site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
लिसनको शब्दको जादु

काठमाडौं ।

सम्बन्धमा साना–साना झगडा 
भइहाल्छ माया !
साथै नछोडी जाउन...

टिकटकमा पछिल्ला केही दिनयता धेरै रुचाएको गीतको हरफ हो यो । टिकटकको ‘ट्रेन्डिङ’मा समेत परेको यो गीतको शीर्षक हो, ‘नरिसाउन माया’ ।

Dabur Nepal

अल्बाट्रोस नामक टिकटक पेजमा पोस्ट गरिएको यो गीतमा हालसम्म सोही पेजबाट मात्र २५.५ के अर्थात् २५ हजार ५०० भन्दा बढीले भिडियो बनाइसकेका छन् । पहिलो हरफमा मात्र सो संख्यामा भिडियो बनाइएको हो ।

माया कति राम्री भा’को 
आँखाहरू छ लोभलाग्दो 
सधैँ मेरो मन चोरी हिँड्छौ...

...
नरिसाउन माया 
फर्की हेरिदेऊ
आउ न अँगालोमा बेरिदेऊ
म तिम्रो, तिमी मेरै हो...

यीलगायत यो गीतका हरेक हरफमा थुप्रै टिकटक भिडियोहरू बनाइएको छ । गीतमा प्रेमीले आफ्नी रिसाएकी प्रेमिकालाई फकाउनका लागि उनको सुन्दरताको वर्णन गरेका छन् ।

आफ्नै भावना
यो गीतका रचनाकार काठमाडौंको सिनामंगलस्थित ब्रिज वाटर इन्टरनेसनल कलेजमा कक्षा–१२ मा अध्ययनरत लिसन खड्का हुन् ।

स्टुडियोमा नै गएर आफ्नै एउटा गीत रेकर्डिङ गर्ने लिसनको सपना थियो । एक दिन लिसनसँग उनकी एकजना साथी रिसाइन् । शब्द बुन्नमा माहिर उनले म्यासेज बक्समा नै तारिफका पुल बाँध्दै साथीलाई पठाए । रेकर्डिङका लागि गीतको खोजी गरिरहेका लिसनले पछि म्यासेजमा पठाएका आफ्नै भावनालाई गीतमा बदली दिए ।

०००

लिसनले कक्षा–८ मा हुँदादेखि गीत लेख्न थालेका थिए । लेख्ने मात्र होइन, उनी मोबाइलमा नै रेकर्ड गरेर आफ्नै यट्युब च्यानल लिसन खड्कामा अपलोड पनि गर्थे, तर भ्वाइस चेन्ज गरेर ।

“आफ्नै भ्वाइस मन पर्दैन थियो । लाज पनि लाग्थ्यो । त्यसैले भ्वाइस चेन्ज गरेर हाल्थेँ । नौ क्लाससम्मै त्यसैगरी गीत अपलोड गर्थेँ । तर, १० मा हुँदा एकचोटि आँट गरेर जस्तो भए पनि हाल्छु भनेर आफ्नै भ्वाइसमा हालेँ । तर, मोबाइलमा रेकर्ड गरेको भएर अडियो क्वालिटी नराम्रो आयो,” लिसन सुनाउँछन्, “त्यसपछि त्यो भिडियो मैले युट्युबबाटै डिलिट गरिदिएँ । त्यसपछि भने एकचोटि भए पनि स्टुडियोमा नै गएर गाउँछु भनेर सोचेँ ।”

तर, यो क्षेत्रमा उनले चिन्ने कोही थिइनन् । अन्योलमा परे । केही समयपछि एकजना दाइको चिनजानमा उनी पिक स्टुडियो पुगे । स्टुडियोको अनुभव नभएका लिसनले एक्सपेरिमेन्टको ‘भावना’ शीर्षकको गीतमा कभर गाए । र, आफ्नै युट्युबमा अपलोड गरे । यसका लागि उनले गीतका सर्जकसँग ट्रयाक मागे र कभरका लागि अनुमति पनि पाए ।

पहिलो गीतबाट उनले नसोचेको प्रतिक्रिया पाए । पहुँच थोरैमा पुग्यो । तर, जतिले हेरे, जतिमा उनको गीत पुग्यो, सबैले प्रशंसा गरे । पहिलो गीतबाट पाएको प्रशंसाले लिसन थप हौसिए । अब आफ्नै गीत गाउनुपर्छ भन्दै लेख्न थाले । तर, उनलाई त्यति चित्त बुझिरहेको थिएन ।

अन्ततः म्यासेजमा पठाएका उनका भावना नै गीतमा परिणत भयो, “मैले म्यासेजमा जे–जे लेखेर पठाएको थिएँ, त्यसैलाई राइमिङ मिलाएर गीत बनाएको हो । सुरुमा त मैले त्यो लास्टमा गाएको नरिसाउन माया गाएँ र त्यसलाई इन्स्टा (इन्स्टाग्राम) मा हालेँ । अनि, सबैले गीत बनाऊ भनेर भनेपछि त्यसलाई गीत बनाएको हो ।”

उनले यो गीत सात महिनाअघि नै लेखेका थिए । तर, स्टुडियोमा नै गएर रेकर्ड गरेर युट्युबमा अपलोड गरेको भने एक महिना मात्र भयो ।

लिसनले यो गीत आफैँले गितार बजाएर एक ‘टेक’मा नै रेकर्ड गराएका हुन् । “एक घण्टाको एक हजार दिनुपर्ने रहेछ । मैले यो आफैँले गितार बजाएर एकै टेकमा फाइनल रेकर्ड गरेको हो,” उनले सुनाए ।

उनले गीत लेख्ने र गाउनेबारे नजिकका साथीहरूबाहेक उनकै परिवारलाई पनि थाहा थिएन । “मेरो मिल्ने साथीहरूलाई मात्रै थाहा थियो । फ्यामिलीमा कसैलाई थाहा थिएन । भर्खर यो गीत (नरिसाउन माया) आएपछि मात्रै थाहा पाउनुभयो । अहिले ममीबाबाले ‘ठिकै छ, राम्रो गरिस् । अब रेकर्डिङ गराउनुपर्‍यो भनेचाहिँ कति पर्छ भन्नु’ भन्नुभएको छ । खुसी हुनुभएको छ,” उनी भन्छन् ।

यो गीतको लोकप्रियतालाई लिसन ‘लक’का रूपमा लिन्छन् । त्यसैले पहिलो गीत चल्यो भन्दैमा उनी गायक नै हुन्छु भन्ने निर्णयमा पुगिसकेका छैनन् । अब आउने उनका दुई–तीन गीत पनि स्रोता–दर्शकले रुचाइदिए भने गायनबारेमा थप सोच्ने योजना बनाएका छन् ।

यो गीत लिसनले युट्युबमा राख्नेबित्तिकै चर्चा कमाएको होइन । अपलोड गरेको १२–१३ दिनसम्म पनि त्यति भ्युज पाएको थिएन । ३०० जति भ्युज थियो ।

त्यसपछि लिसनले टिकटक अकाउन्ट खोले र पहिलो भिडियोका रूपमा आफ्नै गीत हाले । टिकटकमै थुप्रैलाई आफ्नो गीत ‘प्रोमोट’ गरिदिन आग्रह पनि गरे । तर, धेरैले ठूलो रकम मागेको उनको भनाइ छ ।

त्यसपछि उनले अल्बाट्रोस भन्ने टिकटक पेजलाई आग्रह गरे । त्यहाँ निःशुल्क लिसनको भिडियो पोस्ट गरियो । त्यसको केही दिनमै टिकटकमा ‘रोस्ट’ भिडियोहरू बनाएर चर्चामा आएका कलाकार सजीन श्रेष्ठले पनि कभर बनाएर आफ्नो टिकटकमा अपलोड गरे । त्यसपछि टिकटकमा मात्र नभई युट्युबमा पनि उक्त गीतको भ्युज बढ्न थाल्यो । अहिले उनको गीतमा टिकटक भिडियो, कभर र थुप्रै ‘मिम’ बनिसकेका छन् ।

उनले अहिलेसम्म तीन गीत लेखेका छन् । त्यसमध्ये एउटा अरूकै यु्ट्युबमा अपलोड गराएका थिए । अर्को एउटा गीत फेरि स्टुडियोमा रेकर्ड गरेर आफ्नै युट्युबमा राख्ने सोचिरहेका छन् ।

उनी अहिले यही चर्चित ‘नरिसाउन माया’को भिडियो निकाल्ने तरखरमा छन् । हाल भने यसको लिरिकल भिडियो मात्र छ ।

नितेशजंगको गीत सुनेपछि...
लिसनलाई नेपाली गीतमा रुचि थिएन । चाख दिएर कहिल्यै सुनेका थिएनन् । आठ कक्षामा हुँदा एकपटक विज्ञान विषय पढाउने ‘सर’ले सबैका सामु कक्षामा नै नितेशजंग कुँवरको ‘फ्ल्टी माया’को सुरुको बिट सुनाए । होस्टेलमा बस्ने लिसनलाई त्यो बिटले यति तान्यो कि स्कुलको बिदासम्म उनले दिमागमै राखे । घर आउनेबित्तिकै त्यही गीत सुने । त्यसपछि लिसनले एकपछि अर्को गर्दै नितेशका गीतहरू सुन्न थाले ।

विस्तारै उनले प्रवेश कुमार र आशुतोष केसीका गीतहरू पनि सुने । ती गीतका ‘लिरिक्स’ले तान्यो । नेपाली गीतहरू पनि राम्रो हुनेरहेछ भन्ने लाग्यो । आफूमा पनि राम्रो लिरिक्स लेख्ने हुटहुटी चल्यो ।

लिसनले सुन्ने यी ती गायकहरू हुन्, जो मिडियामा आउँदैनन् र व्यावसायिक रूपमा गायनमै मात्र पनि लागिरहेका छैनन् । उनीहरू आफ्नै य्ट्युबमा लिरिकल भिडियो बनाएर गीतहरू पोस्ट गर्ने गर्छन् । नेपालमा यस्ता थुप्रै गायकहरू छन् ।

सोख
लिसनमा गायक बन्छु भन्ने ठूलो उत्साह छैन । यो सोख मात्र भएको उनी बताउँछन् । “प्यासनभन्दा पनि हबी मात्रै हो । मलाई टुरिस्ट गाइड बन्ने मन छ,” उनी भन्छन् । लिसन अहिले होटेल म्यानेजमेन्ट लिएर पढिरहेका छन् ।

कुनै समय साथीहरूमाझ मात्र चर्चा हुने उनका गीतमा अहिले नचिनेका धेरैले कमेन्ट गर्छन् । “पहिला साथीहरूको मात्रै कमेन्ट आउँथ्यो । विस्तारै अरूको पनि कमेन्ट र म्यासेज आउन थाल्यो । जेसुकै होस् म सबैलाई रिप्लाई गर्छु भन्ने लाग्छ र गरी पनि रहेको थिएँ,” उनी भन्छन्, “तर, यति धेरै अहिले कमेन्ट, म्यासेज आइरहेको छ कि हरेकलाई रिप्लाई गर्छु भन्दा पनि सम्भव नै नहुने रहेछ । तर पनि कोसिस भने गरी नै रहेको छु ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  ०८:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro