
काठमाडौं । दुई वर्षअघि घरेलु मैदानमा आयोजित साफ यू–१९ च्याम्पियसिपबाट नेपाली फुटबलमा एक युवा नाम चर्चित बन्यो । प्रतियोगितामा नेपालले सेमिफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेन । तर, विंगमा आफ्नो तीव्र गतिका कारण समीर तामाङ नेपाली समर्थकमाझ परिचित बने ।
प्रतियोगितामा उनै समीर भुटानका जिग्मी नाम्गेलसँगै संयुक्त रूपमा उच्च गोलकर्ता बने । उनले लिग चरणमा माल्दिभ्सविरुद्ध दुई र सेमिफाइनलमा भारतविरुद्ध एक गरी कुल तीन गोल गरेका थिए ।
गतिलाई आफ्नो पहिचान बनाएका समीर उक्त प्रतियोगितापछि एकाएक नेपाली समर्थकमाझ चर्चाको विषय बने । उनै समीर दुई वर्षपछि हाल फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थन्डर्सको ‘मार्की’ खेलाडीको भूमिकामा छन् ।
फुटबल र समीरको कथा
दक्षिणपूर्वी तराई जिल्ला बारामा जन्मिएका समीरलाई फुटबलले यतिसम्म प्रतिफल देला भन्ने कल्पनासम्म थिएन । अहिले जति पनि पाएका छन्, उनका निम्ति यी सबै फुटबलले दिएको ‘सरप्राइज’ हुन् । उनी भन्छन्, “यहाँसम्म आइपुग्छु भन्ने सोचेकै थिइनँ । तर, पछिल्लो एक वर्षमा धेरै राम्रो भयो ।”
किशोरावस्थामा बरालिने मनलाई उनले फुटबलमा केन्द्रित गरे । उमेरले १० वर्ष छुँदै थियो, समीरले फुटबल सपना बुन्दा । तर, साथीहरू बुटमा सजिएर मैदानमा उत्रँदा आफ्नो खाली खुट्टा हेरेर समीर खिन्न हुन्थे । र पनि यसलाई उनले आफ्नो कमजोरी बन्न दिएनन् । भनौँ, फुटबलले दिएको आनन्दअघि खुट्टामा बुट र जिउमा जर्सी नहुनुको दुःख समीरका अघि भुइँको धुलोजस्तै थियो ।
एकदिन समीरको खेल गाउँकै एकजना दाइले देखे । सन्तोष गुरुङ त्यही नाम हो, जसले समीरको फुटबल क्षमता पहिलोपटक चिनेका थिए । सन्तोष बाराकै निजगढको एक स्थानीय क्लबमा प्रशिक्षण पनि गराउँथे । खाली खुट्टा एक केटो मैदानको एउटा कुनाबाट अर्कोतिर कुदेको देखेपछि उनले भनिहाले– भोलिदेखि ट्रेनिङमा आउनू । बुट, जर्सी म मिलाइदिउँला ।
समीर विगत सम्झन्छन्, “स्कुलमै साथीहरूसँग खाली खुट्टा खेलिन्थ्यो । त्यही बेला सन्तोष दाइले मलाई भोलिदेखि ट्रेनिङ गर्न आइज भन्नुभयो । बुट, जुरुफ, जर्सी किन्न पैसा पनि थिएन । धेरै गाह्रो थियो । तिमीलाई म बुट मिलाइदिन्छु, ट्रेनिङमा आऊ भन्नुभयो । त्यही बेलादेखि हो, म फुटबल प्रशिक्षणमा लागेको ।”
घरमा दुई दिदीका कान्छो भाइ हुन्, समीर । अर्को अर्थमा, एक्लो छोरो । बुवाआमा निजगढकै भए पनि पुर्ख्यौली घर त्यहाँ थिएन । निजगढको सहिदचोकबाट केही मिटर मात्र भित्र उनीहरू भाडाको घरमा बसेका थिए । एउटा बन्चरो नै त्यस बेला समीरको परिवार धान्ने मुख्य साधन थियो । बिहान जंगलबाट दाउरा ल्याएर बजारमा पठाउन नसके चुल्हो बाल्न समेत सोच्नुपर्ने परिस्थितिबाट गुज्रिसकेका समीरले सानै उमेरमा गरिबी कस्तो हो राम्ररी बुझे । तर पनि फुटबलप्रतिको लगावमा समीरले कहिल्यै कमी आउन दिएनन् । त्यही लगावबाट अहिले पोखराको मार्कीसम्म आइपुग्दा समीरलाई लाग्छ– मिहिनेतको फल पाइयो । तर, अझै राम्रो गर्नु छ ।
“फुटबलमा मैले गरेको कठिन मिहिनेतको फल अहिले पाइरहेको छु जस्तो लाग्छ । मैले अझै धेरै कुरा गर्न बाँकी नै छ । अझै पनि आफूलाई झन् अब्बल बनाउन लागिरहेको छु,” समीर भन्छन् ।
पासपोर्ट नहुँदा युवा राष्ट्रिय टिमबाट बाहिर
सन् २०२२ मा श्रीलंकामा आयोजित साफ यू–१७ च्याम्पियनसिपका निम्ति अखिल नेपाल फुटबल संघ (एन्फा)ले खुला छनोट सुरु गर्यो । राष्ट्रिय टिम छनोटका निम्ति समीरले जिल्ला, प्रदेश हुँदै केन्द्रसम्मको यात्रा तय गरे ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको अन्तिम छनोट पनि समीरले पार गरे । तत्कालीन मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले घोषणा गरेको अन्तिम टोलीमा समावेश भए पनि समीर टिमसँगै श्रीलंका जान पाएनन् । पासपोर्ट नहुँदा नेपाली टिम समीरलाई यहीँ छाडेर उड्यो ।
“बुवाको नागरिकता जन्मको आधारमा रहेछ । त्यसकारण प्रशासनले नागरिकता बनाउन आनाकानी गरे । नागरिकता नहुँदा पासपोर्ट बन्ने कुरै भएन । अनि, साफका निम्ति श्रीलंका जाने अवसर गुमाएँ,” समीर भन्छन् ।
आफू योग्य हुँदाहुँदै पनि नेपाली टिमको प्रतिनिधित्व गर्न नपाउँदा समीरको धैर्यको बाँध टुट्यो । उनी विक्षिप्त बने । फुटबलप्रति चर्को वितृष्णा भयो । “मैले आफूलाई सम्हाल्नै सकिनँ । टिममा नपरेको भए सायद केही हुन्नथ्यो होला । तर, राष्ट्रबाट खेल्ने अवसर गुमेपछि किन फुटबलमा छु भन्ने मनमा आयो,” उनी सुनाउँछन् ।
यो घटनापछि उनले फुटबलबाट टाढिने निर्णय गरे । करिब एक महिना उनी प्रशिक्षणमा नगई बसे । तर, फुटबलर बन्ने सपना चटक्कै त्याग्न सकेनन् । एक महिनापछि फेरि प्रशिक्षणमा फर्किए । “त्यो घटनापछि म निकै निराश थिएँ । फुटबल छोड्छु भनेरै बसेँ, तर सकिनँ । एक महिनापछि प्रशिक्षणमा फेरि फर्किएँ,” उनले थपे ।
मधेस प्रदेशमा व्यावसायिक फुटबलमा उदाहरणीय पहिचान बनाएको टिम हो, वाग्मती युवा क्लब । यू–१७ छनोटपछि समीरलाई सर्लाहीको यही क्लबबाट खेल्ने प्रस्ताव आयो । समीरले भने आफू तत्कालै व्यावसायिक जिम्मेवारीमा जान नसक्ने महसुस गरे । वाग्मतीमा अनुबन्ध नहुने निर्णय लिए ।
आमालाई ‘सरप्राइज’ तिलहरी दिँदाको खुसी
समीरको परिवार अझै निजगढमा कोठा भाडामा लिएर बसिरहेको छ । उनी आफू आर्थिक रूपमा निम्नवर्गबाट उठेर आएको भन्न हिचकिचाउँदैनन् ।
तीन महिनाअघि समीर आमालाई ‘सरप्राइज’ उपहारसहित घर पुगे । सरप्राइज थियो, तिलहरी ।
“हाम्रो परिवार निकै दुःख देखेको परिवार हो । तर, अहिले मैले परिवार हेर्न पाइरहेको छु । एकदमै खुसी र गौरव महसुस हुन्छ । दुई–तीन महिनाअगाडि आमालाई सुनको तिलहरी बनाएर दिएँ । आमालाई थाहा नदिई बनाएको थिए । उहाँ निकै खुसी हुनुभयो,” ती क्षण सुनाउँदै गर्दा समीरको आवाजमा सन्तुष्टि थियो ।
फुटबलले सबै दिए पनि यसैकारण औपचारिक अध्ययनलाई अघि बढाउन नसकेकामा समीर अफसोस मान्छन् । उनले औपचारिक शिक्षालाई कक्षा–८ भन्दा अघि बढाउन सकेनन् ।
“मेरा लागि दुईवटा विकल्प थिए । मैले त्यति बेला फुटबल रोजेँ,” उनले भने ।
यसैमा केही गर्छु, बन्छु भन्ने अठोट समीरको थियो । उनी स्कुल जाँदा पनि ब्यागमा किताब–कापीसँगै फुटबल बुट र जर्सी लिएर जान्थे । कतिपटक स्कुलबाट भागेर खेल्न पनि गए । त्यसको भोलिपल्ट खुब गाली र पिटाइ खाएको समीरको स्मरणमा अझै ताजै छ ।
फुटबल नै आफ्नो जीवन बताउने समीरको अबको सपना छ, बुवाआमालाई आफ्नै घरमा राख्ने । “निजगढमा घर बनाएर बाबाआमालाई राख्ने सपना छ,” उनी भन्छन् ।
राष्ट्रिय टिमबाट ‘डेब्यु’ गर्दाको क्षण
सन् २०२४ को मार्च २१ मा समीरले नेपाली राष्ट्रिय टिमबाट ‘डेब्यु’ गरे । फिफा विश्वकप छनोटअन्तर्गत बहराइनविरुद्ध पहिलोपटक राष्ट्रिय टिमबाट मैदानमा उत्रँदा समीरको उमेर १९ वर्ष मात्र थियो । बहराइनसँग खेल्नुअघि मलेसियाविरुद्ध ‘क्लोज डोर’मा भएको ‘अनअफिसियल’ खेलमा पनि समीर मैदानमा उत्रिएका थिए । उक्त खेलमा ४–१ को हार व्यहोर्दा नेपालबाट समीरले नै गोल गरेका थिए ।
नेपाली टिमका तत्कालीन मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले बहराइनविरुद्ध समीरलाई मौका दिए । उनी ७९औँ मिनेटमा मैदानमा प्रवेश गरे । तर, उनले मैदानमा १० मिनेट मात्र बिताउन पाए । ८८औँ मिनेटमा उनी ‘सब्सिच्युट’ भए ।
सिनियर राष्ट्रिय टिमबाट अहिलेसम्म समीरले पाएको ‘गेम टाइम’ त्यही १० मिनेट मात्र हो । त्यसपछि उनी राष्ट्रिय टिममा नियमित बन्न सकेनन् । तर, राष्ट्रिय टिमबाट डेब्यु गर्न पाउनु नै आफ्नो निम्ति ठूलो उपलब्धि भएको बताउँछन्, समीर ।
“प्रशिक्षकले खेलअगाडि नै मलाई ‘म तिमीलाई जसरी भए पनि डेब्यु गराउँछु’ भन्नुभएको थियो । राष्ट्रिय टिममा छनोट भएको पहिलोपटकमै डेब्यु गर्न पाउनु मेरो लागि ठूलो कुरा हो,” उनले भने ।
‘क्रिस्टियानो रोनाल्डो र अञ्जन दाइ मन पर्छ’
अन्तर्राष्ट्रिय फुटबलमा समीर क्रिस्टियानो रोनाल्डोलाई आफ्नो ‘आइडल’ मान्छन् । यसैकारण उनलाई जर्सी नम्बर ७ मन पर्छ । रोनाल्डोलाई आदर्श खेलाडी मान्नु समीरको आफ्नै भावना छ । उनलाई रोनाल्डोको संघर्षका कहानीले खुब छुन्छ ।
“मलाई क्रिस्टियानो रोनाल्डो मन पर्छ । मेरो र रोनाल्डोको कहानी उस्तै लाग्छ । रोनाल्डो पनि गरिबी देखेको, कठिन मिहिनेतले बनेको खेलाडी हो । उनको हरेक संघर्षका कथाहरू हेरिरहेको हुन्छु । त्यही संघर्षले नै मलाई रोनाल्डो मन पर्न थाल्यो,” उनी भन्छन् ।
नेपाली फुटबलमा भने उनी अञ्जन विष्टलाई पछ्याउँछन् । उनी भन्छन्, “अञ्जन विष्ट दाइ मन पर्छ । दाइ मसँग पहिलेदेखि नै नजिक हुनुहुन्थ्यो । उहाँको गेम पनि राम्रो लाग्छ ।”
‘एनएसएलमा आफूलाई प्रमाणित गर्छु’
एनएसएलमा पोखरा थन्डर्सको मार्की समीरले नेपाली फुटबलको यो मञ्चले आफूलाई प्रमाणित गर्ने अवसर दिएको बताउँछन् । उनलाई लाग्छ–नियमित प्रतियोगिता पाए खेलाडीले फुटबलबाहेक अरू सोच्ने मौका नै पाउँदैन थिए ।
उनको लक्ष्य छ– एनएसएलमा उत्कृष्ट प्रदर्शनसहित राष्ट्रिय टिममा पुनरागमन गर्ने । समीर भन्छन्, अबको लक्ष्य भनेको एनएसएलमा आफूलाई प्रमाणित गर्नु छ । यसले मलाई मौका पनि दिएको छ । यसमा आफूलाई प्रमाणित गरेँ भने सबै कुरा मिल्दै जान्छ जस्तो लाग्छ ।”