site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलो दिन आर्मीविरुद्ध वाग्मती १५२ रनले पछाडि 

काठमाडौं । मोफसलमा जारी जय ट्रफी पुरुष इलाइट कपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध बाग्मती प्रदेश पहिलो दिन १५२ रनले पछि परेको छ ।

बुधबार जनकपुरको रामजानकी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको आर्मीले पहिलो इनिङको निर्धारित ६० ओभरमा पाँच विकेट गुमाएर २७६ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको बाग्मतीले पहिलो दिन स्टम्प हुँदासम्म २२ ओभरमा पाँच विकेट गुमाएर १२४ रन बनाएको छ ।

बाग्मतीबाट हाल क्रिजमा रहेका नन्दन यादव र विपीन आचार्य क्रमशः १८ र एक रनमा खेलिरहेका छन् । त्यसअघि बाग्मतीका सुभ कंशाकारले ३५ बलमा दुई चौका र एक छक्कासहित ३४ रन बनाएका थिए । उत्तम मगरले ३९ बलमा दुई चौका र दुई छक्कासहित २८ रन बनाए । यस्तै, रित गौतमले २१ र आशुतोष घिरैयाले ११ रन थपे ।

बाग्मतीका इशान पाण्डे भने चार रनमै पभेलियन फर्किए । 

पहिलो दिन आर्मीका आकाश चन्दले तीन विकेट लिएका छन् । यस्तै, सोमपाल कामीले दुई विकेट लिएका छन् ।

त्यअसघि आर्मीका ओपनर इम्रान सेखले उत्कृष्ट ब्याटिङ गर्दै ७२ रनको अर्धशतकीय इनिङ खेलेका थिए । उनले १०४ बलमा ११ चौका प्रहार गरे । सेखले अर्का ओपनर तीर्थराज दाससँग पहिलो विकेटका निम्ति १०३ रनको शतकीय साझेदारी गर्दै आर्मीलाई बलियो सुरुआत दिलाएका थिए । 

२३.२ ओभरमा सन्दीप लामिछाने एलबीडब्लूको धरापमा पर्नुअघि दासले ४४ रन बनाए । उनले ७८ बलमा ६ चौका प्रहार गरे । 

आर्मीबाट मध्यक्रम ब्याटर बसिर अहमदले पनि अविजित अर्धशतकीय इनिङ खेले । उनले ६४ बलमा आठ चौकासहित ५३ रन बनाए । बसिरले २०७–५ को स्थितिबाट कुशल मल्लसँग ६९ रनको साझेदारी गर्दै आर्मीलाई बलियो योगफलसम्म पुर्‍याएका हुन् ।

बसिरसँगै अविजित रहेका कुशलले ४३ बलमा चार चौका र एक छक्कासहित ३५ रन थपे । 

यसबाहेक, भीम सार्कीले ५१ बलमा ३२ रन थपे । उनले दुई चौका र दुई छक्का प्रहार गरे । आर्मीका कप्तान विनोद भण्डारी भने ‘डक’ भए । यसअघि पहिलो खेलमा नेपाल पुलिस क्लबविरुद्ध अर्धशतक बनाएका सोमपाल कामी आज भने सात रनमा पभेलियन फर्किए । 

बाग्मतीका विपीन आचार्यले तीन विकेट लिए । १३ ओभर बलिङ गरेका विपीनले एक मेडन फ्याँक्दै ४६ रन खर्चिए । कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । २२ ओभर बलिङ गरेका सन्दीपले एक मेडन फ्याँक्दै १०३ रन खर्चिए । 

यसअघि पहिलो खेलमा यी दुवै टिमले बराबरी खेलेका थिए । आर्मी विभागीय डर्बीमा पुलिससँग बराबरीमा रोकिँदा बाग्मतीले मधेश प्रदेशविरुद्ध बराबरी खेलेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro