site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालेनको स्टाटस भन्दै सेयर गरिएका पोष्टको वास्तविकता के हो ?

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले फेसबुकमा लेखेको जस्तै देखिने पोष्टको ‘स्क्रिनसट’ सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको छ । राजनीतिक घटनाका विषय नेप्से डेली नामको फेसबुक एकाउन्टबाट बालेनले फेसबुकमा लेखेको जस्तै गरी पोष्ट गरिएका छन् । 

बाह्रखरीको तथ्यजाँचले यी ‘स्क्रिनसट’ जस्तै गरी बनाइएको फोटोहरू मिथ्या भएको ठहर गरेको छ । 

के छ दाबी ?

Dabur Nepal
NIC Asia

नेप्से डेली नामको फेसबुक एकाउन्टले नोभेम्बर ४, ७, ८, ९, १० मा बालेन शाहको फेसबुक प्रोफाइल फोटो पोष्ट गरेको छ ।

नोभेम्बर ४ मा नेप्से डेली नामको फेसबुक एकाउन्टले बालेन शाहले गरेको पोष्ट जस्तो देखिने एउटा स्क्रिनसट पोष्ट गरेको छ । जसमा ‘रास्वपाले माइतीघरमा भ्रष्टाचार मुर्दावाद गर्दै थे । सरकारमा हुने कांग्रेस र एमालेका नेताज्यूहरू हामीलाई गाली गरे भन्दै रिसाउँदै रैछ’ लेखिएको छ ।

यो पोष्टमा १० वटा रियाक्सन र चार वटा सेयर छन् । 

हेर्नुहोस अर्काईभ लिंक

नोभेम्बर ७ मा उक्त फेसबुक एकाउन्टले बालेन शाहले लेखेको जस्तो देखिनेगरी बनाइएको स्क्रिनसट पोष्टमा ‘यसपाली कांग्रेस र एमालेको चुनावी नारा ! ! ! भोट केमा रुख र सूर्यमा, चुनाव जिते कि त भुटानी शरणार्थीदेखि अमेरिका...नत्र नक्कली कर्मचारीदेखि जापानमा’ लेखिएको छ ।  

यो पोष्टमा ९८ रियाक्सन र दुई कमेन्ट छन् । १० पटक यो पोष्ट सेयर भएको छ ।

हेर्नुहोस अर्काइभ लिंक

नोभेम्बर ८ को पोष्टमा बालेन शाहले गरेको पोष्ट जस्तो देखिने ‘स्क्रिनसट’को फोटो पोष्ट गरेको छ । जसमा ‘जापानी नक्कली कर्मचारी काण्डमा पनि रविमाथि छानबिन हुने, जसरी हुन्छ म्याद थप्ने त हो नि’ लेखिएको छ ।
यो पोष्टमा ४१९ रियाक्सन, २५ सेयर र २३ वटा कमेन्ट छन् । यो पोष्ट हाल हटाइएको (डिलिट) छ ।

हेर्नुहोस अकाईभ लिंक

नोभेम्बर ९ मा सोही फेसबुक प्रोफाइलबाट बालेन शाहले फेसबुकमा लेखेको जस्तै देखिनेगरी ‘स्क्रिनसट फोटो’ पोष्ट गरिएको छ । उक्त पोष्टमा ‘गिरिबन्धु काण्डको केपी ओली, ७० करोड काण्डको गोकुल बाँस्कोटा, पानी ट्यांकी काण्डको ईश्वर पोखरेल, दर्जन धेरै काण्डको महेश बस्नेत, बालुवाटार काण्डको विष्णु पौडेल, काठमाडौंमै बाल शोषण गर्ने एमाले नेत्तृलाई पार्टीदेखि निलम्बित गरेको दिन म पनि एमाले हुन्छु’ भन्ने कुरा लेखिएको छ ।

यो पोष्टमा ७४ वटा लाइक छन् भने सात वटा कमेन्ट । यो पोष्ट १४ पटक सेयर भएको छ । यो पोष्ट पनि फेसबुकबाट हटाइएको छ । 

हेर्नुहोस अर्काइभ लिंक

नोभेम्बर १० मा नेप्से डेली नामको फेसबुकले बालेन शाहले फेसबुकमा लेखेको जस्तै देखिनेगरी लेखेका धेरै फोटोमध्ये हामीले तथ्य जाँचका लागि दुई वटा छानेका छौँ ।

एउटा फोटोमा ‘कांग्रेस एमालेले आफ्ना कर्तुत लुकाउन र थप कर्तुत गर्न रविलाई जेल हालिएको’ लेखिएको छ । यो फोटोमा १५७ वटा रियाक्सन, १६ वटा कमेन्ट छन् भने १२ पटक सेयर भएको छ ।

हेर्नुहोस अर्काइभ लिंक

१० नोभेम्बरमै पोष्ट गरिएको अर्को फोटोमा ‘ओलीको गिरिबन्धु काण्ड र आरजुको भुटानी शरणार्थी काण्डका कारण रवि लामिछाने जेल गएको’ लेखिएको छ ।

यो पोष्टमा ७२ वटा रियाक्सन छन् भने दुई कमेन्ट र पाँचपटक सेयर भएको छ । यो पनि पोष्ट पनि फेसबुकबाट हटाइएको छ । 

हेर्नुहोस अर्काइभ लिंक

तथ्य जाँच :
नेप्से डेलीले बालेन शाहले फेसबुकमा लेखेको देखिनेगरी बनाएका यी फोटोमा एउटा कुरा भने समान देखिन्छ । सबै फोटोमा १२३ के रियाक्सन, ५.४ के कमेन्ट र ९५ सेयर देखिन्छ । यी सबै फोटोमा बालेनको भेरिफाइवाला प्रोफाइल र पोष्ट गरिएको समय १६ घण्टा देखिन्छ ।

हामीले तथ्य जाँच गरेका यी ६ वटामध्ये चार वटामा फोटोको बायाँ किनारमा पछाडि केही रातो धर्का जस्तो देखिन्छ । फेसबुक पोष्टमा यस्तो देखिँदैन । 

बालेन शाहले दुई वटा फेसबुक चलाउँछन् । २.२ मिलियन फलोअर भएको उनको प्रोफाइलमा फेसबुकले भेरिफाई गरेको ‘ब्लु’ टिक छ । भने अर्को फेसबुक एकाउन्टमा उनले महिला फुटबल खेलाडी प्रिती राईको तस्बिरलाई प्रोफाइल फोटो बनाएका छन् । 

नेप्से डेली फेसबुक प्रोफाइलले मेयर बालेनको भेरिफाइड फेसबुकको प्रोफाइल फोटो प्रयोग गरेको देखिन्छ ।

हामीले बालेनको भेरिफाइड फेसबुक पेजमा नेप्से डेलीले बालेनको पोष्ट जस्तै देखिनेगरी बनाएका कुनै पनि पोष्ट फेला पारेनौँ । बालेनले नोभेम्बर ४ मा कुनै पनि पोष्ट गरेका छैनन् । बालेनले नोभेम्बर ३ र नोभेम्बर ६ मा मात्र पोष्ट गरेका छन् ।

बालेन शाहको दाबी गरिएका पोष्टमा रियाक्सन, कमेन्ट र सेयर संख्या एउटै देखिनु, बालेनको फेसबुक पेजमा दाबी गरिए अनुसारका पोष्ट नभेटिनु, बालेनको पोष्ट दाबी गरिएका फोटोहरू फोटो फरेन्सिक र ट्रु मिडिया ओआरजी जस्ता टुलले फोटो जोडिएको संकेत गरेका कारण हामी बालेन शाहको पोष्ट भन्दै सेयर गरिएका फोटोहरू मिथ्या हुन् भन्ने निष्कर्षमा पुगेका छौँ । 

बालेन शाहको प्रोफाइल फोटो, रियाक्सन, कमेन्ट र सेयर संख्या देखाउने बारको स्क्रिनसट लिएर यी फोटो ‘मर्ज’ गरिएका हुन् ।

काठमाडौं महानगरका मेयर बालेन शाहका मिडिया सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार, मेयर बालेनले नेप्से डेलीले पोष्ट गरेजस्ता कुनै पनि विषय पोष्ट नगरेको बताए । उनले भने, “नेप्से डेली नामको फेसबुक प्रोफाइलले गरेका पोष्टहरू हामीले पनि देखिरहेका छौँ । मेयरले यस्ता कुनै पनि पोष्ट गर्नुभएको छैन ।”

यस विषयमा मेयर बालेनले प्रहरीमा भने उजुरी गरिसकेका छैनन् । “हामीलाई पनि सधैँ सोसल मिडियामा आएका कुरालाई लिएर साइबर ब्युरो धाइरहने फुर्सद हुँदैन । त्यसैले प्रहरीले राजनीतिज्ञ, फलोअर्स धेरै भएका व्यक्तिकाबारेमा आइरहेका यस्ता गलत सूचनाको अनुगमन गरे हुन्थ्यो,” उनले थप भने । 

यसअघि मेयर बालेन र उपमेयर सुनिता डंगोलको ‘डिप फेक’ भिडियोमाथि भने उजुरी गरिएको थियो । उक्त भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । बजगाईंका अनुसार यसअघि टिकटकमा पनि मेयरको तस्बिर, लाइक दुरुपयोग भएको थियो । प्रहरीसँग समन्वय गरेर त्यो हटाइएको उनले बताए । 

केन्द्रीय साइबर ब्युरोका प्रवक्ता दिपकराज अवस्थीका अनुसार, ब्युरोले सामाजिक सञ्जाल मनिटर गर्ने गर्छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक अवस्थी भन्छन्, “हामी सामाजिक सञ्जाल पनि मनिटर गर्छौँ । यही मनिटरका आधारमा हामीले ९ कार्तिकमा धार्मिक सहिष्णुतामा खलल पार्ने व्यक्तिलाई पक्राउ गर्‍यौँ ।” 

मेयर बालेनले गरेको जस्तै देखिने पोष्टकाबारेमा भने उजुरी नआएको र आए अनुसन्धान गर्ने उनले बताए । “उजुरी आए हामी अनुसन्धान गर्छौँ । एकदमै गम्भीर किसिमका जस्तै– चरित्र हत्या, पोर्नोग्राफी, सामाजिक/धार्मिक सद्भाव बिथोल्ने, हिंसा भड्किने विषयमा भने हामी उजुरीबेगर पनि सक्रिय हुन्छौँ ।”

नेप्से डेली नामको यो फेसबुक प्रोफाइलले मेयर बालेनसँगै, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कलाकार दिपकराज गिरी, धरान उपमहानगरका मेयर हर्क साम्पाङ, माओवादी नेता सुदन किराँतीलगायतका व्यक्तिको पनि यस्तै पोष्ट बनाएर हालेको देखिन्छ । यो फेसबुकले आफ्नो प्रोफाइलमा मात्र नभई फेसबुकका अन्य ग्रुपमा पनि यस्ता ‘मर्ज’ गरिएका गलत जानकारी पोष्ट गर्ने गरेको देखिन्छ ।

दाबी : नेप्से डेलीले बालेन शाहबारे गरेको फेसबुक पोष्ट

तथ्य : बालेन शाहको फेसबुक पोष्ट दाबी गरिएका फोटोहरू मिथ्या हुन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ०९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro