site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंका सुकुम्बासी बस्ती हटाउने तयारी, २७ बस्तीमा ३,४९६ घरधुरी रहेको प्रारम्भिक तथ्यांक
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौं महानगरपालिकासँगको समन्वयमा नदी तथा खोला किनारालगायत विभिन्न ठाउँका सुकुम्बासी बस्ती हटाउने तयारी थालेको छ ।   

वास्तविक सुकुम्बासी पहिचान गरी हटाउने तयारी थालिएको हो । समितिका सूचना अधिकारी कमल अर्यालका अनुसार वास्तविक सुकुम्बासी पहिचान गर्न अध्ययन भइरहेको छ । समितिले संकलन गरेको प्रारम्भिक तथ्यांकबाट काठमाडौंका २० वटा वडाका २७ स्थानमा सुकुम्बासी बस्ती रहेको खुलेको छ । 

समितिको तथ्यांक अनुसार तीन हजार ४९६ घरधुरी रहेको अर्यालले जानकारी दिए । “पहिले हामीसँग तथ्यांक थिएन । अहिले तथ्यांक संकलन गरेर ‘भेरिफाइ’ गर्ने काम भइरहेको छ । यसका लागि समितिले संकलन गरेको तथ्यांक काठमाडौं महानगरपालिकाका सम्बन्धित २० वटा वडामा पठाइएको छ,” उनले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

समितिका अनुसार २० वटै वडाले समितिलाई विवरण पठाएपछि प्रक्रिया अघि बढ्नेछ ।

वास्तविक सुकुम्बासीहरूको व्यवस्थापन हुने पनि उनले बताए । “वास्तविक सुकुम्बासीको व्यवस्थापन पनि हुन्छ । खोला किनारा अतिक्रमण गरेर सुकुम्बासीसँग मिसिएका सबै घरधुरी हट्छन्,” इन्जिनियर समेत रहेका अर्यालले भने । 

Global Ime bank

यसअघि दुई स्थानका सुकुम्बासी बस्तीलाई पनि व्यवस्थापन गरिएको अर्यालले बताए । धोबीखोला, वाग्मती, विष्णुमती, बालाजु लगायत क्षेत्रमा सुकुम्बासी बस्ती बसेका छन् । 

गत शुक्रबार काठमाडौं महानगरपालिकाले वाग्मती र धोबीखोला करिडोर क्षेत्रअन्तर्गत थापाथलीस्थित रुद्रेश्वर मन्दिर आसपासमा बनेका संरचनामा डोजर चलाएको थियो । 

सम्झौताविपरीत बनाइएका संरचनामा महानगरसँगको समन्वयमा डोजर चलाइएको थियो । सोही क्रममा आफूहरूलाई सुकुम्बासी भनी चिनाउनेहरूले नै मापदण्डविपरीत घर टहरा बनाइ भाडामा लगाएको समेत खुलेको थियो । 

खोला करिडोर क्षेत्रमा कतिपय धार्मिक संस्थाले समितिसँग सम्झौता नै गरेर संरचना निर्माण समेत गरेका छन् । वाग्मती करिडोर क्षेत्रमा किरियापुत्री भवन, सालिक, मन्दिर, भजन मण्डली लगायतका संरचनाहरू निर्माण भएका छन् । 

समितिकै नेतृत्वमा सत्य साई बाबा ध्यान केन्द्र, ओम शान्तिको सभाहल, रुद्रेश्वर मन्दिर, ओम शान्तिको भवन हटाइसकेको छ । 

शुक्रबार हटाउनुअघि समितिले तीनदिने अल्टिमेटमसमेत जारी गरेको थियो । समितिले पटकपटक हटाउन अल्टिमेटम दिँदै आएपनि एक्सनमा उत्रिन भने सकेको छैन । सुकुम्बासी बस्तीहरूबारे बहस पनि चलिरहेको अर्यालले बताए । 

काठमाडौं महानगरपालिकाले वाग्मती, धोबीखोला, विष्णुमती, बालाजु लगायत क्षेत्रका कतिपय अवैध संरचनामा डोजर चलाइसकेको छ । 

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार खोला नदी आसपास अतिक्रमण गरेर बनेका कतिपय संरचनाहरू भत्काइसकिएको छ । सुरुमा वास्तविक सुकुम्बासी छनोट गरिने उनले बताए ।

“सुकुम्बासी बस्तीहरू हटाउनै पर्छ तर पहिला छनोट हुनुपर्‍याे । सुकुम्बासी आयोग, अधिकार सम्पन्न एकीकृत विकास समिति, नेपाल सरकार, स्थानीय तह सबैको समन्वय र पहलमा हटाउने कुरा हो,” प्रवक्ता मानन्धरले भने । 

सरकारले सुकुम्बासी व्यवस्थापनको लागि सितापाइलामा ठाउँ छुट्याएर केही संरचना निर्माण गरेको प्रवक्ता मानन्धरले बताए । “सो ठाउँमा सबै सुकुम्बासी अट्ने नअट्ने, वास्तविक सुकुम्बासी को हुन् ? कहाँ व्यवस्थापन गर्ने ? जस्ता कुराहरू हेर्नुपर्ने हुन्छ,” उनले भने, “सामूहिक पहलमा व्यवस्थापन तथा हटाउने कुरा हो ।” 

खोला र नदीका किनारा खाली गरी सौन्दर्य कायम राख्ने गरी गृहकार्य गरिरहेको समितिले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  २१:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement