काठमाडौं । प्राप्ति बतास भर्खर ‘टिनएज’मा प्रवेश गरिन् । उमेरको हिसाबले उनी सानै छिन् । तर, उनले प्राप्त गरेको सफलता धेरै ठूलो छ ।
मुवाथाईकी खेलाडी प्राप्तिले हालै मलेसियामा सम्पन्न आईएफएमए वर्ल्ड मुवाथाई ग्रान्डस्लाम च्याम्पियनसिपमा रजतपदक जितिन् । त्यति मात्र होइन, आईएफएमए युथ वर्ल्ड च्याम्पियसिपमा पनि कास्यपदक जितिन् ।
उक्त प्रतियोगितामा यो स्तरको सफलता हासिल गर्ने प्राप्ति नेपालबाट पहिलो खेलाडी हुन् । उनको सफलताको यात्रा सुरु हुन्छ, महाराजगन्जस्थित जिमखाना मुवाथाईबाट । अमेरिकामा हुँदा तेक्वान्दो खेलाडी रहेकी प्राप्ति जिमखानामा भर्ना भएपछि मुवाथाईमा रमाउन थालिन् ।
तीन वर्षअघि अमेरिकाबाट नेपाल आएकी उनले सुरुमा तेक्वान्दो नै खेल्नका लागि राम्रो ठाउँको खोजी गरिन् । तर, आफूले चाहेजस्तो ठाउँ फेला पार्न सकिनन् ।
प्राप्तिकी दिदी पालिका बतासले जिमखाना फेला पारिन् । त्यहाँ सिक्दासिक्दै कति बेला मुवाथाईमा प्राप्तिको प्रेम बस्यो थाहै भएन । र, छोटो समयमै विश्वस्तरीय प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल भइन् ।
“जिमखानामा सुरुमा करण गुरुले सिकाउनुहुन्थ्यो । हामीले राम्रो गरेको देखेपछि उहाँले राहुल गुरुलाई भनिदिनुभयो । त्यसपछि हाम्रो मुवाथाई ट्रेनिङ सुरु भयो,” उनले आफ्नो असाधारण यात्राबारे भनिन्, “सानैबाट तेक्वान्दो सिकेका कारण मार्सल आर्टमा रुचि थियो । जिमखानामा राहुल गुरुले हेर्न थाल्नुभएपछि विस्तारै मुवाथाईमै रुचि बढ्यो । अब यसैलाई निरन्तरता दिने हो ।”
उनले सुरुमा पौडी पनि खेलिन् । पौडीको समेत राम्रै खेलाडी हुन्, प्राप्ति । तेक्वान्दो त उनको मुख्य खेल नै थियो । नृत्य पनि सिकिन् । अहिले प्राप्तिको एक मात्र मन पर्ने खेल मुवाथाई बनेको छ । मुवाथाईमा रुचि बढ्दै गएपछि उनलाई अहिले सानोमा खेलेका अरू खेलहरूमा चासो कम हुँदै गएको छ ।
मुवाथाई ओलम्पिक स्पोर्ट्समा पर्दैन । त्यसकारण यसमा प्राप्त गरेको सफलताले ठूलो चर्चा पाउँदैन । तर, प्राप्तिलाई त्यो चर्चाको कुनै पर्बाह छैन ।
“नेपालमा कराँते र तेक्वान्दो बढी खेलिन्छ । तर, मलाई आजभोलि तेक्वान्दोमा रुचि कम भएको छ । अब मुवाथाईलाई निरन्तरता दिन्छु । मुवाथाई अलि भाइब्रेन्ट छ,” प्राप्तिले ब्राहखरीसँग भनिन्, “नेपालमा अब मुवाथाईको स्कोप बढाउने पनि मेरो लक्ष्य हो । पपुलर नभएको खेललाई पपुलर बनाउन पाउँदा त झनै राम्रो हुन्छ नि !”
मलेसियाको क्वालालम्पुरमा हालै सम्पन्न आईएफएमए युथ वर्ल्ड च्याम्पियसिप र आईएफएमए वर्ल्ड मुवाथाई ग्रान्डस्लाम च्याम्पियनसिपमा प्राप्तिले समान तीन फाइट खेलिन् । युथ वर्ल्ड च्याम्पियसिपमा उनले जुनियर १४ देखि १५ वर्षको उमेर समूहमा महिला युथ ५१ किलो तौलमा कास्य जितेकी हुन् ।
त्यसपछि सुरु भएको वर्ल्ड मुवाथाई ग्रान्डस्लाम च्याम्पियनसिपको जुनियर १२ देखि १५ वर्षको उमेर समूहमा महिला युथ ५१ किलो तौलमा उनले रजत जितेकी हुन् ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको कविताको अंश ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ भनेजस्तै प्राप्ति र उनका प्रशिक्षक राहुल मोक्तानले सुरुमै विश्वस्तरीय प्रतियोगितामा पदक जित्ने लक्ष्य लिएका थिए ।
“ट्रेनिङ सुरु गर्ने बेलामा नै विश्वस्तरीय प्रतियोगितामै पदक जित्ने लक्ष्य लिएर अघि बढ्नुपर्छ भनेको थिएँ । त्यो सजिलो थिएन । तर, लक्ष्य त्यही राख्नुपर्छ । सहभागिता मात्र जनाउने हो भने नजाने, बरु अझै समय लिएर सिकेर अर्को प्रतियोगिता खेल्ने भन्ने थियो,” प्राप्तिका प्रशिक्षक राहुलले भने, “म कोच हुँ । मेरो पनि समय हुन्छ । सहभागिता मात्र हुने हो भने किन म मेरो समय बर्बाद गर्दिनँ भनेर भनेको थिएँ । हामी जित्ने भनेर नै गएका थियौँ ।”
प्राप्ति नेपालबाट एक मात्र खेलाडी थिइन् । अरू देशबाट धेरै खेलाडी सहभागी थिए । त्यो भिडमा उनी सुरुमा केही नर्भस भइन् । तर, जब खेल्न थालिन्, तब उनको प्रतिभा पनि खुल्दै गयो । र, त्यो अविश्वसनीय सफलता हासिल गरिन् ।
ब्रिटिस स्कुलमा कक्षा–९ मा अध्ययनरत प्राप्तिले बिदाका दिन तीन समय प्रशिक्षण गर्थिन् । स्कुल सुरु भएपछि दिनको दुई समय प्रशिक्षण गर्छिन् । पढाइमा प्राप्ति सामान्य विद्यार्थी हुन् । पढाइ र मुवाथाईलाई सँगसँगै अघि बढाइरहेकी छिन् ।
स्कुलको गृहकार्य धेरैजसो स्कुलमै सकाउँछिन् । जसका कारण उनले प्रशिक्षणमा धेरै समय बिताउन पाउँछिन् । प्राप्तिको यो सफल यात्रा हेर्दा सरल देखिन्छ । तर, सफलतामा उनको मिहिनेत, त्याग, लगाव अविश्वसनीय छ ।
“प्राप्तिजस्तो खेलाडी बन्न धेरै कुराको सम्मिश्रण हुनुपर्छ । अनुशासन, कडा मिहिनेत, त्यहीअनुसारको प्रतिभा, सिक्ने चाहना, त्याग, तपस्या र लगाव हुनपर्छ । १४ वर्षको उमेर भनेको मुभी, साथीहरूको बर्थडे पार्टीजस्ता कुरामा रमाउने समय हो । तर, प्राप्तिलाई यस्ता कुनै कुरामा रुचि छैन,” प्रशिक्षक राहुल भन्छन्, “उनी कि स्कुल हो कि जिमखाना हो । यो लेभलको कमिटमेन्ट चाहिन्छ । म यो गर्न सक्दिनँ भन्ने एटिच्युड छैन । मलाई यो गर्न आएन भन्छ । सिकाइदिनु भन्छ । उनीजस्तो खेलाडी बन्न असम्भव होइन । तर, सजिलो पनि छैन । धरै त्याग गर्नुपर्छ ।”