बाह्रखरी मिडिया आजको दिनबाट आफ्नो स्थापनाको सातौँ वर्ष पूरा गरेर आठौँ वर्षमा प्रवेश गरेको छ ।
यस अवसरमा हामीलाई नेपालको सर्वश्रेष्ठ मिडियाका रूपमा स्थापित हुन सघाउने पाठक, विज्ञापनदाता, शुभेच्छुक र सहयोगी सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।
स्थापनाका यी सात वर्षमा समकालीन अन्य मिडियाले झैँ हामी पनि समाजले भोगेका दुःख, पीडा, महाव्याधि, आर्थिक संकट, सामाजिक समस्यालगायतसँग जुध्दै आएका छौँ ।
गएका केही वर्ष कोरोनाकालले ल्याएको बन्दाबन्दी, आन्तरिक राजनीतिक तरलता, युरोपमा भएको लडाइँले पैदा गरेको आर्थिक संकट र पत्रकारिताप्रति सर्वसाधारण जनताको संशयात्मक दृष्टिले अहिले पत्रकारिता आफैँमा संकटबाट गुज्रिरहेको छ ।
सूचना र विचारको संवाहक पत्रकारिता हालका दिनमा अनुभव, अनुभूति, रिस, आवेग र कुण्ठा व्यक्त गर्ने विभिन्न सामाजिक सञ्जालसँग एक प्रकारको प्रतिस्पर्धामा उल्झिन पुगेको देखिन्छ ।
वर्तमान समयमा पत्रकारितामात्र होइन पत्रकार पनि समस्यामा परेका छन् ।
पत्रकारिता पेसा र पत्रकारिता व्यवसाय एकै होइनन् । पेसा गर्नेले व्यवसाय गर्दा पत्रकारिताको धर्ममा सम्झौता हुन जान्छ भने पत्रकारिताप्रति सर्वसाधारणको शंकालाई मलजल प्रदान गर्छ ।
डिजिटल क्रान्तिले गर्दा पत्रकारलाई पत्रकारिता व्यवसायमा प्रवेश गर्न सहज त भएको छ तर प्रवेश गर्न जति सहज छ त्यति यस क्षेत्रमा टिक्न सजिलो छैन ।
यस पेसामा टिकिरहन व्यावसायिक पत्रकारले पनि क्रमशः गलत सम्झौता गर्दै गएको तीतो यथार्थबीच आफैँलाई जोगाउनु पनि हामीलाई परेको एउटा सकस हो ।
अहिलेसम्म पत्रकारिता पेसा र पत्रकारिता व्यवसायलाई दुवैको उपयुक्त स्थानमा राख्ने कोसिसमा संघर्षरत छौँ र आफूलाई यस कार्यमा सफल भएको ठान्दछौँ ।
यसका लागि जनसाधारण र सम्पूर्ण पाठकले हामीलाई दिनुभएको सुझावलाई सधैँ हृदयङ्गम गर्दै आउनु पनि एउटा कारण हो ।
समाचारका उपभोक्तालाई डिजिटल माध्यममा आएका सामग्रीहरूमा भेद छुट्याउन गाह्रो भएकाले व्यावसायिक जिम्मेवारीका साथ जनताको अभिव्यक्ति स्वतन्त्रताको पक्षपोषण गर्ने समाचार माध्यमलाई अन्य सामग्रीका स्रोतसँग एउटै डालोमा राखेर हेर्ने चलनले स्वस्थ, स्वच्छ र निर्भीक पत्रकारिता अहिले समस्यामा परेको छ ।
त्यसैले हामीलाई एकातिर आफैँलाई पत्रकारिताको व्यावसायिक धर्म पूरा गर्ने र जनताको अभिव्यक्ति स्वतन्त्रताको रक्षकका रूपमा चिनाउनुपर्ने चुनौती छ भने अर्कोतिर साँघुरिदो आर्थिक परिवेशमा यो व्यवसायलाई जोगाउन पनि उत्तिकै अप्ठेरो छ ।
यति सन्तापबीच पनि हामीलाई आफू पत्रकार भएको र यस पेसामा होमिएकोमा सन्तुष्टि छ ।
आवाजविहीनको आवाज, लोकतन्त्रको रक्षक, समाजमा देखिएको विसङ्गतिविरुद्धको सिपाहीका रूपमा आफैँलाई समर्पित गर्दा र समाजले हाम्रो कर्मलाई सम्मानको नजरले हेर्दा हाम्रा सम्पूर्ण सदस्यलाई जुन गर्व महसुस हुन्छ त्यही नै हाम्रो उपलब्धि हो ।
यति धेरै प्रतिस्पर्धा र नकारात्मकताका बीच पनि हामीलाई विश्वास गर्नेको संख्या बढेर गएको छ ।
समाचार माध्यमका भिड र सामाजिक सञ्जालले पैदागरेको माखेसाङ्गलोसँग पौँठेजोरी खेल्दै हामी यहाँसम्म आइपुगेका छौँ जसमा हामीलाई विश्वास र सहयोग गर्ने सबैको ठूलो योगदान छ भन्न पाउँदा हामी हर्षित छौँ ।
आउँदा वर्षहरूमा बाह्रखरी अझ सशक्त, अझ व्यावसायिक र अझ कर्मठ भएर विकसित हुँदै जाने प्रण गर्दछौँ ।
प्रतीक प्रधान
अध्यक्ष तथा प्रधान सम्पादक