सडक बनाउनुमात्र विकास होइन बरु खोलानालाको सभ्यता जोगाउनु पनि विकास हो !
विकासलाई हामीले धेरैजसो ढुङ्गा, बालुवा र डोजरको प्रतिरूपमा बुझ्ने गरेका छौँ । हामीले ‘विकास’ भन्नासाथ कालोपत्रे सडक, अग्ला संरचना र चकाचके भवनहरूको तस्बिर आँखा अगाडि ल्याउँछौँ । तर, यही भौतिक संरचनाले हराउँदै गएको सभ्यता देख्न हामी चुकिरहेका छौँ ।
काठमाडौं उपत्यकामा जहाँ कुनै समय सहरलाई कोरिदिने नदी नालाहरू संस्कृति र प्रकृतिको मुहान थिए आज त्यहीँ खोला, नदीनाला विकासको नाममा लछारपछार पारिएका छन् । गुहे झोलामा झैँ थुपारिएको प्लास्टिक, मलमुत्र मिसिएको पानी र सुकेको सास फेर्दै बगिरहेको विषाक्त बगैँचा बनेका छन् । कहिले धुनमै गुनगुनाउने बागमती आज आफ्नै अस्तित्व खोज्दैछ ।
सडक किनारामा हिँड्ने मान्छे आफू हिँड्ने बाटोमा अल्झिन्छ तर नजिकै सुस्ताउँदै बग्ने नालामा हेर्दैन । काठमाडौंका खोलानाला अब पानीका स्रोत होइन दुर्गन्धका थलो बनेका छन् । नगन्य सरसफाइ, अनियोजित घर निर्माण, अवैज्ञानिक सहर व्यवस्थापन र चेतनाको अभावले खोलानालालाई फोहोर बोक्ने पाइप बनाइदिएको छ ।
के विकास भौतिक संरचना विस्तारको नाममात्र हो ? कि यो त्यो संस्कार हो जसले सभ्यतालाई निरन्तरता दिन्छ ? खोलानाला हाम्रो सांस्कृतिक, जैविक र सामाजिक अस्तित्वसँग गहिरोसँग गाँसिएका छन् । ‘खोला बग्दा सहर बोल्छ’ भन्ने पुरानो भनाइ अब शून्यजस्तै सुनिन्छ ।
उपत्यकाको बागमती, विष्णुमती, मनोहरा, टुकुचा नाममात्र होइनन् इतिहासका पानीपाटी हुन् । अब यी खोलाहरूको आवाजमा कहिल्यै हाम्रो स्वर मिसिएन भने हामी भौतिक संरचनामा बस्ने संवेदना विहीन, संस्कृति विहीन भौतिक मानव मात्रै बन्छौँ ।
विकासको सही परिभाषा त्यो हो, जहाँ भौतिक निर्माणसँगै वातावरणीय र सांस्कृतिक सन्तुलन पनि कायम रहन्छ । खोला नालाको सभ्यता जोगाउनु भनेको पानी सफा गर्नु नभएर पानीसँग गाँसिएको सामूहिक चेतना र जीवनशैली जोगाउनु हो । खोला बग्न दिनु र खोलालाई बाँच्न दिनुबीचको भिन्नता बुझिनुपर्छ ।
विकास चाहिन्छ । सडक, पुल र भवनहरू आवश्यक हुन्छन् । तर, त्यो विकास खोलाले आफ्नो शुद्धता फर्काउन नपाउँदासम्म अधुरो रहन्छ । खोला नालामा पानीभन्दा बढी प्लास्टिक बग्दा सहर पनि सधैँ रोगै रोगको कुहिरोमा डुब्नेछ ।
समस्या खोलामा भन्दा हाम्रो सोचमा छ । खोला किनारमा घर बनाएर, फोहोर फालेर अनि त्यही खोला देखेर नाक खुम्च्याउने हाम्रो दोहोरो चरित्र पनि यसमा जिम्मेवार छ । हामीले खोला नालालाई दुस्मन हैन मित्रको अंगको रूपमा हेर्न सिकेनौं भने आगामि पुस्ताले पानीको इतिहास पढेरमात्रै चित्त बुझाउनुपर्नेछ ।
यो समय सडक बनाउने होडमात्र होइन, खोलानाला बचाउने होस पनि जगाउनु पर्ने घडी हो । किनभने सडकले मानिसको यात्रा तय गर्छ तर खोलानालाले समाजकै अस्तित्व जोगाउँछ ।
अब विकासको दृष्टिकोण पुनर्विचार गर्नुपर्ने बेला आएको छ । 'नालाको सभ्यता, खोलाको सांस्कृतिक विरासत र सहरको पर्यावरणीय चेतना' सँगसँगै अघि बढ्न सक्नुपर्छ । नदी बग्ने पानीमात्र होइन सभ्यताको धार पनि हो ।