site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'राजावादी आन्दोलन'लाई कसरी हेर्दैछन् अन्तर्राष्ट्रिय मिडिया ?

काठमाडौं । २०६२–६३ को जनआन्दोलनपछि २०६५ जेठ १५ मा बसेको तत्कालीन संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणा गरेलगत्तै २०६५ जेठ २९ गते नारायणहिटी दरबारमा पत्रकार सम्मेलन गरेर पूर्वराजा ज्ञानेन्द्र शाह बाहिरिएका थिए । 

तर, पछिल्ला दिनहरुमा ‘देश बिग्रियो’, ‘गणतन्त्र असफल भएको’  र ‘अहिलेको व्यवस्थाप्रति जन असन्तुष्टि बढेको’जस्ता भाष्य बनाएर विवादास्पद व्यवसायी दुर्गा प्रसाईं समूह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका शक्तिहरु मार्फत पूर्वराजा ज्ञानेन्द्र शाह गुमाएको आफ्नो राजगद्धिमा पुनः फर्किने दाउ गरिहेका छन् । 

हुनतः यसअघि पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल जस्ता पार्टीहरु राजा सहितको प्रजातन्त्रको नारा बोकेर आफ्नो राजनीतिक अभ्यास लामो समयदेखि गर्दै आएका छन् । 

तर अहिलेको सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन  ७ गतेका दिन प्रजातन्त्र दिवसको अवसर पारेर दिएको शुभकामना सन्देशमा आफूलाई साथ दिन देशबासीलाई आह्वान गरे । 

२०८१ फागुन २५ (मार्च ९) मा आफू पोखराबाट काठमाडौं फर्कने क्रममा हजारौं समर्थकहरूलाई स्वागतका लागि भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले सडकमा उतार्न लगाए । 

२०८१ चैत १५ गते तीनकुनेमा राजावादीहरूको विरोध प्रदर्शन आयोजना गरियो जसमा विरोध प्रदर्शनका क्रममा व्यापक हिंसा र लुटपाट तथा आगजनीसहित दुईजनाको ज्यान गयो ।

त्यसपछि २०८१ चैत्र २६ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको बल्खुमा प्रदर्शन र आमसभा गर्‍यो ।

०८२ को नयाँ वर्षको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले एक भिडियो सन्देश जारी गर्दै देशलाई विद्यमान जटिलताबाट मुक्त गराइ शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएकोमा नयाँ वर्षले जनताको चाहना अनुसारको परिणाम हासिल हुने विश्वास व्यक्त गरे । 

त्यसपछि पनि राजावादी समूहले सानातिना प्रदर्शन जारी राखेका छन् । नेपालमा भइरहेका यी पछिल्ला घटनाको अन्तर्राष्ट्रिय मिडियाले कसरी समाचार कभरेज गरेका छन् त ?

फागुन २५ को प्रदर्शन

फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्कने क्रममा उनको स्वागतमा राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाजलगायत संघसंस्थाले काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीसहित प्रदर्शन तथा सडकको दुवै किनारमा उपस्थित भएर एयरपोर्ट गेटमा भीड जम्मा पारेर पूर्वराजाको स्वागत गरे । 

नेपालको राजावादी समूहहरुले गरेको उक्त प्रदर्शनहरुलाई केन्द्रित गरेर मुख्य रुपमा भारतीय संचार माध्यमहरु लगायत अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले समाचार बनाएको थियो जसलाई सीएनएनले समेत प्रकाशन गरेको थियो ।

चैत १५ को तीनकुनेको हिंसात्मक सडक प्रदर्शन

पूर्वराजा ज्ञानेन्द्र शाहको अपिलअनुसार राजतन्त्र पुनर्स्थापना माग गर्दै नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले विवादित व्यापारी दुर्गा प्रसाईं कमान्डर बनाएर काठमाडौंको तीनकुनेमा राजावादीले गरेको प्रदर्शन हिंसात्मक र अराजक बन्न पुग्यो । 

विभिन्न ठाउँबाट जुलुससहित आएर तीनकुनेमा आमसभामा परिणत हुने भनिए पनि नयाँ बानेश्वरतर्फको निषेधित क्षेत्रतिर अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रदर्शनकारीको अराजकता र प्रहरीको प्रतिवादका क्रममा दुई जनाको मृत्यु भएको थियो भने धेरै ठाउँमा आगजनी, लुटपाट तथा मानिसहरु घाइते भएका थिए । चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको विरोध प्रदर्शनलाई धेरै सञ्चार माध्यमहरुले स्थान दिए । 

एपीले समाचार बनाएको छ । सो घटनालाई द न्युयोर्क टाइम्सले पनि समेटेको थियो । 

यसैगरी भारतको द वायर, द इन्डियन एक्सप्रेस, फर्स्टपोस्ट, एएफपी, एनडीटीभी, द गार्जियन न्युज, द टाइम्स अफ इन्डियाले पनि तीनकुनेको घटनाको समाचार बनाएका थिए ।

यसैगरी मार्च ३१ मा भारतको इन्डिया टुडेले तीनकुने घटनासँगै सोही दिन राजावादीविरुद्ध नेकपा माओवादीले गरेको आन्दोलनलाई स्थान दिएको थियो । यसैगरी क्यानेडियन प्रेस न्युजले पनि नेपालमा भएको राजावादी आन्दोलनको क्रममा दुईजनाको मृत्यु भएको समाचार प्रकाशित गरेको थियो ।

यी समाचारका कन्टेन्टहरु भने लगभग सबै सञ्चारमाध्यका उस्तै छन् ।

बल्खुको खबरदारी सभा

राष्ट्रिय प्रजातन्त्र पार्टी ले बल्खुमा चैत २६ गते संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित खबरदारी सभा नाम दिएर बृहत् प्रदर्शन र आमसभा आयोजना गर्‍यो । अप्रिल ८ मा राप्रपाको बल्खुको प्रदर्शनलाई समेटेर पीटीआईले पनि समाचार बनाएको छ । 

यसै गरी सोही आन्दोलनलाई बीबीसी हिन्दीले ग्राउन्ड रिपोर्ट भन्दै लामो फिचर  तथा भिडियो समाचार  बनाएर प्रस्तुत गरेको छ । 

भारतको गुजरात समाचारले पनि राप्रपाको बल्खु प्रदर्शनको पूर्वसन्ध्यामा त्यसअघि राजावादीहरूका आन्दोलन र परिणाम समेटेर विश्लेषणात्मक समाचार  तयार पारेको छ ।

वैशाख ७ को सिंहदरबारभित्रको निषेधित क्षेत्र तोड्ने प्रदर्शन 

राजतन्त्रको समर्थन र पक्राउ परेको नेताहरुको रिहाइ माग गर्दै राप्रपा नेताहरूले वैशाख ७ गते बानेश्वर–बिजुलीबजार क्षेत्रमा निषेधित क्षेत्र तोड्ने कार्यक्रम राख्यो ।

तर, प्रहरीलाई सरप्राइज दिँदै सिंहदरबारभित्र पसेका राप्रपा नेताहरूले सिंहदबार भित्रै प्रदर्शन, पर्चा–पम्प्लेट वितरण र नाराबाजी गर्न खोजेपछि अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकालीमा लगियो ।

वैशाख ७ गतेको यो आन्दोलनका क्रममा सिंहदरबारभित्रै प्रदर्शन गरेपछि लिङ्गदेन पक्राउ परेको बिषय भारतको समाचार संस्था एशियन न्युज इन्टरनेशनल (एएनआई) ले अप्रिल समाचार बनायो ।

अन्य कार्यक्रमकाबारेमा 

भारतकै समाचार संस्था इन्डो एशियन न्युज सर्भिस (आईएएनएस)ले अप्रिल १ मा संसदमा भएको बहसमा राप्रपका अध्यक्ष लिङ्गदेन र प्रधानमन्त्री केपी ओलीले राजावादी आन्दोलन र पूर्वराजाको बिषयमा दिएको भाषणलाई केन्द्रीत गरेर समाचार लेखेको थियो । 

भारतको दि इकोनोमिक टाइम्सले पनि अप्रिल ५ मा काठमाण्डुको रत्नपार्क शान्तिबाटिकामा भएको सानो जुलुसलाई समेटेर भिडियो समाचार बनाएको छ ।

यस्तै भारतको सरकारी समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डियाले अप्रिल २० मा राजावादीहरुले सानो संख्यामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नजिक गरिएको प्रदर्शनको बारेमा समाचार बनाएको देखियो । 

यसै गरी भारतको एनडीटीभीले अप्रिल ११ मा भारतको असामबाट दुर्गा प्रसाईँको पक्राउ परेको बारेको समाचार बनाएको छ ।

अन्तर्राष्ट्रिय मिडियाका विश्लेषण र समाचार

चीनको साउथ चाइना मर्निङ पोस्टले पनि नेपालमा राजावादीहरूको क्रियाकलापहरुलाई समेटेर अप्रिल ९ मा समाचार बनाएको छ । 

यसले राजावादीहरुको माग र नेपालमा राजसंस्थाको अन्त्य भएको घटनाक्रमलाई जोडेर साधारण समाचार बनाएको छ ।

यसबाहेक भारतको पत्रिका द हिन्दुको फ्रन्टलाइन म्यागेजिनमा नेपालका लागि भारतका पूर्वराजदुत रन्जित रे सँगको भिडियो अन्तर्वार्ता जसमा नेपालको राजावादीको आन्दोलनलाई विश्लेषण गरिएको छ । 

सो अन्तर्वार्तामा पूर्वराजदूत रे ले नेपालको राजनीतिक परिदृश्यलाई राजतन्त्र समर्थक प्रदर्शनले हल्लाएको र यसको कारण  नेपालमा बढ्दो भ्रष्टाचार, कुशासन र राजनीतिक अस्थिरताप्रति बढ्दो असन्तुष्टि भएको बताएका छन् ।

अप्रिल २४ मा न्यु लाइन म्यागेजिनमा नेपाल डिबेट्स अन रिटर्न टु मोनार्की शीर्षकमा बन्दना मेननको एक लेख प्रकाशित छ । सो लेखमा उनले नेपालमा राजावादीहरूको हिन्दुराज्य र राजतन्त्रको पुनर्स्थापनाको मागसँग जोडेर विश्लेषण गरेकी छन् ।

यसैगरी भारतको अब्जर्भर रिसर्च फाउन्डेसनका लागि अप्रिल १८ मा सरोजकुमार अर्याल र मनिष जंग पुलामीले एक लेख प्रकाशित गरेका छन् ।

यसमा उनीहरुले युवा पुस्ता र नोस्टाल्जिया, विदेशी प्रभाव र षड्यन्त्रका सिद्धान्त र राजतन्त्र समर्थित आन्दोलनभित्रको असहयोग लगायतका बिषयमा विवेचना गरेका छन् ।

नेपालको राजवादी आन्दोलन र तीनकुने घटनाको त्रासदीको बारेमा भारतको द हिन्दुले अप्रिल १ मा सम्पादकिय नै लेखेको छ । 

‘नो रिग्रेसनः अन प्रोटेस्ट्स इन नेपाल, प्रो मोनार्की सेन्टिमेन्ट’  शीर्षकमा लेखिएको सम्पादकीयमा ‘धेरै नेपालीहरू राजतन्त्रकालीन अधिनायकवाद र अन्यायप्रति सचेत रहेको भन्दै तीनकुने हिंसाका लागि जिम्मेवार व्यक्तिहरूलाई खोजी गरी तुरुन्तै जवाफदेहिता सुनिश्चित गर्नुपर्ने, सत्तारूढ दल र विपक्षीहरूले अवसरको सदुपयोग गर्दै संसदीय लोकतन्त्रको शक्ति र इमान्दारिता देखाएर जनताको विश्वास पुनर्स्थापना गर्नुपर्ने र यही नै राजतन्त्र फिर्ता गर्नुपर्ने मागको सबैभन्दा विश्वसनीय जवाफ हुने’ भनेको छ ।

यसैगरी भारतको पत्रिका नेशलन हेराल्डले नेपालमा रावावादी आन्दोलनका बिषयमा नेकपा माओवादी पार्टीका नेता मात्रिका यादवको एक अन्तर्वार्ता प्रकाशित गरेको छ ।

नेता यादवले सो अन्तर्वार्तामा नेपालको राजावादी आन्दोलन खासै ठूलो नभए पनि भारतले यसलाई ऊर्जा दिएको र भारतीय पक्षले यसलाई बढाइचढाइ प्रस्तुत गरेको पनि बताएका छन् । 

यसैगरी जर्मनीको डिडब्ल्यू न्युजले पनि मार्च २८ मा लामो  विश्लेषण प्रकाशन गरेको छ । 

पत्रकार लेखनाथ पाण्डेले लेखेको सो लेखमा राजावादी आन्दोलन, यसको इतिहास र आन्दोलनका पृष्ठभूमिलगायतका विषयमा विवेचना गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  ०९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro