
काठमाडौं । सन् १९८७ मा जब शेखर कपूरको फिल्म ‘मिस्टर इन्डिया’ रिलिज भयो, त्यसका खलनायक अमरीश पुरीले नायकले भन्दा धेरै ध्यान खिचे ।
‘मोगाम्बो’लाई बलिउडको इतिहासमा एक कोसेढुंगा पात्र मानिन्छ । “मोगाम्बोले आफ्नो व्यक्तित्वमा सबै प्रकारका खलनायकहरूलाई चित्रण गरेका थिए । तर, उनी महिलाहरूविरुद्ध हुने हिंसालाई मन पराउँदैनथे । आफूतिर ध्यान आकर्षित गर्ने उनको तरिका बिल्कुलै फरक थियो,” बालाजी विट्टल आफ्नो पुस्तक ‘प्योर इभिल द ब्याडमेन अफ बलिउड’मा लेखेका छन्, “उनका गुन्डाहरूलाई हिटलरको शैलीमा ‘नरक मोगाम्बो’ भन्न लगाउनु र हरेक जघन्य अपराधपछि ‘मोगाम्बो खुस हुआ’ भन्नुले दर्शकको नजरमा उनको दुष्टता कम भयो । र, दर्शक उनको शैलीमा ताली बजाउन बाध्य भए ।”
पञ्जाबको नवाँसहरमा जन्मिएका अमरीश पुरीले सिमलाको बीएम कलेजबाट आफ्नो स्कुले शिक्षा हासिल गरे । ५० को दशकमा उनी मुम्बई सरे, त्यहाँ उनका दुई भाइ मदन र चमन पुरीले पहिले नै चलचित्रमा काम गरिरहेका थिए ।
अभिनयमा ‘ब्रेक’
टोपी, चौडा काँध, अग्लो कद र प्रभावशाली आवाज अमरीशको ट्रेडमार्क थियो । अमरीशलाई भारतीय रंगमञ्चका प्रसिद्ध व्यक्तित्व अल्काजीले पहिलो ‘ब्रेक’ दिए ।
एक साथी एसपी मेघनानीले उनलाई अल्काजीसँग भेटाउन लगे । अमरीशले आफ्नो आत्मकथा ‘द एक्ट अफ लाइफ’मा लेखेका छन्, “पाँच मिनेटभित्रमा अल्काजीले मलाई एउटा स्क्रिप्ट दिएर अपार आत्मविश्वासले भरिदिए । लामो करिडोरको अर्को छेउमा रहेको उनको डेस्कतिर जाँदा मलाई थाहा थियो, उनी मलाई ध्यानपूर्वक हेरिरहेका थिए । उनले मलाई सोधे– तिमीलाई थिएटरमा रुचि छ ? मैले ‘हो’ भन्नासाथ उनी निहुरिए र स्क्रिप्ट निकाले । उनले मलाई आर्थर मिलरको नाटक ‘अ भ्यु फ्रम द ब्रिज’मा मुख्य भूमिकामा खेल्न भने ।”
यही नै उनको अभिनय करियरको कोसेढुंगा भयो । त्यसपछि अमरीशले पछाडि फर्केर हेर्नु परेन । त्यसपछि उनले विजय तेन्दुलकरको नाटक ‘सखाराम बाइन्डर’बाट ठूलो प्रसिद्धि कमाए ।
यो नाटकमा एक अविवाहित किताब बनाउने व्यक्तिको कथा थियो, जसले एक घरबारविहीन महिलालाई घर ल्याउँछ । र, उनीसँग सम्बन्ध राख्छ ।
यो नाटकमा पुरीलाई फोहोर र अश्लील शब्दहरू प्रयोग गरेको देखाइएको थियो । यो नाटकको कडा विरोध भएको थियो । यसमा महिलाको शोषण गर्ने व्यक्तिको कार्य कसरी जायज हुनसक्छ भनिएको थियो ?
अमरीश पुरीले लेखेका छन्, “महाराष्ट्रजस्तो राज्यका मानिसले विरोध गरेकोमा मलाई यो अचम्म लाग्यो । जहाँ रंगमञ्चको समृद्ध परम्परा छ, त्यहाँ यो नाटकलाई अश्लील ठानियो । यो दुर्भाग्यपूर्ण थियो, किनभने हामी सबैलाई थाहा छ कि जीवनमा अनुभव जतिसुकै कुरूप र स्तब्ध पार्ने किन नहोस्, रंगमञ्चमा यसलाई कलाका तहहरूमार्फत प्रस्तुत गरिन्छ ।”
अमरीश पुरीका अर्का गाइड र थिएटर गुरु सत्यदेव दुबे थिए । उनले अमरीशले भनेको सम्झिए, “अमरीशका लागि काम र रंगमञ्च एकैसाथ गर्नु सजिलो थिएन । उनलाई आफ्नो समय कसरी व्यवस्थापन गर्ने भन्ने थाहा थियो । उनको पारिवारिक जिम्मेवारी थियो । उनको बढ्दो परिवारको लागि अतिरिक्त पैसा पनि कमाउनुपर्थ्यो । रंगमञ्चले उनलाई पटक्कै तलब दिँदैनथ्यो । अन्ततः उनले चलचित्रप्रतिको प्रतिबद्धताको कारण नाटकमा आफ्नो काम घटाए । तर, त्यतिन्जेलसम्म उनले हिन्दी रंगमञ्चमा अन्य कुनै पनि अभिनेताभन्दा बढी योगदान दिइसकेका थिए ।”
दुबेले पनि अमरीशको धेरै विनम्र हुनुको विशेष गुणका बारेमा आफ्नो विचार राखेका छन् । “अमरीशले मबाट जति गाली पाएका थिए, त्योस्तरको गाली अरू कुनै कलाकारले पाएनन् । तर, यसले उनलाई कहिल्यै निरुत्साहित गरेन । उनको आत्मसम्मानमा चोट पुर्याएन,” उनले भने, “मैले एउटा कार्यशालामा भनेको थिएँ– महिलामा उनीहरूको समर्पणका कारण सिक्ने क्षमता बढी हुन्छ । अमरीश रंगमञ्चमा मैले भेटेको सबैभन्दा राम्रो महिला हुन् ।”
चलचित्रमा ब्रेक
श्याम बेनेगलले अमरीशलाई चलचित्रमा ब्रेक दिए । श्याम बेनेगलले अमरीशको नाटकीय प्रतिभालाई सम्मान गर्दै उनको सुरुआती चलचित्र मन्थन’, ‘निशान्त’ र ‘भूमिका’मा मौका दिए । परिणाम, श्याम बेनेगल र अमरीश समानान्तर सिनेमा जोडी बने । अमरीशले आफ्नो पहिलो चलचित्र ४० वर्ष पुग्न लाग्दा खेलेका थिए ।
श्याम बेनेगलले एक अन्तर्वार्तामा भनेका थिए, “म अमरीशका नाटकहरू हेर्थें । निशान्तलाई कास्ट गर्नुअघि म उनलाई साथीका रूपमा चिन्थेँ । निशान्तको लागि म एक धेरै प्रभावशाली व्यक्ति चाहन्थेँ । उनको व्यक्तित्वमा एक प्रभुत्व थियो, जुन पर्दामा बाहिर आयो । उनले आफ्नो काम यति राम्रोसँग गरे कि उनलाई पालिस गर्नु परेन ।”
अमरीशले ‘मन्डी’मा फकिरको भूमिका निभाएका थिए । यसमा उनले उत्कृष्ट अभिनय गरेका थिए । “युवा कलाकारसँग उनको धेरै राम्रो सम्बन्ध थियो । सरदारी बेगममा एक युवा अभिनेत्री स्मृति मिश्रा धेरै नर्भस थिइन् र राम्रोसँग अभिनय गर्न सकिरहेकी थिइनन्,” उनले भनेका छन्, “म रिसले चिच्याइरहेको थिएँ । तर, अमरीशले उनलाई धेरै प्रोत्साहन गरे । र, उनको आत्मविश्वास बढाए ।”
अमरीश आफैँले श्याम बेनेगलसँग काम गर्दा उनको सिने करिखर उकालो लागेको बताएका छन् । “श्याम देखाइँदै गरेको दृश्यको बारेमा धेरै स्पष्ट हुन्थे । र, आफ्ना योजनामा कुनै पनि हस्तक्षेप सहन सक्दैन थिए,” आत्मकथामा अमरीशले लेखेका छन्, “तर, यसको अर्थ यो होइन कि उनी सुझाव र सुधारलाई आत्मसात् गर्दैनन् थिए । उनका निर्देशनहरूमा कुनै पनि परिवर्तन गर्न मन लागे पहिले नै जानकारी गराउनुपर्छ ।”
अमरीश श्याम र गोविन्द निहलानी आफूबाट के चाहन्छन् भन्ने सधैँ प्रस्ट हुन्थे । “मलाई थाहा थियो कि उनीहरूले मलाई कसरी प्रस्तुत गर्नेछन् । उनीहरूले मलाई ठोस र अर्थपूर्ण भूमिका मात्र दिनेछन् । म अरू कसैसँग समानान्तर सिनेमा गर्न सक्दिनथेँ,” उनले लेखेका छन् ।
अमरीशले विजय तेन्दुलकरद्वारा लिखित धेरै नाटक र चलचित्रमा काम गरेका छन् । उनले थुप्र्रै पटक अमरीशको तारिफ गरेका छन् । “जब मैले पहिलोपटक अमरीशलाई स्टेजमा देखेँ, उनको काम गर्ने गतिले म आकर्षित भएँ । उनको आवाज पनि स्टेजको लागि एकदमै उपयुक्त थियो । उनले ‘सखाराम बाइन्डर’को अभिनयमा आफ्नो आत्मा लगाएका थिए,” अमरीशको प्रशंसा गर्दै उनले लेखेका छन्, “रंगमञ्चले उनलाई आकार दिएको थियो । उनको अभिनय यान्त्रिक थिएन । फिल्म ‘सुरजका सतवान घोडा’मा उनले यस्ता क्षणहरू सिर्जना गर्छन्, जसले तपाईंमा छाप छोड्छ ।”
अमरीशले आफ्ना अर्का निर्देशक गिरिश कर्नाडलाई ‘दार्शनिक नाटककार’ उपनाम दिएका थिए । “जब अमरीश रिहर्सल गर्दैनथे, उनी समूहबाहिर घुम्थे । सत्यदेव दुबेले उनलाई तालिम दिन्थे, निर्देशन गर्थे र गाली गर्थे,” गिरिश कर्नाडले आफ्नो आत्मकथा ‘द लाइफ एट प्ले’ मा अमरीशसँगको पहिलो भेटको सम्झना गर्दै लेखेका छन्, “जब मैले फिल्म ‘काडू’ निर्देशनको काम पाएँ, मैले अमरीशलाई लिएँ । कन्नड भाषाको उनको कमी फिल्मको लागि ठूलो बाधा बन्यो । उनी केही संवादहरू सम्झन घण्टौँसम्म प्रयास गर्थे, तर क्यामेरा खुल्नेबित्तिकै निराशाले निधारमा हिर्काउने गर्थे ।”
त्यसपछि आफूले अमरीशका निम्ति संवाद घटाएको उनले बताएका छन् । उनले भने, “मैले सम्पूर्ण फिल्ममा उनका संवादहरू ६ लाइनमा घटाउनुपर्यो । फलस्वरूप, उनी चलचित्र एक मौन पात्र बने । तर, धेरै कम संवादहरू भए पनि उनले आफ्नो अभिनयले सम्पूर्ण आत्मालाई फिल्ममा राखे ।” ‘काडू’ बक्सअफिसमा हिट भयो ।
‘तमस’को यादगार भूमिका
अमरीश पुरीमा क्षणलाई कैद गर्ने अद्भुत क्षमता थियो । उनका सहकर्मी र धेरै चलचित्रमा निर्देशक गोविन्द निहलानी सम्झन्छन्, “अमरीशले ‘तमस’मा अद्भुत काम गरेका छन् । यसमा उनले एक वृद्ध सिखको भूमिका निर्वाह गरेका छन्, जसमा लडाकु भावना छ ।”
यो चलचित्रको एउटा दृश्य, जसमा उनी आफ्नो नाती र बुहारीसँग बसेका छन् । उनका छोरा त्यहाँ छैनन् । “त्यो दृश्य अरू कुनै अभिनेताले गर्न सक्दैनथे । त्यो दृश्यमा उनले अर्दासका केही पंक्तिहरू पढ्नुपरेको थियो । उनले अर्दास कण्ठ गरे, तर सत्संगमा दिइने भाषण सम्झन सकेनन्,” उनले लेखेका छन्, “त्यसपछि हामीले एउटा बोर्ड राख्यौँ र त्यसमा त्यो अनुच्छेद लेख्यौँ । अमरीश त्यो अनुच्छेद उर्दुमा आफ्नै हस्तलेखनमा लेखेका थिए । हामीले बोर्ड फरक–फरक क्यामेराको स्थितिअनुसार राखेका थियौँ । अमरीशले त्यो सट एकैटेकमा दिए ।”
हिन्दी सिनेमामा ‘शो म्यान’ भनेर चिनिने सुभाष घईले उनलाई पहिलोपटक आफ्नो चलचित्र ‘क्रोधी’मा खलनायकको भूमिका दिएका थिए । “जब मैले ‘विधाता’ र ‘सौदागर’ फिल्म बनाएँ, मलाई दिलीप कुमारको अपोजिटमा एक शक्तिशाली अभिनेताको आवश्यकता थियो । मैले त्यो भूमिका अमरीशलाई दिएँ । उनले दुवै फिल्ममा आफ्नो उत्कृष्ट अभिनय दिए । म उनलाई एक अभिनेता मान्छु, जसले कहिल्यै आफ्नो निर्देशकलाई निराश पारेनन्,” सुभाष घई सम्झन्छन्, “जब उनी सेटमा थिए, सबै मित्रतालाई छोडेर उनले सधैँ निर्देशकलाई एक प्रशिक्षकका रूपमा हेरे । फिल्म ‘यादेँ’को छायांकनका क्रममा मैले उनलाई चिच्याएँ । तर, उनलाई यसमा नराम्रो लागेन । पछि मलाई नै लाज लागेपछि उनीसँग माफी मागेँ ।”
फिल्म ‘गान्धी’मा भूमिका
अमरीशले चलचित्र गान्धीमा पनि अभिनय गरेका थिए । उनलाई खानको भूमिका दिइएको थियो, जो एक धनी दक्षिण अफ्रिकी व्यापारी थिए । त्यो पात्रले गान्धीलाई भारतका निम्ति चाहेको विषय हासिल गर्न मद्दत गर्छ ।
सर रिचर्ड एटनबरोले अमरीशमा गहिरो छाप छोडे । “एटनबरोले गान्धीको पटकथामा १६ वर्षसम्म बिताए । ती वर्षहरूमा उनले पटकथाको हरेक शब्दलाई पूर्णता दिए । छायांकन सुरु हुनुभन्दा एक महिनाअघि सबैलाई पटकथाको बाउन्ड प्रतिलिपि प्रदान गरिएको थियो र सबै कलाकारहरूले सेटमा आउँदा आफ्ना संवादहरू कण्ठ गर्नुपर्ने अपेक्षा गरिएको थियो,” अमरीशले आफ्नो आत्मकथामा लेखेका छन्, “एटनबरो एकदमै धैर्यवान् निर्देशक हुन् । उनी क्यामेराको ठिक तल बसेर यति नरम बोल्थे कहिलेकाहीँ उनका शब्दहरू सुनिएनन्, उनले आफ्नो आवाज सानो गर्नुको कारण कलाकारहरूको एकाग्रतामा बाधा नपरोस् ।”
अन्तर्राष्ट्रियस्तरमा समेत प्रसिद्ध निर्देशक स्टिवन स्पिलबर्गले पनि उनलाई आफ्नो सिनेमा ‘इन्डियाना जोन्स’मा खलनायकको भूमिका दिएका थिए । अमरीशलाई सुरुमा ‘इन्डियाना जोन्स’को पटकथा मन परेन । उनले एटनबरोलाई फोन गरेर सल्लाह मागे ।
एटनबरोले उनलाई भने, “मूर्ख नबन ! म स्टिवनलाई अहिले संसारको सबैभन्दा महान् फिल्म निर्मातामध्ये एक मान्छु । यदि, स्टिवनले तपाईंलाई फोन गरेका छन् भने उनको मनमा तपाईंका निम्ति केही न केही त हुनुपर्छ । यो मान्छेले साधारण कथामा पनि जीवन ल्याउन सक्छ ।”
अमरीशले एटनबरोको कुरा स्वीकार गरे । पछि उनले आफ्नो आत्मकथामा लेखे, “स्टिवनले साधारण विषयलाई अद्भुत देखाउन सक्छन् । उनी यति कडा परिश्रमी छन् कि उनी एउटा चलचित्रको छायांकन गर्दा कम्तीमा दुई चलचित्रको स्क्रिप्टमा काम गर्छन् । र, दुई वर्षको अवधिमा पटकथामा व्यापक संशोधन नगरेसम्म छायांकन सुरु गर्दैनन् ।”
घडी र जुत्ता संकलक
अमरीशले भारतमा तालुखुइलेपनलाई फेसन बनाए । सुरुमा उनको टाउकामा धेरै कपाल थियो । सिनेमा ‘दिल तुझको दिया’का निर्देशक राकेश कुमारले उनलाई ‘दादा’को भूमिकाका निम्ति कपाल खौरन राजी गराए । उनलाई चलचित्र डेढ महिनामा तयार हुन्छ भनिएको थियो । तर, चलचित्र बनाउन डेढ वर्ष लाग्यो ।
उक्त समयमा अमरीशलाई तालु खुइलिएको टाउकोमा हिँड्ने बानी पर्यो । त्यसपछि उनले फेरि कहिल्यै कपाल राखेनन् । तर, जब घामको तापले टाउकोलाई सताउन्थ्यो, उनी टोपी लगाउँथे । बिस्तारै टोपी उनको पहिचान र ट्रेडमार्क बन्यो । उनले विभिन्न प्रकारका टोपीहरू संकलन गर्न थाले ।
टोपीबाहेक उनी जुत्ता र घडी संकलन गर्न पनि रुचाउँथे । “मेरो साइजको जुत्ता पाउन धेरै गाह्रो छ, त्यसैले एकपटक जब म आगरा गएँ, मैले एकैचोटि ६५ जोडी जुत्ता किनेँ । तर, त्यो स्टक पनि चाँडै सकियो,” उनले आफ्नो आत्मकथामा लेखेका छन्, “सुटिङको क्रममा यदि मलाई कुनै जुत्ता मन पर्यो, म निर्मातालाई त्यो उपहार दिन मनाउँछु ।”
अरूको अभिव्यक्तिलाई नजिकबाट नियाल्नु उनको बानी थियो । उनका छोरा राजीव पुरीले फिल्मफेयरलाई दिएको एक अन्तर्वार्तामा भनेका थिए, “कारमा यात्रा गर्दा पनि उनी प्रहरी जवानको सर्ट कस्तो फिट हुन्छ र जुत्ता कति पुरानो छ भनेर याद गर्थे । उहाँले चलचित्र ‘गर्दिश’मा यो भूमिका धेरै राम्रोसँग निभाउनुभयो ।”
अमरीशले कुल ३१६ चलचित्रमा काम गरे । श्याम बेनेगलको ‘नेताजी सुभाषचन्द्र बोस, द फोरगटन हिरो’ उनको अन्तिम चलचित्र थियो ।
आफ्ना अन्तिम दिनहरूमा उनी रक्तक्यान्सरबाट पीडित थिए । सन् २००५ जनवरी १२ मा ७३ वर्षको उमेरमा उनको निधन भयो । बीबीसी हिन्दीबाट ।