site stats
बाह्रखरी :: Baahrakhari
खेल
जय ट्रफी : विभागीय डर्बीमा आर्मी र पुलिसको पनि बराबरी

काठमाडौं । मोफसलमा जारी जय ट्रफी पुरुष इलाइटमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा समाप्त भएको छ ।

प्रतियोगिताको दोस्रो दिन सोमबार पर्साको वीरगञ्जस्थित नारायण क्रिकेट मैदानमा सम्पन्न खेलको दोस्रो इनिङमा आर्मीले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा पुलिसले दोस्रो दिनको अन्त्यसम्म पाँच विकेट गुमाएर ८८ रन बनाएपछि खेल बराबरीमा समाप्त भएको हो । प्रतियोगिताको नियमअनुसार दुई दिनसम्म दुवै टिम जित र हारको नतिजासम्म पुग्न नसके खेल बराबरीमा समाप्त हुनेछ ।

Argakhachi Cement Island Ad

दोस्रो इनिङमा जितको लक्ष्यसहित मैदान उत्रिएको पुलिसका अमित श्रेष्ठले सर्वाधिक ३६ रन बनाए । उनले ६६ बलमा पाँच चौका प्रहार गरे । अर्जुन साउदले अविजित १९ रन बनाए । परम्परागत टेस्ट शैलीको झल्को दिने गरी ब्याटिङ गरेका साउदले ९४ बलको सामना गर्दा कुनै पनि बाउन्ड्री प्रहार गरेनन् । यसबाहेक, राशिद खानले १० रन थपे । पुलिसका अन्य ब्याटर भने दोहोरो अंकसम्म पुग्न सकेनन् । दोस्रो इनिङमा ५३ ओभर ब्याटिङ गर्दा सबै विकेट गुमाएर १७५ रन बनाएको थियो ।

त्यसअघि आर्मीले पहिलो इनिङमा १२१ रन बनाएको थियो । दोस्रो इनिङमा आर्मीका अलराउन्डर सोमपाल कामीले सर्वाधिक ८२ रन बनाए । जारी प्रतियोगितामा अर्धशतक बनाउने पहिलो ब्याटर बनेका सोमपालले १३ बलमा १० चौका र एक छक्का प्रहार गरे । क्रिजको एक एन्डबाट लगातार विकेट जाँदा सोमपालले अर्को एन्ड सम्हाल्दै आर्मीलाई सम्मानजनक योगफलसम्म पु¥याएका हुन् ।

सोमपालबाहेक, तीर्थराज दासले ५१ बलमा ६ चौकासहित ३४ रन बनाए । भीम सार्कीले १८ बलमा तीन चौकासहित १५ रन जोडे । विवेक यादवले ३२ बल खेल्दा एक चौकासहित ११ रन थपे । आर्मीका अन्य ब्याटर भने दोहोरो अंकसम्म पुग्न सकेनन् ।

दोस्रो इनिङमा पुलिसका कुशल भुर्तेलले सर्वाधिक चार विकेट लिए । १६ ओभर बलिङ गरेका कुशलले तीन मेडन फ्याक्दै ५० रन खर्चिए । गुल्सन झाले १३ ओभरमा दुई मेडन फ्याक्दै ३७ रन खर्चिदा तीन विकेट लिए । ललित राजवंशीले दुई र राशिद खानले एक विकेट हात पारे । यसअघि पहिलो इनिङमा पुलिसले भने १२५ रन बनाएको थियो ।

पुलिसले आर्मीविरुद्ध पहिलो इनिङमा चार अंकको अग्रता बनाएको थियो । खेल बराबरीमा समाप्त भए पनि पहिलो इनिङमा अग्रता बनाएको हुँदा पुलिसले सात नियमित अंक पाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्