site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भैरहवाबाट पाँच अन्तर्राष्ट्रिय उडान, निरन्तरता देलान् विमान कम्पनीले ? 
फाइल तस्बिर/रासस

काठमाडौं । सरकारले पूर्ण सञ्चालन गर्ने उद्देश्यका साथ धेरैखाले छुट सुविधा दिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच कम्पनीले उडान सुरु गरेका छन् । जजिरा, थाई एयर एसिया, कतार एयरवेज, फ्लाई दुवई र नेपाल एयरलाइन्सले उडान सुरु गरेका हुन् ।
 
पाँच कम्पनीको उडानसँगै दुई वर्षसम्म सुनसान रहेको विमानस्थलमा चहलपहल बढेको छ । यसअघि उडान गरिसकेको जजिरा एयरवेजले सातामा तीन दिन (मंगलबार, बिहीबार र शनिबार) बिहान साढे ७ बजे भैरहवा आउने र साढे ८ बजे भैरहवाबाट कुवेतका लागि उडान गरिरहेको छ ।

यस्तै फ्लाई दुवईले दैनिक दुबई–भैरहवा–काठमाडौं एउटा उडान गरिरहेको छ । फ्लाई दुवईले भैरहवा अवतरण गरी त्यहाँबाट यात्रु लिएर काठमाडौंमा अवतरणसँगै यात्रु चढाएर फर्कनेछ ।

यस्तै कतार एयरवेजले पनि भैरहवाबाट उडान सुरु गरिसकेको छ । कतारले दोहा–भैरहवा–काठमाडौं दैनिक एउटा उडान सुरु गरिसकेको छ । हाल कतारले दोहाबाट काठमाडौं दैनिक ‍३ वटा उडान गरिरहेको छ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पनि भैरहवाबाट उडान गरिरहेको छ ।  नेपाल एयरलाइन्सले दुबईबाट भैरहवामा शनिबारदेखि उडान सुरु गरेको छ । त्यसअघि निगमले मलेसिया क्वालालाम्पुरबाट भैरहवा हुँदै काठमाडौं उडान गरिरहेको थियो ।
 
थाई एयर एसियाले पनि काठमाडौंपछि भैरहवामा पनि उडान सुरु गरेको छ । असोज १६ गतेबाट काठमाडौं उडान सुरु गरेको थाई एयर एशियाले कात्तिक १८ देखि बैंकक–भैरहवा–काठमाडौं उडान गरेको छ । उक्त वायुसेवाले सोमबार र बिहीबार गरी सातामा गरिरहेको नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि १० घण्टा बन्द छ । ‘विमानस्थलको ट्याक्सी वे’ निर्माण गर्न क्यानले ५ महिनाका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका १० घण्टा बन्द हुने भएपछि क्यानले ३० प्रतिशत उडान भैरहवाबाट गर्नुपर्ने शर्त राखेसँगै विमान कम्पनीहरू भैरहवातर्फ लागेका हुन् ।

यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले गौतबुद्ध र पोखरा विमानस्थल सञ्चालनका लागि प्याकेज समेत ल्याएको थियो । हवाइ टिकटमा रहेको भ्याट छुट वा फिर्ता, इन्धनमा सहुलियत, भिषा सेन्टर स्थापना, हवाइ सेवा शुल्कमा लाग्ने तीन हजार यात्रु सेवा शुल्क छुट दिइएको छ ।

त्यसअतिरिक्त पार्किङ, ल्याण्डिङ, नेभिगेशन शुल्क छुट दिने, एक हजार पर्यटन शुल्क पूर्ण छुट, ग्राउण्ड ह्याण्डलिङमा ७५ प्रतिशत छुटलगायतका कार्ययोजनापछि अन्तर्राष्ट्रिय हवाइ सेवा कम्पनीहरूले भैहवातर्फ पनि सोझिएका हुन् । 

गत साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधार कार्ययोजना तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको थियो । 

तर, पोखरा विमानस्थलमा हालसम्म कुनै पनि अन्तराष्ट्रिय कम्पनीले उडान गरेका छैनन् । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि भैरहवा विमानस्थल चलाउन निकै जोड गरेको छ । पोखरामा अन्तर्राष्ट्रिय उडानका हकमा हालसम्म संरचना तयार नभएको क्यानको भनाइ छ । 

दश घण्टा विमानस्थल बन्द भएपछि दैनिक एक/दुई उडान हुनेलाई सोही विमानस्थलबाट उडान गर्न दिइएको क्यानले जनाएको छ । तर, दैनिक चार उडान गर्नेले कम्तीमा ५० प्रतिशत र तीन उडान गर्नेले २५ प्रतिशत उडान गौतमबुद्धबाट गर्न क्यानले सर्कुलर समेत गरिसकेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट कटौती र भैरहवाका लागि प्याकेज आएसँगै पाँच वटा वायुसेवा कम्पनीले उडान सुरु गरेको क्यानका प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए । “पाँचवटा एयरलाइन्स उडान गरिररहेका छन् । हामीले पनि उहाँहरूलाई आर्थिक रुपमा सहज होस् र यात्रुले पनि सहुलियत पाउन भनी छुट गरेका छौं । यसले गर्दा भैरहवा अब अरु विमान कम्पनीहरू पनि उडान गर्छन्,” उनले भने ।
 
भैरहवामा भारतीय वायुसेवा कम्पनीहरूले भने उडान भर्न चासो दिएका छैनन् । 

भारतीय वायुसेवा कम्पनीलाई पनि भैरहवा उडान गर्न क्यान लागिपरेको पाण्डेको भनाइ छ । “यो विस्तारै हुने विषय हो । इन्डियन क्यारियरसँग पनि उडान गर्न हामीले प्रयास गरिरहेका छौं,” उनी भन्छन्, “हाल सञ्चालन भइरहेका विमान कम्पनीले नाफा कमाए भन्ने बित्तिकै अन्य पनि आउँछन् ।”

दुई वर्षअघि उद्घाटन भएको गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थलबाट नियमित उडान हुन नसक्दा हालसम्म निरन्तर घाटा खाइरहेका छन् । चिनियाँ एक्जिम बैंकको ऋणमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ०८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro