सम्भवतः दाप्चेडाँडा मध्यकालदेखिको नेपालको पूर्वतर्फबाट उपत्यका आउजाउ गर्ने मूलबाटो थियो । त्यो मूलबाटोको अतीत गुलजारमय थियो ।
डाँडाको टुप्पामा सानो आकारको बजार थियो । र, सँगै केही थान पाटीपौवा र मन्दिर थिए ।
नेपालको आजको अधिकतर पूर्वी क्षेत्रबाट उपत्यका छिर्नेहरू रोसी खोलाको तीर छाडेपछि धुवाँकोट, चरंगेफेदीबाट दाप्चेडाँडातर्फ उँभो लाग्दथे । उपत्यका छाड्नेहरू फर्कंदा पनि यही बाटो समाउँथे ।
आउजाउ गर्ने बटुवाहरूलाई ढाक्रे भनिन्थो र तिनीहरू रात परेपछि सुरक्षित बासको खोजीमा पाटीपौवासम्म लम्कन्थे । सबैका लागि पाटीपौवाको बास रुचिकर र आरामदायी हुँदैनथ्यो ।
दाप्चाडाँडाको केन्द्रभागमा नेवार समुदायले हटिया चलाएका थिए । अर्थात्, पाहुनाका लागि उनीहरूले आफ्नो घरको भुईंतल्ला र पिँढी छुट्ट्याएका हुन्थे । ढाक्रेहरूले आफूसँग भएको वा घरधनीसँग सामल किनेरै र भाँडाकुँडा भने मागेर पकाएर खान्थे ।
त्यसको बदलामा बासको पैसा लिनेदिने चलन थिएन । स्वेच्छाले दिएको वस्तु तिनीहरूले लिनेदिने गर्दथे । तर, हिँड्ने बेलामा भने ढाक्रेहरूले पिँढी र बर्तनहरू सफा गरिदिनुपर्दथ्यो ।
कालान्तरमा दाप्चाडाँडाको बजारलाई त्यही ‘हटिया‘ संस्कृतिले तल्लो हटिया र माथ्लो हटियाको नामकरण जुराइदियो । हटियाको शाब्दिक अर्थ हाट लाग्ने बजार भन्ने रहे पनि दाप्चाडाँडाको विगत भने त्यो सन्दर्भमा अनविज्ञ देखिन्छ ।
विभिन्न अभिलेखानुसार लिच्छविकालदेखिको प्रमाणिक अस्तित्व दाप्चा बजारको भेट्न सकिन्छ । पहाडी सभ्यताको थातथलोका रूपमा गाउँहरू पहाडको सम्मुच्च भागमा रहन्थे भने पहाडको मध्यक्षेत्र र बेसीँको छुट्टै विशिष्टता र उपयोगिता रहन्थ्यो ।
पलाञ्चोक, फूलबारी, बुच्चकोट, दाप्चालगायत पहाडी भेग लिच्छविकालीन समयमा उपत्यकाको अधीनमा थियो । मध्यकालमा पलाञ्चोक, दाप्चा, तेमाललगायत भेगहरू छुट्टाछुट्टै राज्यका रूपमा समेत अस्तित्वमा थिए ।
वि.सं. १४६० देखि वि.सं. १५०० आसपास दाप्चासहित तिमाल, सुनकोसी र सिन्धुपाल्चोकको कोदारीसम्मको भूभागका राजाका रूपमा पलाञ्चोकका शक्तिसिंह रामवर्द्धन रहेका थिए ।
मल्लकालको आरम्भताका दाप्चा काठमाडौंका राजा यक्ष मल्लको अधीनमा थियो । वि.सं. १५८० को हाराहारी अर्का राजा शिवसिंह मल्लले पनि यो भाग आफ्नो अधीनमा राखेका थिए ।
अर्थात्, दाप्चाको भूगोल मल्लकालको अधिकतर समय उपत्यकाका कुनै न कुनै मल्ल राजाको अधीनमा रहेको देखिन्छ । हनुमानढोकाको जगन्नाथ मन्दिरको शिलालेखानुसार उक्त मन्दिर बनाउन फूलबारी, दाप्चा, बुच्चाकोट, पनौतीलगायत ठाउँबाट एक घर एक भारी बाबियो वा २० धार्नी झारा जुटाउन अमालीदार र बिर्तावालहरूलाई उर्दी जारी गरिएको थियो ।
झाराको अर्थ जनताले निःशुल्क श्रमदान गर्नु हो भने २० धार्नी झाराको अर्थ कति परिमाण हो भन्ने कुरा पुष्टि नहुने देखिन्छ ।
वि.सं १७२० ताका भक्तपुरका राजा जगतप्रकाश मल्लले दाप्चा क्षेत्र अधीनस्थ गरेका थिए । लगत्तै पाटनका राजा सिद्धिनरसिंह मल्लले पनि यो भेगलाई आफ्नो नियन्त्रणमा राखेको प्रमाण भेटिन्छ ।
उनले पाटन दरबार प्रांगणको श्रीकृष्ण मन्दिरकै शैलीमा दाप्चामा सानो आकारको श्रीकृष्ण मन्दिर बनाएका थिए । दाप्चामा अहिले पनि श्रीकृष्ण मन्दिर रहे तापनि त्यो सिद्धिनरसिंह मल्लकै पालाको अवस्थितिमा छैन भन्ने कुराको पुष्टि हुन्छ ।
दाप्चा बजारमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीमा लाग्ने छुट्टै प्रकृतिको जात्रा चलनमा छ, जुन चलन अन्यत्र छैन । अर्थात्, श्रीकृष्ण जन्माष्टमीलाई माथ्लो हटियामा विशेष प्रकारले मनाइन्छ । यो जात्रा पाटनका राजा सिद्धिनरसिंह मल्लको आदेशमा चलिआएको मानिन्छ ।
त्यसैगरी, पाटनका राजा श्रीनिवास मल्लको शक्ति कमजोर भएका बखत उनले बाध्यतावश उक्त भेग भक्तपुरका राजा जगतप्रकाश मल्ललाई हस्तान्तरण गरेका थिए । वि.सं. १७२२ वैशाख १९ गतेको एउटा धर्मपत्रमा उनले यो सम्मति दिएको विषय उल्लेख छ ।
पछि कुनै समय पुनः कान्तिपुर र ललितपुर मिलेर भक्तपुरको अधीनमा रहेका दाप्चालगायत क्षेत्र नियन्त्रण गरी ललितपुरले नै फिर्ता लिएको प्रसंग पनि पढ्नमा पाइन्छ ।
नेपाल एकीकरणताका पृथ्वीनारायण शाहले सामरिक दृष्टिकोणले प्रेरणाको स्थलका रूपमा दाप्चाडाँडा रहेको स्वीकार गरेका छन् । तत्कालीन नेपाल मण्डलको सामरिक सुरक्षार्थ दाप्चाडाँडालाई उपयोग गर्नुपर्ने कुरो दिव्योपदेशमा छ । उनले दाप्चाडाँडामा बलियो सैन्य किल्ला बनाउन सुझाएका छन् ।
नेपालको एकीकरणपश्चात् समेत दाप्चाडाँडा मौजा मुकामको रूपमा उपयोग भएको देखिन्छ । राजा रणबहादुर शाहले सेनाको चौकी र यो क्षेत्रबाट जग्गाको तिरो, कुत, पोत उठाउने कार्यमा यहाँ ‘चौधरी’ मुकर्रर गरेका थिए ।
नेवार समुदायलाई पहाडी इलाकामा खेतीका निम्ति जग्गा लिन बन्देज गरी व्यापारमा लगाइएको अभिलेख भेटिएको छ । उपत्यकाको सुरक्षार्थ सामरिक दृष्टिकोणले दाप्चा किल्लाको उपयोग कहिलेसम्म भयो, त्यो पक्ष खुलेको छैन ।
०००
ऐतिहासिक दाप्चाक्षेत्रको प्रसिद्धी व्यापारिक मात्र नभई शिक्षामा पनि चर्चा गर्न लायक थियो । आजभन्दा अढाई दशकअगाडिसम्म यस भेग आसपासका अधिकांशले पढ्नका लागि दाप्चा धाउने वा डेरा गरेर बस्नेको अनुभवका किस्साहरू रमाइला भेटिन्छन् ।
प्रवेशिका परीक्षा अर्थात् एसएलसीसम्मको अध्ययनका लागि धुलिखेल पछाडिको अर्को गन्तव्य दाप्चा हुन्थ्यो ।
साढे दुइ दशकअगाडिको कुरा, बर्खायाममा त्यसताका विद्यालय एक महिना बन्द हुन्थ्यो । विद्यालय जानु नपर्ने तर पढाइलाई निरन्तरता दिने ध्येयले हामी केही साथीहरू घर छाडेर त्यो महिना दाप्चा माथ्लो हटियामा डेरा गरी बसेका थियौँ ।
अहिलेको भकुन्डेबेँसी आसपासमा त्यो ताका राम्रा शिक्षकहरूको पहुँच थिएन । जो भएका टाढाका शिक्षकहरू गाउँठाउँमा लामो बिदा हुनेबित्तिकै आ–आफ्नै घर फर्कन्थे ।
प्रवेशिका परीक्षाताका वा लामो बिदाको अवधिभर सदरमुकाम वा मुख्य बजार केन्द्रमा डेरा लिएर ट्युसन पढ्ने चलन समयको बाध्यता थियो । अर्थात्, हाम्रो निम्ति उम्दा शिक्षकको विकल्प दाप्चा, माथ्लो हटियाले पूरा गर्दथ्यो ।
बेसीँ फाँटमा रोपाइँको चहलपहल र फाँटको दृश्य मनमोहक हुन्थ्यो । दाप्चा जाने क्रममा हामी भने सामलतुमलदेखि बिछ्यौनासम्मको झिटिगुन्टा कसेर उकालो काट्ने र फर्कने दिन ओरालो झर्दथ्यौँ ।
उकालो लाग्दा भने वर्षाको चिप्लो बाटोमा कुहिरो, हुस्सु र झरीबाट बेपरवाह हामी खँदिलो भारी बोकेर बाटो काट्थ्यौँ । बसाइको क्रममा शनिबारका दिन घर आउने–जाने क्रम दोहोरिन्थ्यो ।
दाप्चामा अंग्रेजी पढाउने वृन्दानारायण सरसँगको ट्युसन कक्षामा हामी सामेल हुन्थ्यौँ । छत्रेवाझ स्वास्थ्य चौकीनजिकैको घरमा भुईंतलाको सानो कोठा लिएका थियौँ ।
बिहान सबेरै हामी बस्ने डेराबाट पाँच सय मिटर तलबाट १० लिटरको जर्किनमा पानी जोहो गर्दथ्यौँ । सबेरै उठ्ने लहडमा कति दिन त मध्यरातमा पँधेरामा पुगेका हुन्थ्यौँ । घरबाट टाढा नबसेकाले एक हप्ताको बसाइमा पनि घरको यादले अत्तालिएका हुन्थ्यौँ ।
श्रावण मासको गठेमंगलको दिन थियो । ऐतिहासिक ठाउँको विशेष परम्पराका बारेमा हामी अनविज्ञ थियौँ । स्थानीय नेवार समुदायले मनाउने यस पर्वका दिनमा बाटो छेक्दै पैसा उठाइँदो रहेछ, शिवरात्रिमा काठमाडौंमा स–साना केटाकेटीले गरेजस्तै ।
हामीले ओहोरदोहोरका लागि पैसा उठाउने बाटो छोडेर चोरबाटो हिँड्ने अक्कल गर्यौं । त्यो दिन बजार पछाडिको चोरबाटो हिँड्ने क्रममा दुईजना साथीहरू मलमूत्रसहितको खाल्डोमा खस्न पुगे ।
हामीलाई फसाद, गनाउने खाल्डोमा परेका साथीहरूको हात समातेर उद्धार गर्न त्यसै घिनाइरहेका थियौँ । धन्न, पछि जसोतसो साथीहरू आफू–आफैँ बाहिर निस्किए ।
दाप्चा क्षेत्र पृथ्वीनारायण शाहका लागि समेत सामरिक प्रेरणाको स्थल बनेको थियो भने हाम्रा लागि पनि धेरथोर औचित्यपूर्ण नै रह्यो । मेरा लागि साहित्यसँगको प्रेमालाप त्यही माथ्लो हटियाबाट आरम्भ भएको भन्दा अत्युक्ति हुँदैन ।
मेरो नेपाली अक्षर राम्रो पनि थिएन, तथापि सिजनात्मकताले कुनै न कुनै बाटो लिँदो रहेछ । केही दिनको दाप्चाको बसाइमा एउटा नाटकको रचना भयो ।
सहपाठी उमेश काफ्लेको हुटहुटीले त्यो नाटक प्रकाशन गर्नेसम्मको अभिलाषा बोकेर हामी माथ्लो हटियाबाट फर्केका थियौँ । तर, पाण्डुलिपि प्रकाशित गर्ने लहडमा साथीले कता हराइदियो, हराइदियो ।
अर्थात्, माथ्लो हटिया बसाइ सम्झना र प्रेरणाको स्रोत रहेको थियो, जुन बखत हाम्रो रुचि र जागरणले गाउँमा राम्रै हलचल ल्याएको थियो ।
दाप्चा बसाइको क्रममा उमेशलाई पढाइभन्दा अलि बढी नौलो काम गर्ने अनेकौँ खाले हुटहुटी चढ्थ्यो । उसलाई फुरेको एउटा अक्कलले गाउँ फर्केर हामीले नमुनायोग्य काम गर्न सफल भयौँ ।
गाउँमा दसैँको महानवमीका दिन सांस्कृतिक कार्यक्रमसहित ग्रामीणस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेका थियौँ । र, प्रतियोगिताको नाम थियो– ग्रामीण युवास्तरीय हाजिरी जवाफ ।
कार्यक्रम भव्य रहे पनि आर्थिक रूपले हामी घाटामा रह्यौँ । यो थियो, त्यही ऐतिहासिक दाप्चा बजारमा किशोरावस्थामा बिताएका केही सन्दर्भहरू ।
अर्थात्, ऐतिहासिककालदेखि दाप्चाडाँडाको बजार र मूलबाटो गुलजार थियो । तर, अहिले उक्त ऐतिहासिक दाप्चाको तल्लो र माथ्लो हटियाको उमंग सुकेको छ । आज बजारका अधिकांश घरका ढोकामा ताल्चा लागेको देखिन्छ र त्यहाँको रौनक बसाइँ सरेको छ ।
दाप्चाडाँडको बजार माथ्लो र तल्लो हटिया प्रसिद्ध नमोबुद्धबाट सहजै केही बेरको हिँडाइमा पुग्न सकिने ठाउँ हो । साथै, मोटरबाटो भएकाले राजधानीबाट केही घण्टामै यो ठाउँ पुग्न सकिन्छ ।
कुनै समय २४सै घण्टा जागा बस्ने यो बजारमा आज बाहिरी मान्छेको आइजाइ हेर्न मुस्किल छ । सबैको दिन फिर्छ भनेझैँ यो बजारको पनि दिन फिरोस् । त्यसका लागि सम्बन्धित निकायको ध्यान चाँडै खिचिने आशा जागेको छ ।