site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
क्यानडा, ग्रीनल्यान्ड र पनामालाई धम्क्याउँदै ट्रम्प, साम्राज्यवादी सोच पलाएकै हो ? 

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला दिन छिमेकी राष्ट्र क्यानडा, ग्रीनल्यान्ड र पनामाविरुद्ध आगो ओकलिरहेका छन् । उनले ठाडै ती देशको सार्वभौमसत्तालाई खुला चुनौती दिइरहेका छन् ।

राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि उनले क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने, ग्रीनल्यान्डमा कब्जा जमाउने र पनामा नहर नियन्त्रणमा लिने जस्ता विवादास्पद अभिव्यक्ति दिएका छन् । 

ट्रम्पको यस्तो रवैयाले धेरैलाई आश्चर्यमा पारेको छ । धेरैले प्रश्न पनि गरेका छन्– के डोनाल्ड ट्रम्पमा साम्राज्यवादी सोच पलाएको हो ? 

Dabur Nepal
NIC Asia

साम्राज्यवादी अर्थात महत्वाकांक्षी राष्ट्रले आफ्नो शक्ति बढाउन अन्य देशको स्रोत–साधनमाथि नियन्त्रण गर्ने । यो नियन्त्रण राजनीतिक, आर्थिक, सांस्कृतिक वा अन्य कुनै पनि माध्यमबाट गर्न सकिन्छ ।
ट्रम्प यही जनवरी २० बाट राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै छन् ।

जवाफ दिन बाध्य बन्यो क्यानडा

ट्रम्पले पटक–पटक क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने अभिव्यक्ति दिएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो जवाफ फर्काउन बाध्य भएका छन् । ट्रुडोले क्यानडाको प्रधानमन्त्री पदबाट राजीनामा दिएको एक दिनपछि बुधवार बिहान (नेपाली समयअनुसार) ट्रम्पलाई जवाफ फर्र्काएका हुन् ।

ट्रुडोले सामाजिक सञ्जाल एक्समा स्पष्ट शब्दमा पोष्ट गरेका छन्, “क्यानडा अमेरिकाको हिस्सा बन्ने सम्भावना छैन ।” 

उनले अगाडि थपेका छन्, “हामीबीच ठूलो व्यापार र सुरक्षा साझेदार भएको फाइदा दुवै देशका श्रमिक र समुदायले लिएका छन् ।” 

क्यानडाको प्रमुख प्रतिपक्षी कन्जरभेटिभ पार्टीका नेता पियरे पोलिउभले पनि ट्रम्पको भनाइलाई ठाडै अस्वीकार गरेका छन् । उनले क्यानडा कहिल्यै अमेरिकाको ५१औं राज्य बन्न नसक्ने बताएका छन् ।

“हामी एक महान र स्वतन्त्र देश हौं । हामी अमेरिकाको सबैभन्दा असल मित्र हौं । हामीले अमेरिकीहरूलाई ९÷११ आक्रमणपछि अल कायदासँग लड्न मद्दत गर्न अरबौं डलर र सयौं जीवन दिएका छौं,” पियरेले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “हामी अमेरिकाको बजार मूल्यभन्दा कममा अर्बौं डलरको उच्च गुणस्तर र भरपर्दो उर्जा अमेरिकालाई उपलब्ध गराउँछौं । हामी अर्बौं डलरका अमेरिकी सामान खरिद गर्छौं ।”

पियरेले आफू प्रधानमन्त्री भएपछि क्यानडेली सेनाको पुनर्निर्माण गर्ने र सीमालाई पुनः कब्जामा लिने बताएका छन् । यसले क्यानडा र अमेरिकालाई बढी सुरक्षित बनाउने दाबी उनको छ । क्यानडालाई पहिलो स्थानमा राख्ने उनले बताएका छन् । 

जस्टिन ट्रुडोले बुधबार बिहान जवाफ फर्काएपछि ट्रम्प चूप लागेनन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा उत्तरी अमेरिकाका दुई नक्सा पोस्ट गरे । यीमध्ये एउटा नक्सामा अमेरिकी झण्डामा उत्तरी अमेरिका रङ्गिएको छ र त्यहाँ लेखिएको छ ‘ओह क्यानडा ।’

दोस्रो पोस्ट रहेको उत्तर अमेरिकामा लेखिएको छ, संयुक्त राज्य अमेरिका ।

मंगलबार जस्टिन ट्रुडोले क्यानडाको प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि डोनाल्ड ट्रम्पले फ्लोरिडाको मार–ए–लागोमा आयोजित एक पत्रकार सम्मेलनमा ट्रुडोलाई इङ्गीत गर्दै भने, “तपाई त्यो कृत्रिम रेखालाई हटाउनुहोस् र यो वास्तवमा कस्तो देखिन्छ हेर्नुहोस् । यो राष्ट्रिय सुरक्षाका लागि पनि राम्रो हुनेछ ।” 

ट्रम्पले यस्तो पहिलो पटक बोलेका होइनन् । उनले यस्तो अभिव्यक्ति पटक–पटक दोहोर्‍याउँदै आएका छन् । 

धम्कीको कारण के हो ?

डोनाल्ड ट्रम्पले पहिले नै क्यानडालाई अमेरिकासँगको आफ्नो सीमामा सुरक्षा बढाउन चेतावनी दिएका थिए । त्यतिमात्र होइन सँगै उनले क्यानाडाली सामानहरूमा कर लगाउने चेतावनी पनि दिएका थिए । करको धम्की ट्रम्पले यस्तो बेला दिएका छन्, जतिबेला क्यानडा राजनीतिक संकटमा छ । ट्रुडोले आफ्नो पदबाट राजीनामा दिएका छन् । तर लिबरल पार्टीको अर्को नेता चयन नभएसम्म उनी यो पदमा रहनेछन् ।

मार्चको अन्त्यसम्ममा लिबरल पार्टीले आफ्नो नयाँ नेता चयन गर्नेछ । यसै वर्ष क्यानडामा निर्वाचन पनि हुनेछ, जसका कारण क्यानडाको संसद मार्च २४ सम्मका लागि स्थगित गरिएको छ । यदि ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको सपथ लिएपछि कर लगाएमा यसले क्यानाडाको अर्थतन्त्रमा ठूलो क्षति पुर्‍याउने चेतावनी अर्थशास्त्रीहरूले दिएका छन् ।

क्यानाडा सरकारको तथ्यांक अनुसार, सन् २०२३ मा दुई देशको सिमानाबाट दैनिक २.५ बिलियन डलरको व्यापार हुने गर्थ्यो ।

मार–ए–लागोमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले मेक्सिको र क्यानडा हुँदै अमेरिकामा लागूऔषध आउने गरेकामा चिन्ता व्यक्त गरेका थिए । यसैकारण क्यानडा जस्तै मेक्सिकोमा पनि २५ प्रतिशत कर लगाउने चेतावनी ट्रम्पले दिँदै आएका छन् । 

अमेरिकी तथ्याङ्कका अनुसार, अमेरिका–क्यानडा सीमामा बरामद लागूऔषधका मात्रा मेक्सिकोसँगको सीमाको तुलनामा निकै कम छ । यस्ता अवैध गतिविधि नियन्त्रण गर्न क्यानडाले सीमा सुरक्षा बढाउन नयाँ उपाय अपनाउने वाचा गरेको छ ।

ट्रम्पले मंगलबार क्यानडालाई अमेरिकाको एक हिस्सा बनाउन सैन्य बल प्रयोग गर्ने विचार नगरेको स्पष्ट पारेका थिए । तर क्यानडाले सेनामा गरेको खर्चप्रति उनले चिन्ता व्यक्त गरेका थिए ।

गत डिसेम्बरमा ट्रम्पले धेरै पटक क्यानडालाई अमेरिकाको ५१ औं राज्य र ट्रुडोलाई गभर्नरको रूपमा व्याख्या गरेका थिए । क्रिसमसको शुभकामना सन्देशमा समेत उनले ट्रुडोलाई क्यानडाका गभर्नर भनेका थिए ।

डिसेम्बर २६ मा ट्रुथ सोशलमा ट्रम्पले लेखेका थिए, “क्यानडाका गभर्नर जस्टिन ट्रुडोका नागरिकहरूले धेरै बढी कर तिर्नुपरेको छ । तर यदि क्यानडा अमेरिकाको ५१ औं राज्य बन्यो भने करमा ६० प्रतिशतभन्दा बढी कटौती हुन सक्छ । यहाँको व्यापार पनि तुरुन्तै दोब्बर हुनेछ । सैन्य सुरक्षा विश्वको कुनै पनि देश भन्दा बलियो हुनेछ ।” 

यसअघि पनि ट्रुथ सोसलमा ट्रम्पले भनेका थिए, ‘अधिकांश क्यानेडियनहरू क्यानडा अमेरिकाको ५१ औं राज्य बनोस् भन्ने चाहन्छन् । यदि यसो भयो भने, क्यानाडाका जनताले भारी करबाट राहत पाउनेछन् र उनीहरूको सैन्य सुरक्षा पनि सुदृढ हुनेछ ।”

ट्रम्प किन ग्रीनल्यान्ड कब्जा गर्न चाहन्छन्

अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले आफ्ना छिमेकी राष्ट्रहरूबारे लगातार विवादास्पद अभिव्यक्ति दिइरहेका छन् । एकातिर क्यानडालाई अमेरिकामा विलय गर्ने भनिरहेका छन् भने अर्कोतर्फ ग्रीनल्यान्ड र पनामा नहरमाथि अमेरिकाले कब्जा गर्नुपर्ने बताइरहेका छन् । 

ट्रम्पले कब्जा गर्ने अभिव्यक्ति दिएपछि ग्रिनल्यान्डका प्रधानमन्त्री म्यूट इन्गाले गत महिना स्पष्ट रूपमा भनेका थिए, “ग्रीनल्यान्ड यहाँका जनताको हो र बिक्रीका लागि होइन ।”

ग्रीनल्यान्ड एक स्वतन्त्र राष्ट्र होइन, डेनमार्कको एक स्वायत्त क्षेत्र हो ।

ग्रीनल्यान्डबारे ट्रम्प के भन्छन् ?

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले अमेरिकाले ग्रिनल्याण्ड र पनामा नहरलाई आफ्नो कब्जामा लिनुपर्ने बताएका छन् । किनभने यी दुवै अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि निकै महत्वपूर्ण छन् । ट्रम्पले आफ्नो सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशलमा लेखेका छन्, “राष्ट्रिय सुरक्षा र विश्वको कुनै पनि ठाउँमा जाने स्वतन्त्रताका लागि ग्रीनल्यान्डमाथिको नियन्त्रण एकदम आवश्यक रहेको अमेरिकालाई लाग्छ ।”

ट्रम्पको यो अभिव्यक्ति आएपछि ग्रिनल्यान्डका प्रधानमन्त्री चुप लागेर बस्न सकेनन् । उनले तुरुन्दै जवाफ फर्काए । “हामी बिकाउ होइनौं र हामी कहिल्यै बिकाउ हुनेछैनौं,” ग्रीनल्यान्डका प्रधानमन्त्री म्यूट इन्गाले भने ।

त्यसपछि उनले थपे, “हामीले हाम्रो स्वतन्त्रताको लामो सङ्घर्षलाई बिर्सनु हुँदैन । यद्यपि, हामी सम्पूर्ण विश्व र विशेष गरी हाम्रा छिमेकीहरूसँग सहकार्य र व्यापारका लागि खुला रहनुपर्छ ।”

ट्रम्पले फेरि एकपटक ग्रीनल्यान्डमाथि नियन्त्रणको कुरा गरेका छन् र त्यसमा डेनमार्कबाट पनि जवाफ आएको छ ।

मंगलबार पत्रकार सम्मेलनमा ट्रम्पलाई सोधिएको थियो– के तपाईँ डेनमार्कको स्वायत्त क्षेत्र (ग्रीनल्यान्ड) वा पनामा नहरका लागि सैन्य वा आर्थिक शक्ति प्रयोग गर्नुहुन्छ ? यस प्रश्नमा उनले भने, “होइन, म यी दुवैमा तपाईंलाई आश्वासन दिन सक्दिन ।”

तर, उनले आर्थिक सुरक्षाका लागि ग्रीनल्यान्ड र पनामा नहर आफूले चाहेको बताए । उनका छोरा डोनाल्ड ट्रम्प जुनियरले ग्रिनल्याण्डको भ्रमण गरेका बेला ट्रम्पले ग्रिनल्याण्डलाई लिएर यो बयान दिएका हुन् ।

उनी ग्रिनल्याण्डको राजधानी नुक पुगेका छन् । ट्रम्प जुनियरले आफू जनतासँग कुरा गर्न व्यक्तिगत भ्रमणमा आएको र सरकारी अधिकारीहरूलाई भेट्ने कुनै योजना नभएको बताएका छन् ।

डोनाल्ड ट्रम्पको प्रतिवाद ग्रीनल्यान्डका प्रधानमन्त्रीले गर्दै आएका थिए । तर मंगलबार डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसन पनि प्रतिवादमा उत्रिइन् । उनले ट्रम्पको दाबीलाई अस्वीकार गर्दै अमेरिकाले ग्रिनल्यान्ड कब्जा गर्न सैन्य र आर्थिक शक्ति प्रयोग नगर्ने बताइन् ।  

यससँगै फ्रेडरिकसनले आर्कटिक क्षेत्रमा अमेरिकाको बृहत्तर चासोलाई आफूले स्वागत गरेको बताइन् । तर, साथसाथै उनले ग्रिनल्यान्डका जनताप्रति ‘सम्मानपूर्ण’ ढंगले काम गर्नुपर्ने स्पष्ट पारिन् । 

प्रधानमन्त्री फ्रेडरिकसेनलाई पनि ट्रम्प जुनियरको ग्रीनल्यान्ड भ्रमणको बारेमा प्रश्न सोधिएको थियो । जवाफमा उनले भनिन्, “ग्रीनल्यान्ड ग्रीनल्यान्डवासीहरुको हो र स्थानीय जनताले मात्र यसको भविष्य तय गर्न सक्छन् ।”

उनले ‘ग्रीनल्यान्ड बिक्रीका लागि होइन’ भन्ने कुरामा पनि सहमति जनाइन् । उनले डेनमार्क र अमेरिका दुवै नेटो सदस्य राष्ट्र भएकाले अमेरिकासँग घनिष्ठ सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिइन् ।

ट्रम्प किन ग्रीनल्यान्ड चाहन्छन् ?

ग्रनल्यीान्ड उत्तरी अमेरिकादेखि युरोपसम्मको छोटो मार्गमा पर्ने विश्वको सबैभन्दा ठूलो टापु हो । यो अमेरिकाको सबैभन्दा ठूलो अन्तरिक्ष सुविधाको केन्द्र पनि हो ।   अमेरिकाले लामो समयदेखि  ग्रीनल्यान्डलाई रणनीतिक रूपमा महत्वपूर्ण मान्दै आएको छ । अमेरिकाले शीतयुद्धको समयमा थ्यूलीमा एक रडार बेश स्थापना गरेको थियो ।

यसका साथै विश्वका धेरै दुर्लभ खनिजहरूको ठूलो भण्डार पनि ग्रीनल्यान्डमा छ, जसको प्रयोग ब्याट्री र उच्च प्रविधिका उपकरणहरू बनाउन गरिन्छ ।

रुसी र चिनियाँ जहाजहरूको निगरानी गर्न अमेरिकी सेनालाई यो टापु अत्यन्त महत्वपूर्ण रहेको ट्रम्पको विश्वास छ । “म स्वतन्त्र संसारको रक्षा गर्ने कुरा गर्दैछु,” उनले मंगलबार पत्रकारहरूलाई भनेका थिए ।

२१ लाख वर्ग किलोमिटर क्षेत्रफल भएको ग्रिनल्याण्ड टापुको जनसंख्या मात्र ५७ हजार छ । कयौं प्रकारका स्वायत्तता प्राप्त गरेको ग्रिनल्याण्डको अर्थव्यवस्था डेनमार्कको अनुदानमा निर्भर छ । यो डेनमार्कको एक हिस्सा पनि हो । ग्रीनल्यान्ड टापुको ८० प्रतिशत भूभाग स्थायी रूपमा लगभग ४ किलोमिटर बाक्लो हिउँलो ढाक्ने गर्छ । 

पहिलो पटक अमेरिकी राष्ट्रपति हुँदा ट्रम्पले यो आर्कटिक टापु किन्ने इच्छा व्यक्त गरेका थिए । त्यतिबेला पनि उनको भनाइलाई त्यसरी नै अस्वीकार गरियो जसरी अहिले गरिएको छ ।

ग्रिनल्याण्ड किन्ने सुझाव दिने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति भने होइनन् । यो विचार पहिलो पटक १८६० मा अमेरिकाको १७ औं राष्ट्रपति एन्ड्रयू जोन्सनले राखेका थिए । 

पनामा नहरको समस्या के हो ?

ट्रम्पले पनामा नहरको प्रयोग गरेबापत पनामाले अमेरिकासँग धेरै महँगो रकम लिइरहेको आरोप लगाएका छन् । त्यसैले यसलाई फिर्ता लिनु अर्थात् पुनः अमेरिकी नियन्त्रणमा राख्नुपर्ने भनाई ट्रम्पको छ । 

ट्रम्पले पनामा नहर आफ्नो देशका लागि निकै महत्वपूर्ण रहेको बताउँदै आएका छन् । यसबाहेक, पनामा नहरमा चिनियाँ सैनिकको नियन्त्रण रहेको र उनीहरूले अवैध रूपमा सञ्चालन गरिरहेको ट्रम्पको आरोप छ ।

तर, पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले यी दाबीहरूमा कुनै सत्यता नरहेको बताउँदै ट्रम्पको भनाईको खण्डन गरेका छन् । उनले पनामा नहरमा चिनियाँ हस्तक्षेप नभएको बताएका छन् । 

हङकङस्थित सीके हचिसन होल्डिङ्सले एट्लान्टिक र प्रशान्त महासागरलाई जोड्ने पनामा नहरको प्रवेशद्वारमा रहेका दुईवटा बन्दरगाहको व्यवस्थापन हेर्छ । 

सन् १९०० को सुरुवातमा बनेको पनामा नहरको नियन्त्रण सन् १९७७ सम्म अमेरिकासँग रहेको थियो । अमेरिकी राष्ट्रपति जिमी कार्टरको मध्यस्थतामा पनामा नहर पनामालाई फिर्ता गरिएको थियो । त्यसपछि १९९९ देखि यसको नियन्त्रण पूर्ण रूपमा पनामासँग रहँदै आएको छ ।

“पनामा नहर पनामालाई हस्तान्तरण गर्नु ठूलो गल्ती थियो । हेर्नुहोस्, (कार्टर) राम्रो मानिस थिए । तर त्यो ठूलो गल्ती थियो,” ट्रम्पले भने । 
(बीबीसीबाट भावानुवाद) 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro