site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलो दिन मधेसविरुद्ध पुलिसलाई ४५ रनको अग्रता

काठमाडौं । ओपनर कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपाल पुलिस क्लबले जय ट्रफी पुरुष इलाइट कपमा मधेस प्रदेशविरुद्ध पहिलो दिन ४५ रनको अग्रता बनाएको छ ।

बुधबार पर्साको वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा सम्पन्न पहिलो दिनको खेलमा टस हारेर पहिले ब्याटिङमा आएको मधेसले १२९ रन बनाएको थियो । पहिलो इनिङमा जवाफी ब्याटिङमा उत्रिएको पुलिसले ४० ओभरमा स्टम्प हुँदासम्म तीन विकेट गुमाएर १७४ रन बनाएको छ ।

पुलिसका ओपनर कुशलले ६३ रनको अर्धशतकीय इनिङ खेले । उनले ६८ बलमा १० चौका प्रहार गरे । यसअघि कुशल पहिलो खेलमा त्रिभुवन आर्मीविरुद्ध पहिलो इनिङमा डक हुँदा दोस्रो इनिङमा पनि पाँच रनमै पभेलियन फर्किएका थिए । पुलिसका अर्का ओपनर दीलिप नाथले ४० रन बनाए । अर्धशतकबाट १० रनले चुकेका नाथले ७९ बलमा चार चौका प्रहार गरे ।

हाल अविजित रहेको अमित श्रेष्ठ ३४ र कप्तान आरिफ सेख १३ रनमा खेलिरहेका छन् । यसबाहेक, गुल्सन झाले १४ बलमा तीन छक्कासहित २० रन जोडे ।

मधेसका कप्तान हरिशंकर साहले दुई विकेट लिएका छन् । नौ ओभर बलिङ गरेका हरिशंकरले एक मेडन फ्याक्दै २५ रन खर्चिएका छन् । अभिषेक तिवारीले एक विकेट लिएका छन् ।

त्यसअघि मयन यादवको अर्धशतकका बाबजुद मधेसले ४२.२ ओभरमा १२९ रनमा समेटिएको थियो ।

मधेसका ओपनर मयनले ५९ रन बनाए । यसअघि, पहिलो खेलमा वाग्मती प्रदेशविरुद्ध शतकीय इनिङ खेलेका मयनले १०२ बलमा पाँच चौका र दुई छक्का प्रहार गरेका थिए ।

यस्तै, अविजित रहेका अभिषेक तिवारीले २९ बलमा चार चौकासहित १७ रन थपे । यसबाहेक, मधेसका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

मधेसलाई पहिलो इनिङमा सस्तैमा रोक्न पुलिसका गुल्सन झाले सर्वाधिक पाँच विकेट लिए । १३ ओभर बलिङ गरेका गुल्सनले चार मेडन फ्याँक्दै ४० रन खर्चिए ।

कुशल भुर्तेलले दुई विकेट लिए । श्रवण यादव र ललित राजवंशीको नाममा समान एक विकेट रह्यो ।

यसअघि, मधेसले पहिलो खेलमा वाग्मती प्रदेशसँग बराबरी खेलेको थियो । यस्तै, पुलिसले पनि पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग बराबरी खेलेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro