काठमाडौं । वि.सं. २०७४ साल नेपाली चलचित्रका लागि राम्रो हुने देखिएको छ । वर्षको सुरु देखि नै चलचित्रले राम्रो व्यापार सुरु गरेको छ । तुलनात्मक रुपमा यो वर्ष राम्रो व्यापार गर्ने चलचित्रको संख्या अघिल्ला वर्षको तुलनामा धेरै देखिएको छ । असोजको अन्तिमसम्म रिलिज भएका आधा दर्जन चलचित्रले राम्रो व्यापार गरेका छन् ।
चलचित्र ‘घामपानी’, ‘धनपति’, ‘म यस्तो गीत गाउँछु’, ‘प्रेमगीत–२’, ‘ए मेरो हजुर–२’, ‘२ रुपैयाँ’, ‘छक्का पञ्जा–२’ राम्रो व्यापार गरेका चलचित्र हुन् । यी चलचित्रले करोड भन्दा माथि ग्रस कलेक्सन गरेका छन् ।
पत्रकार दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्र ‘घामपानी’ वर्षको सुरुमै सुखद ओपनिङ गरेको थियो । यो चलचित्र वैशाख १ गते रिलिज भएको थियो । केकी अधिकारी र दयाहाङ राई स्टारर चलचित्रले करोड भन्दा माथि कलेक्सन गरेको निर्माण पक्षको दाबी थियो ।
असार २३ गते रिलिज भएको चलचित्र ‘धनपति’ वर्ष २०७४ मा सबैभन्दा पहिला धेरै व्यापार गर्ने पहिलो चलचित्र बन्यो । ‘पशुपतिप्रसाद’ का निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘धनपति’ मा खगेन्द्र लामिछाने र सुरक्षा पन्तले अभिनय गरेका थिए । तर, यो चलचित्रले ‘पशुपतिप्रसाद’ले जस्तो तारिफ बटुल्न सकेन भने समीक्षा पनि अपेक्षित राम्रो पाउन सकेन ।
‘म यस्तो गीत गाउँछु’ पनि करोड भन्दा माथि ग्रस कलेक्सन गर्ने चलचित्रमा दरियो । पुजा शर्मा र पल शाह स्टारर चलचित्रलाई शुदर्सन थापाले निर्देशन गरेका थिए । यसले पनि राम्रो समीक्षा पाउन सकेन । सांगीतिक पक्ष राम्रो रहेको यो चलचित्रले ‘प्रेमगीत–२’ भनेर दर्शक झुक्किएर हेर्न गएको आरोप ‘प्रेमगीत–२’ को निर्माण पक्षले आरोप लगायो ।
‘प्रेमगीत–२’ चलचित्र ‘म यस्तो गीत गाउँछु’ लगत्तै लाग्यो । चलचित्रले निकै राम्रो व्यापार गरेको रिपोर्ट निर्माण पक्षले सार्वजनिक गर्यो । प्रदिप खड्का र एलिशा ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । म्यानमारका नेपाली भाषी र नेपालीलाई जोड्ने कथा उठाएको भनेर प्रचार गरिएको चलचित्रले यथार्थमा कथा त्यस्तो नरहेको भन्ने आलोचना सहनुपर्यो । राम्रो समीक्षा बटुल्न नसकेको चलचित्रले अघिल्लो सिक्वेलकै ब्याज खाएको समीक्षकको निष्कर्ष थियो । एलिशा ठकुरीको अभिनयको पनि आलोचना भयो । तर, चलचित्रले हलमा भने राम्रो कलेक्सन गर्यो ।
नायिका झरना थापाले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर–२’ पनि यो वर्ष करोड क्लबमा प्रवेश गर्ने चलचित्र हो । साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बानिया मुख्य भूमिकामा रहेको चलचित्रले औषत समीक्षा बटुल्यो । पहिलो चलचित्र नै राम्रो व्यापार गरेपछि झरनाले ‘ए मेरो हजुर–३’ निर्माणको घोषणा गरिन् ।
अशिम शाहले निर्देशन गरेको चलचित्र ‘२ रुपैयाँ’ पनि यो वर्ष राम्रो व्यापार गर्ने चलचित्रको सूचीमा दरियो । नकारात्मक समीक्षा पाएको यो चलचित्रमा निश्चल बस्नेत, स्वस्तिमा खड्का र आसिफ शाह मुख्य भूमिकामा थिए । यो चलचित्रको गीत ‘कुटुमा कुटु...’ नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै युट्युब हिट्स पाउने गीत बन्यो ।
इनिसियल आक्रमक व्यापार गर्ने चलचित्र ‘छक्का पञ्जा–२’ पनि बन्यो । ‘छक्का पञ्जा’ले नेपाली रजतपटमा सर्वाधिक व्यापार गरेपछि त्यसको सिक्वेलका रुपमा आएको ‘छक्का पञ्जा–२’ले इनिसियल कलेक्सनका सबै रेकर्ड तोडेको निर्माण पक्षले दाबी गर्दै आएको छ ।
निर्माण पक्षको दाबीलाई मान्ने हो भने ‘छक्का पञ्जा–२’ ले यो वर्ष रिलिज भएका सबै चलचित्रको कलेक्सनलाई उछिनिसकेको छ । यो चलचित्र अहिले पनि प्रदर्शन भैरहेको छ ।
नेपालमा बक्स अफिस लागु नभएकाले चलचित्रले कति कलेक्सन गर्छन् यकिन तथ्यांक आउँदैन । निर्माता तथा वितरकले दिएको रिपोर्टलाई चलचित्रको व्यापार मान्नु पर्ने वाध्यता छ । निर्माता र निर्देशक दिएको कलेक्सन रिपोर्ट भरपर्दो नहुने गरेको धेरैले आलोचना गर्दै आएका छन् ।
यो वर्षको पहिलो ६ महिनामा प्रदर्शनमा आएर राम्रो व्यापार गरेका चलचित्रले कुनैले पनि राम्रो समीक्षा भने बटुल्न सकेनन् ।
वर्षमा एकसय भन्दा धेरै चलचित्र प्रदर्शन हुँदै आएको नेपाली रजतपटमा वर्षमा आधा दर्जन चलचित्रले राम्रो व्यापार गर्दै आएका छन् । औषतमा ८/९ वटाले लगानी उठाउँदै आएका छन् । बाँकी सबै चलचित्र घाटामा जाने गरेका चलचित्र विकास बोर्डको तथ्यांकले देखाउँदै आएको छ ।