काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भियतनाम जाने यू–१७ फुटबल टोलीलाई बिदाइ गरेको छ । शनिबार एन्फाले एएफसी यू–१७ एसियन कप छनोटका लागि भियतनाम जान लागेको टोलीलाई बिदाइ गरेको हो ।
एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य रुपेश अधिकारीले खेलाडीलाई बिदाइ गरे । नेपाली टोली आइतबार (भोलि) त्यसतर्फ प्रस्थान गर्नेछ ।
बिदाइ कार्यक्रममा एन्फा उपाध्याक्ष खड्काले आफ्नो भविष्य निर्माणका लागि गम्भीर र अनुशासित भएर खेल प्रदर्शन गर्न सुझाव दिए । उनले एन्फामा विगतदेखि रहेको समस्या छिट्टै समाधान हुने प्रतिबद्धता जनाए ।
समूह ‘एफ’मा नेपालसँगै थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेई छन् । नेपालले प्रतियोगिताको पहिलो खेलमा बुधबार थाइल्यान्डको सामना गर्नेछ । मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ छन् ।