उत्तरतर्फ मनास्लुदेखि अन्नपूर्ण शृंखलासम्म । थुन्से घोप्ट्याएजस्ता ससाना थुम्का । पूर्वबाट पश्चिम–दक्षिण बगेकी चेपे । वायव्य कोण भएर बग्ने लमतन्न मस्र्याङ्दी । तीद्वारा व्युत्पन्न चित्ताकर्षक उपत्यका । सुन फल्ने समथर फाँट राइनासकोटका सौन्दर्य छटा हुन् ।
तर, केही समयअघिसम्म ती राइनासकोटका दुःखका साक्षी थिए ।
बाह्रैमासको ठिही । खेती किसानी गर्न जान आधा दिन खर्चनुपर्ने बेँसी । पानीको हाहाकार । र, उच्चाटलाग्दो सिरेटो त्यहाँका पुख्र्यौली उपहार थिए । पुस्तौँपुस्तादेखि झेल्दै आएको दुःखबाट कहालिएर होला, त्यहाँका अधिकांश गुरुङ समुदायले थातथलो छाडे । केही सुन्दरबजार ओर्लिए । केही पाउँदी तेर्सिए । केही बेँसीसहर झरे । औँलामा गन्न सक्ने गुरुङ समुदाय आफ्नै रसोबासको भर परे ।
दुःखमाथि दर्द । गरिबहरूलाई नियतिले थमाउने प्रेरणादायी पुरस्कार हो यो, शायद । ०७२ सालको विनासकारी भूकम्पले राइनासकोटका गुरुङ समुदायमाथि अकल्पनीय पीडा थोपर्यो । मुलुकभरि सात लाख बढी घर खण्डहर बनाउने गरी आएको भूकम्पले राइनासकोटका विपन्न झुपडीहरू पनि भग्नावशेषमा परिणत गरिदियो । बसोबास उखेलिदियो ।
राइनासकोट फगत गाउँ होइन । न गुरुङ समुदायको आदीम थातथलो मात्रै । यो त एउटा ऐतिहासिक ‘राजधानी’ पनि । ‘मिथ’मा यो द्रव्य शाहको पुख्र्यौली दरबार क्षेत्र हो ।
अस्तित्वको संकटबाट गुज्रिरहेको गढी त्यहाँको जीवित इतिहास र प्राचीन संग्रहालय प्रतीत हुन्छ । गढीको मुन्तिर गाडिएको मौलो र वनमाराले छोपिएको भग्न दरबार इतिहास चिनाउने अवशेष बनेका छन् ।
इतिहासको डिस्कोर्स
इतिहासकारका अनुसार विक्रम् सम्वत् १६०० को सुरुआतमा राजकाज संगालेका लमजुङे राजा यशोब्रह्म शाहको कान्छा छोरा द्रव्य शाहको दरबार रहेको क्षेत्र हो त्यो । लमजुङको आठ कोटमध्येको एक कोट पनि । जेठा छोरा नरहरि शाहले पश्चिम लमजुङको राजकाज पाएपछि द्रव्य शाह (१६१६–१६२७) पूर्वी किल्लाको राजा बनेका थिए, जो पछि लिगलिगकोटको दौड जितेर त्यहाँको पनि राजा हुँदै गोरखातर्फ अघि बढेका थिए ।
अर्काथरी इतिहास अन्वेषकको मत बाझिएको छ । “द्रव्य शाहले लिगलिग कोटको दौड जितेकै होइनन् । सधैँ दौड जितेर प्रथम हुने र राजगद्दी सम्हाल्ने रैथाने मगरहरूको शासनबाट विरक्तिएका खस–क्षत्री–ब्राह्मणहरूले नै जबरजस्ती दौड जिताएर लिगलिगकोटको राजा बनाएका थिए उनलाई । यहाँसम्म कि द्रव्य शाहसँगै दौडमा सामेल भएकाहरूलाई बीचबाटोमै कत्लेआम गरियो । सुरुमा द्रव्य शाहको भेषमा अर्कैलाई दौडाइयो । बीचबाट मात्रै स्पर्धामा सरिक गराइयो, षड्यन्त्रपूर्वक जिताएर राजा बनाइयो,” त्यहाँका रैथाने मगर समुदायका अगुवाहरूले उत्खनन् गरेका तथ्य उद्धृत गर्छन् राइनासकोट–८ का कृष्णराज ओलिया ।
इतिहास जेजस्तो भएपनि अहिले उचित संरक्षण र सम्वद्र्धनको अभावमा नष्टसन्निकट यी इतिहास र अवेशष बनेका सम्पदा जोगाउन राइनासकोटबासी कम्मर कसेर लागेका छन् ।
‘समय सधैँ एकनास रहिरहँदैन’ यो कहावत राइनासकोटबासीकै लागि बनाइदिएको आभास हुन्छ । गर्मीमा भेडी गोठ सार्नमात्रै योग्य लाग्ने उराठलाग्दो राइनासकोटलाई पर्यटकीय गन्तव्य बनाउन राइनासकोटका महिला सामूहिक रूपमा पटुकी कसेर लागेका छन् ।
भूकम्पले घर न भत्काएको थियो, आँट र साहस सग्लै थियो उनीहरूको । भूकम्प गएको ६ महिना सरकारको बाटो हेरे । ०६३ मा पर्यटकीय क्षेत्र घोषणा गरिदिएको थियो सरकारले, जसका कारण स्थानीय स्तरमा पर्यटन विकास समितिसमेत बनेको थियो । त्यसैले सम्पदा जोगाउन पहल लेला भन्ने आश थियो । तर, भूकम्पलगत्तै संविधान घोषणा । सरकार फेरबदल । त्यसलगत्तैको नाकाबन्दीले उनीहरूको अपेक्षामा उच्च हिमपात भयो । र, आफैँ कस्सिए घर बनाउन ।
साथ दियो सर्वोदय सेवा आश्रमले । होमस्टे बनाउने लक्ष्यसहित पुनर्निर्माणको योजना बनेपछि देशबाहिरबाट पनि सहयोगको जुगाड भयो । त्यस गाउँका लागि ‘भगवान’ बनिन्, अमेरिकी नागरिक नतासा बोञ्जियाक ।
सबैको यथोचित पहलकदमीले भूकम्प गएको एक वर्ष नबित्दै राइनासकोटले मुहार फेर्यो । होमस्टेसहितको १४ वटा घर र एक सामुदायिक भवन निर्माण भएपछि राइनासकोट पुरानो साख र सौन्दर्य फर्काउने दाउमा छ । त्यतिमात्रै होइन, गरी खान धौधौ भएर जन्मिएको माटो छोडेर बाटो लागेकाहरूलाई आफ्नौ थातथलो फर्काउने यत्नमा पनि जुटेको छ राइनासकोट ।
० ० ०
जस्तै विपद्मा मुस्कुराउने र अप्ठ्यारोमा पनि कर्तव्य नछाड्ने विशेषता बोकेको युगीन भूमि हो राइनासकोट । हुर्किएका पुरुष घर बस्दैनन् । महिलाले मात्रै चलाएका छन् घर–गाउँ भन्दा हुन्छ । होमस्टेको अवधारणा पनि तिनै हिजो चुल्होचौकामा मात्रै सीमित महिलाहरूको हो भन्दा अतिशयोक्ति हुँदैन ।
आफ्ना विगत सुनाउँदा उत्साहित र भावविह्ल दुवै थिइन्, विष्णु गुरुङ ।
उनी स्थानीय धानीमाई आमा समूहकी अध्यक्षसमेत हुन् । धानीमाई, उनीहरूको आस्थाको प्रतीक । डाँडामा सामान्य थान स्थापना गरेका छन् । र, हमेसा पूजा गरिरहन्छन् । तिनैको नामबाट महिला बचत समूह स्थापना गरेका छन् । त्यसैको उपलब्धि हो राइनासकोट होमस्टे । सर्वोदय सेवा आश्रमको हरबखतको हातेमालो त छँदैछ ।
विष्णु अविवाहिता रहिछन् । राइनासकोटलाई पर्यटकीय हब बनाउने अर्जुनदृष्टि बोकेकी । हामीले सोध्यौँ, “बिहे किन गर्नुभएन ?”
हँस्यौली तर गम्भीर मुद्रामा उनले भनिन्, “समाजको लागि सोच्दासोच्दै आफ्नोबारेमा ध्यान पुर्याउनै बिर्सेछु ।”
त्यसपछि उनले इतिहास बनेका राइनासकोटको विगत उधिन्दै गइन् । पुरानो राजदरबार । गढी र किल्ला रहेको एतिहासिक क्षेत्र । राष्ट्रको धरोहर समयक्रममा खण्डहर बन्यो । गढीमात्रै होइन ,गावैँ भग्न बन्यो । र, हेर्दाहेर्दै भेडी खर्क बन्न थाल्यो ।
त्यसैले पिरोलेको हो उनलाई । मेहनती थिए राइनासकोटबासी । घरको चुल्होचौको भ्याएर तीन घन्टा लगाएर बेँसी जाने–आउने गर्थे त्यहाँका महिला । बेसीको पनि पुछार । बाह्रमुठे, अलैचे, गैह्री खेत हुन् उनीहरूको खेती गर्ने थलो । बाह्रैमास हातगोरु दुवै जोत्थे, अनाज उव्जाउँथे । खानमात्रै पुर्याउँदैनथे, बेच्थे पनि । होमस्टेको लागि बीज–मुद्रा त्यही भयो, अन्तिममा ।
पाखुरामा पौरख साँचेका राइनासकोटका आमाहरू अहिले गाउँलाई पर्यटकीय हब बनाउने दीर्घ अभियानमा जुटेका छन् ।
० ० ०
अहिले राइनासकोटमा ११ वटा आवासीय घर छन् । ४५ बेडसहितको होमस्टे छ । ५०–६० जना पाहुनालाई सजिलै खानेबस्ने प्रवन्ध मिलाउन सक्छन् उनीहरू ।
“यो जिल्लाकै नमुना होमस्टे हो, एतिहासिक महत्त्वको क्षेत्रको अवलोकन गर्न पाइने र गुरुङ कला, सौन्दर्य, संस्कृति र परम्पराको रसस्वादन गर्न पाइने भएकाले पछिल्लो समय आकर्षण बढेको छ,” सर्वोदय सेवा आश्रमका अध्यक्ष कृष्णराज ओलिया प्रष्ट्याउँछन् । ओलिया राइनासकोटलाई पर्यटकीय हव बनाउने मुख्य योजनाकार पनि हुन् ।
मौसम खुलेको समयमा गढीबाट आधा दर्जनबढी हिमशृंखलाको दृष्यावलोकन गर्न सकिन्छ । पूर्व चेपे, पश्चिम मस्र्याङ्दी नदी र तिनका उपत्यका मनोहरता नियाल्न सकिने भएकाले आन्तरिक एवम् बाह्य पर्यटक लोभिएको उनको भनाइ छ ।
त्यस्तै सूर्योदय, सूर्यास्त, चन्द्रोदय चन्द्रास्त अवलोकनका लागि पनि राइनासकोट अपूर्व थलो बन्दैछ, पछिल्लो समय ।
दुईचार वर्षअघिसम्म खानेपानीको असाध्यै दुःख थियो । अहिले पूर्वोतरमा रहेको इलामपोखरीबाट खानेपानी ल्याएका छन् र सिंगो गाउँमा वितरण गरेका छन् । सुख्खायाममा पर्याप्त नहुने भए पनि बिस्तारै बस्तीको मुहार फेरिँदै गएकोमा पुलकित छिन् विष्णु । “हाम्रो रातदिनको मेहनतकै कारण राइनासकोटलाई द्रव्य शाहको दरकार रहेको पुरानो ठाउँ भनेर मात्रै होइन, पर्यटकीय गाउँ पनि हो भनेर चिनाउन सकेका छौँ,” कुराकानीको अन्तिममा खुसीको निःस्वास फेर्छिन् उनी ।