'मन त थिएन जोगी बन्नलाई’ भन्ने चर्चित दोहोरी गायक बद्री पँगेनीको गीतजस्तो भएको छ अचेल । जोगी शब्दको प्रतिस्थापन लेखक शब्दले गरेझैं भएको छ । सामाजिक संजाल र सूचना प्रविधिको यस्तो जगजगी नहुँदाको अवस्था सम्झिन्छु । सन् १०९० को दशकको मध्यतिरको कुरा हो । एकपटक त बुवाले मलाई लेख्नु भएको चिठी ५ महिना लगाएर मिन्स्क आइपुग्यो । नेपालबाट मिन्स्क पठाएको चिट्ठी टोकियो डुलेर विभिन्न रागेपाटे टिकटको आवरणसहित करिबकरिब झुत्रिएको अवस्थामा म बसेको ठेगानामा आइपुगेको थियो । खोलेर पढ्दा खबर ताजै लागेको थियो । आजको जुग फरक छ, समयको अन्तर ११ घन्टा ४५ मिनेट छ मेरो कर्मभूमि र जन्मभूमिको । तर, पनि सूचना प्रविधिले तात्तातै नयाँ खबर हातहातै ल्याइदिन्छ, अनि लेख्न जोस आउँछ । त्यसभन्दा पनि लेखेर पठाउनासाथ तात्तातै छापाहरूले छापिदिन्छन्, सामाजिक सञ्जालमा मसँग नगाँसिएका साथीसँग समेत संवाद गर्न पाइन्छ । साच्चै, 'मन थिएन लेखक बन्नलाई, लेख पठाउँदा सम्पादकले राम्रै हुन्छ भन्थे भन्नलाई' जस्तो पो भएको छ ।
'देश छोडेर हिंडेकाले ठूला कुरा नगरेकै राम्रो' भनेर यदाकदा धम्की पनि दिन्छन् स्वजातीय बन्धुहरू । त्यो सम्भवत: नेपाली रगत बगेकाले होला । सहिन्छ, किनभने सहनशीलताको लागि सम्भवत: नेपाली जति अब्बल कुनै जाति संसारैभर खोजे पनि नपाइएला । मेरो लेखाइमा ठूला कुरा परेजस्तो पनि लाग्दैन । ठूल्ठूला कुरा गर्ने माखो नमार्ने प्रवृत्ति झाँगिएको बेला ठूला कुरा गर्ने क्षमता भइदिएको भए आफू जन्मेको थलो छोडेर विभिन्डिएर हिँड्नै पर्दैनथियो नि । यसो भन्दा तमाम बेथिति खपेर पनि भिडेर बसेका कर्मयोगी साथीहरुलाई खोप्दो हो ।
ती कर्मयोगी स्वजातीय बन्धुलाई सम्मान र आदर छ । तर, हामीले के बुझ्नु जरुरी भइसकेको छ भने सामाजिक सञ्जाल र सूचना प्रविधिले विश्वको राजनीति, समाजको चेतना स्तरलाई ट्विटरको १४० क्यारेक्टर वा फेसबुकको एक स्टेटसमा कैद गरिसकेको छ । आज वटुमा बसेर वासिंगटनका ट्रम्प माड्सापसँग प्रत्यक्ष संवाद गर्न सकिन्छ । मोदी दिल्लीबाटै दिंग्ला पुग्न सक्छन् ।
समयको पदचाप सुनौं त - अबको पचास वर्षमा राष्ट्रियताको मानक नै पृथक हुनेछ । क्यानाडामा बसेर नेपालको माया त्यसैको एक संकेतमात्रै हो । ठूला कुरा गरेर हाम्रो समाज बिग्रियो । यो मान्न सकिन्छ । असल कुरा गरेर, सुनेर, बुझेर समाजमा द्रूत परिवर्तन ल्याउन सकिन्छ । अर्ती भनेको घर्तीको नि मान्नु पर्छ किन भनियो होला ? उखानको प्रयोग गरिएको मात्रै हो । कुनै जाति विशेषप्रतिको व्यंग्य वा अवहेलना गरेको बात नलागोस् । अघिल्लो लेखमा कुपन्डोलको सानो कुरो परेको थियो । त्यो कुरोले मेरो सहोदर भाइलाई खुब छोएछ । फोनवार्तामा एकबाजी फेरि जन्मथलो सम्झेर अघाउने प्रयास गरियो ।
हामी किशोरवयमा पुगेका बेलासम्म एक नाइके बूढा थिए हाम्रो कुपन्डोलमा । कथित जातीय घेरामा उनी दमाई कहिन्थे । उनको काम पर्व विशेष आएपछि आफूसँग भएको सनाई बोकेर दैलोदैलो पुग्ने, सनाई बजाउने र जो सीदा- दक्षिणा प्राप्त हुन्छ अन्नले त्यो दिन पेट भर्ने र नगदीले रौसे आँत भिजाउने । ती पर्व विशेष नहुँदा सामान्य लाग्थे । जब पर्वको रौनक चढ्थ्यो टोलमा, ती मध्यान्नमै दन्त्यकथाको राजकुमारजस्ता हुन्थे । मदहोस ती बटुवा कसैलाई मान्छे गन्दैनथे । परिस्थिति कस्तो थियो भने नाइके बूढा जब जब ढुन्मुनिदै हनुमान स्थानदेखि भजनमण्डली चोकसम्मको बाटो कब्जा गर्थे, हामी पश्चिम कुपण्डोलेलाई थाहा हुन्थ्यो, टोलमा कुनै पर्व आएछ । उनी श्लील, अश्लीलका परिधि भन्दा निकै पर पुगिसकेका हुन्थे ।
हामी उनको छेउमा पर्दा डराउँथ्यौ । कृशकाय ती गर्न केही सक्दैनथे तर तिनको हाम्रो बा पुस्तासम्म पहुँच थियो, पेटमा पिरोपानी नपरेका बेला नाइके बूढाले हाम्रा बाहरूलाई हाम्रा उमेरजन्य छुल्याई सुनाइदेलान् र बित्यास पर्ला भन्ने आतंक छाइरहन्थ्यो । एकपल्ट तिनले हनुमान स्थानपछाडि जात्रा देखाए । अहिले नवराज पौडेल स्मृति बाटिका भएको ठाउँ मुनि पुरानो पुल जाने मुखैमा जुत्ता सिलाउने छाप्रे पसल थियो । सबैले त्यस पसललाई ' सार्कीको पसल' भन्थे । त्यो पसल वरिपरि ठूलो भिड जम्मा थियो । भिडको माझमा नाइके बूढा थिए ।
ती 'सातौँ आसमान'मा थिए र कुर्लीकुर्ली चुनौतीको भाषामा जुत्ता पसले दाइलाई सरापिरहेका थिए । अरू सबै त स्मृतिमा छैन, एउटा वाक्य अक्षरश: सम्झनामा छ । ती भन्दै थिए - साले सार्की ( लोकाचारले अरू प्रतीकात्मक शव्दको यहाँ प्रयोग गरिएन ।), मेरो जुत्ता सिउने, मैसँग पैसा माग्ने? त्यतिभन्थे , बुरुक्क उफ़्रिन्थे, पुर्लुक्क ढल्थे । फेरि उठ्थे, त्यसै गर्थे । रमितेले सम्हालिनसक्नुको त्यो परिवेशमा कुनै तर्क काम लाग्दैनथ्यो । उनको तर्क बेतुकको त होला नै हाम्रो समाजमा विभेद कुन हदसम्म पुगेको रहेछ भन्ने अहिले मलाई त्यो प्रसंग सम्झिँदा याद आयो । तर, उठाउन खोजेको प्रसंग अलि फरक छ । नाइके बूढा हाम्रो तत्कालीन समाजका अपरिहार्य बोझ थिए । तिनी नभई पनि नहुने, भए पनि रमाइला यस्ता उट्पट्याङ्ग गरिरहन्थे । नाइके बूढा हाम्रो टोलको अनुशाशन कायम राख्ने एक किसिमको प्रहरी थिए स्थानीय सरकारजस्ता ।
जबजब नेपालमा चुनाव पर्व सुरु हुन्छ नाइके बूढाजस्ता हजारौं 'सरकार' देख्न पाइन्छ । अहिले प्रदेश र केन्द्रको निर्वाचनअघि जसरी गठबन्धनको रमिता चल्दैछ, राता, हरिया, सेता, नीला दलहरू जसरी एकापसका मित्रताका सनाई बजाइरहेछन्, मलाई लाग्छ, सातौँ आसमानमा पुग्ने प्रपञ्चभन्दा बेसी केही होइन । जब सिदा-दक्षिणा हात लाग्छ, पेटमा पिरो पानी परिहाल्छ । अहिले आफूलाई सजातीय, सहधर्मी, एकै कुलका भनिने, ठुलाले दलेका भन्नेहरू एकापसमा जुधिहाल्छन् । विसं २०४६ सम्म पञ्चेले पेले भने, मिले । सत्ता नामक पिरो पानी पेटमा परेपछि आफैंआफैं जुधे ।
२०६२-६३ मा राजाले पेले भने मिले । फेर पेटमा पिरो पानी पर्रेपछि आआफैं जुधे । यो जुध्ने, अर्कालाई गलत भन्ने उपक्रम हाम्रो टोलको नाइके बूढा प्रवृत्तिबाहेक केही होइन । स्थिति त कहाँसम्म पुग्यो भने हिजो परस्परमा भेट हुँदा टाउको गिँड्ने कसम खाएकाजस्ता देखिनेहरू नारिएर हिँडे । सत्ताको पिरो पानी पेटमा पार्ने प्रपञ्चबाहेक त्यो अरू केही थिएन, पर्दाफास नै भइसक्यो । पश्चिम कुपण्डोलका रमितेझैं सारा देश यो जात्राको रमिते भइरहेको छ । सोझो एकपल्ट रमिते हुन सक्छ, पटक पटक रमिते हुन विवेकीलाई सुहाउँदैन ।
नाइके बूढा हाम्रै समाजले बनायो, हाम्रै समाजले नाइके बूढालाई ठेगान लगाउन सक्थ्यो, लगाएन । नाइके बूढाको पछिल्तिर उनको कुरो काट्ने तर पर्व विशेष आउनासाथ सिदा दक्षिणा दिइहाल्ने गर्नुको बाध्यता आफूले गरेका अनैतिक कार्य वा पाप कर्मबाट मुक्ति पाउने मक्सद हुनसक्छ तत्कालीन समाजको । अहिले चुनाव पर्वअघि फेरि समाजले आफूले कुकर्म नगरेको हो भने, कुनै अपराध गरेको छैन भने नाइके बूढा प्रवृत्तिको तेजोबध गर्न सक्छ । के त्यसका लागि समाज तयार छ ? नतिजा पर्खिन मङ्सिर अन्तिमसम्म पर्खिनै पर्ला ।
आजकाल उखान, विम्ब, छुद्रताको बिगबिगी भएकोले मेरो लेखनीमा पनि त्यो प्रतिबिम्बित भयो होला । उद्देश्य निश्चयनै कसैलाई होच्याउने, हेप्ने, कटुवाक्य लेख्ने, बोल्ने होइन । तसर्थ, नाइके बूढा प्रवृत्ति स्मृतिका पानामा थिचिएको भए पनि एक विम्बका रूपमा उपस्थित हुन पुग्यो । नाइके बूढाको सामाजिक अपरिहार्यतालाई सम्मान गर्दै पिरो पानी नपार्ने नाइके बूढा पाउन पनि सकिन्छ कि भनी यो लेख तयार पारिएको हो । उचनीच क्षमा पाऊँ !