site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
...त्यसपछि करिष्मालाई इन्जेक्सन दिएर लट्ठ्याएर राखियो
SkywellSkywell

सन् १९९० देखि २००० को दशकलाई नेपाली चलचित्र उद्योगको ‘स्वर्णिम युग’ मानिन्छ । यो त्यही युग हो, जति बेला नेपाली चलचित्र बनाउने लहर चल्यो । सिनेमाघरहरू खोल्नेक्रम बढ्यो । वितरकको संख्या थपियो । चलचित्र क्षेत्रले केही व्यक्तिलाई रोजगारी दियो, केहीलाई नाम र दाम दुवै । यो दशकमा थुप्रै चलचित्र बनाइए, कलाकार पनि उदाए । यही युगमा नेपाली रजतपटमा पदार्पण गरेकी नायिका हुन्, करिष्मा मानन्धर । करिष्मा तिनै अभिनेत्री हुन्, जसलाई नेपाली रजतपटकी सदाबहार सबैभन्दा सुन्दर अभिनेत्रीका रूपमा चिनिन्छ ।

‘सन्तान’बाट रंगीन दुनियाँमा होमिएकी उनको जिन्दगीलाई चलचित्र क्षेत्रले साँच्चै रंगीन बनाइदियो । यही क्षेत्रले नाम र दाम दियो । जसका कारण उनको जिन्दगी नामजस्तै करिष्मामय भयो । १५० भन्दा धेरै सिनेमामा काम गरिन् । चलचित्रमा प्रवेश गरेपछि नै हो उनले काठमाडौंबाहिरको संसार देखेको । सेटमा पुग्दासम्म उनलाई सिनेमा कसरी खिचिन्छ भन्ने थाहा थिएन । कारण, उनी मात्र १४ वर्षकी थिइन् । उनै करिष्माका सिने अनुभव योपटकको एक्सन–कट्का तिता–मिठा शृंखलामा :

० ० ०

KFC Island Ad
NIC Asia

बेलाबेलामा प्रकाश थापा (निर्देशक) पछाडि फर्किन्थे र भन्थे, ‘तिमीहरू सबै ठिक छौ ?’ गाडीका सबै यात्रु उत्साही हुँदै भन्थे, ‘ठिक छ ।’ ३५ वर्षअघि जिन्दगीमै सबैभन्दा ठूलो गाडी चढेर काठमाडौंबाट बाहिर जाँदै गरेको पल सम्झिन्छिन् करिष्मा (मानन्धर) । र, त्यो सोधाइको अर्थ आज यसरी लगाउँछिन्– हाम्रो मुहार पढ्न उहाँ पछाडि फर्किएर बेलाबेला त्यसरी सोध्नुहुँदो रहेछ । तर, हामी त अधिकांश नयाँ के थाहा ! ठिक छ भन्थ्यौँ । गाडी गुडिरहेको हुन्थ्यो, हामी उसैगरी गाडीको झ्यालबाट बाहिर हेर्थ्यौँ ।

प्रसंग हो, चलचित्र ‘सन्तान’को । करिष्मालाई हामीले उनको पहिलो सिनेमा सम्झिन आग्रह गर्‍यौँ । उनी फर्किइन् सन् १९८८ तिर । र, सम्झिइन् ‘सन्तान’ । यो चलचित्रमा करिष्मा सेकेन्ड मेन रोलमा थिइन् । गौरी मल्लको मुख्य भूमिका थियो । नायकमा भुवन केसी र अर्जुनजंग शाही थिए । प्रकाश थापाको निर्देशन रहेको त्यो चलचित्रले करिष्माका लागि नेपाली रजतपटको ढोका खोलिदियो ।

Royal Enfield Island Ad

‘सन्तान’ रिलिज नहुँदै उनले अरू दुई चलचित्रमा अभिनय गरिसकेकी थिइन् । ‘मायालु’ बनिसकेको थियो । चार–पाँच सिनेमामा साइन गरिसकेकी थिइन् । त्यसैले ‘सन्तान’ले उनलाई सोलो नायिकाका रूपमा परिचित त गराएन, तर भोलिकी उम्दा हिरोइनका रूपमा निर्देशक र निर्माताबीच नोटिस भइन् । शम्भु प्रधान र उद्धव पौडेलले ‘मायालु’मा उनलाई सोलो नायिकाका रूपमा अवसर दिए । र, चिनाए पनि ।

फेरि ‘सन्तान’कै कुरा, करिष्मा केटाकेटी नै थिइन् । १४ वर्षकी उनी त्यसभन्दा पहिला काठमाडौंबाहिर कहिल्यै गएकी थिइनन् । उनलाई ‘सन्तान’ले जुराइदिएको थियो, काठमाडौंबाहिर पहिलोपटक जाने मौका । अग्लो र ठूलो गाडी, सबै त्यही गाडीमा ।

करिष्माले त्यति ठूलो नदी (त्रिशूली) देखेको पनि उनले पहिलोपटक ‘सन्तान’कै सुटिङमा जाँदा हो । नारायणगढमा सुटिङ थियो । “सिनेमाका लागि त त्यो मेरो पहिलो यात्रा छँदै थियो, देशयात्राको सुरुआत पनि त्यही नै थियो । मेरा लागि वास्तवमा युनिभर्सिटी नै थियो त्यो यात्रा,” करिष्मा पुराना दिन सम्झिएर नोस्टिाल्जिक हुन्छिन्, “त्यति ठूलो बस मैले त्यसपछि पनि खासै चढ्ने अवसर पाएको छैन । डाइरेक्टर साब बेलाबेलामा हाम्रो मुहारमा हेर्नुहुन्थ्यो, अहिले पो म अनुभूत गर्छु, हामी नयाँ थियौँ, त्यसैले यिनीहरूलाई कस्तो लागरिरहेको होला भनेर हाम्रो एक्सप्रेसन याद गर्नुभएको रहेछ । ठिक छौ तिमीहरू ? भन्नुहुन्थ्यो ।”

करिष्मा त्यो यात्रामा झ्यालबाट बाहिर हेरेरै नारायणगढ पुगिन् । “छङछङ खसिरहेको झरना, तल नुनखुर्सानी र काँक्रा बेच्न राखेको देखेपछि गाडी रोकेर त्यो किनेर खाएका थियौँ । अहिले पनि म त्यो बाटो यात्रा गर्दा त्यहाँ जहिल्यै रोक्छु र काँक्रा, मकै र नुनखुर्सानी किनेर खान्छु,” करिष्मा भन्छिन्, “जब म त्यहाँ पुग्छु, म मेरो पहिलो सिनेमा सन्तानलाई सम्झिएर नोस्टाल्जिक हुन्छु ।”

अनि, रिसाए निर्देशक
प्रकाश थापा नेपाली सिनेमाका ‘बाघ निर्देशक’ । हम्मेसी कलाकार उनीसँग आँखा जुधाएर कुरा गर्न सक्तैन थिए । करिष्माले त्यो समय प्रकाशको ‘बाघ’ छवि खासै अनुभूत गरिनन् । कारण, पानीको गहिराइ थाहा भए पो डुब्ने डर हुन्छ ! करिष्मा सानै थिइन् । उनलाई प्रकाश थापा कस्ता निर्देशक हुन् भन्ने नै त्यो बेला थाहा थिएन ।

“एक सट दियो अनि घण्टौँ ब्रेक हुन्थ्यो । कुन सट कहाँ लागेको छ, कुन कुनाबाट लाइट लागेको छ थाहै हुँदैन थियो । पार्टीको गीत थियो, त्यसैले क्राउड थियो । मेकअप गरेपछि बिग्रिन्छ भनेर छुन समेत दिँदैन थिए अनुहार । तर, मलाई निद्रा लागिसकेको थियो । घरीघरी ‘सट लाग्यो, हिँड् रे’ भनेर बोलाउन आउँथे । मलाई झिँजो लाग्यो– कति बोलाउँछ त्यो बूढो भनेँ,” करिष्मा भन्छिन्, “त्यसो भनेको थाहा पाएपछि उहाँ मसँग लामो समय रिसाउनुभयो । हिरो (भुवन केसी)ले आमा (शान्ति मास्के)लाई ल्याउनुभएको थियो, उहाँको क्यारेक्टर नराम्रो बुहारीको थियो । मैले यस्तो मान्छे पार्टीमा किन आयो भनेर रिसाएको साइड लुक्सको सर्ट दिनुपर्ने थियो, मेरो लगातार सट हुँदैन थियो । त्यसैले एउटा सट दिएर कुनामा गएर बस्नुपर्थ्यो । अनि फेरि बोलाउँथे, त्यो झिँजो लागेर मैले निद्रामा उहाँलाई गाली गरेछु ।”

पहिला ‘सिस्टम’ थियो  
प्रकाश कडा मिजासका थिए । त्यसो त त्यो बेला निर्देशकलाई गर्ने व्यवहार नै छुट्टै हुन्थ्यो । सेटमा प्रकाशको आफ्नै सिद्धान्त थियो ।

“जसरी क्लासमा शिक्षकले विद्यार्थीलाई कमान्ड गर्छ, त्यस्तै उहाँले सिनेमाको होल युनिटलाई कमान्ड गर्नुहुन्थ्यो । ड्रेस रुम र मेकअप रुम बेग्लै हुन्थ्यो । समयमा सुतेर समयमा उठ्नुपर्थ्यो । खाने निश्चित समय हुन्थ्यो । होस्टेलजस्तै हुन्थ्यो,” करिष्मा भन्छिन्, “सन्तानमा हामीले रुल्स एन्ड रेगुलेसनमा बसेर काम गरेका थियौँ । सायद हामी धेरैजना त्यो सिनेमामा नयाँ भएकाले पनि त्यसो गर्नुभएको थियो कि भन्ने लाग्छ ।”

पहिलो चलचित्रको सेटमा पुग्दासम्म कसरी छायांकन हुन्छ भन्ने उनलाई थाहा थिएन । त्यसैले करिष्मा भन्छिन्– चलचित्र नै मेरो विश्वविद्यालय हो । त्यसबाट उनले नाम र दाम मात्र कमाइनन्, सिकिन् पनि । लामो समय चलचित्र क्षेत्रमा काम गरिन्, धेरैसँग सहकार्य भयो । जति धेरै काम त्यति नै धेरै अनुभव पनि । अहिले उनलाई लाग्छ, त्यो समय सिस्टममा काम हुन्थ्यो । ‘सन्तान’को समयमा कलाकार भगवानदास श्रेष्ठको घरमा बसेर सुटिङ गरेको उनी सम्झिन्छिन् ।

“त्यो समय अहिलेजस्तो थिएन । अहिलेको जस्तो सुविधा थिएन । सबै नयाँ थियौँ । त्यसैले पनि होला, सबै सिस्टममा चल्थ्यौँ,” उनी भन्छिन् ।

जब सुटिङ सकिन्थ्यो, उनलाई गाडी चलाउन सिकाउन चौरमा लगिन्थ्यो ।

समय फेरियो । काम गर्ने तरिका पनि फेरियो । कतिपय विषय प्रविधिले सहज गरिदियो । उपलब्ध भौतिक सुविधाका कारण पनि कतिपय विषय सहज हुँदै आयो ।

भाग्यमानी 
करिअरको सुरुआत जति नै संघर्षपूर्ण भए पनि उनी आफूलाई भाग्यमानी मान्छिन् ।

कारण ?

उनले नेपाली चलचित्र निर्माणको दुवै चरण देखिन् । पहिलो, स्वर्ण युगको अनुभव । दोस्रो, संकटमा चलचित्र क्षेत्र गुज्रिँदाको कठिन समय । पछिल्लो तीन दशकको बीचमा प्रविधिले फड्को मार्‍यो । नवीनतम प्रविधिभन्दा अगाडि र पछाडिको समय दुवैलाई उनले अनुभव गर्न पाइन् ।

छायांकनस्थलमा पुग्न ‘सुटिङ युनिट’ लेखिएका ठूला मिनिबस र रसियन जीपमा जानेदेखि कलाकारहरू आ–आफ्नै लक्जरियस गाडीमा चढ्ने समय आइसक्दासम्म पनि करिष्मा यही उद्योगमा छिन् । पुरानादेखि नयाँ कलाकारसँग सहकार्य गरिरहेकी छन् । करिष्माले भनेजस्तै उनको तीन दशकको फिल्मी करिअरमा नेपाली चलचित्र उद्योगमा प्रविधिले मात्र प्रवेश पाएर फड्को मारेन, निर्माणदेखि, मेकअप, ड्रेसअप, हलमा रिलिजदेखि विषयवस्तु सबैमा आमूल परिवर्तन आइसकेको छ ।

बचपना  
“दिनरात भन्न पाइँदैनथ्यो । कहिलेकाहीँ राति सुतिराख्दा पनि निर्देशकले उठाएर सट लिनुपर्‍यो भन्नुहुन्थ्यो, रिसाएर कराउँथे । म रुन्थेँ । निर्देशकसँगै असन्तुष्टि पोख्थेँ,” करिष्मा भन्छिन्, “मैले प्रवेश गर्दा सेटमा सबैजना मभन्दा सिनियर हुन्थे । उहाँहरूले मलाई नामबाटै बोलाउनुहुन्थ्यो । म भने सबैलाई तिमी नै भन्थेँ । भुवन दाइ, प्रकाश थापा सबैलाई तिमी भन्थेँ । उहाँहरू पनि रमाइलो मान्नुहुन्थ्यो । तर, पछि यो राम्रो बानी होइन भन्ने थाहा भयो । त्यसपछि सर, म्याम भन्न थालेँ ।”

मुकुन्डोजस्तो मेकअप
नेपाली रजतपटमा करिष्माले दुई दशक एकलौटी राज गरिन् । उनी मोटो पारिश्रमिक लिन्थिन् । “मैले एउटा फिल्मबाट लिएको पारिश्रमिकले त्यो समय जग्गा किनेको भए काठमाडौंमा एक रोपनी जग्गा आउँथ्यो,” करिष्मा पुराना दिन सम्झिन्छिन्, “तर, मैले त्यो कहिल्यै सोचिनँ । भलै, त्यो बेला काठमाडौंको जग्गा अहिलेको जस्तो महँगो थिएन ।”

त्यो समय नेपाली चलचित्रमा भारतका गायक, गायिका, प्राविधिकदेखि उतैबाट मेकअप आर्टिस्टहरू आउँथे । मेकअपका सामान गुणस्तरीय र ब्रान्डेड नै हुन्थे । तर पनि उनलाई त्यो बेलाको मेकअप त्यति धेरै मन पर्दैन थियो । उनकै शब्दमा त्यो ‘मुकुन्डो’जस्तो हुन्थ्यो ।

“मेकअपका लागि पहिला–पहिला बम्बई (मुम्बई)बाट दादाहरू (मेल मेकअप आर्टिस्ट) आउँथे । नाम त अहिले म सम्झिन सक्तिनँ, तर दादा भन्थ्यौँ हामी । त्यसमा अहिलेका टप नेपाली मेकअप आर्टिस्टहरू सहायकको रूपमा काम गर्थे । मेकअपको सामान गुणस्तरीय हुन्थे,” उनी सम्झिन्छिन्, “तर, शैली फरक थियो । हामी क्यामेरा १६ मा काम गर्थ्यौँ । ३५ मा त्यसलाई डेभलप गर्ने भएकाले मेकअप नफाटियोस् भनेर हेभी मेकअप लगाइदिन्थ्यो । बाक्लो मुकन्डो नै लगाएको जस्तो हुन्थ्यो ।”

धेरै ‘दादा’हरूको नाम बिर्सिए पनि अभिनेता नीर शाहले ‘के घर के डेरा’का लागि बम्बईबाट साम्बा पाटिन (मेकअप आर्टिस्ट)लाई बोलाएको करिष्माको सम्झनामा ताजै छ ।

मेकअप आर्टिस्ट मात्र होइन, पहिरन पनि भारतबाटै ल्याइन्थ्यो । पछि विस्तारै चलचित्रको स्क्रिप्टअनुसार नेपालमै पहिरन डिजाइन गर्न थालियो । प्रायः ज्ञानु तुलाधरले चलचित्रका लागि ड्रेस डिजाइन गर्थिन् । नेपालमा नपाइने ड्रेस मुम्बईबाट मगाइन्थ्यो । पछि करिष्मा आफैँ सलले मुख ढाकेर न्युरोड गएर चाहिने सामान किनेर ल्याउँदै पहिरन तयार गर्न थालिन् ।

विस्तारै उनले हेभी मेकअपलाई कटौती गरिन् । केही मेकअप आफैँ गर्थिन् ।

सुटिङको मनपर्ने पाटो
करिष्मालाई सुटिङको सबैभन्दा मनपर्ने पक्ष सेटमा हुने समानता हो । चाहे कलाकार वा स्पोट ब्वाई, निर्देशक वा लाइट्सम्यान सबैले एउटै किचेनमा खान्थे । कलाकारले जे खायो अरूले पनि त्यही खान्थे ।

“एउटै किचेन हुन्थ्यो, सबैजना एउटै किचेनमा खान्थ्यौँ । भेदभाव हुँदैनथ्यो । अहिले हामी समानताको कुरा गर्छौँ, तर वास्तवमा सिनेमा इन्डस्ट्रीमा समानता छ । न हामी कुन जातको भनेर हेर्थ्यौँ न आफ्नो पद र ओहदा के हो भनेर नै हेर्थ्यौँ, जुन मलाई मन पर्थ्यो,” उनी सुनाउँछिन् ।

किचेनका ‘दाइ’हरूले आफ्नै अभिभावकले जस्तो माया गर्ने गरेको उनी स्मरण गर्छिन् । “करिष्मा म्यामले खानुभएको छैन, उहाँको लागि राखिदिऊँ भनेर छोपछाप गरेर राखिदिनुहुन्थ्यो, जसरी घरमा आमा आफ्ना छोराछोरीको लागि राखिदिन्छन् । मिठो केही पकाएको छ भने पनि राखिदिनुहुन्थ्यो,” करिष्मा नोस्टाल्जिक हुन्छिन्, “कहिलेकाहीँ म खुसी हुँदा आज मेरो तर्फबाट ट्रिट भनेर म आफैँ पनि किचेनमा गएर पकाउँथे ।”

चलचित्र क्षेत्रमा समानता छ, यसले उनलाई सन्तुष्टि दिन्छ । यति हुँदाहुँदै पनि उनको मनमा एउटा कुरो खड्किएको छ । पारिश्रमिकमा उनको चित्त बुझ्दैन । नायिका र नायकमा पारिश्रमिकमा किन ठूलो खाडल छ ? उनको प्रश्न छ ।

“सिनेमाको लिडिङ गर्ने म हुन्थेँ । तर, पारिश्रमिक मेरोभन्दा धेरै नायकको हुन्थ्यो, किन ?,” उनी प्रश्न गर्छिन्, “यो परम्परा आजसम्म छ । पुरुषप्रधान समाज भएकाले विभेद भएको हो ? अब यो विभेदको शृंखला तोड्ने बेला भएन र ? मेन रोल महिलाको हुन्छ, तर पहिला पुरुष कलाकारलाई फाइनल गरेर नायिकासँग कुरा आउँछ, यसलाई कस्तो सोच भन्ने ?”

काग कराएपछि डबिङ  
समयले कोल्टो फेर्‍यो । नयाँ–नयाँ प्रविधिको विकास भयो । नेपाली सिनेनगरीले पनि नयाँ प्रविधिको उपभोग गर्ने नै भयो । गर्‍यो । त्यो समय अहिलेजस्तो सिंक साउन्ड हुँदैन थियो । अहिले पनि एकाध चलचित्रले मात्र सिंक साउन्ड युज गर्छन् । करिष्मा पुराना दिन सम्झिन्छन्, “भिजुअल हुँदैन थियो, हामी यत्तिकै डबिङ गरथ्यौँ । वाइल्ड डबिङ हुन्थ्यो ।”

अहिलेजस्तो भिडियो हेरेर डबिङ गर्न पाइँदैन थियो । केही कलाकारलाई मुम्बईमै लगेर डबिङ गराए पनि पूरै टिमलाई सम्भव हुँदैन थियो ।

“फुटेज हेर्न पाइँदैन थियो । त्यो बेला कस्तो माहोलमा थियो, कस्तो थियो वरिपरि भनेर हेर्न पाए पो डबिङमा फिल आउँथ्यो । आवाज सुनेर गर्नुपर्थ्यो । सुटिङमा मैले यो संवाद बोल्नुअघि मलाई खुसुक्क केहीले छोएको थियो है भनेर याद गर्दै बोल्नुपर्थ्यो,” उनी रमाइलो प्रसंग जोड्दै थप्छिन्, “काग कराएपछि यो डाइलग बोल्ने, यस्तो भएपछि यो डाइलग बोल्ने भन्ने हुन्थ्यो । त्यसरी हामी डबिङ गर्थ्यौँ ।”

अहिले सम्पादनको टेबलमा नै धेरै काम हुन्छ । स्वरलाई बनाउनेदेखि इनह्यान्स गर्नेसम्मको सुविधा छ । एक/दुई दिनमै सिनेमाको डबिङ सकिन्छ । त्यो बेला सुटिङ सकेर दिनकै तीन/चार घण्टा डबिङ गर्न गएको करिष्मा स्मरण गर्छिन् ।

अहिले आफ्नो सट कस्तो भयो भनेर ठूलो मनिटरमा हेरिन्छ । त्यो बेलाको स्थिति बेग्लै थियो । अहिलेजस्तो मनिटरमा सट हेर्न कहाँ मिल्थ्यो र ! इन्डियाबाट प्रोसेसिङ गरेर नल्याएसम्म हेर्न मिल्दैन थियो । त्यसो त अहिले पनि उनलाई मनिटरमा सट हेर्ने बानी छैन ।

“म अहिले पनि मनिटर हेर्दिनँ । किनभने, मनिटर हेरर मलाई म नराम्री लाग्यो भने अर्को सटका लागि रिक्वेट गर्छु होला, तर डाइरेक्टरलाई चाहिएको त त्यही होला,” करिष्मा अगाडि थप्छिन्, “मैले ‘बगान’मै पनि मनिटर हेरिनँ । मैले मेकअप कस्तो छ भनेर हेरिनँ । राम्रो भएनजस्तो लागे अर्को सट लिऊँ भन्छु ।”

प्याकिङ कुमारी !
करिष्मालाई सेटमा ‘प्याकिङ कुमारी’ भनेर जिस्काएर बोलाउने धेरै छन् ।

किन ? 

सुटिङमा जाँदा उनका झोला नै दुई/तीनवटा हुन्थे । “म आफूलाई चाहिने सबै सामान आफैँ प्याक गरेर लग्थेँ, त्यसैले मलाई प्याकिङ कुमारी भन्थे । मलाई खोजेको सामान भेटिएन भने काम गर्ने जाँगर नै हुँदैन थियो,” उनी भन्छिन्, “कहिले कुन खोलाको तीरमा सुटिङ गरिरहेका हुन्थ्यौँ त कहिले कहाँका अनकन्टार एकान्तमा । प्रोडक्सनलाई मलाई यो सामान चाहियो भनेर माग्दा पनि केही नपाउने ठाउँमा कसरी उपलब्ध गराउन सम्भव छ र ?”

करिष्मा बेड कभर, तकियाको खोल, टावलदेखि सेप्टी पिन र सियोसम्म आफैँ बोकेर जान्थिन् । आफूलाई चाहिने सामानका कारण सुटिङ रोक्नु नपरोस् भन्ने उनको चाहना हुन्थ्यो ।

“सबै सामान बोकेर लैजाँदा मेरो दुई/तीनजना त असिस्टेन्ट नै चाहिन्थ्यो । प्लेनमा जाँदा २० केजीभन्दा धेरै सामान लैजान पाइँदैन, तर मेरो त दुईजोर लुगा हाल्दै २० केजी हुन्छ,” उनी भन्छिन् ।

पुस/माघको चिसोमा ‘तिमी रिमझिम रिमझिम वर्षा...’
नेपाली चलचित्र बलिउडबाट प्रभावित थियो भन्न हिचकिचाउनु पर्दैन । साडी लगाएर पानीमा नभिजेसम्म लभ नै पर्दैन भन्ने सोचाइ थियो । उनले सम्झिइन्, चलचित्र ‘ट्रक ड्राइभर’को ‘तिमी रिमझिम रिमझिम वर्षा...’ गीतको छायांकन । त्यसका कारण भोगेको सकस आजसम्म उनको दिमागबाट ओझेल परेको छैन । पुस/माघको कठ्यांग्रिदो चिसोको समय थियो, सुटिङ सेड्युल बेलुकाको थियो ।

“सुरुमा त सुटिङका लागि हामी भृकुटीमण्डपमा गएका थियौँ, त्यहाँ तलाउ छ । त्यो पोखरीको गन्हाउने पानी, ब्याकग्राउन्डमा भने रिमझिम रिमझिम भन्दै रोमान्टिक गीत । त्यस्तोमा फिल ल्याएर डान्स गर्नुपर्ने थियो,” करिष्मा भन्छिन्, “पछि त्यहाँ के मिलेन खै, अशोक शर्माले अब गोदावरीमा सुट गर्ने भन्नुभयो । त्यहीँ दुई दिन छायांकन गरिसकेको थियो ।”

यसै त जाडोको सिजन, त्यसमाथि गोदावरीको चिसो । पाँच दिनमा गीतको छायांकन सकियो । करिष्मा शारीरिक रूपमा यति गलिसकेकी थिइन् कि त्यसपछि ६ दिन ज्वरोले थला परिन् ।

“१०४ डिग्री ज्वरो आएर ६ दिन सुतेँ । तर, अहिले पनि त्यो गीत हेर्ने हो भने आर्टिफिसियलजस्तो लाग्दैन,” करिष्मा भन्छिन्, “जति दुःख पाए पनि काममा देखिएको सफलताले पनि ती दुःख फिका लाग्दा रहेछन् ।”

नेपालगन्जमा दिउँसोको सुटिङ गरेर रातिको सार्वजनिक गाडी चढेर उनी भोलिपल्ट बिहान कास्कीको घान्द्रुक पुग्थिन् । “कसैले सोच्छ होला ? सिनेमामा देखेको ग्ल्यामरस हिरोइन अघिल्लो दिनभर नेपालगन्जमा सुटिङ गरेर रातभर पब्लिक भेइकल चढेर पोखरा पुगेर त्यहाँबाट नौडाँडाको बस चढेर त्यहाँबाट तीन घण्टा हिँडेर घान्द्रुक पुग्थेँ,” उनी नोस्टाल्जिक हुन्छिन्, “त्यो बेला अहिलेजस्तो मास्क थिएन, क्रेजले मास्क नलगाई हिँड्न सकिँदैन थियो । पछ्यौराले मुख छोपेर हिँड्नुपर्थ्यो ।”

नेपालगन्जको गर्मी 
काठमाडौंमा बसेहुर्केको करिष्मालाई तराई ओर्लिनेबित्तिकै सकस हुन्थ्यो । बुटवल र नेपालगन्ज भन्नेबित्तिकै अहिले पनि उनी ती दिन सम्झिन्छिन् ।

“सारंगीको सुटिङ थियो, त्यो बेला अहिलेजस्तो सुविधासम्पन्न होटेल थिएनन् । म प्रोडुसरको घरमा बसेको थिएँ,” करिष्मा भन्छिन्, “नेपालगन्ज नेपालकै गर्मीमध्येको एक ठाउँ । खोलाको बगरमा सुटिङ थियो, गर्मीले ढलौँलाजस्तो हुन्थ्यो । त्यसैले म होटेलबाट बट्टामा आइस हालेर जान्थेँ । बेहोस होलाजस्तो भएर बेलाबेलामा कानमा आइस राख्थेँ ।”

ट्रक ड्राइभरको सुटिङमा... 
चलचित्र ट्रक ड्राइभरको सुटिङ थियो, निकै अग्लो ठाउँबाट हाम फाल्नुपर्ने थियो । करिष्माले सुसाइडका लागि हाम फालेको सट दिनुपर्ने थियो ।

“म हाम फाल्नै लाग्दा पछाडिबाट विजय लामा सरले समाउनुपर्ने थियो । म मेरो टाइमिङमा हामफालेँ । तर, मलाई समाउनुपर्ने विजय सरको जुत्ता चिप्लिएर उहाँ त ममाथि लड्नुभयो,” करिष्मा भन्छिन्, “दुई तलाभन्दा अग्लो कान्लाबाट विजय सर त सिधै तल खस्नुभयो । तर, म भने त्यो कान्लाको बीचमा छड्के पारेर भर्खर काटेको बुट्टयानको चोकेमा परेर त्यहीँ अड्किएँ । चोकेमा मेरो ढाड पर्‍यो । सुटिङ युनिटका मान्छे माथिबाट मलाई हेरेर अत्तालिएर के गरौँ के गरौँ भइरहेका थिए । मलाई तानेर निकाल भनेर म भनिरहेको थिएँ । पछि खुट्टा समाएर बल्लबल्ल तानेर माथि निकाले ।”

वर्ष दिनसम्म त्यो घाउले उनलाई दुःख दियो । करिष्माको ढाडमा अहिले पनि चोकेले काटेको खत छ ।

त्यो समय व्यक्ति स्वयं सचेत भएर जति सुरक्षित हुन सक्यो, सक्यो । त्योबाहेक प्रोडक्सनले सेफ्टीको प्रबन्ध गर्दैन थियो ।

करिष्मा पुगिन्, धनकुटा । ‘भाउजू’को सुटिङ थियो, उनी होटेलमा बसेकी थिइन् । “त्यो दिन गन्हाउने कीरा यति धेरै आयो, कोठाभरि जताततै कीरैकीरा भयो । बेडभरि पनि कीरा भयो । यति धेरै गन्हायो, यति धेरै असहज फिल गरेछु,” करिष्मा भन्छिन्, “मलाई दुई दिनसम्म इन्जेक्सन दिएर लट्ठ्याएर राख्नुपर्‍यो ।” जब कीराको त्यो प्रकोप हट्यो, उनलाई नर्मल अवस्थामा फर्काइयो ।

बाइक चलाउने दृश्य
सेलुलाइडको जमाना थियो । जति रिल घुम्यो, त्यति सिनेमाको खर्च बढ्थ्यो । त्यसैले रिहर्सल धेरै गरिन्थ्यो । कहिले दुई टेकमै ओके हुन्थ्यो भने कहिले २० टेकसम्म पनि लिनुपर्थ्यो ।

करिष्मालाई त्यो बेलाको चलचित्रको ‘भाषा’ अनौठो लाग्थ्यो । अहिलेजस्तो एनिमेसन हुँदैन थियो । चलचित्रको नाम त उनले भुलिन्, तर बाइक चलाउने दृश्य थियो । बाइक चलाउन उनलाई आउँदैन थियो ।

“ट्रकमाथि बाइक बाँधेर सुट गरियो । त्यो पनि कहाँ सजिलो हुनु ? छेउछेउको रुख पनि त त्यही लेभलमा आउनुपर्थ्यो । त्यसैले मलाई चलचित्रको भाषा एकदमै फन्नी लाग्छ,” उनले रमाइलो किस्सा सुनाइन्, “पुलिस अफिसरको रोल थियो, त्यसमा मैले बाइक चलाउने सिन थियो ।”

सुरुसुरुमा चलचित्रमा उनको त्यति धेरै ध्यान जाँदैन थियो । त्यसैले परिणाम के होला भनेर डर लाग्दैन थियो ।

ती फ्यान
अहिलेजस्तो धेरै मिडिया थिएनन् । सामाजिक सञ्जाल छँदै थिएन । दर्शकले कलाकारलाई हेर्ने सिनेमा हलमै थियो । सुटिङमा गएका बेला कसैले देखे त्यो बेग्लै कुरा । सुटिङमा कलाकारले दर्शकको अनौठो माया पाउँथे । करिष्माले पनि त्यो अनुभूत गरिन् ।

“कति सिन जंगलको हुन्थ्यो । जंगलमा सुटिङ हुँदा ट्वाइलेट हुने कुरा भएन, मान्छे बसिरहेको ठाउँबाट टाढा जानुर्पथ्यो । तर, फ्यानहरूले कति बेलै पिछा छोड्नु हुन्न थियो । म उहाँहरू नआए हुन्थ्यो भन्थेँ । त्यसैले म दौडिन्थेँ, उहाँहरू पनि दौडिनुहुन्थ्यो । म बस्थेँ, उहाँहरू पनि बस्नुहुन्थ्यो । आउटडोर सुटिङमा ट्वाइलेटको सधैँ समस्या हुन्थ्यो,” करिष्मा भन्छिन्, “तपाईं उहाँलाई माया गर्नुहुन्छ, कलाकारलाई माया गर्नुहुन्छ, तर किन माया गर्नुहुन्छ भन्दा थाहा छैन । नो कन्डिसनवाला माया । अर्थात्, किन मन पर्छ थाहा छैन, तर जस्ट मनपर्छ भनेपछि मन पर्छ भन्ने खालका दर्शकको माया मैले देखेको छु ।”

हत्केलाबाट त्यति बेला मात्र पसिना आउँछ, जब कुनै व्यक्तिले साँच्चै केही महसुस गरिरहेको हुन्छ । “त्यो हत्केलाबाट आएको पसिना मैले कैयौँपटक महसुस गरेको छु । अँगालो मार्दा मैले उहाँहरूको शरीरको कम्पन भएको कैयौँपटक महसुस गरेको छु,” करिष्मा भन्छिन्, “त्यो खालको माया पाएको छु, मैले । राजेश हमालको क्रेज कस्तो थियो, त्यो मैले छर्लंग देखेको छु ।”

अहिले अवस्था फेरियो । कलाकारसम्म सहज पहुँचले पहिलाको जस्तो क्रेज बाँकी रहेन । “कसैले देख्यो भने ‘ए करिष्मा मानन्धर रै’छ’ भन्ने मात्रै हुन्छ । किनभने, हरेकले हरेकलाई अहिले सामाजिक सञ्जालमा देखेकै हुन्छ । हाम्रा अभिव्यक्ति त्यहीँबाट थाहा पाइरहेको हुन्छ,” उनी भन्छिन्, “भेट भयो, फोटोचाहिँ खिचौँ न त भन्ने हुन्छ । त्यो पनि खिचौँ कि नखिचौँ भन्दै खिचेको मैले देखेको छ । भावनात्मक रूपमा निकै कठोर भइसक्यौँ हामी । अहिले केही कुराले हम्मेसी कसैको मन छुँदैन । मन छुन अहिले समय लाग्छ ।”

क्रेज उच्च थियो । सुटिङ सेटमा स्थानीयले झ्याप्पै छोप्थे । काम नै प्रभावित हुन्थ्यो । त्यसैले करिष्मालाई अधिकांश निर्देशकले सकेसम्म बाहिर ननिस्कन भन्थे ।

“सुटिङ सकेर म घरभित्र पस्थेँ, फेरि अर्को सट दिन बोलाएपछि बाहिर निस्किन्थेँ,” ती दिन करिष्माको दिमागमा आउँछन्, “त्यसैले मलाई सुत्केरी बसेजस्तो बस्ने भनेर जिस्काउँथे । एक्सरसाइज पनि भित्रै गर्थ्यौँ ।”

यो पनि पढ्नोस्

दीपक थापा अर्थात् गुन्डा सेलिब्रिटी

जब केकी असारको भेलमा फेवातालमा डुबिन्

उटपट्याङ ‘शिरोमणि’ राजारामका किस्सैकिस्सा

यसरी भएका थिए सरोज एकै रातमा सुपरस्टार

दीपकराज गिरीको त्यो ‘वाणी’ जसले स्वस्तिमालाई झस्काइरहन्छ

पटक–पटक मृत्युको मुखमा पुगेर फर्किएका दयाहाङ

रेखा थापाको त्यो भयानक क्षण

निखिल उप्रेतीको सुटिङ अनुभव– सात तलाबाट हामफाल्दा आफैँलाई दबाबमा राखेको थिएँ

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro