काठमाडौं । बुद्ध लामा, प्रताप दास र निशान भट्टराईमध्ये एक जनाले आज पहिलो नेपाल आइडलको रुपमा इतिहास रच्दैछन् । भविष्यमा नेपाली संगीत उद्योगमा यीमध्येका विजेताले कस्तो प्रभाव छाड्ने हुन्, त्यो भोलिको दिनले देखाउला तर जे होस् यी तीनमध्ये एक जनाले आफ्नो नाम इतिहासको पानामा सुनौलो अक्षरले लेखाउने छन् ।
नेपालमा पहिलो पटक भएको सबैभन्दा ठूलो सांगीतिक रियालिटी शोको विजेता बन्नु कम्ति कठिन होइन । उत्कृष्ट १८ बाट कडा प्रतिस्पर्धा सुरु भएको थियो । हजारौं प्रतिस्पर्धीलाई पाखा लगाउँदै आफूलाई अब्बल सावित गर्दै उपाधिको होडमा आफूलाई लामबद्ध गरेका प्रतिस्पर्धीको ठूलै चर्चा भयो ।
नेपाल आइडलले नेपालमा नपाली टेलिभिजन च्यानल हेर्ने संस्कारको विकास पनि गरेको चर्चा चल्यो । एपीवान टेलिभिजनले आफूलाई नेपालकै सर्वाधिक टीआरपी भएको टेलिभिजन भनेर दाबी गरिरहेको छ । यी दाबी र लोकप्रियताका पछिको एउटै कारण भने नेपाल आइडलको लोकप्रियता नै हो ।
सुरुमा निर्णायक ठिक भएनन् भनेर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आलोचना भयो । निर्णायक न्ह्यु बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशीले प्रतिस्पर्धीको गायकीमा गरेको ‘कमेन्ट’ को पनि टिप्पणी भयो । कतिपय नाम चलेका गायक गायिकाले पनि निर्णायकको क्षमतामाथि नै प्रश्न चिन्ह उठाए । निर्णायक बज्राचार्यले शोमै आफूहरुलाई लाग्ने गरेको आरोपकोबारेमा कुरा गर्थे । तर, जति नेपाल आइडलको श्रृंखलाहरु थपिँदै गए आलोचना र टिप्पणी कम हुँदै गए । शो लोकप्रिय हुँदै गयो । प्रतिस्पर्धीहरुका फ्यान फलोइङ बढ्दै गए ।
नेपाल आइडलले प्रतिस्पर्धीलाई प्राप्त भोट सार्वजनिक नगरेको भन्ने गुनासो पनि आयो । उत्कृष्ट चारमा पुगेपछि एउटा श्रृंखलामा निर्णायकले आफ्नो ‘भिटो’ प्रयोग गरेर अर्को श्रृखंलासम्म चारै जना प्रतिस्पर्धीलाई लैजाने निर्णय गरे । यस विरुद्ध अदालतमा रिट नै दायर भयो ।
फानइलका लागि कतार जाने कि अदालत ? भनेर टिप्पणी नै चल्यो ।
यहीबीचमा केही अप्रिय कुराहरु पनि बाहिर आए । जातीय कुराले प्रवेश पायो । जातीय कुरा कला साहित्य सिर्जनाको विषय हो तर राजनीति गर्ने मुद्दा भने होइन । तर भयो यस्तै ।
गायक रामकृष्ण ढकालले निशान र प्रताप मलाई मन पर्छ भनेका थिए । तर उनले बुद्ध लामा र सागर आलेलाई उनीहरु जनजाति भएकै कारण मन नपराएको भन्ने आरोप लाग्यो । सामाजिक सञ्जालमा ढकालको चर्को विरोध भयो । उनलाई बहिष्कार गर्ने भनेर कतिपयले त अभियान नै चलाए । चर्को विरोधपछि उनले सञ्चार माध्यमार्फत आफ्नो भनाइको आशय स्पष्ट पार्नुपर्यो ।
पहिलो नेपाल आइडल विवाद मुक्त हुन सकेन । अहिले फाइनलमा बुद्ध, प्रताप र निशान पुगेका छन् । टाइटलको छेउमा पुगेका उनीहरुको ‘हार्टबिट’ जति बढेको छ, त्यति नै उनीहरुका समर्थक, शुभचिन्तक र फ्यानहरुको पनि । सामाजिक सञ्जालमा उनीहरुका फ्यानहरु आफ्ना समर्थकलाई जिताउन भोट मागिरहेका छन् । गृह जिल्लामा अभियान नै चलाएर भोटका लागि आफन्त तथा विभिन्न संघसंस्थाहरुले अपिल गरिरहेका छन् ।
तर पनि नियम नै हो, दौडमा विजयी एक जनामात्रै हुन्छ । निशान, प्रताप र बुद्ध मध्ये एक जनाले उपाधि चुम्नेछन् । बाँकी दुईले फष्ट रनरअप र सेकेण्ड रनरअपमा चित्त बुझाउनुपर्नेछ ।
कसले जित्छ पहिलो नेपाल आइडलको टाइटल ? सबैमा कौतूहल छ नै । तर जवाफ कसैसँग छैन । कसैले दिन्छ भने त्यो अनुमान मात्रै हो ।
फाइनलमा पुग्दा चार जनाले पाएको भोटको आधारमा केही अनुमान र तर्क भने गर्न सकिन्छ । अनुमान नमिल्न पनि सक्छ तर तर्क भने निश्चय नै बलियो हुन्छ । जुन नतिजाको नजिक पनि हुन्छ ।
उत्कृष्ट चारबाट सागर आले बाहिरिँदा जानकारीमा आए अनुसार उनले पाएको भोट निशानले पाएको भन्दा केही हजार मात्रै कम थियो । निशानले भन्दा एक लाख बढीको हाराहारीमा प्रतापले भोट पाए । प्रतापको भन्दा २ लाख बढी बुद्धको पक्षमा भोट प्राप्त भएको थियो ।
यो आंकडालाई हेर्दा अन्तिम श्रृंखलामा प्राप्त भएको भोटकै आधारमा फाइनलमा पनि भोट आयो भने बुद्ध बलियो देखिन्छन् । उनलाई अर्को फाइदा पनि छ– जातीय आधारमा भोट आयो भने त्यसको सुविधा बुद्धले प्राप्त गर्नेछन् । यस्तै अर्को पनि सुविधा छ उनलाई, त्यो हो,सागर आलेका समर्थक तथा शुभचिन्तकको भोट प्राप्त गर्ने ।
बुद्धलाइ भौगोलिक हिसावले पनि भोट बढ्ने सुविधा छ । चितवनका सागर प्रतिस्पर्धाबाट बाहिरिएपछि उनले भौगोलिक दूरीका हिसावले काठमाडौं र मोरङभन्दा नजिक रहेको पोखराका बुद्धलाई त्यो क्षेत्रका संगीतप्रेमीको साथ रहन सक्छ ।
यता प्रताप र निशानलाई भने बुद्धलाई जस्तो सुिवधा प्राप्त छैन । उनीहरुले गायकीबाटै स्रोता तथा दर्शकको मन जित्नु पर्नेछ ।
हुनत उनीहरुलाई भौगोलिक जनसंख्याको आधारमा भोट आउने हो भने पूर्वाञ्चलका निशान र मध्यमाञ्चलका प्रताप बुद्ध भन्दा बलियो देखिन्छन् । तर, अहिलेसम्म प्राप्त भोटका आधारमा त्यो ‘ट्रेन्ड’ देखिएको छैन । संगीत र गायकीका हिसावले भने यो राम्रो पनि हो ।
नेपाल आइडलको टाइटल जसले जिते पनि, टाइटलसँगैं प्राप्त हुने आकर्षक पुरस्कार जसको भाग्यमा भए पनि उनीहरुको खास प्रतिस्पर्धा भने नेपाल आइडलको मञ्चबाट बाहिर ओर्लिएपछि हुनेछ । अहिले भोटले नाम चम्काए पनि बजारमा भने गायकीको प्रतिस्पर्धा हुनेछ । बजारमा हुनेछ उनीहरुको असली प्रतिस्पर्धा । यस अगाडि बेला बखतमा सानै आकारमा भए पनि भएका सांगीतिक प्रतियोगिताका विजेताहरु गुमनाम प्रायः भएका तथ्यहरु नजिर बनेर बसेका छन् ।
नारायण गोपाल, बच्चु कैलाश, नातीकाजी, भक्तराज आचार्य, तारादेवी, कोइलीदेबी जस्ता अमर अजर श्रष्टाहरु भोटले जन्माएका हैनन् । आफ्नै गायकीको बुताले ठाडो शीर लगाएका गायकगायिका हुन् । जसलाई समग्र नेपालले सलाम गर्छ ।