काठमाडौं । तीन खेल अगावै आईसीसी क्रिकेट विश्वकप लिग–२ को उपाधि जितेको स्कटल्यान्डले ट्रफी पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेपालसँगको अन्तिम खेलपछि स्कटल्यान्डले ट्रफी पाएको हो । शृङ्खलाको अन्तिम खेलमा स्कटल्यान्डले नेपालसँग दुई विकेटको हार बेहोरेको थियो ।
नेपालमै भएको शृङ्खलाको दोस्रो खेलमा नामिबियामाथि १० विकेटको सानदार जित निकालेपछि स्कटल्यान्ड तीन खेल अगावै लिग–२ च्याम्पियन बनेको थियो । च्याम्पियन स्कटिस टिमलाई आईसीसी ग्लोबल डेभलपमेन्ट प्रमुख विलियन ग्लेनराइटले ट्रफी प्रदान गरे ।
नेपालसँगको खेलसँगै लिग–२ मा आफ्नो यात्रा समाप्त गरेको स्कटल्यान्डले ३६ खेलबाट ५० अंक जोडेको छ । तालिकाको शीर्ष स्थानको स्कटल्यान्डले जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप–२०२३ को छनोटमा स्थान पक्का गरिसकेको छ ।