
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानलाई रंगशालामा परिणत गर्ने घोषणा गरेको झन्डै एक वर्ष पुगिसकेको छ । गएको वर्ष असार ३१ गते ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले ३०० दिनभित्र रंगशाला बनाउने घोषणा गरेको थियो । तर, निमार्णाधीन रंगशालाको काम सकिने मितिको अझै टुंगो छैन ।
सरकारले खेलकुदमा प्राथमिकताका साथ अघि सारेको योजनामध्येको एक हो, त्रिवि क्रिकेट मैदान । यस मैदानले रंगशालाको स्वरूप पाए नेपाली क्रिकेटका निम्ति बलियो पूर्वाधार हुने पक्का छ ।
रंगशाला तयार पारिसक्ने अन्तिम मिति आइपुग्न अब झन्डै दुई सातामात्रै बाँकी छ । तर, प्यारापिटतर्फ करिब ४० प्रतिशत र फ्लडलाइटमा ५५ प्रतिशत काम अझै बाँकी छ । त्यसकारण तोकिएको मितिमा रंगशाला तयार नहुने निश्चित छ ।
त्यसो त प्रधानमन्त्री ओलीको घोषणानुसार त्रिवि मैदानको निमार्ण कार्य वैशाख २४ गते नै सम्पन्न भइसक्नुपर्ने थियो । तर, पहिले तोकिएको मितिमा काम सम्पन्न नभएपछि प्रधानमन्त्रीले नै थप समय दिएका थिए ।
कति भयो काम ?
कीर्तिपुरमा प्यारापिट निर्माणको काम तीन कम्पनी (बीटीओआई–केसीडीसी–पीजी कन्स्ट्रक्सन्स)ले संयुक्तरूपमा गरिरहेका छन् । अहिलेसम्म प्यारापिटतर्फको भौतिक प्रगति ६२ प्रतिशत पुगेको साइट इन्चार्ज गणेश पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार, रंगशालाको पूर्वीभागको प्यारापिटमा ढलान गर्ने काम सम्पन्न भइसकेको छ । पश्चिम भागमा आंशिक ढलान बाँकी छ । पश्चिम भागको प्यारापिटको तल्लो भागमा ढलान काम पूरा भइसकेको छ, माथिल्लो खण्डमा ढलान गर्न बाँकी छ ।
पछिल्लो समय मनसुनका कारण निर्माण काम प्रभावित भइरहेको पाण्डे बताउँछन् । उनी लगातारको वर्षाका कारण निर्धारित समयमै रंगशाला निर्माण गरिसक्ने दाबी गर्ने स्थिति नरहेको बताउँछन् ।
“वर्षा धेरै नै प्रभाव पारेको छ । हामीलाई ढलान गर्न नै समस्या भइरहेको छ । वर्षाले निमार्ण कार्य पूरा गर्न चुनौतीपूर्ण बनिरहेको छ,” बाह्रखरीसँगको कुराकानीमा पाण्डेले भने, “तर पनि हामीले ग्राबेल बिछ्याएर भए पनि ढलान गरिरहेका छौँ । अब हेर्दै जाऔँ, सम्भव भएसम्म समयमै सम्पन्न गर्ने प्रयास गरिरहेका छौँ । तर, वर्षाका कारण समयमै सकिन्छ कि सकिँदैन भनेर दाबी गर्न सकिने स्थिति छैन ।”
साढे चार हजार सिट जोडिँदै, साढे पाँच हजार सिट आउनै बाँकी
अहिले भइरहेको काम कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाालमा परिणत गर्ने योजनाअन्तर्गत पहिलो चरणमात्रै हो । रंगशालाको प्यारापिटमा यसपटक १० हजार सिट जडान गर्ने योजना छ । जसमध्ये साढे चार हजार सिट जडानको अन्तिम तयारी छ ।
पाण्डेका अनुसार, साढे चार हजार सिट तीन चरणमा ल्याएको थियो । बाँकी साढे पाँच हजार सिट तीनदेखि चार चरणमा आइपुग्नेछ ।
“हामीले अहिले ४,५०० सिट ल्याइसकेका छौँ । सिट जोड्न भारतीय कम्पनीले लेआउट बनाउँदै छ । बाँकी सिट पनि तीन वा चार चरणमा नेपाल आउँछ,” पाण्डेले भने ।
फ्लडलाइट जडानको अवस्था कस्तो ?
सरकारले त्रिवि मैदानमा फ्लडलाइट जडानको जिम्मा ईश्वरी जेभीलाई दिएको छ । पाण्डेका अनुसार, रंगशालामा फ्लडलाइट जडानको काम ४५ प्रतिशत सकिएको छ ।
अहिलेसम्म रंगशालामा ६ वटै फ्लडलाइटको जग निर्माण भइसकेको छ । कुल ६ मध्ये तीन फ्लडलाइट बनेर भारतमा तेस्रो पक्ष जाँचमा छन् । बाँकी तीनवटा फ्लडलाइट अझै तयार भएका छैनन् ।
“फ्लडलाइट जडान गर्ने फाउन्डेसनको काम सबै पूरा भइसकेको छ । तीनवटा फ्लडलाइट बनेर भारतमा तेस्रो पक्ष जाँच भइरहेको छ । यी फ्लडलाइट जाँच भएर १०/१५ दिनमा रंगशाला आइपुग्ने छन्,” पाण्डे भन्छन् ।
रंगशाला निर्माणमा हालसम्म करिब ५० प्रतिशत खर्च भइसकेको छ । प्यारापिट निर्माणका निम्ति ४३ करोड ७७ लाख र फ्लडलाइटका निम्ति ४२ करोड १९ लाखमा ठेक्का लागेको थियो ।
सरकारले गएको असार ३१ गते निर्णय गरे पनि रंगशालामा निमार्ण काम त्यसको सात महिनापछिमात्रै सुरु भएको थियो । प्यारापिटका निम्ति फागुन १९ गते ठेक्का लागेको थियो । त्यसको भोलिपल्टदेखि (फागुन २०) गते काम सुरु भएको थियो ।