम सुनाउँछन् ।

छुकछुके राजाराम
राजाराम सेटमा चुप लागेर बस्न सक्तैनन् । छुकछुक छुकछुक गरिरहन्छन् । दिनहुँ लामो नाइट सुटिङ नै किन नहोस्, उनी रातभर सुत्दैनन् । आफू त उनी सुत्दैनन् नै, अरूलाई पनि सुत्न दिँदैनन् । पानी छ्यापेर होस् वा काउकुती लगाएर उनी उठाउँथे ।

“के गरेको दाइ भनेर उनीहरू रिसाउँथे । म भन्थेँ– राति सुतेर काम राम्रो हुँदैन । अनुहार र आँखा रातो हुन्छ । उठ्नेबित्तिकै दिमाग फ्रेस हुँदैन, फ्रेसमा नगरेको काम राम्रो पनि हुँदैन भन्थेँ,” उनी भन्छन् । 

उनले ०३९ सालदेखि सिनेमा खेल्न थाले । कति चलचित्रमा काम गरे ? “यो त डकर्मीलाई घर बनाउँदा कतिवटा इँटा लगाउनुभयो भनेजस्तो भयो,” राजाराम भन्छन्, “०३९ बाट बीचमा सात वर्ष काम गरिनँ । बाँकी काम गरिरहेको छु । यति नै भन्ने यकिन संख्या त छैन, तर डेढ/दुई सय नाघ्यो होला । टेलिफिल्मको पनि संख्या गन्ने हो भने त ३०० नाघ्यो होला ।”

दर्शकको माया
यतिका सिनेमा खेलेर कति पैसा कमाए, त्यो त राजारामको निजी कुरा भयो । सोध्न मिलेन ! तर, उनले कमाएको देखिने सम्पत्ति दर्शकको माया हो । त्यो हरेक सुटिङ सेटमा देखिन्छ । उनलाई सिनेमाका लागि आउने अफरले पुष्टि गर्छ । 

“कतिपय कलाकारका फ्यान उमेरअनुसारका हुन्छन्, कसैका युवा त कसैका वृद्धवृद्धा । तर, मेरा दर्शकमा एजबार देखिँदैन । वृद्ध हुन् वा युवापुस्ता मलाई सबैैले मन पराउनुहुन्छ,” उनी भन्छन्, “म मात्रै होइन, हामी हास्यकलाकार जोसुकैका पनि सबै उमेरका दर्शक हुनुहुन्छ । यहाँ मात्रै होइन, विदेशमा जाँदा पनि मेरो घरमा आइदियोस्, मेरो घरमा खाइदियोस्, मेरो घरमा बसिदियोस् भन्नुहुन्छ ।”

राजारामले कलाकारिता सुरु गर्दा इन्टरनेट त के मोबाइलको युग पनि सुरु भएको थिएन । कलाकारलाई हेर्न सुटिङस्थलमा सयौँ मानिसको भीड लाग्थ्यो । टाढाटाढाबाट हिँडेर कलाकारलाई हेर्न भनेर स्थानीय आउँथे । अहिले समय फेरियो । मोबाइल र इन्टरनेटको युग सुरु भयो । मन परेको कलाकार देख्यो कि सेल्फी खिच्यो, फेसबुकमा पोस्ट गरिहाल्यो ।

केही महिनाअघि उनी ‘ऐँचो पैँचो’को छायांकन गर्न मोरङको मधुमल्ला पुगेका थिए । “त्यहाँका स्थानीयले मसँग यति धेरै फोटो खिच्नुभयो, सँगै रहेका हिरो–हिरोइनसँग पनि मसँगजति तस्बिर खिचाउनु भएन होला,” राजाराम भन्छन्, “हामी हास्यकलाकारलाई स्थानीयले आफ्नै घरमा लगेर आफ्नो घरमा दही, मही, दूध जे छ श्रद्धाले खुवाउनुहुन्छ । हामीले कमाएको यही माया हो ।” 

‘म गरिबको घरमा...’
वर्ष कहिले थियो, फिल्म हो वा टेलिफिल्म, त्यो त उनको सम्झनामा रहेन । तर, त्यसको छायांकनमा घटेको घटना उनलाई याद छ । 

काठमाडौंको मनमैजुमा छायांकन भइरहेको थियो । लोडसेडिङ भयो । चार घण्टाका लागि काम रोकियो । राजाराम बसिरहेका थिए । एकजना मान्छे आएर भने– दाइ, आज मेरो घरमा खाना खान जाऊँ न ।
 
‘हैन, म जान्नँ । जाऊँ भन्नुभएकोमा धन्यवाद !’

“ती व्यक्तिले मलाई खुब कर गरे । तर, मलाई अरूकोमा गएर खान साह्रै अप्ठ्यारो लाग्छ,” राजाराम भन्छन् ।

ती व्यक्तिले फेरि राजारामलाई भने– दाइ, म गरिब मान्छे – मेरो घरमा मासु त पाकेको छैन, तर आज मेरो घरमा रायोको सागको झोल र भात छ, जाऊँ न दाइ ।

ती व्यक्तिले यति भनेपछि राजाराम द्रवीभूत भए । उनको मन कटक्क भयो । आङ सिरिंग भयो । “उहाँले मेरो घरमा मासु, पुलाउ, बिरयानी पका’को छ भनेको भए म जान्नँ थिएँ, तर जब उहाँले म गरिब... भनेर सागको झोल र भात छ भन्नुभयो, मेरो मन साँँच्चै छियाछिया भयो । साँच्चै श्रद्धाले बोलाउनुभएको रहेछ भन्ने भयो । म गइनँ भने अपमान हुन्छ भनेर भनेँ– ल हिँड्नुस्, जाऊँ,” राजाराम आफूले जिन्दगीमा कलाकर्मले कमाएको दर्शकको माया सम्झिन्छन्, “दाउराको आगोमा फलामको कराहीमा पिठो हालेर पकाएको साग र भात पिरामा बसेर खाएँ । त्यति मिठो मलाई कहिल्यै लागेको थिएन ।”

रवि लामिछानेसँग नाटक
उनले अमेरिकामा सात वर्ष बिताए । त्यसबीचमा त्यहाँ धेरै कार्यक्रम त भएन, तर उनले जति गरे, स्मरणीय रहे ।

रवि लामिछानेसँग मिलेर एउटा नाटक गरे राजारामले । ‘कौन बनेगा करोडपति’ झल्काउने नाटक थियो, त्यो । रवि अमिताभ बच्चन बन्दै थिए, राजाराम उक्त कार्यक्रमको प्रतिस्पर्धी । रवि बस्थे बाल्टिमोर । राजारामको बसाइ यिथो, भर्जिनिया । भेटेर रिहर्सल गर्न सम्भव थिएन ।

“उहाँ पनि काम सकेर अबेर साँझ घर फर्किनुहुन्थ्यो । म पनि अबेर कोठा पुग्थेँ,” राजाराम भन्छन्, “अनि हामी फोन गर्थ्यौँ । र, फोनमै रिहर्सल गर्थ्यौँ ।”

कार्यक्रम गर्ने दिन आयो । राजराम र रवि स्टेजमा पुगे । त्यहीँ भेट भयो उनीहरूको । एक महिलाको पनि रोल थियो । तर, कसलाई खेलाउने थाहा थिएन ।

राजारामले कार्यक्रम हेर्न आएका दर्शकदीर्घामा हेरे । कसले गर्न सक्ला, यसो अनुहार हेरे । देखेका मध्ये एक महिलालाई बोलाएर सोधे– तपाईं अभिनय गर्नुहुन्छ ? 

ती महिलाले भनिन्– गर्छु दाइ । 

भित्र लगेर राजारामले आधा घण्टा उनको रोल सम्झाए । गर्नुपर्ने के थियो, स्क्रिप्ट दिएर रिहर्सल गराए । सहज के थियो भने उनी स्टेजमा देखिनुपर्ने थिएन । राजारामसँग फोनमा कुरा गर्नुपर्ने थियो ।

“आधा घण्टा सिकाएकै भरमा उहाँले यस्तो राम्रो अभिनय गर्दिनुभयो, मैले त्यति गर्नुहोला भन्ने सोचेकै थिइनँ,” राजाराम भन्छन्, “मसँग बोल्दा रुनुपर्ने थियो, त्यो पनि फिलिङ्ससहित । उहाँले यति राम्रो गर्नुभयो, पछि बेलाबेला त्यस्तै कार्यक्रममा उहाँसँग भेट पनि हुन्थ्यो ।”

दीलिप कुमारको ७० टेक
चलचित्र ‘अधिकार’मा राजाराम पनि अनुबन्ध भएका थिए । सुटिङ बालाजु स्टुडियोमा थियो । निर्देशक थिए, प्रकाश थापा – जसलाई नेपाली सिनेमा इन्डस्ट्रीमा सबैले भन्थे– बाघ निर्देशक । महाबौद्धमा चलचित्रको अफिस थियो । राजारामसँग सवारीसाधन थिएन । प्रकाशले भने, भोलि बिहान यहीँ अफिसमा आउनू, सँगै जाऊँला ।

प्रकाशले दिएकै समयमा राजाराम महाबौद्ध पुगे । तर, अफिसको मेन गेटमै ताल्चा लगाइएको थियो । वीर हस्पिटलको इमरजेन्सी छिरेर निर्देशक प्रकाशलाई फोन गरे । प्रकाशले भने– तिमी त्यहीँ बस्दै गर, म लिन आउँछु ।

डाक्टरले चिया मगाए । गफ चलिरहेकै बेला डक्टरले भने– कहिलेकाहीँ त कस्तो है, फिल्ममा राखे पनि नपत्याउने घटना घट्छ !

‘के भयो र ?’

‘ल ! तपाईंलाई थाहा छैन ?’

‘छैन, के भयो र ?’

‘सन्तोष पन्तको त्यस्तो भयो नि !’

‘अँ, उहाँको छोरीको त्यस्तो (मृत्यु) भयो भन्ने सुनेको थिएँ ।’

‘त्यति मात्रै हो र ?’

‘के भयो र अरू ?’

‘छोरीको पोस्टमार्टम गरेर घाट लाँदा उहाँको काका (गोपालराज पन्त)लाई विश्वज्योति हलको छेउमा गाडीले हानेर उहाँको स्पट डेथ भयो ।’

‘लोभीपापी’मा सँगै काम गरेको व्यक्ति, झलझली सम्झिए राजारामले ।

‘हो र ! डेथ बडी लगिसक्यो ?’ 

‘छैन, बाहिर छ ।’

राजाराम दौडिएर बाहिर गए । शव सेतो कपडाले छोपेर राखिएको थियो । हात लथरक्क झुन्डिएको, जनै देखिरहेको थियो ।

“मेरो दिमागमा अचानक बादल लागेजस्तो भयो । केही सोच्नै, सम्झिनै सकिनँ,” राजाराम भन्छन्, “त्यत्तिकैमा प्रकाश थापा लिन आउनुभयो । डाइरेक्टर साब, यस्तो यस्तो भयो, मैले त केही सोच्नै सकेको छैन– भनेँ । उहाँले भन्नुभयो– यस्तै हो, काममा ध्यान देऊ ।” 

स्टुडियो पुगे । पहिलो सिन नै राजाराम र राजेश हमालको थियो । एकदुई हुँदै सात टेक लिए, ओके भएन । सात टेक गएपछि राजारामले भने– डाइरेक्टर साब, सरी है । मैले आजसम्म यसरी टेक लिएको थिइनँ, आज बिहानको घटनाले मेरो दिमागले काम गरेको छैन ।”

प्रकाशले भने– तिमी किन नर्भस भ’को ? एउटा फिल्ममा दिलीप कुमारले ७० टेक खा’को छ । तिमी सय टेक खाऊ, केही फरक पर्दैन ।’

‘बाघ निर्देशक’ प्रकाशले अब झपार्ने भए भन्ने सोचेका राजारामले जब उनको प्रतिक्रिया पाए, छक्क परे । “प्रकाश डाइरेक्टर साबको कुरा सुनेर मेरो दिमागमा बिहानदेखि लागेको बादल स्वाट्टै फाट्यो,” उनी भन्छन्, “उहाँले गाली गरेको भए म झन् नर्भस हुन्थेँ होला । तर, जब उहाँले दिलीप कुुमारले ७० टेक खा’को थियो भन्नुभयो, मेरो दिमाग फ्रेस भयो । आठौँ टेक बिग्रियो, नवौँ टेक ओके भयो ।”

मनमौजी डान्स
कुनैमा छोटो सिन कुनैमा लामो । मुख्य रोलमा पनि राजारामले काम गरेका छन् । गीतमा हिरोइनसँग डान्स समेत गर्नुपर्छ । राजारामले डान्स सिकेका छैनन्, तर सिनेमामा नाच्नु त पर्छ ।  

कसरी ? 

“म सुरुमै डान्स डाइरेक्टरलाई भन्छु– तपाईंले सिकाएकै स्टेप गर्ने हो भने मलाई एक महिना लाग्छ, स्टेप म जान्दिनँ,” राजाराम सुनाउँछन्, “म सुरुमै भन्छु– सकेसम्म म तपाईंहरूले सिकाएकै गर्छु, भएन भने मेरो आफ्नै पारा आउँछ ।” कोरियोग्राफरले ‘हुन्छ, गर्नुस्’ भन्छन्, राजारामलाई सहज हुन्छ । उनलाई कसैले डान्स नै सिकाउँदैन ।

“सिनेमामा महिना दिन लाग्यो भने के हुन्छ ?,” कहाँ पक्रियो भने सहज हुन्छ भन्ने राजारामलाई थाहा छ, त्यसै गर्छन् । उनी भन्छन्, “फेरि, हामीले राम्रो नाचेको राम्रो पनि हुँदैन । हिरो/हिरोइनले जस्तो राम्रो नाच्यो भने राम्रो देखिँदैन । हामीले नराम्रो नाचेकै राम्रो देखिन्छ ।”

बिनास्क्रिप्ट अभिनय
राजारामलाई सिनेमाबाट अफर आउँछ । उनी कथाको जिस्ट के हो सोध्छन्, त्यति भए पुग्यो । “म कहिल्यै कसैसँग स्क्रिप्ट माग्दिनँ । मलाई छोटो रोल मन पर्छ । लामो गर्दैमा राम्रो, छोटो गर्दैमा नराम्रो भन्नेमा मेरो विश्वास छैन,” उनी भन्छन्, “आजसम्म मैले कुनै सिनेमाको स्क्रिप्ट मागेर घर ल्याएको छैन । सेटमा गएर सिचुएसन के हो सोध्छु, डाइलग के हो हेर्छु । एकदुईपटक रिहर्सल गर्छु, क्यामेरा फेस गरिहाल्छु ।”

त्यही भएर त हो, उनलाई आफूले काम गर्दै गरेको सिनेमाको कथा के हो थाहा हुँदैन । सुटिङ सेटमा कसैले सिनेमाको कथा के हो भनेर सोधे उनी भनिदिन्छन्– मलाई पनि थाहा छैन ।

त्यसैले छायांकनको लामो समयपछि सिनेमा रिलिज भए आफैँले के गरेको छु भन्ने पनि उनी बिर्सिन्छन् । सामान्य दर्शकले हेरेसरह नै हुने गरेको उनी सुनाउँछन् ।

सात कान्लामुनि...
चलचित्र ‘माइली’को छायांकन थियो । राजेश हमाल हिरो । राजेश जीप चलाइरहेका थिए । उनले ‘हामफाल’ भन्नुपर्ने थियो । तर, राजारामले नमान्ने र राजेशले ठेलेर खसालदिने सिन थियो ।

कहाँनेर खस्दा ठिक हुन्छ भनेर सुरुमा गएर हेरे । क्यालकुलेसन गरे । यहाँनेर ठिक होला भनेर पक्कापक्की गरे । क्यामेरा अन भयो । अभिनय सुरु भयो । राजेशले जीप चलाउन थाले । राजारामलाई ‘हामफाल’ भने । राजाराम मानिरहेका थिएनन् । स्क्रिप्टअनुसार नै राजेशले राजारामलाई जीपबाट बाहिर हुत्याइदिए ।

“राजेशजीले हुत्याइदिएपछि म खसेँ । पहिला हेर्दा म कहाँसम्म खस्ने भनेर हेरेको ठाउँमा त म रोकिन सकिनँ,” उनी भन्छन्, “म त पुल्टिङ पुल्टिङ गुड्दै सात कान्ला तल पुगेँ । भीम राना क्यामेरामेन हुनुहुन्थ्यो, उहाँले गनेरै म सात कान्ला तल पुगेको खिच्नुभएछ ।” धन्य ! बारीमा ढुंगा र दाउरा केही रहेनछ, केही भएन ।

‘मिलाएर गर्दिनुपर्‍यो’
‘सयकडा दश’को अफर आयो । कथा उनलाई मन पर्‍यो । ‘कथा त गज्जब छ त, देशले बनाउनुपर्ने,’ उनले भने । प्रोडुसरले भने– लगानी गर्ने त ?

‘गरौँ न त,’ उनले भने । लगानी पनि गरे । तर, लगानी मात्र भयो, आर्थिक प्रतिफल भएन । त्यसपछि उनले कान समाते, लगानी गर्न ।

सिनेमाका लागि थुप्रै अफर आउँछन् । निर्देशक, निर्माता, कलाकार फरकफरक हुन्छन् । कथा बेग्लै हुन्छ । सबैको एउटा कुरा भने मिल्छ ।

के कुरा ? 

‘हामी दुःख गरेर यो फिल्म बनाउँदै छौँ, पारिश्रमिकचाहिँ हेर्दिनुपर्छ है ।’ 

“हामीसँग प्रशस्त बजेट छ, कति लिनुहुन्छ भनेर सोध्ने कोही आएका छैनन्,” उनी हाँस्दै भन्छन्, “मेरो जिन्दगी सिनेमामै बित्यो, तर कोही निर्माता मसँग टन्नै पैसा छ, कति लिने दाइ भनेर कोही आएका छैनन् भन्छु, सबै हाँस्छन् ।” उनी त झन् हास्यकलाकार न परे, उनीहरूको हाँसोमा हाँसो मिसाइदिन्छन् ।

यो पनि पढ्नोस्–

यसरी भएका थिए सरोज एकै रातमा सुपरस्टार

दीपकराज गिरीको त्यो ‘वाणी’ जसले स्वस्तिमालाई झस्काइरहन्छ

पटक–पटक मृत्युको मुखमा पुगेर फर्किएका दयाहाङ

रेखा थापाको त्यो भयानक क्षण

निखिल उप्रेतीको सुटिङ अनुभव– सात तलाबाट हामफाल्दा आफैँलाई दबाबमा राखेको थिएँ

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १०:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro