site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अब के होला काठमाडौं महानगरको विवाद ? बालेन आज पनि आएनन् कार्यालय ! 

काठमाडौं । तीन महिनादेखि तलबविहीन काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)देखि कर्मचारीसम्मका खातामा तलब गएको छ । तलब निकासाका लागि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले शुक्रबार तोक लगाएका हुन् । 

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार रोकिएको तीन महिनाको तलब आज गएको छ ।

महानगरका मेयर बालेनको अघोषित निलम्बनमा परेका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं गत पुस ८ गतेदेखि पटक–पटक कार्यालयमा हाजिर हुने कोसिस गरिरहेका थिए । तर, बालेनको निर्देशनमा कार्यालय प्रवेशमा रोक लाग्दै आएको थियो । 

महानगरकी उपमेयर सुनिता डंगोलको ‘समन्वयकारी’ भूमिका निर्वाह गरेपछि प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी फर्किएसँगै रोकिएका काम अघि बढेको हो ।

महानगर वडा नम्बर २८ पुरानो बसपार्कस्थित कित्ता नम्बर १३७३ र क्षेत्रफल २३–५–३–३ रहेको जमिनमा श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले निर्माण गरिरहेको काठमाडौं टावरको तला थप गर्ने अनुमति दिएको आरोपमा गुरागाईं छानबिनमा तानिएका थिए ।

कार्यपालिका बैठकबिनै बालेनकै निर्देशनमा तीनवटा छानबिन समिति बन्यो । 

तर, तीनैवटा समितिले गुरागाईंमाथिको आरोप पुष्टि गर्न सकेन । त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई महानगरमा हाजिर गराउन पटक–पटक ताकेता गर्दै आएको थियो । 

तर, मेयर बालेनले भ्रष्टाचारको आरोप लगाउँदै गुरागाईंलाई कुनै पनि हालतमा हाजिर हुन नदिने अडान लिँदै आएका थिए ।  गत बिहीबार महानगरका कर्मचारी र जनप्रतिनिधिका साथले बालेनको अडानलाई उल्टाइदियो । गुरागाईं कार्यालय हाजिर हुने जर्बजस्त माहोल बन्यो । 

नगरप्रहरीको अवरोध तोड्दै कार्यपालिका सदस्य र कर्मचारीहरूले गुरागाईंलाई प्रमुख प्रशासकीय अधिकृतको कुर्सीका ‘कमब्याक’ गराएका हुन् ।

महानगरमा उत्पन्न प्रमुख प्रशासकीय अधिकृतको विवाद उत्कर्षमा पुग्दा बालेन विदामा थिए । उनी आफ्नो ‘कोर टीम’का सदस्य कुमार व्यञ्जनकार र अर्जुन घिमिरेसहित दोलखाको भिमसेन मन्दिर पुगेका थिए । 

तीन महिनादेखि रोकिएको कुचीकारदेखि मेयर बालेनसम्मको तलब निकासा हुने वातावरण बनेको छ । 

बालेनलाई कर्मचारीहरूले निरन्तर ध्यानाकर्षण गराउँदा पनि सबै दोष केन्द्रीय सरकारलाई देखाउँदै सामाजिक सञ्जालमा अराजक आक्रोश पोख्न मात्रै बालेन व्यस्त रहे । कर्मचारीहरूले बालेनको कार्यशैलीप्रति खुलेर प्रतिकार गरेको यो पहिलो घटना हो । 

बालेनको एकल निर्णयका कारण महानगरका करीब पाँच हजार जनप्रतिनिधि र कर्मचारीले तीन महिना बढीदेखि तलब पाएका थिएनन् । 

जनप्रतिनिधिको तलब निकासा र महानगरको समस्या समाधान गर्न बालेनले सामाजिक सञ्जालमा आक्रोश पोख्नेबाहेक मन्त्रालयमा भेटवार्तालगायत कुनै पहल गरेको देखिएन । 

केन्द्रीय सरकारले गुरागार्ईंलाई हाजिर गराउन निर्देशन दिँदा पनि बालेनले मानेका थिएनन् । 

तर, जुनसुकै हालतमा पनि कार्यालय प्रवेश गराएरै छाड्ने अडानमा कर्मचारीहरू र जनप्रतिनिधि भएको पाएपछि उपमेयर डंगोलले समन्वयकारी र नेतृत्वदायी भूमिका निभाएकी हुन् ।
बिहीबार गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन नगरप्रहरी परिचालन गरेर बालेन दोलखा हिँडेका थिए । 

बालेनको निर्देशन पालन गर्दै गुरागाईंलाई नगर प्रहरीले सहजै कार्यालय प्रवेश नदिँदा महानगर परिसर तनावग्रस्त बनेको थियो । गुरागार्इंमाथि आफ्नो कार्यालयतर्फ जाँदा पनि नगरप्रहरी प्रमुख राजु पाण्डेको निर्देशनमा ठेलमठेल सुरु भएको थियो । 

कर्मचारीको बलियो साथ पाएपछि जसरी पनि हाजिर हुने मनस्थितिमा गुरागाईं थिए । 

लामो समयदेखि तलब खान नपाएका कर्मचारीले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा नगरप्रहरी परिचालन गरेर अवरोध गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

उनी नगरप्रहरीको घेरालाई सजिलै तोडेर अघि बढ्न सफल भएका थिए । त्यही भिडको बीचमा देखिएकी थिइन्, उपमेयर डंगोल ।  डंगोलले नगर प्रहरी प्रमुख पाण्डेलाई औँला देखाउँदै प्रश्न गरेकी थिइन्, ‘तपाईँले कसको आदेशमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउनुभयो ?’

उपरमेयरको आक्रोश देखेपछि पाण्डे केही शान्त बन्दै मेयर बालेनको मौखिक निर्देशन भन्दै पन्छिन खोजे । कानुनतः नगर प्रहरी प्रशासकीय अधिकृतको मातहतमा रहन्छन् । 

डंगोलले खोई त मेयरज्यू भनेर प्रतिप्रश्न पनि गरिन ।  फेरि पाण्डेले थाहा नभएको भन्दै आलटाल जवाफ दिन थालेपछि डंगोलले नगरप्रहरीलाई बल प्रयोग नगर्न र कर्मचारी तथा जनप्रतिनिधिलाई उत्तेजित नहुन कडा निर्देशन दिइन् ।   

डंगोलको निर्देशनपछि प्रमुख प्रशासकीय अधिकृतको सचिवालयको वातावरण केही शान्त बन्यो ।  प्रमुख प्रशासकीय अधिकृतसँगै कर्मचारी र जनप्रतिनिधिबीच अनौपचारिक बैठक सुरु भयो । बैठकमै पनि डंगोलले पाण्डेलाई र्‍याखर्‍याख्ति पारिन् ।

बालेनलाई पनि खुला चुनौती दिँदै भनिन, “बन्द कोठामा बसेर आदेश दिने होइन, यहाँ आएर समाधान खोजौँ ।”

मेयरले समस्याको कुनै समाधान नगर्ने निष्कर्ष उक्त बैठकले निकाल्यो । त्यसपछि कर्मचारी जनप्रतिनिधिहरू प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षतर्फ अघि बढे ।  पाण्डेले चाबी उपलब्ध नगराएपछि उनीहरूले ढोका नै फोडेर गुरागाईंलाई कार्यकक्षभित्र प्रवेश गराएका थिए ।

गुरागाईं हस्ताक्षर गरेर बाहिर निस्किए । यसअघि नै बालेनले कुनै पहल नगरेपछि डंगोलले असन्तुष्टि जनाएकी थिइन् । 

मेयर बालेन र उपमेयर डंगोलबीचको विवाद, प्रमुख प्रशासकीय अधिकृत र मेयर बालेनको विवाद, प्रमुख प्रशासकीय अधिकृत र नगरप्रहरी प्रमुखको विवाद गरी महानगरमा तीन किसिमका झगडा रहेको देखिन्छ ।  कार्यालय प्रवेशमा रोक लगाएको भोलिपल्ट अर्थात् शुक्रबार पाण्डे गुरागाईंलाई भेट्न पुगेका थिए । तर, गुरागाईंले उनलाई बेवास्ता गरेका थिए ।

मेयर बालेनको सचिवालयले भने मेयर बालेन बाहिर भएको मौका छोपेर गुरागाईंलाई भिडाएको जनाएको छ । बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले मेयर बाहिर गएको बेला गुरागाईंलाई हाजिर गराएको बताए । 

“मेयरज्यू बाहिर भएका बेला प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराइयो । संघीय सरकारलाई कारबाहीका लागि पटक–पटक सिफारिस गर्दा पनि सुनेन,” उनले भने । बालेनको सचिवालयका अनुसार, मेयर बालेन बिदामा थिए । उनी हिजोसम्म बिदामा रहेर आज कार्यालय जाने तयारी थियो ।

तर उनी समाचार तयार पार्दासम्म कार्यालय गएका छैनन् ।  अस्तव्यस्त बनेको महानगरको सेवा प्रवाह सहज बनेको महानगरका प्रवक्ता नविन मानन्धरले बताए ।  “प्रमुख प्रशासकीय अधिकृत हाजिर भएपछि महानगरको प्रशासनिक काम अघि बढेका छन् । आज सबै कर्मचारीको खातामा तलब गएको छ,” उनले भने ।

भुक्तानीका लागि रोकिएका फाइल पनि अघि बढेको महानगरले जनाएको छ । शुक्रबार गुरागाईं विभागीय प्रमुखहरूसँग बैठक बसेका थिए ।

विभागअन्तर्गन गर्नुपर्ने कामहरूको सबै तयारी भएपछि कार्यपालिका बैठक बस्न सक्ने महानगरले जनाएको छ । महानगर प्रमुख बालेन तीन महिनायता कार्यपालिका बैठक बसाउनसमेत असफल छन् ।  कार्यपालिका बैठकको माग गर्दै यसअघि वडाध्यक्षहरूले मेयर बालेनलाई गत चैत १० गते ज्ञापनपत्र बुझाएका थिए । 

प्रमुख प्रशासकीय अधिकृतको समस्या समाधान भएपछि उपमेयर डंगोल वैदेशिक भ्रमणमा बेल्जियम गएकी छन् ।
 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro