एकादेशको दन्त्य कथा
एकादेशमा कुनै राजाको दरबारमा चार जना चोरलाई सजायका लागि ल्याइएछ । राजाले एउटै अपराधमा सँगै समातिएका भए पनि चारै जना चोरलाई फरकफरक सजाय दिएछन् । पहिलो चोरलाई उनले भनेछन् - हरे ! तिमी पनि यस्तोमा समातिएको ? यिनलाई छाडिदेऊ । अब अर्कोपटक यस्तो नगर !
यसरी छाडिएको चोर ग्लानिले भुतुक्क भएछ । घर पुग्नेबित्तिकै पासो लगाएर झुन्डिएर मरेछ ।
दोस्रो चोरलाई सजाय सुनाउने पालो आयो । राजाले त्यसलाई हप्कीदप्की गरेर छाडिदिएछन् ।
ऊ लाजले भुतुक्क हुँदै घर पुगेछ । घरमा पुग्नेबित्तिकै पत्नीलाई भनेछ - ल जे जे बोकेर लान सकिन्छ पोको पारिहाल् । यो मुलुकमा नबसौँ ।
परिवार लिएर दोस्रो चोर अर्कै मुलुकमा बसाइँ सरेछ ।
तेस्रो चोरलाई राजाले कोर्रा लगाएर छाड्ने दिएछन् ।
ऊ पनि घर पुग्यो । अनि पत्नीलाई भनेछ - यो सहरमा नबसौँ । अब छरछिमेकीले हेप्छन् ।
चौथो चोरलाई राजालाई कडा सजाय दिए । भने- ल यसलाई चारपाटा मुडेी मोसो दलेर गधामा उल्टो बसाएर नगर घुमाउनू ।
मुडिएर मोसो दलिएको चोर हाँसीहाँसी गघामा बस्यो । जिस्क्याउन आउने केटाकेटीलाई हप्काउँदै वरपर देखिएका चिनारुलाई सन्चोबिसन्चो सोध्दै केही नभए झैँ । घर नजिक आइपुग्नेबित्तिकै पत्नीलाई बोलाएर भनेछ - यिनले अब एकछिन घुमाएर छाड्लान् । म छिटै आइपुग्छु । नुहाउने पानी ठिक पार्नू । अग्घोर भोक लागेको छ । छिटै मीठो भाततिहुन पकाएर राख्नू ।
यो दन्त्यकथा धेरै संस्कृतिमा प्रचलित छ रे । यसका दुईतिन संस्करण त मैले नै पढेको छु । पाठ र सजाय फरक भए पनि सार एउटै छ - सजाय र व्यक्तिको तादात्म्य ।
अहिले पनि चारै प्रकारका मान्छेहरू भेटिन्छन् ।
केजरीवालको राजीनामा
भारतको राजधानी दिल्ली राज्यका (त्यहाँ प्रदेशहरूलाई राज्य पनि भनिन्छ) मुख्यमन्त्री अरविन्द केजरीवालले हालै राजीनामा दिएका छन् । उनलाई दिल्ली सरकारको मदिरा महसुलमा भ्रष्टाचार गरेको आरोप लगाइएको थियो । उनलाई पक्रेर जेलमा राखियो । सुरुमा जमानत पनि दिइएन । त्यतिन्जेल उनले मुख्यमन्त्री पदबाट राजीनामा पनि दिएनन् ।
सर्वोच्च अदालतले उनलाई धरौटीमा छाड्ने निर्णय गरेपछि भने केजरीवालले मुख्यमन्त्री पलबाट राजीनामा दिने घोषणा गरे । उनका अनुसार न्यायालयले त उनलाई इमानदार ठानेर न्याय दियो तर जनताले इमानदार ठानेपछि मात्र उनी मुख्यमन्त्री पदमा फर्कनेछन् ।
विडम्बना, भ्रष्टाचार विरोधी आन्दोलनको नेतृत्व गरेर राजनीतिमा स्थापित अरविन्द केजरीवाललाई भारतीय जनता पार्टीको सरकारले भ्रष्टाचारकै आरोप लगाएर थुन्यो । त्यसको उत्तर भने केजरीवालले पद त्याग गरेर दिए । सन् २०१३ देखि केजरीवालको आम आदमी पार्टी दिल्लीमा सत्तामा छ । सुशासनमा जोड दिएकाले केजरीवालको सरकारले दिल्लीको सामाजिक सेवाको स्तर र विस्तारमा उल्लेखनीय सुधार गरेको मानिन्छ ।
दिल्लीमा अर्को वर्ष सन् २०२५ मा चुनाव हुन्छ । केजरीवालले दिल्लीमा पनि महाराष्ट्रसँगै यही वर्षको नभेम्बरमा निर्वाचन होस् भन्ने माग गरेका छन् ।
भारतीय जनता पार्टीका नेता तथा गृहमन्त्री अमीत शाहका अनुसार केजरीवालले ‘स्टन्ट’ गरेका हुन् । वाह! स्टन्ट होस् त यस्तो पो ! पदै छाड्ने !
यता नेपालमा
‘क्लिन चिट’ कि ‘चिट’को चिर्कटो
सहकारी संस्थामा जम्मा भएको बचत रकममा केही टाठाबाठा कुलङ्गारहरूले आँखा लगाए । हाटहुट पारेर सहकारीबाट पैसा निकाले । ठगहरू बचत रकम ठगेर भागे ।
बचतकर्ताले आफ्नो पैसा खोज्न थाले । आन्दोलनै भयो । यसरी पैसा हिनामिना गरेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका साझेदार, मालिक जीबी राई पनि परेछन् । त्यसले थप खोजतलास हुनथाल्यो । सहकारीमा राखिएको जनताको बचत हिनामिना गर्नेमा लामिछानेको पनि संलग्नता भएको प्रमाणहरू देखिन थाले ।
यसैबीच रवि लामिछाने सरकारमा पुगे । गृहमन्त्री भए । अनि उनका विरुद्ध छानबिन गर्न संसदीय समिति गठन गर्ने माग राखेर उतिबेलाको प्रतिपक्ष नेपाली कांग्रेसले लामो समयसम्म संसद् अवरुद्ध गरेपछि रवि लामिछानेको नाम सोझै नलेख्ने सर्तमा सहमति भयो । संसदीय समितिले हालै सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन प्रतिवेदन, २०८१ संसद्मा बुझायो । संसद्ले प्रतिवेदन सार्वजनिक गरेको छ भने सरकारले कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
अहिलेसम्म सरकारले ‘कार्यान्वयन गर्ने’ निर्णयबाहेक अरू केही गरेको थाहा भएको छैन ।
संसदीय समितिको प्रतिवेदन त स्पष्टै छ तर त्यसको अर्थ भने सुफी कविका कविताको भन्दा पनि धेरै लगाउन थालिएको छ । मानौ यो कुनै अधियथार्थवादी अमूर्त चित्र हो र हेर्नेहरूको प्रायः टिप्पणी हुन्छ - खै बुझिँदैन ! (शङ्कर लामिछानेको एउटा निबन्धको शीर्षक ।)
सत्ता पक्षका सांसदहरू रवि लामिछानेले ‘क्लिन चिट’ पाएका हैनन् ‘चिट’ साबित भएका हुन् भन्दैछन् । प्रतिवेदनमा भने लामिछानेले सहकारीबाट आफैँले पैसा लिएको देखिएन लेखिएको छ । पत्याउन त प्रतिवेदनलाई नै पर्यो । कि कसो?
प्रतिवेदनमा के पनि स्पष्ट लेखिएको छ भने अनुचितरूपमा सहकारी ठगेर पैसा भित्र्याइएको संस्थामा लामिछाने प्रमुख कार्यकारी अधिकृतका साथै साझेदार पनि थिए । उनलाई अवैध रकम खेलाएकोमा कारबाही हुनुपर्छ । ती गरिब बचतकर्ताको कमाइ रविले पनि खाएका त रहेछन् । कानुनले उनलाई दोषी ठहर गर्न समय लाग्दा वा सत्ता समीकरण बदलियो भने कारबाहीबाट उन्मुक्ति पाउन पनि के बेर ? तर, नैतिकरूपमा त रवि लामिछाने दोषी नै देखिन्छन् । पापको पैसो पेटमा जो परेको छ ।
रवि लामिछानेले नैतिकताको ख्याल पनि गर्लान् जस्तो भने लागदैन । कारबाही के र कसरी हुन्छ अनुमान गर्नुको अर्थ छैन ।
अरविन्द केजरवालको राजीनामा र रवि लामिछाने अनि उनका साथीहरूको ‘क्लिन चिट’को दाबी सुन्दा तपाईँलाई पनि राजा र चोरहरूको कथाको सम्झना भयो ?