site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
हामीले पाठकमैत्री निबन्ध नै लेखेनौँ

(लामो समयदेखि शिक्षण पेसामा संलग्न निबन्धकार, गीतकार मुकुन्दराज शर्माले हालै निबन्धकृति ‘धोबीघाट मेलोडी’ पाठकसामु पस्किएका छन् । स्वरांकन भइसकेका थुप्रै गीतका सर्जक शर्माले यसअघि ‘शब्द शिविर’ निबन्धकृति ल्याइसकेका छन् । अब उनी गीतिसंग्रह ल्याउने सोचाइमा छन् । प्रस्तुत छ, निबन्धकार शर्मासँग उनको नवीन कृतिका विषयमा बाह्रखरीका राजेश खनालले गरेको कुराकानीको सम्पादित अंश)

‘धोबीघाट मेलोडी’ नै किन राखियो किताबको शीर्षक ?
म ललितपुरस्थित धोबीघाट, ढुंगेधारानजिक बस्छु, त्यसैले पनि धोबीघाटको त्यो आकर्षणले पुस्तकको शीर्षक राख्न प्रेरित गरेको हो । मेरो क्षणिकी उपविधाको जुन परिकल्पना छ, त्यो धोबीघाटकै घटनाबाट निर्मित हो । त्यसकारण पनि धोबीघाटसँग क्षणिकी उपविधाको कथा जोडिएको छ । अर्को कुरो के भने, धोबीघाटको ढुंगेधारा अविरल बग्ने धारा हो । एक दिन मैले त्यो निरन्तर बगिरहेको पानी हेरिरहेँ । लाग्यो, त्यो पानी र हाम्रो जीवन उस्तै छ । निरन्तर नरोकिएर बगिरहने त्यो पानी र यो जीवनलाई मैले आफ्नो विगतसँग प्रतिविम्बित गरेँ । फलतः मैले प्युठान सम्झिएँ, कपिलवस्तु सम्झिएँ । मैले पढेको ठाउँ दार्जिलिङ र असम सम्झिएँ ।

३५ वर्ष भएछ धोबीघाटको डिलमा म बसेको । अनि लाग्यो, यो पानी बितेको मेरो उमेरको प्रतिविम्ब हो । एउटा गजबको संयोग पनि के छ भने, ढुंगेधारामा तलतिर गोहीको मुख छ र माथितिर हात्तीको मुख छ । धाराको बनोट हो यो । हाम्रो प्युठानमा ऐरावती भन्ने जुन ठाउँ छ, त्यो झिमरुक नदी र माडी (माण्डवी) नदीको संगमस्थल हो । त्यो ठूलो तीर्थस्थलमा गनिन्छ । त्यहाँको एउटा किंवदन्ती मेरो दाजुले सुनाउनुभएको थियो— एकपटक त्यहाँ ऐरावत हात्तीलाई गोहीले आक्रमण गरेको थियो भनिन्छ, त्यसैले त्यो ठाउँलाई ऐरावती भनिएको हो ।

Dabur Nepal
NIC Asia

प्युठानमा गोही र हात्तीको कथा, यहाँ पनि गोही र हात्तीको आकृतिको ढुंगेधारा ! त्यसैले यो धारा मसँग एकदमै भावनात्मक रूपले जोडियो । फेरि, ललितपुरको यो भूगोल सांस्कृतिक रूपले एकदमै महत्त्वपूर्ण मानिन्छ । त्यसैले पनि म धोबीघाटको नामबाटै यो किताबको नामकरण गर्ने मनस्थितिमा पुगेँ । यो निबन्धकृतिभित्रको कुनै शीर्षक होइन । योभन्दा अगाडिको पुस्तक ‘शब्द शिविर’ पनि निबन्धभन्दा बाहिरको शीर्षक हो ।

अनि, मेलोडी कताबाट आयो ?
यस विषयमा मेरा मित्र विप्लव ढकालजीसँग कुरा गरेँ– धोबीघाटसँग के जोड्ने शीर्षकमा ? ‘शब्द शिविर’को नाम पनि उहाँले नै जुराउनुभएको थियो । हामीबीचको कुराकानीपछि उहाँले निकै नामहरू सुझाउनुभयो । तर, एक दिन सखारै उहाँले म्यासेज बक्समा ‘धोबीघाट मेलोडी’ लेखेर पठाउनुभयो । यो नाम मलाई एकदमै मन पर्‍यो । सहीमा यो त मेरो जीवनको मेलोडी, बितेको समयको मेलोडी, विचारको मेलोडी, भावनाको मेलोडी, बगेको पानीको मेलोडी नै त हो । शीर्षक मलाई सार्थक लाग्यो, यसलाई नै राख्ने निर्णय गरेँ ।

मैले यो प्रा. डा. दयाराम श्रेष्ठ सर, प्रा. डा. माधवप्रसाद पोखरेल सरहरूलाई पनि सुनाएँ । विष्णुविभु दाइ त नाम सुनेर हुरुक्कै हुनुभयो । डिजाइनरले पनि गज्जबसँगै पानीको मेलोडीलाई कभरमा उतार्नुभएको छ ।

कृतिमा क्षणिकी छ, अनुभूति छ, अन्तरदृष्टि पनि छ । निबन्धलाई तीन भागमा किन विभाजित गर्नुभयो ?
पहिले यसका निबन्धहरू दुई खण्डमा राख्ने सोच थियो, क्षणिकीहरू एउटा खण्डमा र गैरक्षणिकीलाई अर्को भागमा । अब गैरक्षणिकीलाई भन्ने के ? अन्य निबन्ध भन्न पनि मिलेन । क्षणिकी आफैँमा निबन्ध हो, निबन्धलाई एउटा उपनाम दिइएको न हो । मलाई के गर्ने कसो गर्ने भइरहेको थियो ।

एक दिन दयाराम सर, विप्लव सर, डा. जीवलाल बस्याल सर र म बसेर किताबकै विषयमा सरसल्लाह गरिरहेका थियौँ । त्यसैबखत दयाराम सरले विचारका आधारमा खण्ड निर्धारण गर्नुस् भन्नुभयो । मैले त्यो कार्य पनि बस्याल सर र विप्लव सरलाई जिम्मा लगाएँ । अन्ततः उहाँहरूले नै क्षणिकी, अनुभूति र अन्तरदृष्टि गरेर तीन खण्डमा निबन्धहरूलाई छुट्ट्याउनुभयो । यसरी निबन्धहरू कृतिभित्र तीन भागमा बाँडिए ।

क्षणिकी उपनाम दिएर निबन्धलाई पृथक् रूपमा ल्याउनुभयो नि ?
कहिलेकाहीँ मलाई एउटा क्षणले नै पनि निबन्ध लेख्न उक्साउँछ । यसरी एक क्षणमा आफ्नै आँखाअगाडिको घटनालाई निबन्धका रूपमा सिर्जना गदै जाँदा के नाम दिऊँ भन्नेजस्तो लाग्यो । पछि सोचेँ, एउटा क्षणमा कुनै घटना घट्यो, त्यसबाट एउटा विचार उब्जियो । यसरी क्षणभित्र उब्जिएको विचार भएकाले नै मैले यसलाई क्षणिकी उपनाम दिएँ । यो नाम सोच्दा पनि म ढुंगेधारातिरै हेर्दै थिएँ ।

क्षणिकीबारे केही भन्नुस् न !
क्षणिकीको आयाम एकदम सानो हुन्छ । कुनै घटनाबाट जन्मिएको त्यो सानो आयाम झिल्कोसरह हुन्छ । र, मैले त्यही सानो झिल्कोमा टेकेर विचारको डढेलो बनाउने काम गर्न थालेँ । एक दिन ढुंगेधाराअगाडि एउटा कुकुरलाई अरू कुकुरहरूले आक्रमण गरे । त्यसपछि मलाई लाग्यो, कुकुरहरूबीच मात्रै होइन, हरेक क्षेत्रमा दादागिरी छ, यो दादागिरी कहिले समाप्त होला ! यो विचार आएपछि मैले तत्कालै एउटा निबन्ध लेखेँ । यस्ता सानासाना घटनामाथि निबन्धहरू लेख्दै जाँदा यसलाई क्षणिकी नाम दिएको हुँ । यो निबन्ध नै हो, निबन्धभन्दा पृथक् छैन ।

यस पुस्तकभित्र अनुभूत गरिएका कुरा अनुभूतिभित्र र विचारशील कुरा अन्तरदृष्टिभित्र समेटिएका छन् ।

निबन्धलाई निर्बन्ध पनि भन्छन् विज्ञहरू, त्यसको उपयोग कत्तिको गर्नुभयो ?
प्रशस्त गरेको छु । निबन्ध लेख्नेले निर्बन्धताको प्रयोग गर्नु नै पर्छ । निबन्ध भनेको जोगीको कमण्डलु नै भनेको छु मैले । जोगीको कमण्डलुमा सबै कुरा रहन्छ । कसैले चामल दिन्छन् थरीथरीका, कसैले तरकारी दिन्छन् । कसैले दाल, नुन, बेसार पनि त्यसैमा हालिदिन्छन् । त्यसलाई एकै ठाउँमा पकाएर खाँदा त्यसबाट विभिन्न किसिमका स्वाद आउँछ नै ।

यसरी जोगीको कमण्डलुमा हरेक वस्तु रहेझैँ निबन्धमा पनि स्वादस्वादका विचार रहन्छन् । अनेकअनेक विचारलाई एउटै निबन्धमा पस्किन पाइन्छ । निबन्धमा कविता पनि आउँछ, कथा पनि आउँछ । संवाद पनि आउँछ र पात्र पनि । निबन्धमा संस्मरण पनि हुने रहेछ, यात्रा पनि हुने रहेछ । त्यसैले मैले यसलाई दशानन पनि भनेँ, रावणका दश टाउकाझैँ । एउटा हेर्‍यो एउटा अनुहार, अर्को हेर्‍यो अर्को अनुहार ।

मलाई डा. माधव सरले भन्नुभएको थियो– तपाईंले जसरी लेख्नुहुन्छ निबन्ध त्यस्तै हुन्छ । विचार आउँछन्, निजात्मकता आउँछन्, बस् आफूलाई विषयसँग अनुभूत गर्नुस् र लेख्नुस् ।

म साहित्यको विद्यार्थी होइन, मैले विज्ञान पढेको हुँ । तर, जब म लेख्छु, माधव सरले भनेझैँ निस्फिक्रीसँग लेख्छु । लागेका कुरा लेखिहाल्छु । लेख्दै जान्छु ।

निबन्धलाई सधैँ खिचडी पनि त बनाउन सकिन्न होला नि !
पक्कै हो, सधैँ खिचडी स्वादिलो हुन्न । मेरो भनाइ के हो भने, समग्रमा निबन्धभित्र यी सबै कुरा भेटिन्छन् । कुनै निबन्ध नुन होला, कुनै चामल त कुनै दाल र अरू मरमसला होला – तिनलाई एकै ठाउँमा पुस्तकमा ल्याउँदा जोगी त बन्छ नै ।

यो कृतिभित्र कस्ता विषय समेट्नुभएको छ ?
मैले साधारण विषयहरूलाई निबन्धको विषय बनाउँदै आएको छु । एक दिन बाथरुममा सुनिरहेको रेडियो भुइँमा खस्यो, रेडियो चकनाचुर नै भयो । पछि त्यही विषयमा निबन्ध लेखेँ ।

तपाईंले पढाउन थालेको ३५ वर्ष भइसक्यो, विद्यार्थीका कुरा छन् कि छैनन् ?
अगाडिको निबन्धसंग्रह ‘शब्द शिविर’मा अलिक धेरै निबन्ध थियो । यसमा केही छन् । यसभित्र एउटा निबन्ध छ, ‘नाता चुँडिएको पुस्ता’ । यसमा विद्यार्थी र मेरो अहिलेसम्मको स्कुलको अनुभव समेटेको छु । ती पुस्ताले हामीलाई कसरी हेर्छन्, तिनले आफूलाई के ठान्छन्, हामीबीचमा कति ठूला खाडल छ, अहिलेको प्रविधिको युगमा उनीहरूको हामीलाई हेर्ने दृष्टिकोण कस्तो छ – यी यावत् सन्दर्भ मैले यस निबन्धमा उतारेको छु ।

तपाईं गणित विषयको अध्यापक, निबन्धमा गणित हुन्छ कि हुँदैन ?
निबन्धमा पनि गणित हुन्छ, किनभने गणितमा तर्क हुन्छ । तर्कबेगर गणित हुन सक्दैन । र, साहित्यमा पनि तर्क चाहिन्छ । गणित तर्क हो, भाषा अभिव्यक्तिको माध्यम हो । त्यसैले हरेकका लागि गणित र भाषा आवश्यक हुन्छ ।

गणितसँग मानिस हरेक क्षण जोडिएको हुन्छ, तर गणितलाई बेवास्ता गरिरहेको हुन्छ !
गणितलाई अनावश्यक गाह्रो भनिएकाले मान्छेले त्यस्तो सोचेका हुन् । अक्षर नै नचिनेकी एक बुढीआमाले साग बेच्दा पैसाको हिसाबकिताब गर्छिन् । पैसा लिन्छिन्, फिर्ता दिन्छिन् । त्यसैले नपढेकालाई पनि गणित आवश्यक छ । गणित भनेको कक्षाकोठामा बसेर पढ्ने विषय हो मात्रै भन्ने ठानिरहेका छौँ, हामी । जबकि, मानिसले म हरपल गणितसँग बाँचिरहेको छु भन्ने सोच्दै सोच्दैन ।

पछिल्लो समय निबन्धका पाठक कम छन् भनिन्छ, तपाईं के भन्नुहुन्छ ?
किनभने, हामीले पाठकमैत्री निबन्ध नै लेखेनौँ ! खासमा पाठकलाई निबन्धभित्र अन्तरघुलित गर्ने खालका निबन्ध लेख्नै सकेनौँ । पाठकले निबन्ध पढेर आफूलाई त्यसको विषयसँगै बाँचेको महसुस गरून् न ! ओहो, यो त मेरो कुरा हो भन्ने अनुभूत होस् न पाठकलाई । हामीले त्यस्तो निबन्ध लेख्ने प्रयास गर्नुपर्ने हो ।

निबन्धमा सौन्दर्य हुन्छ । त्यो सौन्दर्यलाई निबन्धमा कसरी पस्किने भन्ने कुरा निबन्धकारले विचार पुर्‍याउनुपर्छ । निबन्धमा ज्ञान मात्रै थोपरे त्यो पाठकले मन पराउँदैनन् । त्यसैले निबन्धमा ज्ञान होइन, सौन्दर्य प्रस्तुत गर्नुपर्‍यो लेखकले । लेखनको सौन्दर्य, भाषाको सौन्दर्य, विषय र विचारको सौन्दर्य, शिल्पको सौन्दर्य निबन्धमा प्रस्तुत गर्ने प्रयास निबन्धकारले गरेपछि निबन्धका पाठक स्वतः बढ्छन् ।

कथामा लघुकथा, उपन्यासमा लघुउपन्यास, कवितामा मुक्तक र हाइकुजस्ता छोटा संरचना लेख्न थालिएको छ, सानो स्वरूपमा निबन्ध लेखेको देखिँदैन नि ?
कसैकसैले थोरै शब्दका निबन्ध लेखेको देखिन्छ । त्यसको शब्द मात्रै घटेको हो, यद्यपि त्यो निबन्ध नै हो । कसैले दुईतीन हजार शब्दका त कसैले आठ सय शब्दका निबन्ध लेखेका छन् । आठ सय शब्दको निबन्धलाई छोटा निबन्ध भन्न पनि मिलेन । त्यसमा प्रस्तुत विचार शृंखलाले निबन्धलाई छुट्ट्याउने हो, न कि लामो या छोटोले । निर्मल बर्माको ४०÷४२ पेजको निबन्धले तानेको तान्यै गर्छ । कसैको तीन पेजकोे निबन्धले पनि तान्दैन । निबन्ध लेखकले लेखकीय चुम्बक निर्माण गर्न सक्नुपर्छ, आफ्नो रचनामा । लेखकीय चुम्बक छ भने लामो निबन्ध भए पनि पाठकले पढ्छन् । चुम्बक छैन भने छोटोको पनि कुनै अर्थ रहन्न । त्यसैले पाठकलाई बाँधेर राख्न सक्ने सामर्थ्य एउटा निबन्धकारमा हुन सक्नुपर्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro