काठमाडौँ । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले फुटपाथलाई यात्रुमैत्री बनाउन सडक अतिक्रमणविरुद्ध सचेतना अभियान चलाएको छ । स्थानीय सटर व्यापारी र व्यवसायी परिचालन गरेर फुटपाथ व्यापार हटाउन थालिएको हो ।
फुटपाथ व्यापारीका कारण पैदलयात्रामा उत्पन्न हुने कठिनाइ, यात्रुले सडकबाट हिँड्नुपर्ने बाध्यता र यसले निम्त्याउने सम्भावित दुर्घटनाका विषयमा सम्झाइबुझाइ गरेर त्यस्तो व्यापारमा रोक लगाउने अभियान थालिएको महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए ।
“अहिले हामीले बानेश्वर र बालाजु, माछापोखरी क्षेत्रमा यसप्रकारको अभियान थालेका छौँ । अव्यवस्थित व्यापारले सहरी सुन्दरता बिगार्छ,” उनले भने ।
उनका अनुसार अभियानमा नगर प्रहरीसँगै दैनिक ३० देखि ५० जनासम्म स्वयंसेवक परिचालन गरिनेछ ।
नयाँ बानेश्वर चोकदेखि शंखमूल, पुरानो बानेश्वर र मीनभवनसम्मको क्षेत्रलाई अनौपचारिक व्यापार निषेधित क्षेत्र बनाइएको जनाइएको छ ।
अभियानमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, घरधनी, स्थानीय व्यापार व्यवसायी संघ, स्कुले विद्यार्थी, स्थानीय संघ–संस्था, क्लब, आमा समूह, महिला समूह, महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक अभियन्तालगायत सरोकारवालालाई सहभागी गराइएको छ ।
“भित्री सहरी क्षेत्रका असन, इन्द्रचोक, महाबौद्धलगायत क्षेत्रका सडकमा भएको अवरोध हटाउन हामीले जनप्रतिनिधिको साथमा अभियान चलाइरहेका छौँ,” नगर प्रहरी नायब निरीक्षक लोकनाथ चुडालले भने, “सडक अवरोध हटाउन स्थानीय टोल सुधार समिति, उपभोक्ता समितिहरूबाट अनुरोध पनि आउने गरेको छ । यसरी आउने मागलाई उहाँहरूसँगै समन्वय गरेर, व्यापारीहरूलाई सम्झाउने, माइकिङ गरेर अनौपरिक व्यापारलाई निरुत्साहन गर्ने, औपचारिक व्यापारीले गरेका त्रुटिहरूलाई सच्याउन अनुरोध गर्ने गरिरहेका छौँ ।”
नगर प्रहरीका अनुसार तरकारी बिक्री गर्ने स्थानका रूपमा प्रयोग हुँदै आएका ठाउँहरूलाई बिहान ८ बजेसम्म मात्र राख्न दिने गरिएको छ ।