काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार नेपालका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंको अशाेभनीय अभिव्यक्तिप्रति आवश्यक कारबाही गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)सँग माग गरेको छ ।
गत मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलपछि सम्पन्न ‘पोस्ट म्याच कन्फ्रेन्स’ मा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंको प्रस्तुति ‘अत्यन्तै गैरव्यावसायिक, गैरजिम्मेवार र नितान्त निम्न सोचको’ रहेको तथा पदीय मर्यदाविपरीत कार्य गरेको भन्दै मञ्चले घोर भर्त्सना गरेको छ ।
‘‘प्रशिक्षक हुमागाईंले कार्यक्रमका क्रममा नेपाली खेल पत्रकारमाथि निराधार आरोप लगाउँदै गलत धारणा पनि प्रस्तुत गर्नुभएको छ । मञ्च उहाँको निन्दनीय प्रस्तुति र दाबीको अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ध्यानाकर्षण गर्न चाहन्छौं,’’ मञ्चका अध्यक्ष अञ्जन खड्काले एन्फालाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘‘मञ्चका लागि यस प्रकारको व्यवहार पूर्णतः अस्वीकार्य रहेको जनाउँदै हुमागाईंलाई आवश्यक कारबाही गर्न माग गर्दछौँ । भविष्यमा मञ्चप्रति यस्ता कुनै प्रकारको व्यवहार नगर्न चेतावनी पनि दिन्छौँ ।’’
मञ्चले प्रशिक्षक हुमागाईंमा खेल भावनाको स्पष्ट अभाव रहेको र पत्रकार सम्मेलनका क्रममा कसरी प्रस्तुत हुनुपर्छ भन्ने सामान्य ज्ञानको पनि अभाव देखिएको जनाएको छ । हुमागाईंको प्रस्तुतिले अन्ततः नेपाली फुटबललाई कहिले पनि पुर्न नसकिने आघात र व्यवधान पुर्याउने काम भएको मञ्चले बताएकाे छ ।
‘‘एन्फाले यसतर्फ तुरुन्तै आवश्यक कारबाही गर्नेछ,’’ मञ्चको ध्यानकर्षण पत्रमा भनिएको छ ।
मंगलबार सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ ले पराजित गरेको थियो । उक्त जितबाट उत्साहित भएका कार्यवाहक प्रशिक्षक हुमागाईंले पत्रकार सम्मेलनमा अशाेभनीय व्यवहार देखएका थिए ।