site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली फुटबलको विनाश चाहने समूहले संगठित रूपमा गरिरहेको षड्यन्त्र दुर्भाग्यपूर्ण : गौरव थापा

काठमाडौं । नेपाली फुटबलमा पहिल्लो समय चर्चामा रहेका गौरव थापाले फिफा र एएफसीलाई अमान्य हुने गरी अखिल नेपाल फुटबल संघ (एन्फा)मा आफूले कुनै भूमिका नखोजेको बताएका छन् । नेपाली फुटबललाई बन्धक बनाउने प्रयास कुनै हालतमा स्वीकार्य नहुने पनि उनले बताएका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै उनले नेपाली फुटबलको विनाश चाहने एक समूहले संगठित रूपमा आफूविरुद्ध षड्यन्त्र गरिरहेको भन्दै त्यो दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन् ।

“मैले कहिल्यै पनि एन्फामा कुनै पदका लागि कसैलाई अनुरोध वा दबाब दिएको छैन । बरु, वर्तमान अध्यक्ष र महासचिवले नै सहयोग गर्न भनेर मेरो नाम प्रस्ताव गर्नुभएको हो । वर्तमान अध्यक्ष, महासचिव र कार्यसमितिका पदाधिकारी र सदस्यहरूसँग मेरो यस विषयमा छलफल भएको छ । उहाँहरूले प्रत्येकपटक बजारमा प्रचार गरिएजस्तो कुनै समस्या नरहेको बताउँदै आउनुभएको छ,” थापाले विज्ञप्तिमा लेखेका छन्, “नेपाली फुटबलको विनाश चाहने एउटा समूहले संगठित रूपमा गरिरहेको षड्यन्त्र दुर्भाग्यपूर्ण छ । अझ त्यसमा मेरो नाम समेत जोडिनु झनै आश्चर्यजनक र दुःखद छ । म फेरि पनि प्रष्ट पार्न चाहन्छु कि यस्तो फोहोरी राजनीतिमा मेरो हिजो पनि कुनै संलग्नता थिएन । अहिले पनि छैन ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

एन्फाका पूर्वअध्यक्ष गणेश थापाका छोरा हुन्, गौरव । अहिले गौरवलाई एन्फाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गर्ने विषयले विवादमा सुरु भएको छ ।

गएको एन्फा निर्वाचनमा तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउनका लागि गणेश थापा, पंकज नेम्वाङ र नवीन पाँडे एकै ठाउँमा उभिएका थिए । निर्वाचनका क्रममा नेम्वाङ–पाँडे पक्षले थापासमक्ष गौरवलाई सीईओ नियुक्त गर्ने बचन दिएको थापा पक्षको भनाइ छ । सोहीअनुसार गौरवलाई नियुक्त गर्नुपर्नेमा थापा पक्षले जोड दिएको छ ।

तर, नेम्वाङ–पाँडे पक्ष गौरवलाई कुनै हालतमा एन्फामा प्रवेश नदिने अडानमा छ । जसका कारण यही साउन ५ गतेका लागि बोलाइएको बैठक एजेन्डमा प्रवेश नै नगरी स्थगित गरिएको थियो । उक्त बैठक त्यसअघि साउन २ गतेका बेलाइएको थियो । तर, त्यस दिन पनि अचानक अध्यक्ष नेम्वाङको स्वास्थ्यमा समस्या आएपछि बैठक स्थगित गरिएको थियो ।

तत्कालीन एएफसी अध्यक्ष मोहम्मद बिन हमामबाट गौरवका नाममा एक लाख अमेरिकी डलर आएको र त्यसैलाई प्रमाणको आधार बनाएर फिफाले गणेश थापामाथि प्रतिबन्ध लगाएकाले उनलाई नियुक्त गर्न नमिल्ने जिकिर नेम्वाङ–पाँडे पक्षले गर्दै आएको छ । गौरव त्यसलाई गलत भन्छन् ।

“आफ्नो व्यक्तिगत फाइदाको घेरामा रुमल्लिइरहेका केही स्वार्थी मानिसले लगातार गलत सूचनाहरूमार्फत अफवाह फैलाइरहेका छन् । पछिल्ला दिनहरूमा यदि मलाई एन्फामा नियुक्त गरिए फिफा र एएफसीले अस्वीकार गर्छ भन्नेजस्ता नकारात्मक, भ्रामक र प्रायोजित खबरहरू नियमित रूपमा प्रवाह गरिइरहेकोमा मेरो ध्यानाकर्षण भएको छ,” गौरवले लेखेका छन्, “यो सफेद झुट र प्रायोजित रूपमा चलाइएको प्रपोगण्डा मात्र हो ।”

गौरबले एन्फा अध्यक्ष नेम्वाङ र महासचिव किरण राईले गएको महिना फिफा र एएफसीमा पटक–पटक सम्पर्क गरेर यो विषयमा स्पष्टता खोजेको आफ्नो जानकारीमा रहेको बताएका छन् । त्यसमा फिफा र एएफसीलाई कुनै समस्या नरहेको प्रस्ट पारिइसकेको उनको भनाइ छ । विशेषगरी महासचिवलाई फोन, म्यासेज र प्रत्यक्ष भेटघाटको बेला पनि उक्त विषयमा प्रस्ट पारिइसकेको गौरवले जिकिर गरेका छन् ।

साथै, बंगलादेशमा सम्पन्न साफको बैठकका क्रममा एएफसीका केही अधिकारीहरूले महासचिव राईलाई आफ्नो नियुक्तिको विषयले कुनै फरक नपार्ने स्पष्ट जानकारी गराइएको गौरवले उल्लेख गरेका छन् ।

उनले सन् २०१३ देखि २०१८ को बीचमा आफूले पटक–पटक एन्फामा काम गरिसकेको बताएका छन् । पछिलोपटक २०१७ मा नरेन्द्र श्रेष्ठ अध्यक्ष हुँदा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखका रूपमा काम गरेको उनले जानकारी दिएका छन् ।

“त्यस समयमा मैले फिफा र एएफसीको म्याच कमिस्नरको काम पनि गरेको थिएँ । साथै, एफसी फुटबल एड्मिनिस्ट्रेसन सर्टिफिकेट कोर्स पनि गरेको छु । यो कोर्स एएफसीले विशेषगरी सदस्य संस्थामा भविष्यमा व्यवस्थापनको सिनियर पदमा रहेर काम गर्न सक्षम जनशक्ति उत्पादनको उद्देश्यसहित तयार गरेको हो,” गौरवले भनेका छन्, “वर्तमान अध्यक्ष र महासचिव मैले एन्फामा काम गरेको त्यो समयमा कार्यसमितिको सदस्य र उपमहासचिव हुनुहुन्थ्यो भन्ने कुरा यहाँ स्मरण गर्नु जरुरी हुन्छ । किनभने, उहाँहरूलाई त्यो बेला कुनै समस्या नभएको प्रत्यक्ष जानकारी छ ।”

२०१७ मा एएफसीका तत्कालीन अध्यक्ष र एएफसीका महासचिव नेपाल भ्रमणमा आउँदा आफू अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख रहेको र सोही हैसियतमा एएफसी र एन्फा प्रतिनिधिहरूबीच भएका सबै छलफलमा सहभागी भएको उनले बताएका छन् ।

“मैले एन्फामा काम गरेको समयमा कुनै समस्या आएको थियो ? वा उनीहरूले अहिले प्रस्तुत गरिरहेको दुर्भावनापूर्ण एजेन्डामा बल पुग्ने कुनै घटना भएको थियो ?,” गौरवले प्रश्न गरेका छन्, “यस्ता अनर्गल र हावादारी कुरा गरेर कसैको व्यक्तित्वमाथि धावा बोल्न खोज्दा उनीहरूले यस्ता प्रश्नको उत्तर दिन सक्नुपर्छ । अहिले केही स्वार्थी मानिसले स्थापित गर्न खोजेको भाष्यमा न कुनै तर्क छ न सत्यता नै । फिफा र एएफसीलाई अमान्य गरी मैले एन्फामा कुनै पनि भूमिका चाहेको छैन ।”

नवीन पाँडेलाई लक्षित गर्दै उनले थप लेखेका छन्, “फिफा, एएफसी र एन्फामा कुनै समस्या नभए पनि केही स्वार्थी मानिसले निश्चित मिडियालाई गलत सूचना दिएर विवाद सिर्जना गर्दै नेपाली फुटबललाई अप्ठेरोमा पार्ने काम गरिरहेका छन् । फिफा र एएफसीका विषयमा गलत सूचना दिने र झुटो बोलेर नेपाली फुटबललाई बन्धक बनाउने प्रयास कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन ।”

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro