
काठमाडौं । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) लिमिटेडको दबाबमा प्रस्तावित एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँध सार्न खेल सुरु भएको छ । तल्लो तटीय क्षेत्रको समस्या देखाउँदै अहिले माथिल्लो अरूण आयोजनाको बाँध सार्न सर्भे सुरू भएको हो ।
अरूण बेसिन कब्जा जमाएको एसजेभीएनले माथिल्लो अरुण आयोजनामा आँखा लगाइरहेको छ । उक्त सर्भेको बेन्चमार्क सेटपछि माथिल्लो अरुणको क्षमता समेत घटबढ हुन सक्छ । माथिल्लो अरुण र अरुण चौथो आयोजनाको बेन्चमार्क एकै नभएको कारण देखाएपछि विद्युत् विकास विभाग, माथिल्लो अरुण र अरुण चौथो आयोजनाले संयुक्त रूपमा सर्भे सुरु गरेका हुन् ।
माथिल्लो अरुणको वित्तीय व्यवस्थापनको तयारी भइरहँदा आफूलाई असर गर्ने कारण देखाएर एसजेभीएनले विश्व बैंकलाई रोकेको थियो । आयोजनाको गत असारमा नै वित्तीय व्यवस्थापनको तयारी रहे पनि हालसम्म अघि बढ्ने वा नबढ्ने कुनै जानकारी नदिएको अर्थ मन्त्रालयले जनाएको छ ।
माथिल्लो अरूण र अरूण चौथोले सेट गरेको बेन्चमार्क फरक रहेका कारण पुनः सर्भे गर्नुपरेको बताउँछ । विभागको नेतृत्वमा माथिल्लो अरूण र अरूण चौथो कम्पनीले सयुक्त रूपमा सर्भे थालेको हो ।
९०० मेगावाटको अरूण तेस्रो, ४९० मेगावाट क्षमताको अरूण चौथो, ६६९ मेगावाटको तल्लो अरूण आयोजना सरकारले एसजेवीएनलाई निर्माणको जिम्मा दिएको छ । अरुण तेस्रोको काम ७० प्रतिशत सकिएको छ । तल्लो अरुणको निर्माणको तयारी हुँदै छ ।
अरूण चौथो आयोजनाको क्षमता ४९० मेगावाट रहेको छ, यसमा १४० मेगावाट थप समेत प्रस्ताव विभागसमक्ष गरिएको छ । सतलजले उक्त आयोजनाको क्षमता १४० मेगावाट थप गरी ६३० मेगावाट पुर्याउन विद्युत् विकास विभागमा प्रस्ताव गरेको थियो ।
आयोजनाको क्षमता विस्तार गर्दा माथिल्लो अरूणको क्षमतामा कमी आउने जानकारहरू बताउँछन् । उता, कम्पनी भने माथिल्लो अरुणको क्षमता थपघट के हुने भन्ने विषयमा अहिले भन्न नसकिने बताउँछन् ।
सरकारले ९०० मेगावाटको अरूण तेस्रो आयोजना भारतीय कम्पनीलाई दिँदाको सर्तअनुसार नै अरूण चौथो आयोजना दिएको थियो । अरूण तेस्रो जलविद्युत् आयोजनाको माथिल्लो तटीय क्षेत्रमा अरूण चौथो आयोजना पर्दछ ।
अरूण तेस्रोको तल्लो तटीय क्षेत्रमा पर्ने ६७९ मेगावाटको तल्लो अरूण जलविद्युत् आयोजनाबाट पनि नेपालले २१ प्रतिशत निःशुल्क विद्युत् पाउने गरी सतलजलाई नै दिइएको छ । अरुण तेस्रोबाट नेपालले २१.९ प्रतिशत निःशुल्क बिजुली पाउनेछ ।
माथिल्लो अरूण आयोजना यसअघि एक हजार ६३ मेगावाट विद्यु्त् उत्पादनको क्षमता छ । तर, पुनः अध्ययनले आयोजनाको क्षमता घटबढ हुनसक्ने कम्पनी नै जनाउँछ । नेपाल विद्युत् प्राधिकरणको स्वमित्वमा रहेको आयोजनामा विश्व बैंकले लगानी गर्ने भनिए पनि भारतीय चासोले अड्किरहेको छ ।
उता, आयोजनाको बेन्चमार्क एउटै नपरेका कारण सर्भे गर्नुपर्ने भएको विभागका महानिर्देशक नवीनराज सिंह बताउँछन् ।
“यसमा अरू कुरा केही होइन, तल्लो र माथिल्लो आयोजनाको बेन्चमार्क फरक देखिएपछि सर्भे गर्नुपरेको हो,” महानिर्देशक सिंहले बाह्रखरीसँग भने, “यसमा अरु कुरा केही होइन, दुईवटा कम्पनीको बेन्चमार्क एउटै बनाउन खोजेको हो ।”
विभागको नेतृत्वमा माथिल्लो अरूण र अरूण चौथो आयोजनाको टिम राखेर सर्भे सुरू गरिएको उनले बताए । “बेन्चमार्क स्टाबिलिस्ट गर्नको लागि जोइन्ट सर्भे गरेको हो,” उनले भने, “अरूण चौथो र अप्पर अरूणको बेन्चमार्क फरक परेका कारण दुवै कम्पनीलाई राखेर जोइन्ट सर्भे गर्न पठाएका हौँ ।”
अरूण चौथोको प्रस्तावित बाँध लेसुवामा नबन्ने भएका कारण माथिल्लो अरूणसँग सहकार्य गरी पाउँ भनेर विभागमा निवेदन दिएको र सोही आधारमा जोइन्ट सर्भे टिम बनाएको सिंहले जनाए । “लेसुवमा पहिरो आएका कारण हेडवक्र्स नबन्ने भएर उसले भनेपछि हामीले जोइन्ट सर्भे गर्न लागेका हौँ,” उनले भने ।
अरूण चौथो विद्युत् प्राधिकरणका र सतलजले संयुक्त उपक्रम (जेभी)मा बनाउने सहमति छ । उक्त आयोजनाको हेडवक्र्स प्रस्तावित स्थलमा बाढीले ढुंगाहरू धेरै ल्याएको र बाँधस्थल माथि सार्नुपर्ने भनेर अरूण चौथोको टिमले भनेपछि माथिल्लो अरूणको माथि कहाँसम्म सार्न सकिन्छ भन्ने अध्ययन गर्न लागेको अप्पर अरूण हाइड्रो इलेक्ट्रिक लिमिटेडका प्रबन्ध निर्देशक फनेन्द्रराज जोशीले बताए ।
“माथिल्लो अरूणलाई सिग्निफिकेन्ट असर नगर्ने गरेर कहाँसम्म माथि लैजान सकिन्छ भनेर अध्ययन गर्ने,” उनले भने, “उनीहरूको सर्भे र हाम्रो सर्भेमा केही फरक परेको छ । त्यसलाई मिलाउन पनि जेभीमा सर्भे सुरू गरेका हौँ ।”
अरूण चौथो र माथिल्लो अरूणले राखेको बेन्चमार्कमा फरक परेपछि सर्भे गर्नुपरेको जोशी बनाउँछन् । “अरूण चौथो आयोजना र माथिल्लो अरूणले सेट गरेको बेन्चमार्कमा दुई/तीन मिटरको तलमाथि परेको देखियो,” उनले भने । आयोजनाको क्षमताको विषयमा अहिले केही भन्न नसकिने जोशी बताउँछन् ।
माथिल्लो अरूण संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १०६३ मेगावाटको अर्धजलाशययुक्त आयोजना हो । अध्ययनअनुसार आयोजनाको कुल हेड ५०८.३ मिटर रहेको छ । आयोजनाबाट वार्षिक ४५१२ गिगावाट ऊर्जा उत्पादन हुन्छ । सुक्खा मौसममा २७.७ प्रतिशत ऊर्जा उत्पादन हुनेछ ।
आयोजनाको बाँध एकसय मिटरको हुनेछ । हेडरेस टनेलको लम्बाइ ८.४ किलोमिटर र बाइपास टनेल १.४ किमीको हुनेछ । आयोजनाको पावर हाउस भूमिगत प्रकारको हुनेछ । आयोजनालाई ६ घण्टा पीकिङमा चलाउन सकिन्छ ।
आयोजना प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी माथिल्लो अरूण हाइड्रो–इलेक्ट्रिक लिमिटेडले आगामी सन् २०२६ को सुरूबाटै आयोजना निर्माण थालिने तयारी भनेपनि लगानी जुट्न सकेको छैन ।
अध्ययनअनुसार वार्षिक चार अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुनेछ । उत्पादित विद्युत् ६ किलोमिटर चारसय केभीको प्रसारण लाइनमार्फत् संखुवासभाको हाइटारमा नयाँ बन्ने सबस्टेसनमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।
आयोजना निर्माणका लागि अनुमानित पाँच वर्षको समयसीमा तोकिएको छ । माथिल्लो अरूणको पूर्वतयारीस्वरूप दुई किलोमिटर सुरूङ मार्ग र २१ किलोमिटर पहुँच मार्ग निर्माणको काम भइरहेको ।
जग्गा प्राप्ति र मुआब्जा वितरण करिब सकिएको माथिल्लो अरूण हाइड्रो–इलेक्ट्रिक लिमिटेड प्रमुख जोशी बताउँछन् । आयोजनामा हालसम्म चार अर्ब बढी खर्च भइसकेको जोशीले जानकारी दिए ।