विवादास्पद ‘जनयुद्ध’ दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णयले माओवादी हिंसा पीडितहरूको घाउको खाटो त उप्काएकै छ सत्तारुढ नेकपा (माओवादी केन्द्र)का कार्यकर्तामा ‘फासिस्ट’ उन्माद पनि उत्पन्न गरेको देखिएको छ । गोरखा बहुमुखी क्याम्पस प्रमुखमाथि माओवादी कार्यकर्ताले गरेको हमला यसको उदाहरण हो ।
संविधान लेख्ने बेलैमा माओवादी सशस्त्र विद्रोहलाई ‘जनयुद्ध’ नभन्ने सहमति भएको थियो । माओवादी हिंसाको मारमा परेकाहरूको घाउमा अहिले नुनचुक छर्कनु पर्ने कारण र औचित्य सरकारले स्पष्ट पार्न सकेको छैन ।
यस्तैमा ‘जनयुद्ध’ दिवसमा बिदा दिइएकोमा सामाजिक सञ्जालमा विरोध गरेको कारण देखाएर क्याम्पस प्रमुखमाथि भौतिक आक्रमण गरेर माओवादी कार्यकर्ताले चरम असहिष्णु चरित्र प्रकट गरे । आफूसँग असहमत हुनेबित्तिकै भौतिक आक्रमण गर्ने पुरानो अभ्यास प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन क्षेत्रबाट सुरु भएको हो कि भन्ने शङ्का उब्जेको छ ।
यस्तै सत्ता गठबन्धनको सबैभन्दा ठूलो पार्टीका महासचिवले नागरिक समाजविरुद्ध प्रतिवादमा लाग्न नेकपा (एमाले)को विद्यार्थी संगठनका कार्यकर्तालाई आह्वान गरेका छन् । न्याय, लोकतन्त्र र मानव अधिकारका विषयमा नागरिक समाजका अगुवाले आवाज उठाउँदा वैचारिक प्रतिवाद गर्न गरिएको आह्वान पनि फासिस्ट प्रवृत्ति नै हो ।
सत्तामा रहेका दुवै कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामा पछिल्ला दिनमा देखिएको यो फासिस्ट असहिष्णुताप्रति सरकार र विपक्षले आधिकारिक धारणा सार्वजनिक गर्नु आवश्यक छ । यस्तै, सरकारले क्याम्पस प्रमुखमाथि भौतिक आक्रमण गर्ने नेकपा ९माओवादी केन्द्र०का कार्यकर्तालाई कानुनी कारबाही पनि गर्नुपर्छ ।
‘वैचारिक प्रतिवाद’का लागि गरिएको आह्वानपछि हौसिएका कार्यकर्ताले नागरिक समाजका अगुवामाथि भौतिक आक्रमण गर्न थाल्ने त हैनन् भन्ने सन्देह पनि उब्जेको छ । विगतमा एमालेकै अध्यक्षले विपक्षीमाथि ‘अरिङ्गाल’ बनेर जाइलाग्न कार्यकर्तालाई आह्वान गर्दा अवाञ्छित स्थिति उत्पन्न भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालकै सहमा क्याम्पस प्रमुखमाथि आक्रमण भएको होइन भने आफ्नो पार्टीका कार्यकर्ताबाट देखाइएका यस्ता असहिष्णुता रोक्न उनले तत्काल ध्यान दिनुपर्छ । कम्तीमा वैचारिक असहमति प्रकट गर्नेहरूमाथि भौतिक आक्रमण गर्ने पुरानो धङधङीबाट दाहाल त मुक्त भएको हुनुपर्ने हो । उनैको निर्वाचन क्षेत्रको घटना भएकाले पनि प्रधानमन्त्री दाहालको उत्तरदायित्व बढी हुन्छ ।
यस्ता घटनामा प्रमुख विपक्षी नेपाली कांग्रेसले आवाज उठाउने अपेक्षा पनि सम्भवतः अब जनसाधारणले गर्न छाडिसकेको देखिन्छ । अहिले सानो झिल्कोजस्तो देखिएको असहिष्णु फासिस्ट प्रवृत्ति समाजको नारी छाम्न गरिएको प्रयोग पनि हुनसक्छ । यसैले नागरिक समाजलगायत सत्तामा नभएका सबै बेलैमा सजग होऊन् ।